शुक्रबार, वैशाख ७, २०८१

गल्दै ओली : नयाँ पार्टीको संकेतले झस्किएपछि नेपाल-ओली वार्ता

नेपालप्लस राजनितिक संवाददाता / काठमाडौं२०७८ वैशाख ८ गते १९:०६

आफ्नो सरकारमाथि अविश्वासको प्रस्ताव आउनै लागेको घडीमा कसैलाई थाहै नदिइ संसद अधिवेशन टुङ्ग्याएका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार फेरि अर्को ‘नाटकीय राजनीति’ देखाए ।

आश्चर्य के भने आफूले बारम्बार कारवाही र स्पष्टीकरणमा पारेका नेता माधवकुमार नेपाललाई फोन गरेरै भेटघाटका लागि वालुवाटार बोलाए । यो आकस्मिक भेटवार्ताको नाटकीय संवाद यस्तो थियो ।

प्रम ओली— आउनुस्, भेटघाट गरौं । चियापानमा पार्टी संगठन र असहमतीबारे कुराकानी गरौं ।

नेपाल— म बालुवाटार त आउँदिन । बरु मेरो घर कोटेश्वर आउनुस् तपाई ।

प्रम ओली— म तपाईको घर’नि आउँदिन ।
(संवाद टुंगियो ।)

फेरि केही क्षणमा प्रम ओलीका राजनीतिक सल्लाहकार बिष्णु रिमालले नेता नेपाललाई फोन गरेर सुझाए— उसोभए मेरियट होटल, नागपोखरीमा भेटौं रे है ।

नेपाल— उसोभए हुन्छ, म आउँछु ।

यसरी बुधवार अपरान्ह प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतिलाल दुगडकै नाममा बुक भएको मेरियटको ९०१ नम्बरको कोठामा २ घण्टासम्म दुइ नेताहरुबीच वार्ता सम्भव भएको हो । वार्तापछिको परिणाम बारेमा उनै राजनीतिक सल्लाहकार दुगडले मिडियामाझ भनेका छन्— “दुबै नेता मुस्कुराउँदै बाहिर निस्कनुभएको छ । माहोल सकारात्मक छ ।”

एकातर्फ कारवाही गरिछाड्ने र अर्कातर्फ कारवाही गरिएमा अदालत जाने तहका नेताहरुलाई के–कसरी–कसले भेट गरायो त ? यसको पनि कथा उस्तै रोचक छ ।

अब एमाले पार्टी फेरि पनि फुट्ने स्थिती आएपछि एमालेमा नेपाल पक्षधर नेता योगेश भट्टराई र ओली पक्षका गण्डकी प्रदेश प्रमुख पृथ्वी सुब्बा गुरुङले ओली–नेपाल भेटाउने योजना तय गरेका थिए । भट्टराई र गुरुङले पहिलो चरणमा बालुवाटारमा नेता ओलीलाई भेट गर्दै पार्टी एक ढिक्का बनाउनका लागि प्रधानमन्त्री एवं पार्टी अध्यक्षको ‘लचकता’ जरुरी रहेको बताएका थिए । यसका लागि माधवकुमार नेपाल, बामदेव गौतम, झलनाथ खनाल जस्ता शीर्षस्थ नेतासँग तत्काल वार्ता र संवाद अघि बढाउनुपर्ने उपाय सुझाएका थिए । यही उपायमा बुधवार पहिलोपटक नेता नेपालसँग भेटवार्ता भएको हो ।

सम्भवत बिहिबार नेता गौतम र खनालसँग पनि प्रधानमन्त्री ओलीको भेटवार्ता हुँदैछ । बुधवार नेता नेपालसँग भेटवार्ता भएर बालुवाटार पुग्नासाथै प्रम ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि फोनवार्ता गरेका छन् ।

ओली सरकारलाई माओवादी केन्द्रले दिंदै आएको समर्थन फिर्ता गर्ने र पार्टीभित्रै बिद्रोही नेताझैं बनेका नेपाल समुहले पनि नयाँ पार्टी खोल्ने संकेत आएपछि ओली अलिक झस्किएका हुन् । सरकार जोगाउनकै लागि हतारमा जनता समाजबादी पार्टीसँग समेत सहमती र संवाद गर्दै अनेक सहुलियतका प्याकेज अघि सार्ने प्रधानमन्त्री ओली यसपटक भने निकै गलेको अवस्थामा देखिन्छन् ।

‘यो हठ र लिडेढिपीले कहिँ पुगिंदैन भन्ने चेत ओलीमा फिरेको देखिन्छ’ ओली–नेपाल भेट गराउनमा लागीपरेका ओली पक्षकै एक नेताले भने ।

तपाइँको प्रतिक्रिया

फेसबुक