बिहीबार, कार्तिक ११, २०७८

भारतमा झैं कोरोनाले हायलकायल बनायो भने छ केहि तयारि ?

लिला भारद्वाज / काठमाडौं२०७८ वैशाख १० गते ६:३२

Photo- The Pharma letter

दिन दुगुना रात चौगुना फैलिरहेको कोरोनाले असाध्यै धेरै मानिसहरुको बसोबास रहेको दिल्ली र बम्बैमा मात्र हैन नेपालसँग सिमाना जोडिएका उत्तर प्रदेश र बिहारमा समेत स्थिति हायलकायल बनाइरहेको छ । पाँचवटा निर्वाचन क्षेत्रमा चलिरहेका ठूला ठूला राजनीतिक सभा र भर्खरै सकिएको कुम्भ मेलाले कोरोना फैलिनमा ठूलो बल पुग्यो । सरकारी तथ्यांक अनुसार चौबिस घण्टामा तीन लाख बत्तीस हजार सँक्रमित देखिएका र बाइस सय पचास जना मानिसको ज्यान गएको बताइएपनि वास्तविकता त्यो भन्दा डरलाग्दो भएको भारतीय स्वतन्त्र संचार माध्यमहरुले बताइरहेका छन् । कोरोनाको पहिलो कहरलाई विजय प्राप्त गर्न सफल भएको भारत आफैले खोप बनाएर भटाभट खोप लगाइरहेको बताउँदै चुनावी सभामा भाषण गरिरहेका नरेन्द्र मोदीको बोली अहिले बन्द भएको छ ।

अस्पतालहरुमा अक्सिजनको कमी भइरहेको छ । कालाबजारियाहरुले यौटै सिलिण्डरको ५० हजार भारतीय रुपियाँमा बिक्री गरेका समेत पत्रपत्रिकाले लेखेका छन् । कोरोनाको पहिलो कहर जेनतेन पार गरेपछि नेपाली र भारतीय सबैलाई लौ कोरोनाबाट बाँचियो भन्ने लागेको थियो । अब भने, तिब्र रुपमा वृद्धिदर रहेको कोरोनाको भाइरसले छिमेकी भारत हुँदै नेपाललाई नै डरलाग्दो अवस्थामा लानसक्ने खतरा बढ्दै गइरहेको छ । यसको संकेत नेपालगन्जमा ह्वात्तै कोरोना सँक्रमित बढेपछि देखिएको हो । १४२ बेडको भेरी अन्चल अस्पताल भरियो नै स्वास्थ्यकर्मीहरु समेत कोरोनाको शिकार भए ।

एकातिर स्वास्थ्यकर्मीको अभाव भइरहेको छ भने अर्कातिर अक्सिजन लगायत कोरोना विरुद्ध लड्न आवश्यक पर्ने सामाग्रीको अभाव हुने देखिएको छ । भेरी अंचल अस्पतालका अनुभवी डाक्टर संकेत रिसालले नेपालगंजमा मात्र हैन देशैभरीका निजी हुन् या सरकारी अस्पतालहरु तत्कालै कोरोना संक्रमणको निम्ति तयारी अवस्थामा नरहे स्थिति भयावह हुने अनुमान आफूले गरिरहेको बताए । उनले भने ‘छिमेकी देशबाट विना रोकतोक मानिसहरु आइरहेका छन् । गाउँका गाउँ नै संक्रमित हुने स्थिति आइसक्यो । सरकारले तत्कालै यसमा तयारी गर्नुपर्ने देखिन्छ ।’

२३ अप्रिल शुक्रवार ४८२ जनामा गरिएको कोरोना परिक्षणमा ३८८ जना देखिएको कुरा सरकारी तथ्याँकमै उल्लेख हुनुले पनि नेपालमा भित्रभित्रै कोरोना बढिरहेको प्रष्ट बुझ्न सकिन्छ । सरकारी निकाय भने यसबारेमा अचम्मको ढुक्कता लिएर बसेको छ । अस्तिसम्म शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ केटाकेटीहरु घरमा भन्दा स्कूलमा बढि सुरक्षित हुन्छन् भन्ने हावादारी गफ गरिरहेका थिए । नेपालगन्जमा एकाएक कोरोना संक्रमितहरुले भेरी अन्चल अस्पताल भरिंदा प्रधानमन्त्री ओली आफैले बनाएको नियम उल्लंघन गरेर बालुवाटारमा नेकपा एमालेको वैठकको अध्यक्षता गरिरहेका थिए । २५ जना भन्दा बढि जम्मा नहुनू भनेर नियम बनाएका ओलीले घोषणा गरेकै दिन आफैले हूलका हूल मानिसहरुलाई सीता रामको मन्दिर लिएर अयोध्या पठाइदिए भने दिनहुँ पार्टीका मिटिंगहरु गरेर नियम उल्लंघन गरिरहेका छन् । बैशाखको महिना पार्टी प्यालेसहरुमा भोज भतेर चलेकै छ । बिहेमा जन्ती गएकै छन् । सार्वजानिक यातायातहरुमा मास्क नलगाएर हिंडेकै छन् । भीडभाड उत्तिकै छ । मानिसहरुले कोरोना सकिएझैं व्यवहार गरिरहेका छन् ।

वास्तविकता भने डरलाग्दो हुनसक्ने आंकलन छ जनस्वास्थ्यविद्हरुको । जनस्वास्थ्यविद्हरुले मास्क लगाएर हिंड्न, स्यानिटाइजर प्रयोग गर्न र सकेसम्म दूरी बनाएर बस्न आव्हान गरिरहे पनि व्यवहारमा त्यस्तो देखिन्न । यो खतरनाक लापरवाही हो ।

नेपालगंजकै जस्तो स्थिति ठूला साना शहर र काठमाडौं उपत्यकामा देखियो भने के गर्ने ? टिचिंग अस्पतालमा कार्यरत डाक्टरहरुले भयावह स्थिति आयो भने सरकारसँग त्यसको लागि आवश्यक कुनै तयारी नरहेको बताउँछन् । वीर अस्पतालका स्वास्थ्यकर्मीको पनि उस्तै छ अवस्थामा । सरकारी निकायले झारा टार्ने गरी कामहरु गरिरहेको छ । पर्याप्त मात्रामा स्वास्थ्यकर्मीले प्रयोग गर्ने सामाग्रीहरु त भण्डार गरेको छैन, दूरदराजमा फैलियो भने मानिसहरु उपचारै नपाएर मर्ने स्थिति हुनसक्दछ ।

वुटवलमा अस्पतालहरु भरिएर भैरहवा जाँदा समेत अस्पताल भरिभराउ भएर भर्ना लिन नमानेको घटना अस्तिको मात्रै हो । भारतसँग नाका जोडिएका वस्तीहरुमा कोरोना सल्किन थालिसकेको छ । देशैभरी अस्पतालहरुको उद्घाटन त भयो तर आपतकालीन अवस्था ढोकैमा आइसक्दा पनि चुस्त दुरुस्त प्रविधि सहितको टिम कसरी तयार गर्ने ? कसैलाई थाहा छैन ।

भारतको जस्तो स्थिति नआओस् भनेर कामना गरेर मात्र पुग्दैन । संक्रमितहरु बढ्दै जान थाले भोलि के गर्ने भन्ने सरकारी तयारी पनि चाहिन्छ । जनताहरुको तर्फबाट आवश्यक सतर्कता, सेनिटाइजर र मास्कको प्रयोग, दूरी कायम गरेर बस्ने पनि गर्नुपर्दछ । स्थिति बिग्रँदै गए लकडाउन पनि गर्नुपर्दछ । एकाएक लकडाउन गर्नुपर्दा गरिखाने मजदूरहरुलाई कसरी व्यवस्थापन गर्ने भनेर सरकारी र गैरसरकारी स्तरमा तयारी हुनुपर्ने हो तर कसैको ध्यान गएको देखिंदैन ।

अमेरिकासँग लिट्टी कसेर एमसीसी पास गर्न लागिपरेका प्रधानमन्त्री ओलीले बरु अमेरिकासँगै भएपनि कोरोना विरुद्ध लड्ने सामान माग्ने हो कि ? गाइँगुइँ सुनिन थालेको छ । नेपालका सीमाहरुबाट रातारात अक्सिजनका सिलिण्डरहरु भारत तस्करी भइरहेका छन् । बलियो सुरक्षा बल लगाएर तत्काल अक्सिजन सुरक्षित गर्नतिर लाग्नपर्ने होइन र ? भोलि यहाँ आपत पर्यो भने कसले दिन्छ अक्सिजन ?

बाँचियो भने धरहरा पनि चढौंला । रानीपोखरी पनि घुमौंला । तर अक्सिजन नै नपाएर मर्नुपर्ने अवस्था आउन थाल्यो भने अस्पतालले उपचार गर्नै नपाएर ज्यान गयो भने धरहरा कसरी चढिएला ? एकपटक धरहरा बनाउने र धरहरा बनेकोमा थपडी मार्ने सबैले सोंच्ने हो कि ?

तपाइँको प्रतिक्रिया

फेसबुक