बिहीबार, साउन २१, २०७८

फुपुको कथा भित्रको अनाम बिद्रोह

गुमनाम परदेशी २०७८ वैशाख ११ गते २०:३९

दुनियाँभरमा अनगिन्ती बिद्रोहहरु भएका छन् । तिनका सबैका नाम छन् । ति बिद्रोहहरु आकार भन्दा पनि नामले धेरै चर्चित छन् । चाइनिज बिद्रोह, फ्रेन्च बिद्रोह, बेलायती बिद्रोह, अप्रिल बिद्रोह, अक्टोवर बिद्रोह । तर म भित्रको बिद्रोह अनाम थियो । त्यसैले मेरा बिद्रोहहरु चर्चीत हुन सकेनन् । म आफ्नो मनमा दन्केको विद्रोहको आगो सल्काएर विचारहरुलाई खरानी बनाउँथे र मनमनै भन्थे- कम से कम आगो यसरी बलोस, लक्षित वस्तु खरानी होस् ।

मेरो बिद्रोह बिचारहरुसँग थियो । कल्पनाहरु सँग थियो । विचारले मान्छेहरुलाई बाँच्ने बाटो भन्छ । कल्पनाले लालच बढाउँछ । लोभको प्रारम्भिक अवस्था हो कल्पना । यिनैले त सल्काएका हुन बिद्रोहको आगो । त्यो बेला मेरो मनमा दन्केको आगो कसलाई देखाउँथे । त्यो बिद्रोहको आवेग कसलाई भन्थे- सानो सितलगेडी मिठाईँमा भुल्ने उमेर । तन्किन नसकेको इत्रुको केटो । तर छाती भित्रको बिद्रोहको वनावट कसरी यती ठुलो भयो ? यो प्रश्न त अहिले पनि उस्तै छ- छाती बढेको छैन । बिद्रोहको आकार फैलिएको छ ।

हामी गाई चराउन जान्थ्यौं फुपु र म । फुपु, मेरा बा कि आफ्नै बहिनी । बाल विधवा- ७ वर्षको उमेरमा विवाह भएर नौ वर्षमै विधवा भएकी । त्यसपछी फुपु कहिल्यै घर गइनन । हामी सबै उनैको काखमा हुर्क्यौं । फुपुको लामो कहानी छ । तर अमर न्यौपानेको कितावको पात्र जस्तो होइन- अर्कै छ । स्कुलको बिदाका दिन म फुपुको साथी थिएँ । मलाई स्कुल भन्दा गाई प्रिय थिए । फुपु सँग गाई चराउन जानु मन तरंगित बनाउने खेल जस्तै हुन्थ्यो । त्यो गैरी खोलाको चिसो पानी, पाकेका जामुन, फुपुले घलेकको भित्र कुटुरो पारेर लैजाने सिरम्लाको स्वाद । स्कुल बिर्साउने अजीवका चर्या थिए मेरा ।

एउटा गाई थियो मेरो प्रिय । बाले पहाड देखी नै लिएर आएका मधेश झर्ने बेला । चिसापानी माथिको बिसौनीमा सुस्ताउने बेला मेरो कपाल चाट्थ्यो । मेरो कपाल लरक्क परेर पछी फर्किन्थ्यो । मैले आफ्नो कपालको आकृती गाईका आँखामा हेर्थें । र बुरुक्क उम्लन्थें- “हिरो भएँ” ।

मलाई यस्तो लाग्थ्यो, गाई हामीसँग कुरा गर्छ । फुपुले बुझ्छिन गाईका कुरा । फुपुको पुरै जिन्दगी गाईसँग बित्यो । त्यसैले मेरी फुपुले आफ्नो जिन्दगीका उदेकलाग्दा काहानीहरु गाइलाई सुनाउँछिन । उनका निस्पृय आँखाका ज्योति उमेरसँगै मलीन बन्दै गए ।

एउटा भिरालो आँगनमा बनाइएको मण्डप, जसले सधैंका लागि आफ्नो भाग्य रेखालाई तहसनहस पर्‍यो । फेरी कोरिएनन भाग्यका रेखा । खोइ किन फुपु भित्र बिद्रोह पलाएन । कसरी बाँचिन उनी यत्रो उमेर- निशब्द । मलाई त्यस्तै लागि रहन्छ- म कसरी अथवा किन बाँचिरहेको छु । यि अनाम बिद्रोहहरुलाई छाती भित्र पालेर बाँच्नुको कुनै सजिलो परिभाषा होला र !

चौंरी गाईले मेरो कपाल फेरी चाट्न शुरु गर्‍यो, के सोच्दो हो यो गाईले ? किन मायाँ गर्दो हो यती विघ्न ? के साँच्चै गाई भित्र पनि कुनै बिद्रोह होलान ? बा भन्छन, गाई त सागर जस्ता हुन्छन- शान्त । सागर कहाँँ शान्त हुन्छ र ! सागर उम्लिएको सुनेकै त हो । बरु गाई हाम्री फुपु जस्ता छन् । आवाज विहिन, प्रश्न विहिन, आवेग विहिन- शान्त । “मलाई मर्न मन छ” । फुपु खिस्स हाँसिन । उनका दाँत छैनन । राता गिँजा बाहिर देखिए । हामीले फुपुका दाँत कहिल्यै देखेनौं र फुपु हाँसेको पनि कहिल्यै देखेनौं । मैले फुपु हाँसेको पहिलो पटक देखें । टम्म दाँत भएको भए कम्ता राम्री हुने थिइनन ।

फुपुका दाँतको अझ अर्कै काहानी छ । हामीलाई आमाले भनेकी- “नानीले त सत्र वर्षको उमेरमा आफ्ना दाँत उखेलेर फाल्नु भएको हो । एक महिना थाला पर्नु भो” । एक दिन फुपुले भनिन- “घाँस दाउरा गर्न जाँदा केटाहरुले आँखा लगाउन थाले । राम्री थिएँ नि त म वैंशमा । जोगिनु पर्‍यो त्यस्ता नजरबाट त्यसैले दाँत आँफै उखेलें । नराम्री देखिएँ, थोते भएँ ! वैंशमै बुढी जस्ती देखिएँ । कसैका नजर परेनन् । मरे पछी भगवानलाई के भन्ने थिएँ फेरी” । त्यही दिन मेरो छातीमा उम्रिएको थियो अनाम बिद्रोह । आँखा चिम्म पारेर संसार देखिदैन अरे । हामीले त आँखा खोलेर पनि संसार देखेनौ । भगवान बनाउने मान्छेहरुका आकृती ठुला हुन्छन अथवा मान्छे बनाउने भगवानका सत्यघोषहरु महत्वपूर्ण हुन्छन मैले कहिल्यै बुझिन । भगवान को हुन, कहाँँ बस्छन् ? केका लागि हुन्छन् भगवान ? भगवानलाई हामीले के जवाफ दिनु पर्छ ? जवाफ सँग मलाई घृणा छ । म सँग त अनगिन्ती प्रश्न छन् । जुन प्रश्नका कहिल्यै जवाफ आउने छैनन् । जीवनमा धेरै प्रश्न यस्ता हुन्छन् जसको उत्तर कहीं लेखिएको हुँदैन । मेरा प्रश्नको उत्तर पनि शायद कहीं लेखिएको छैन ।

गाईका जिउभरी किर्नाले टोकेका हुन्छन् । फुपुलाई थाहा हुन्छ तिनको दुखाई । लठारिंदै आउँछन- किर्नाले टोक्दा दुख्दो हो नि त । गाईका रगत चुस्ने पापी किर्नाहरु ! “तँ किन मर्ने ? बाँचेर ठुलो मान्छे हुनु पर्छ । मर्ने त हामी पो हो”- फुपुले मेरो कपाल मुसारिन् । अघी भर्खर गाईले चाटेको गिलो कपाल हावाले लुत्रुक्क ढल्यो र कानको लोतीसम्म लत्रियो । मरेपछी कहाँँ पुगिन्छ कुन्नी ! फुपुको विश्वास छ- धर्म गर्न सके स्वर्ग पुगिन्छ । अर्को जुनि फलिफाप हुन्छ । अझै बैगुन्ठ पुगिन्छ । बैगुण्ठ पुग्नेहरु फेरी जन्मिनु पर्दैन यो मर्त्यलोकमा । “म बैगुण्ठ जानु छ” फुपुले भनिन्- फेरी यो लोकमा आउन नपरोस” । शायद मेरी फुपु सोचेकै ठाउँमा पुगिन् । त्यो त अन्याय भयो, उनको पुनर्जन्म नहुनु मृत्‍यु माथिको घोर अत्याचार हो । सृष्टिले गरेको अपराध हो । “मलाई त स्वर्ग पुगेर भगवान सँग सोध्नु छ – अर्को जुनि पनि हुन्छ र ! मेरो बिद्रोह त्यही थियो, भगवानको आदेशको बिरुद्दमा थियो ।

मलाई थाहा छ- हरेक मान्छे स्वर्ग जान चाहन्छ । स्वर्ग जाने बाटो मरेपछी मात्र देखिन्छ रे । तर मर्न कोही पनि चाहँदैन । म अलग थिएँ ! मेरो असन्तुष्टी, मेरो बिद्रोह अनाम नै सही । मृत्‍यु पछी गरिने अजीवको बिद्रोह । ईश्वरसँगको लडाईं । कहाँँ भेटिन्छ भगवान ? बाले भनेको सुनेको मरेपछी भेटिन्छन् भगवान ! मलाई ति भगवानको एक पटक दोहोलो काढ्नु छ- मेरी फुपुका दाँत खोइ ? शास्त्रले भने जस्तै मरे पछीको जिन्दगी हेर्नु छ ! के हुछ त्यहाँ ? यदी मरेपछी सबै समाप्त हुन्छ भने किन झुट बोल्छन शास्त्रहरु ।

दिउँसोको टन्टलापुर घाम । अचम्म भयो- कसरी खुल्यो आकाश । युरोपमा यस्ता घाम विरलै देख्न पाईन्छ । कामबाट फर्किंदा बाटो छेउछाउका मसिना पार्कहरुमा सन क्रिम घस्नेहरुको ताँती देखियो । हामीलाई सन क्रिम घस्ने फुर्सद छैन । काम नगरि खान कसरी पाईन्छ ! हामीले सिकेको त्यही हो ।

त्यो दिन उदेकलाग्दो थियो, मैले फुपुका टपक्क मिलेका दाँत सम्झें । भगवान जो राजा जसरी बडेमानको कुर्सीमा बसेको हुँदो हो उसलाई सम्झें ! बिद्रोह त उसकै विरुद्दमा थियो ।

नेपालबाट फोन आयो- “फुपुले छोडिन भर्खरै” । मृत्‍यु सत्य हो । तर दिमाग सन्न भयो । झ्यालबाट बाहिर हेरें- म्युनिख शहर उत्तिकै चलायमान छ । तन्नेरीहरुसँग गाला जोडेर बियर पिउने युवतीहरुको लर्को पनि हिजो जस्तै छ । भोली पनि हुने छ । यता भगवानले रेखा कोरेको छैन । यो उबेलाको कुरा हो । आजभोलि सोच्छु, मेरी फुपु बैगुण्ठ नगएको भए हुन्थ्यो । फेरी एक पटक फुपुको विवाह गरिदिने धोको छ । अब कहिल्यै पनि विचारहरुले जन्म लिन नपाउन् । कल्पनाका जगहरु भत्किउन् ।

तपाइँको प्रतिक्रिया