बिहीबार, वैशाख १३, २०८१

ग्लोबल एनआरएन सिंगिङ आइडल : डिजिटल अडिसनको समय अब ७ दिन बाँकी, दर्ता शुल्क नलाग्ने

नेपालप्लस संवाददाता / दोहा, कतार२०७८ वैशाख ११ गते १५:१७

ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ को पहिलो संस्करणमा सहभागी हुनका लागि डिजिटल अडिसन पठाउने समय अब एक साता मात्रै बाँकी छ ।

आगामी अप्रिल ३० तारिखसम्ममा आइडलमा सहभागी हुनका लागि आफूले गाएको गीतको २ मिनटको भिडियो रेकर्ड गरेर पठाउनुपर्ने छ । सहभागी हुनका लागि दर्ता शुल्क नलाग्ने आयोजक संस्थाले जनाएको छ ।

ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ आयोजक गैरआवासीय नेपाली संघ एनआरएनए मध्यपूर्व युवा समितिका संयोजक राज रेग्मीले प्रतियोगिताको आयोजनाको तयारी र प्रतियोगीहरुको सुझावलाई दृष्टिगत गरी थपिएको समयावधिभित्र भिडियो पठाउन अनुरोध गरे ।

रेग्मीले एक साता भित्रै ‘ग्लोबल एनआरएन सिंगिङ आइडल’मा सहभागी हुन चाहनेहरूलाई भिडियो पठाउन अपिल गरेका हुन् ।

सबै क्षेत्रको सुझावका आधारमा अडिसनको मिति थप गरिएको र आगामी शुक्रबार (३० अप्रिल) सम्म डिजिटल अडिसनको समय रहेको रेग्मीले बताए ।

‘संगीत साधनामा लागेका सबै युवा साथीहरूलाई मेरो अनुरोध छ कि सकेसम्म चाँडै भिडियो पठाएर ग्लोबल एनआरए सिंगिङ आइडलमा सहभागी हुनुहोला । यो प्रतिस्पर्धाले गायन क्षेत्रमा तपाईको नवीन यात्रा प्रारम्भ हुने छ’ रेग्मीले भने ।

‘प्रथम पुरस्कार ७ लाख रुपैयाँ’

यसैबीच, ग्लोबल एनआरएन सिंगिङ आइडलका विजेताले प्राप्त गर्ने पुरस्कार राशी पनि ३ गुणाभन्दा धेरै बढाएर ७ लाख रुपैयाँ तय गरिएको छ । यसअघि प्रथम पुरस्कारको राशी २ लाख रुपैयाँ तोकिएको थियो ।

त्यसैगरी, दोस्रो पुरस्कार चार लाख रुपैयाँ, तेस्रो पुरस्कार दुई लाख रुपैयाँ, चौथो पुरस्कार एक लाख रुपैयाँ र पाँचौं पुरस्कार ५० हजार रुपैयाँ तोकिएको छ । ग्राण्ड फिनालेमा प्रवेश पाउने ५ जना प्रतियोगीहरूलाई गीति एल्बममा गीत गाउने अवसर प्रदान गरिने छ ।

मध्यपूर्व युवा संयोजक रेग्मीका अनुसार डिजिटल अडिसन अप्रिल ३० मा हुने छ । ओपनिङ राउन्ड मे १४ र १५ तारिखमा हुने छ । ग्राण्ड फिनाले मे २१ तारिखमा सम्पन्न हुने रेग्मीले बताए ।

ग्लोबल सिंगिङ आइडल–२०२१ मा निर्णायकको भूमिकामा गायक उदय सोताङ, गायिका सुनिता दुलाल, गायिका प्राश्ना शाक्य र गायक विजय लामा रहेका छन् ।

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् मध्यपूर्व क्षेत्रीय युवा समितिले आयोजना गर्न लागेको ‘ग्लोबल एनआरएन सिंगिङ आइडल’ मा सहभागी हुन इच्छुक प्रतियोगीहरूले भिडियो पठाइरहेका छन् ।

विजेता छनोट गर्न पारदर्शितामा ध्यान दिनुपर्ने भएकाले पब्लिक भोटिङ र अनलाइन भोटिङको व्यवस्था गरिएको संयोजक रेग्मीले जानकारी दिए ।

गैरआवासीय नेपाली संघ एनआरएनए मध्यपूर्व संयोजक एवं ग्लोबल सिंगिङ आइडलका मुख्य सहयोगी प्रविण गुरुङले पनि प्रवासमा रहेका नेपालीहरूलाई उत्साहका साथ प्रतियोगितामा भाग लिन आग्रह गरेका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक