सोमबार, कार्तिक ८, २०७८

लघुकथा : बच्चाको टिफिन

नारायण अधिकारी / पाल्पा२०७८ वैशाख ११ गते ६:२१

सबैले उसलाई नारन सर भन्थे । उसले आफूमा राष्ट्रियता छ भनेर वकालत गर्थ्यो । गाउँलाई माया गर्नुपर्छ भन्थ्यो । कृतिम र बनावटी चिज वस्तुमा भन्दा प्राकृतिक कुरामा विश्वास गर्थ्यो ।

एकदिन उसको विद्यालयका विद्यार्थी र शिक्षकहरुले भ्रमण जाने निधो गरे । एकदिनमै बस चढेर गई फर्किने कार्यक्रम भएकाले सबैले घरबाट अर्नि (नास्ता) बनाएर लैजाने टुंगो लाग्यो ।

‘के लाने होला त ?’ भन्दा श्रीमतीले भनिन्, “उहीं गएर चाउचाउ वा बिस्कुट यस्तै केही किनेर खाए त हुन्छ नि ।” तर उसले प्रतिवाद गर्दै भन्यो, “कहाँ चाउचाउ किन्ने ? तर खट्टे मकै भुटेर लाने नि । कसले के गर्छ र ? आफ्नो घरको चिज लगेर खाँदा ।”

श्रीमतीले सिरम्लाको खटरटे भुटिदिइन् । त्यसमा घिउ र चिनी रोमलिन् । रहरलाग्दो मगमग घिउको वासना आउने बनाईन् । टिफिनको बट्टामा बन्द गरेर झोलामा हालिदिइन् ।

सबै गन्तव्यमा पुगे । अर्नि खाने बेला भयो । कसैले चाउचाउ, कसैले बिस्कुट, केक, मासु, च्यूरा यस्तै यस्तै चिजहरु झिकेर खान थाले । नलगेकाहरुले चाउचाउ, बिस्कुट जस्ता वस्तुहरु किनेर खाए ।

खट्टे, मकै कसैले पनि लगेकै छैनन् । अब उसलाई खट्टे झिकेर खान अप्ठेरो लाग्यो । लाज लाग्यो । विद्यार्थीहरुले पनि ‘नारन खरले खट्टे लगेर खायो’ भन्दै हल्ला गर्ने हुन् कि भनेर हच्कियो । एकमनले त ‘आ……के हुन्छ र ?’ भन्यो ।

तर तत्कालै इज्जतमा धक्का लाग्ने कुराले उसलाई खट्टे झिकेर खाने हिम्मत आएन । नजिकै दुकानमा गएर चाउचाउ किनेर ल्यायो र खान थाल्यो ।

“तपाईंले त घरबाट नास्ता ल्याएको हैन र ? झोलामा टिफिन बट्टा देख्थें ।” उसको साथीले सोध्यो ।

“कहाँ ? बच्चाको टिफिन मेरो झोलामा परेछ।“ उसले कान राता पार्दै उत्तर दियो । सुख्खा चाउचाउ कुरुम कुरुम पार्न थाल्यो ।

(कथाकार दिव्यज्योति उच्च मावि, पाल्पाका प्राचार्य हुन् )।

तपाइँको प्रतिक्रिया

फेसबुक