शुक्रबार, वैशाख १४, २०८१

साउदीमा भागेर काम गर्दा दूर्घटनामा परेका भुजेलको दुतावासद्वारा उद्दार

नेपालप्लस संवाददाता२०७८ वैशाख १० गते २१:२५

फोटो- आप्रवासी कामदार समाज

भागेर अबैध तवरमा काम गर्दा गम्भिर दुर्घटनामा परेका हरैंचा-९, मोरङका बेद बहादुर भुजेलको नेपाली राजदूतावास रियाधले उद्धार गरी स्वदेश पठाएको छ ।

आप्रवासी कामदार समाजको श्रमिक सूचना र सन्देशका अनुसार अस्पतालमा ३ महिनासम्म अचेत अवस्था (कोमा) मा रहेका उनको उपचारमा ८ लाख २३ हजार साउदी रियाल (ने।रू। अढाइ करोड भन्दा बढी) खर्च भएको थियो ।

उक्त रकम भागेर अबैध हैसियतमा रहेकाले कसैले पनि ब्यहोर्न तयार नहुँदा दूतावासले जिम्मा लिनुपरेको थियो । दूतावासले अन्ततः उपचार खर्च मिनाहा गराएको हो ।

दूतावासले यस प्रकरणमा बेद बहादुर भुजेललाइ नेपालबाट पठाउने एजेन्सी र साउदी रोजगारदाता दुबैलाइ जिम्मेवार ठहर्याउँदै २५ हजारका दरले कूल ५० हजार रियाल संकलन गरी उक्त रकम बेद बहादुरको कानुनी प्रतिरक्षाका लागि सदुपयोग गरेको छ ।

यसलाई ठूलो शिक्षाका लिनुपर्ने संकेत गर्दै आप्रवासी कामदार समाजको श्रमिक सूचना र सन्देशमा भनिएको छ “आम श्रमिक समुदायले लिने शिक्षा फेरी पनि के हो भने भागेर अबैध हैसियतमा कसैले पनि काम गर्नुहुन्न । यो दण्डनिय र जोखिमपूर्ण अभ्यास हो । भागेर दुर्घटनामा पर्ने जो कोही नेपाली बेद बहादुर भुजेल जस्तै भाग्यमानी नहुनसक्छन् जसले दूतावासको बिशेष पहलमा रू। अढाइ करोडको उपचार खर्च मिनाहा पाए ।”

यसैबिच, नेपालको वैदेशिक रोजगारमा ठूलो गिरावट आएको देखिएको छ । गत वर्ष चैत्र मसान्तसम्ममा कूल ३ लाख ६८ हजार नेपाली बैदेशिक रोजगारका लागि बिदेशिएकोमा यो वर्षको सोही अवधिमा ९० हजार मात्र गएका छन ।

आप्रवासी कामदार समाजका अनुसार पुनः श्रम स्वीकृति लिनेको संख्यामा समेत ३ गुनाले घटेको छ । पछिल्लो आँकडाले एक लाख ७७ हजार १ सया ८० बाट ५४ हजारमा झरेको देखाएको छ । यसको प्रत्यक्ष असरमा नेपालमा भित्रिने रेमिटान्समा पर्ने निश्चित छ ।

सरकारले स्वदेशमै रोजगार श्रीजना गर्ने अनेक प्रचार गरेपनि अन्ततः सफल देखिएको छैन । स्वेदशमा रोजगारी सिर्जना गर्ने नाममा प्रधानमन्त्रीकै नाम जोडेर कार्यक्रम ल्याए पनि कार्यक्रमले अपेक्षित रोजगारी त सिर्जना गर्न सकेन नै, विनियोजन गरेको बजेट पनि खर्च गर्ने नसकेकाले राष्ट्रिय नीति निर्माताहरूले समेत गम्भिर मुल्यांकन र समिक्षा गर्नुपर्ने बेला आएको आप्रवासी कामदार समाजले उल्लेख गरेको छ ।

तपाइँको प्रतिक्रिया