बिहीबार, वैशाख १३, २०८१

शनिवार- साहित्य / सृजना / नियात्रा

अविस्मरणीय गुवाहाटी दर्शन

डा. गोबिन्द राज भट्टराई२०७८ वैशाख ११ गते ५:०८

(शिलाङ, तेजपुर, गुवाहाटी यात्रा : काठमाडौंदेखि एनजेपीको पहिलो भाग हेर्न यहाँ क्लिक गर्नुहोस्, दोस्रो भाग हेर्न यहाँ क्लिक गर्नुहोस,  तेस्रो भाग हेर्न यहाँ क्लिक गर्नुहोस)

१९ कार्तिक मंगलवार (५ नोवेम्बर २०१३)

म चाँडै ब्यूँझेँ । निद्राको घनत्वमा शरीरको थकान भर पर्दछ । यस्तो गाढा निद्राले छिटै थकाइ हरण गर्दछ । आज मलाई त्यस्तै भयो । धेरै माथिबाट पर्दा खोल्छु— पूर्वमा अद्भुत सुन्दर कलाले स्पर्श गर्दैछ । त्यता हेय्य्यौँ, गाढा हरिया लाग्ने होचा पर्वतमाला देखिन्छन् । त्यता पातलो कुहिरोजस्तो तुवाँलो रूखका टुप्पातिर, घरका अट्टालिकातिर त्यतै अलमलिएर पिङ खेलेजस्तो गर्दैछ यो बिहान । पूर्व बिहानको समय भनौँ केवल अरुणिमा बढ्दै छ । यान–साधनहरू भर्खर एक दुई ब्यूँझे । शायद हिजोको राम–रउसले होला ! हिजो शहर सारा रङको समुद्रजस्तो देख्यौँ । रङहरूमा शहर उम्लेको देख्यौँ । अनि त्यो तरङ्गमा नाचेको पनि सुन्यौँ । आज कस्तो सुनसान र यो बिरानो लाग्ने नीरवता ।

आमाछोरी निद्रामै थिए । त्यसै बेला म लेख्न बसेको हुँ । कस्तो हुन्छ भने अनेक वस्तु र कर्मका तरङ्गले छिनछिनमा मेमोरी चिप्स भरिन खोज्छ । स्मृतिमा सबै कुरा नबिराई टिपौँ भन्छु । तर दिनभरिमै चिप्स भरिएजस्तो हुन्छ । त्यसै कारण यस्ता यात्रामा म बिहान बेलुका, समय चोरेर निद्रा मारेर पनि लेख्ने गर्छु । यो कुराको मैले अन्यत्र पनि उल्लेख गरेको छु । त्यसरी आँखा र मनमा नयाँ कुरा भरिएपछि मलाई कथार्सिस अर्थात् विरेचन चाहिन्छ । नलेखेर, लेख्न नसकेर उत्पन्न भएको ग्लानि र पश्चात्तापले नित्य मुटु खाइरहन्छ । त्यो म धेरै खप्न सक्तिनँ । मेरा केही यात्रा त्यसरी लेख्न नसकेर व्यर्थ र अनर्थ भएका छन् । तर प्रायः म सचेत हुन्छु । मेरो टिकट, केही फोन नम्बर र कलम डायरीमै हुन्छ प्रत्येक यात्रामा । यसपालि त लेखौँला भन्ने चिन्ताले । तर धेरै ता नछोडी लेखेकै छु ।

आँखा र मनमा नयाँ कुरा भरिएपछि मलाई कथार्सिस अर्थात् विरेचन चाहिन्छ । नलेखेर, लेख्न नसकेर उत्पन्न भएको ग्लानि र पश्चात्तापले नित्य मुटु खाइरहन्छ । त्यो म धेरै खप्न सक्तिनँ । मेरा केही यात्रा त्यसरी लेख्न नसकेर व्यर्थ र अनर्थ भएका छन् ।

पूर्वको लालिमा र तलका हुस्सु पर्दाको मिलन बडो रहस्यमय भयो । हेरेँ— शहर अझै सुतेको छ । यति बेला त्यो रात्रिको जादुरहित, तमासारहित आवरण फुकालेको रंगहीन यथार्थ जस्तो छ्याङ्ग देखिएको यो शहर त्यति राम्रो छैन । यसमा त्यो रातको मादकता छैन । यसरी प्रत्येक पल्ट रातभरिको मादकताले हामी दिनभरि जीवन्त जस्ता रहन्छौँ । अग्लाअग्ला होर्डिङ बोर्डका कङ्काल, होचा अग्ला घर, महल र तलतल सुतेका झुपडीहरू ! कहाँ यति बेला रात्रीको सुन्दरता हुन्छ । यथार्थता सधैँ यस्तै नग्नझैँ हुन्छ ।

ब्यूँझँदा काठमाडौँभन्दा अलि भिन्न तर भारतको कुनै शहरको यान्त्रिक बिहान जस्तो लाग्यो । यन्त्रबेगरको कुनै शहरको परिकल्पना हुँदैन । दन्त्यकथाका शहर मात्र त्यस्ता बाँकी होलान् ! यता बिछ्यौनामै सुनिन्छ– अलिक ठूला भाले गाडीहरू अत्यन्तै चर्काे स्वर र तीव्र गतिले हावा हल्लाउँदै उड्छन् । पोथी गाडीहरू त्यो आफ्नो मार्गमा कुनै विजित पथिकझैँ मधुर गीत गाउँदै बत्तिन्छन् । अलिक पर्तिर पल्टनबजार छेउमा रेलको गति मात्र अनुमान हुन्छ— गर्भगृहमा हुङ्कारसाथ केही बगेको हुनुपर्छ । धर्ती कम्पित जस्तो लाग्छ । तर आवाज बेगर भित्रभित्रै बगेको महाप्रलय जस्तो छ । काठमाडौँमा आवाज र गतिका यति स्वरूप छैनन् । गाडीका कर्कशताहरू मात्रै छन् । समरूपीय सबै ।

फेरि पर्दा उघारी हेरेँ— पूर्वको फिलिङ्गो अब पहेँलिएको छ । नजिकैका रहस्य लाग्ने पर्वतहरू, हरिया झाडी भएर शहरको अङ्गरक्षक जस्ता उभिएका छन् । कस्तो रहस्य लाग्छ गुवाहाटी आज !

आजको दिन गुवाहाटीलाई अर्पित छ । अघि नै डा. खगेनसँग परिभ्रमण सूची (आइटिनरेरी) तयार छ । तर यो भाइटीकाको दिन नेपाली समुदाय सम्पूर्णरूपले त्यता लागेको दिन परेछ । तथापि उनले सबै रूपरेखा टिपेका थिए । पहिलो कार्यक्रमस्वरूप कामाख्या देवीको मन्दिर दर्शन थियो । त्यसो त अञ्जनाले आशौच बारेकीले पूजाआजा वर्जित थियो । तथापि बाहिरी परिक्रमा गरौँ भन्ने भावले, यहाँका नेपाली जनमा पनि यस पवित्र स्थानप्रति हाम्रो गम्भीर आस्था रहेको छ भन्ने भएकाले प्रथम चरणमा कामाख्या दर्शनको निमित्त प्रस्थान गर्‍यौँ ।

हाम्रो प्रस्थान त के थियो र साहेब खान एउटा सेतो कारसँग तल तत्पर थियो । फुलुमुनि शर्मा पथप्रदर्शिका तयार थिइन्– दुवै डाखगेनका स्वजनहरू । कति राम्रो कुरा, असमेली युवती उच्च शिक्षापश्चात् हालै मात्र दश महिने नेपाली भाषा तालिम (डिप्लोमा) गरेकी । असमेली, अंग्रेजी, नेपाली त्रैभाषिक कोशविज्ञानमा सहायक भएर कार्य गर्न थालेकी । नेपाली बोल्न सक्ने पथप्रदर्शिका ।

 पहेँला, सिँदुरे गेरुवस्त्रमा सजिएका असङ्ख्य पण्डा–पुजारी थिए । त्यति नै सङ्ख्यामा स्वतन्त्रतापूर्वक घुमिरहेका बोका, पाठा, परेवा र बाँदर थिए । तर कसैले छेकेन, बोलाएन, खेदेन ।

शहर राम्ररी ब्यूँझनुपूर्व नै चिसो, नरम बतासको स्पर्श अनुभव गर्दै हामी साहेब खानसित उड्यौँ । साहेब खान आफैं पनि पथप्रदर्शकजस्तो गर्दै यताउताका अवस्थितिहरूको बयान गर्दछ । उसको हिन्दी विचित्रको छ । निकै बेरपछि सफा मार्गले हामीलाई एउटा डाँडाको फेदमा पुर्‍यायो । डाँडो, पहाड र पर्वतका बीच आकारगत सूक्ष्म भेद छैन । यो डाँडो भन्नाले स्वयम्भू जस्तै उठेको तर धेरै अग्लो थुम्को, बोटवृक्ष, वनस्पतिले झ्याम्म ढाकेको । टाढाबाट हेर्दा कालोजस्तै थियो । मानव बस्ती बेगरको नागबेली पर्दैपर्दै हिँड्ने बाटो त्यस माथिमाथि चढेको । यो पुष्पित पाखामा कतिपय वृक्षवनस्पति सुपरिचित थिए । यद्यपि यो उकालो चढ्दा मैले ग्रिस शहरको मध्यबिन्दु ओलम्पिया पर्वत सम्झेँ । उता हङकङको भिक्टोरिया सम्झेँ । ठीक यस्तै यस्तै थिए ती । यस्तै घुम्ती र वृक्षवनस्पतिले सुशोभित थिए ती । ओलम्पियाचाहिँ अर्धहरित थियो ।

धेरै घुम्तीपश्चात् माथि शिरमा ल्यान्ड गर्‍यौँ । एउटा ससानो सुगन्धित बजारबाट मन्दिरहरूको संसारले, तिनका आक्रितिले ढाकिएको ठाउँ । डाँडाको टुप्पैमा बनेको पार्कमा अनेक साधन प्रतीक्षामा थिए । त्यहाँबाट गुवाहाटी र परिवेश अनेक थुम्की र डाँडाले भरिएको वन्य क्षेत्रझैँ विस्तृति देखियो । कति ठाउँमा बाँस, वनकेरा ज्यादाजसो सुपारी, नरिवल तथा कालापहेँला फूल फुल्ने वृक्ष बिहानको बतासमा बयेली खेलेजस्ता लाग्दथे । यो मन एक नवीन आनन्दले भरियो ।

अन्यत्रका मन्दिर दर्शनतिर जाँदा कति ठाउँमा पण्डा–पुजारीले छेकेर–घेरेर यात्रीलाई हैरान गरेको देखेको सुनेको थिएँ । त्यसकारण पनि ठूलाठूला मन्दिर जान मलाई कहिल्यै इच्छा हुँदैन । तर यहाँ पहेँला, सिँदुरे गेरुवस्त्रमा सजिएका असङ्ख्य पण्डा–पुजारी थिए । त्यति नै सङ्ख्यामा स्वतन्त्रतापूर्वक घुमिरहेका बोका, पाठा, परेवा र बाँदर थिए । तर कसैले छेकेन, बोलाएन, खेदेन । हामीले स्वतन्त्रतापूर्वक यो प्राचीन मन्दिरको सफा र स्वच्छ परिसरको परिक्रमा गर्‍यौँ । त्यसो त फूल, प्रसादी, डोरा, धागा, विक्रेताको संख्या सर्वाधिक थियो । तर ती पनि आवेगहीन अनाक्रमक जस्ता थिए ।

कामाख्या मन्दिरमा दर्शनार्थीको पालो

कामख्यामा दर्शनार्थीको पङ्क्ति देखेर आश्चर्य लाग्यो । तिनीहरू नरनारी एकै हारमा बालबच्चासमेत उभिएका छन् । चारैतिर फलामका कडा बार, बीचमा प्यासेज, त्यही प्यासेजमा कारागृहमाझैँ उभिएका छन् । पङ्क्ति कहिल्यै नसर्ने जस्तो लाग्छ । किनभने कति थाकेर चिसो भुइँमा थचक्क बसेका छन् । उता पर्तिर अर्काे समानान्तर हार छ— ‘त्यो मात्र किन सर्दैछ फुलुमुनि ?’ हामीले सोध्यौँ । ‘त्यसले चन्दा ज्यादा तिर्छ’ उनले भनिन् । तब मैले ठानेँ— ज्यादा चन्दा तिरेर तत्काल भगवान् भेट्ने अभ्यास रहेछ, नेपालमा चाहिँ यस्तो थाहा नपाइएको विषय ।

कुनै हलचलविनाको यस द्वीपमा गहिरो शान्ति थियो । सङ्लिन लागेको ब्रह्मपुत्र बेलाबेला छ्याप्लाङ्ग आवाज गरेर कतै ठोकिन्थ्यो । फेरि उचालिएर लहरसँग बगिरहन्थ्यो ।

फेरि सोध्यौँ— ‘यता सर्न नसकेको हार कहिले मन्दिरमा पुग्छ यो ?’
‘यो त दोपहरको बाद पुग्छ; कहिले सामको पुग्छ ।’ उनले स्पष्ट पारिन् ।
धर्मप्रति मान्छेको आस्था र अन्ध–आस्था, निष्ठा सबै छ । पण्डापुजारी मध्यस्थकर्ता छन् । घरबाट हिँड्ने बेलामा आमाले सम्झेर सुनाएको कामाख्या दुरुस्त छ— २००९ सालमा २२ जनाको हुल कामाक्षा पुगेका थियौँ । तेरा बाले रेलमा चढाएर लानुभएको, तेरी हजुरआमा पनि हुनुहुन्थ्यो । तर त्यसरी मन्दिरसम्मै पुग्ने गाडी थिएनन् । जङ्गलैजङ्गल माथि जाँदाजाँदा डाँडाकै टुप्पोमा पुग्न एक बिहान लाग्यो । पण्डापुजारीले देखाए, पूजा गराए राम्रो भयो । त्यसपछि हामी ब्रह्मपुत्रको बीचमा रहेको उमानन्द मन्दिरको दर्शन गर्न ठूलो पानीजहाज चढेर गयौँ ।।। इत्यादि ।

बिस्तारै मन्दिर परिसरको परिक्रमा गर्‍यौँ । भक्तहरूको छेउमा उभिएर पेडाप्रसाद माग्ने अति नै अग्ला बोकाहरूले परिसरको आधी जनसङ्ख्या भरिएको छ । तर ती पनि साधु छन् । दर्शनार्थीलाई हान्ने, झम्टिने वा पशुपतिका बाँदरलेझैँ लुट्ने भए कस्तो हुन्थ्यो होला ।

उमानन्द दर्शन

त्यो मन्दिरको संरचना ज्यादै अनौठो रहेछ । एक सर्काे परिक्रमापश्चात्, हामी बिस्तारै ढुङ्गे सिँढी ओर्लियौँ । एक प्रसिद्ध शक्तिपीठ पुगेको आनन्दसँग झर्‍यौँ । साहेब खानले अघिको मार्ग फेरि तल झार्‍यो । हाम्रो दोस्रो गन्तव्य उमानन्द थियो । मैले त धेरै बेरसम्म ‘मानन्द’ ‘मानन्द’ भनेको सुनेँ । अभ्यस्त उनीहरूको ‘उमा’ उच्चारण लोप हुँदो रहेछ । हाम्रो वराहक्षेत्र घटेर ‘बाराछेत्र’ भएजस्तै । ‘मानन्द’ कुनै नदी होला भन्ने ठानेका थिएँ । नजिक पुगेपछि देखियो— यो त गुवाहाटी शहरको एक किनारा भएर बग्ने ब्रह्मपुत्रको बीचमा अवस्थित एउटा ससानो टापु रहेछ । त्यो प्राचीन टापु सम्पूर्ण रूपले कठोर पत्थरमाथि बसेको तर वृक्षवनस्पतिले ढाकेर झ्याम्मै कतै नदेखिने थियो ।

वारिबाट हेर्दा भित्र लुकेका केही मन्दिर भवनजस्ता संरचना देखिए । मेनरोडका छेउमा गाडी बिसाएर अलिकति निकासजस्तो ठाउँबाट हामी ब्रह्मपुत्रतिर झर्‍यौँ । बालुवा र लेदोले सबै बगर ढाकिएको थियो । तर वर्षायाम सकिएकाले पाँगो माटो बालुवा जमेर सिमेन्टी भएको थियो । ब्रह्मपुत्रको जलराशिले धोएर उताको छेउ चिसो थियो । अरू चट्टानको आँगनजस्तै । नदीको तटमा विभिन्न आक्रिति र स्वरूपका कालीका मूर्तिहरू थिए ।

कालीपूजा भर्खरै सकिएको थियो । सयौँ मूर्ति— कुनै पछ्यौरा ओढेकी, कालो कपाल भएकी, नीलो शरीर, मानवकल्पित पूजनीय नारीस्वरूपका परम आदिमाता बनिएका सारा मूर्तिहरू नदीमा विसर्जन गर्न निषिद्ध भएर पर्यावरण जोगाउन नदीतटमै बिस्तारै बिलाइरहेका कलाक्रिति थोरै थिएनन् ।

वर्षायामपछिको ब्रह्मपुत्रको जल सङ्लिन थालेको थियो । लहरै सानाठूला बोट र फेरी (नाउका प्रकार) थिए । गभर्मेन्ट र प्राइभेटहरू थिए । हामी १५–२० को समूहले एउटा सानो डुङ्गा रोजेर चढ्यौँ । जनही ४० रूपैयाँ तिरेर पस्यौँ र उमानन्द टापु पुग्ने यात्रापथको जलाशयमा तैरिन थाल्यौँ । धेर समय लाग्ने होइन, दश मिनेट । पारि पुगेर हेर्‍यौँ— विशाल पत्थरमाथि माटो जमेर त्यसमाथि उभिएका वनस्पति; प्राचीन कालदेखिका रूखहरू बटारिएर ढल्केका । एउटा तित्रीको रूखले त आकाशै छोएको थियो । पत्थरिला सुन्दर सिँढी चढ्दै गयौँ । सिरानमा प्राचीन मन्दिरहरू थिए । दक्षिणी भारतीय शैलीका, एउटा गर्भगृहमा शिवलिङ्ग उत्पत्ति भएको स्थल छ भन्थे । वरिपरि हनुमानहरूदेखि अनेक देवीदेवता थिए । केही पुजारी, केही पुष्प व्यापारी त्यस्तै दशआठ घर थिए हुनन्, बस् त्यत्ति । कुनै हलचलविनाको यस द्वीपमा गहिरो शान्ति थियो । सङ्लिन लागेको ब्रह्मपुत्र बेलाबेला छ्याप्लाङ्ग आवाज गरेर कतै ठोकिन्थ्यो । फेरि उचालिएर लहरसँग बगिरहन्थ्यो । पक्षीले ढाकेको त्यस टापुको प्रशंसा गर्दै फुलुमुनिले भनिन्— ‘यो संसारमै सानो टापु ।’

कसरी त्यो हुन सक्छ ? अनेक टापुका कोरिया वा जापान भए । ग्रिसमा मात्रै ५०० भन्दा बढी थिए— अरू लाखौँ टापु पत्ता लागेका हजारौँ नलागेका, तीमध्ये कसले मापन गरेर भन्न सक्छ उमानन्द टापु सबैभन्दा सानो हो ? यसरी भावुकताका कुरा गर्दै लाँदा कति कुरा मिथकमा परिणत हुँदा रहेछन् । त्यसमा तर्क गरी सत्यापनको खोजी आवश्यक थिएन, जिज्ञासा मात्रै ।

मैले गरेका प्रायः सबै यात्रामा सङ्ग्रहालय पहिलो प्राथमिकतामा पर्दछन् । आफ्ना आँखाले देखेका वस्तुहरू, पुस्तकमा पढेका विषयभन्दा स्पष्ट र जीवन्त लाग्छन् । कलाक्रितिका माध्यमले देखाउने दृश्यहरू जीवनको यथार्थतासँग आबद्ध अक्रित्रिम र अति यथार्थ हुन्छन् ।

एउटा दर्शनीय स्थल हेरेर फर्कियौँ । ससानो विषयवस्तुलाई पनि प्रबन्ध गरेर दर्शनीय बनाउँदा, संरक्षण गर्दा सयौँ हजारौँको यात्राकेन्द्र हुने रहेछ । हाम्रो देशमा यस्ता अमूल्य, दर्शनीय, विचित्रतायुक्त स्थलहरू कति हो कति छन् । तर तीप्रति हाम्रो ध्यान जान बाँकी छ । पाँच सय यात्री अट्ने जहाज उमानन्द टापुलाई छोएर पर्खिबसेको देख्ता मेरो मन भरियो । अरूको आँगनमा केही नौलो नयाँ देख्यो कि आफ्नै घरको सम्झनाले त्यस्तो हुँदो रहेछ ।

श्रीमन्त शङ्करदेव कलाक्षेत्र

त्यसपछि हामी गुवाहाटीको एक अति महत्वपूर्ण र अवलोकनीय स्थल श्रीमन्त शङ्करदेव कलाक्षेत्र पुग्यौँ । पञ्जाबारी भन्ने शान्त ठाउँमा विशाल क्षेत्र ओगटेर बनाइएको यो कलासंस्क्रितिको सङ्ग्रहालयमा तीन घण्टा बितायौँ । यसको प्रवेशद्वारदेखि नै आँगन र चौरीदेखि नै आसामको विशिष्टता जनाउने कलाक्रिति स्थापत्य, मूर्ति र चित्रहरू, केही मिथक र विश्वासका बिम्ब र प्रतीकहरू, जनजीवनका झाँकीहरू हेर्दै गयौँ । त्यस्तै सुन्दर बाग अनि लन र जलाशयहरू, घाँस, बुट्यान र वृक्षहरू— यो रमाइलो निकै हिँडेपछि आसामको सांस्कृतिक जनजीवन झल्काउने सङ्ग्रहालय भवनमा पुग्यौँ ।

महापुरुष श्रीमन्त शंकरदेव पन्ध्रौँ शताब्दीका एक बहुश्रुत व्यक्तित्व थिए । असमेली समाजका पूजनीय व्यक्तित्व शंकरदेव एक सन्त, विद्वान्, कवि, नाटककार, समाजसुधारक थिए । अतीतको कलासंस्क्रितिलाई नवीन रूपमा प्रस्तुत गर्ने महापुरुषले सङ्गीत, नाट्य वा कला–साहित्यका प्रत्येक क्षेत्रमा अतुलनीय योगदान दिएका थिए । उनले अनुसिर्जना गरेको शंकरदेव भागवत अत्यन्तै लोकप्रिय छ । भारतीय उप–महाद्वीपमा गुरु नानक, कबीर, चैतन्य महाप्रभुको जुन स्थान छ श्रीमन्त शंकरदेवको त्यही छ ।

मैले गरेका प्रायः सबै यात्रामा सङ्ग्रहालय पहिलो प्राथमिकतामा पर्दछन् । आफ्ना आँखाले देखेका वस्तुहरू, पुस्तकमा पढेका विषयभन्दा स्पष्ट र जीवन्त लाग्छन् । कलाक्रितिका माध्यमले देखाउने दृश्यहरू जीवनको यथार्थतासँग आबद्ध अक्रित्रिम र अति यथार्थ हुन्छन् । त्यस सङ्ग्रहालयमा वाद्यवादनका साधन, नृत्यमुद्रा, जीविकाका परम्परागत शैली, वर्तनका प्रतिरूप कला अनि लोकतत्वका अनेक पक्ष अनेक झाँकी विशेष परिश्रमपूर्वक निर्माण गरी यथावत् रूपमा सुरक्षित राखिएका रहेछन् । यहाँका अनेक जातजातिका जीविका साधन, वस्त्र, आभूषण र झाँकी छन् । चियाबगानमा दैनिक जीवन छ; क्रिषक, पशुपालक, नृत्यझाँकी । तीमध्ये एक नेपाली दम्पतिसमेत देखेर हामीलाई अपार हर्ष भयो, यद्यपि ती चित्र त्यति उपयुक्त थिएनन् ।

नेपाली पुरुषले सेतो भ्याङ्ले दौरासुरुवालमा लामो खुकुरी भिरेको छ । शिरमा ढाकाटोपी छ । तर अरू जातिका चित्रझैँ ती एक्सनसहितका सजीव छैनन् । ती जीवन्त परिवेशरहित छन् । केवल पुतलाजस्ता छन् । नेपाली नारीको पनि चित्र अङ्कित मात्र छ, सजीवता छैन । असमेली नेपाली जातिले सम्बन्धित निकायसमक्ष अनुरोध गरी यी निर्जीव हास्य चित्रलाई जीवन्त पात्रमा परिणत गर्न मद्दत गर्नेछन् भन्ने आशा राख्तछु ।

तपाइँको प्रतिक्रिया