शनिबार, वैशाख ८, २०८१

सभामुख सापकोटाको ज्यानमुद्धा सदर गराउनतिर प्रधानमन्त्रीको ध्यान

नेपालप्लस संवाददाता/ काठमाडौं२०७८ वैशाख ७ गते २२:३०

Credit-Everest Times

सभामुख अग्नी प्रसाद सापकोटाको पुरानो मुद्दा पुन: सर्वोच्चमा पेसी चढेको छ । हत्या अभियोग लागेका सापकोटाको मुद्दा राजनीतिक पहुँचका कारण ओझेलमा परेको थियो र लगभग तामेलिमै पुगेको थियो । अझ तत्कालिन माओवादी केन्द्र र एमालेको एकिकरण पछी सापकोटाको यो मुद्दा कसैले उठान गर्नै सकेन ।

अधिकारकर्मीहरुले समेत यस बारेमा कुरा उठाउन छोडिसकेका थिए । तर अब भने सर्वोच्चले यो मुद्दालाई निर्णयक विन्दुमा पुर्याउने संकेत देखाएको छ । गत वर्ष माघ पहिलो साता प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालिन नेपाल कम्युनिष्ट पार्टीका सह–अध्यक्ष पुष्पकमल दाहालबिच हुन सकेको एकमात्र सहमती यहि थियो— सभामुख पदमा सिन्धुपाल्चोकका माओवादी सांसद अग्नीप्रसाद सापकोटालाई सर्वसम्मत बनाउने ।

लाग्छ— त्यही सभामुख पदको हानथाप र शक्ति बाँडफाँडमा माओवादीलाई आइपरेको सभामुख पदमा पूर्ववर्ती कृष्णबहादुर महरापछिका सापकोटाको हालत पनि त्यस्तै ‘घर न घाट’को बन्ने देखिन्छ । महरा नैतिक र चारित्रिक कुरामा राजनीतिक अस्तित्वका अर्थमा माटामा मिले भने अब अग्नी सापकोटाको पनि त्यही हालत बन्ने संकेत देखिएको छ ।

राजनीतिक उथलपुथलसँगै माओवादी नेता पुष्पकमल दाहालका पोल्टामा बसिरहेका सभामुख सापकोटा अहिले आएर संवैधानिक परिषद्का बैठकमा समेत अनुपस्थित देखिन थालेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट नवनियुक्त गृहमन्त्री रामबहादुर थापाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेको गत आइतबारको कार्यक्रममा सभामुख सापकोटा उपस्थित भएनन् । सभामुख बन्नुअघि नेकपा (माओवादी केन्द्र) को सांसद रहेका सापकोटाले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवाद चर्किएपछि सरकारले आयोजना गर्ने महत्त्वपूर्ण कार्यक्रमलाई समेत बेवास्ता गर्दै आएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत शनिबार (४ वैशाखमा) आयोजना गरेको सर्वदलीय बैठकमा सभामुख सापकोटाको भूमिकाबारे कडा टिप्पणी गरेका थिए । सापकोटाले ‘दलीय प्रभावमा परेर अलोकतान्त्रिक, स्वेच्छाचारी, अनैतिक र गैरकानूनी’ काम गरेको ओलीले आरोप लगाएका थिए । यही घडीमा माओवादी द्धन्द्धकालमा काभ्रेका अर्जुनबहादुर लामाको हत्या गरेको आरोपमा सभामुख सापकोटाबिरुद्धको मुद्धा सर्वोच्चमा थाँती रहँदै आएकोमा लामो समयपछि मंगलबार यसमा पेशी चढेको छ । लामाकी श्रीमती पूर्णिमाया लामा, पत्रकार कनकमणि दीक्षित र शुशिल प्याकुर्यालले दायर गरेको मुद्धाको शायदै अब छिट्टै छानविन हुने भएको छ । हत्या अभियुक्त सापकोटालाई सभामुख बनाएपछि राष्ट्रसंघमा समेत नेपालको संक्रमणकालिन न्यायमा देखिएको चरम राजनीतिकणबारे बहस भएको र उनको नियुक्ती गैर न्यायिक कदम भएको भनेर बहस समेत चलेको थियो ।

तत्कालिन नेकपा माओवादीका केन्द्रिय नेता अग्नी सापकोटा लगायतका बिरुद्ध काभ्रे जिल्ला छत्रेवास निवासी अर्जुनबहादुर लामालाई २०६२ साल बैशाख १६ गते अपहरण गरी हत्या गरिएको आरोप रहँदै आएको छ । स्थानीय श्रीकृष्ण माबि, दाप्चाको अभिभावक भेलाबाट फर्कदैं गर्दा उनलाई अहिरण गरेर साउन महिनाको तेस्रो सातामा आफैंले खनेको खाडलमा जिउदै गाडिएको आरोप छ । यसबारेको ज्यानमुद्धा सम्बन्धी जाहेरी काभ्रे जिल्ला प्रहरीले २०६४ सालमा लिन नमानेपछि श्रीमती पूर्णिमायाले सवोच्च अदालतको २०६४ फागुन २२ को परादेशपछि जाहेरी दर्ता भएको थियो । त्यसपछि प्रहरी–प्रशासनका दृष्टिमा ‘अदालतमा उपस्थित हुनुपर्ने’ सापकोटा अहिलेसम्म राजनीतिक आड–शक्तिको केन्द्रमा रहँदै आएका छन् ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख सापकोटाको गतिबिधि र अमेरिकी सहयोग एमसीसीलाई संसदबाट पारित गराउने प्रकृयामा पाएको अवरोधका कारण सभामुख सापकोटालाई अब पदमा टिक्न नदिने संकेत देखिएको छ,’ गृह मन्त्रालय स्रोतले भन्यो—‘यही ज्यानमुद्धाको केसलाई सदर गराउन मात्रै सकेपनि कानूनी आधारमा तत्काल सभामुख सापकोटालाई हटाउन सकिने भएकाले प्रधानमन्त्रीको ध्यान त्यतैतर्फ मोडिएको देखिन्छ ।’

यसो भएमा अहिले अदालतको पेशीमा चढिसकेको मुद्धामाथि यसै महिनामा आदेश–निर्णय आउन सक्ने संकेत देखिएको छ जहाँ महरापछि सापकोटा पनि जेलको कोठामा हावा खान जाने संकेत देखिएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक