शनिबार, वैशाख ८, २०८१

नेपाल र अफ्रिकाका बिबिध पक्ष जोड्न लेखकहरुको जोड

नेपालप्लस संवाददाता / सेसेल्स, अफ्रिका२०७८ वैशाख १२ गते १६:२५

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) अफ्रिका च्याप्टरले चरणबद्ध रुपमा गर्दै आएको साहित्यिक कार्यक्रमको अर्को शृंखला सम्पन्न गरेको छ । यहि बैशाख ११ गते शनिवार डिजिटल प्रबिधि जुम मार्फत सम्पन्न उक्त कार्यक्रम वरिष्ठ नियात्राकार नगेन्द्र न्यौपानेको नियात्रा कृति ‘कङ्गो र इथियोपियाको सेरोफेरो’ माथि विशेष परिचर्चा गरिएको थियो ।

‘सर्जक र सिर्जनासँग साक्षात्कार कार्यक्रम’ नामक सो कार्यक्रम दक्षिण अफिकाका लागि नेपाली राजदूत डा. निर्मल विश्वकर्माको प्रमुख आतिथ्य र वरिष्ठ नियात्राकार तथा नियात्रा समाज नेपालका अध्यक्ष प्रतीक ढकालको विशेष आतिथ्यमा सम्पन्न भएको थियो ।

अतिथि वक्ताका रुपमा लेखक तथा समिक्षक इश्वर देवकोटा थिए भने अन्य आमन्त्रित आगन्तुक वक्ताहरु वरिष्ठ आख्यानकार कृष्ण धरावासी र लेखक ददी सापकोटाले कार्यक्रमका विषयमा टिप्पणी गरेका थिए ।

प्रमुख अतिथि महामहिम राजदूत डा. निर्मल विश्वकर्माले अफ्रिका महादेशमा पनि नेपाली श्रष्टाहरु यति उर्जाशील अवस्थामा पाएकोले आफुलाई खुशी लागेको धारणा राख्दै ज्ञानको सबैभन्दा ठुलो श्रोत पुस्तक भएकोले यो क्षेत्रमा सक्रिय सर्जकहरुलाई अझ बढी लेख्न आग्रह गरे । आफु पनि कुनै उपन्यासकार भएको स्मरण गर्दै उनले थपे – विशेष नियात्रा लेखन प्रभावकारी हुने भएकोले यसै मार्फत नेपाल र अफ्रिकाका बिबिध पक्ष जोड्न तपाईंहरु निरन्तर लाग्न र त्यसकोलागि दूतावास आवश्यक सहयोग र साताको लागि तत्पर रहेको बताए ।

कार्यक्रमका मुख्य वक्ता वरिष्ठ नियात्राकार प्रतीक ढकालले नगेन्द्र न्यौपानेको नियात्रा कृति ‘कङ्गो र इथियोपियाको सेरोफेरो’ माथि विशेष प्रकाश पारेका थिए । उक्त पुस्तक २०७३ सालमा विमोचन हुँदा त्यसको टिप्पणीकार आफु भएको र पुस्तक सग्लो पढ्ने अवसर पाएको स्मरण गर्दै ढकालले नेपाली नियात्रा जगतमा महत्वपूर्ण र पठनीय कृतिका रुपमा लिनुपर्ने बताए ।

“आन्तरिक कलह, गृहयुद्ध र जातीय द्वन्द जस्ता अमानविय तथा विभेदकारी सामाजिक गतिबिधिका कारण कङ्गो र इथियोपिया भयाबह अवस्थामा पुगेको वस्तुनिष्ठ सत्य पुस्तकले उजागर गरेको छ । कङ्गो,इथियोपिया,रुवान्डा, बुरुण्डी जस्ता जातीय युद्दग्रस्त मुलुकबाट नेपालले सचेतनाको पाठ सिक्न जरुरि छ” भन्ने मूल संदेश पुस्तकले दिएको छ” ढकालले भने ” नेपाल त संसारकै बरदान सावित देश हो । यो जस्तो सुन्दर देश पृथ्वीमा अर्को छैन । मात्रै नेपालका शासकहरु अयोग्य भए” ।

“बिदेशमा बस्ने नेपालीहरु रेमिट्यान्स पठाएर देश धान्ने कर्ममा त अब्बल छन् नै अझ आफ्नो काम-धन्दाबाट बचेको समय यसरी सिर्जनाको क्षेत्रमा लगाएर नेपाली भाषा,साहित्य,संस्कृति र कलाको सम्बर्द्धन,प्रबर्द्धन र प्रचारप्रसारमा निरन्तर लागिपर्नु उच्च सम्मानजनक कुरा हो” ढकालले थपे “सरकारले वेवास्ता गरेपनि नियात्रा समाज नेपाल र आफ्नो व्यक्तिगत तर्फबाट सक्दो साथ,सहयोग गर्ने प्रतिबद्दता गर्दछु ।”

अर्का वक्ता इश्वर देवकोटाले पनि ‘कङ्गो र इथियोपियाको सेरोफेरो’ अफ्रिका क्षेत्रलाई प्राथमिकतासाथ वर्णन गरिएको उत्कृष्ट नियात्रा कृति भएकोले एक पटक सबै नेपालीले पढ्नु आवश्यक रहेको उल्लेख गरे ।

कार्यक्रमका मुख्य आकर्षक तथा ‘कङ्गो र इथियोपियाको सेरोफेरो’ का सर्जक नगेन्द्र न्यौपानेले आफु र आफ्नो कृतिलाई सम्मानपूर्वक उठाएकोमा अनेसास अफ्रिका च्याप्टरलाई धन्यवाद दिए । उनले पुस्तकका बारेमा आफु बोल्नुभन्दा बरु पुस्तक नै पढ्न आग्रह गरे । भ्रमण र लेखनकाल सम्झिंदै उनले केहि तितो अनुभव बाँडे ” कङ्गोका तुलनामा इथियोपिया धेरै अर्थमा ठिक छ । यहाँका मान्छेहरु पनि असल छन् । प्रकृति पनि सुन्दर छ । कङ्गोमा त भरसक कोहि पनि नेपाली नजाउन् । मानवीयता भन्ने चिज एकरति देखिएन त्यहाँ । त्यहाँका अधिकांश मान्छे चोर,फटाहा,लुटेरा, हत्यारा मात्र भेटिनुको मुख्य कारण त्यहाँको सरकार गतिलो नहुनुको परिणति भएकोले कमसेकम नेपाल सरकार चाहिं त्यस्तो नहोस् भनेर कामना गरे ।

वरिष्ठ आख्यानकार कृष्ण धरावासीले अफ्रिका महादेश लेख्नेहरुका लागि उर्वरभूमि भएकाले यहाँस्थित नेपाली सर्जकहरुलाई निरन्तर लेखिरहन आग्रह गरे । त्यस्तै लेखक तथा वन्यजन्तुविद ददी सापकोटाले अफ्रिका महादेशका विषयमा नियात्रा लेख्दा खाली घुमेको, डुलेको, होटेलमा बसेको मात्र होइन कि त्यहाँको प्रकृति, वनस्पति र वन्यजन्तुका विषयमा पनि कलम चलाउनुपर्ने आवश्यकतामाथि जोड दिए ।

कार्यक्रममा अनेसास केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइलाले आफ्नो शुभकामना मन्तव्य राख्दै अनेसास अफ्रिका च्याप्टरले यसरी सर्जक र सिर्जनाको खोजी र पहिचान गर्ने महत्वपूर्ण कार्य गरेर च्याप्टर गठनको छोटो समयमै आफुलाई उत्कृष्ठताको कसीमा खरो उतारेको भन्दै प्रसंश गरे ।

अन्तराष्ट्रिय नेपाली साहित्य समाज अफ्रिका च्याप्टरका अध्यक्ष साहित्यकार गणेश खड्काको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको संचालन उपाध्यक्ष सुवास सापकोटाले गरेका थिए । स्वागत मन्तव्य च्याप्टरका सल्लाहकार तथा एनआरएनए भाषा,साहित्य, संस्कृति तथा सम्पदा समितिका अध्यक्ष साहित्यकार हिक्मत थापाले दिएका थिए । स्वागत मन्तव्य राख्दै सल्लाहकार थापाले अफ्रिका महादेशमा नेपाली साहित्यको दयनीय अवस्था हिजोभएको तर च्याप्टर गठनसँगै अब त्यो अवस्था नरहेको र आफूहरु सक्रिय रहने बताए ।

त्यस्तै समापन मन्तव्य राख्दै अध्यक्ष खड्काले अनेसास अफ्रिका च्याप्टर गठन आफैंमा एउटा चुनौती रहेको बताए । गठनपछिको प्राथमिक काम यो महादेशलाई सिर्जनाभूमि बनाएर सिर्जित सिर्जना र सर्जक खोजि प्रक्रिया रहेको र यो अर्को सफलतम शृंखला भएको बताए ।

योभन्दा अघि पनि च्याप्टरले अफ्रिका महादेशमाथि लेखिएका नेपाली सिर्जना र श्रष्टाहरुको सफल खोजी र पहिचान सहित सार्वजनिक कार्यक्रम गरिसकेको छ । च्याप्टर यस्ता थुप्रै घोषित-अघोषित कार्यक्रम लिएर निरन्तर आउने प्रतिबद्दता पनि उनले ब्यक्त गरे ।

तपाइँको प्रतिक्रिया

फेसबुक