आइतबार, साउन १०, २०७८

साँच्ची, खप्र किन केपी भए ?

सन्जय घिमिरे२०७८ वैशाख १३ गते १६:१०

केही दिन यतादेखि म सोचीरहेको छु – साँच्ची नेपालका प्रधानमन्त्री खडगप्रसाद ओली अर्थात खप्र, कहिलेदेखि केपी भए ? र किन भए ? पुरा नामलाइ अली छरितो र संक्षिप्त बनाउनै परे खप्र छँदै थियो । हुनत, यो अती सामान्य कुरा वा सामान्य बदलावपनि हुन सक्छ ।

जसै समयले मलाइ वा हामीलाइ नेपालबाट अमेरिका ल्याइपुरयायो, उसै समयले खप्रलाइ केपी बनाएको पनि हुन सक्छ । वा, यसमा समयको खासै हात नहुन पनि सक्छ । म आँफै बदलीएको मान्छेले, मेरो मातृदेशका बदलीएका प्रधानमन्त्रीमाथी टिप्पणी गर्ने हैसियत कती राखुँला ? यसमा म निश्चीत छैन । मलाइ डर पनि छ । तैपनी किन किन हिजोआज सोचीरहेको छु– खप्र साँच्ची किन केपी भए ?

हिजो आज नेपालका प्रधानमन्त्रीका अफिसियल पत्राचार वा सन्देशहरुमा समेत खप्रको सट्टा केपी देख्छु । यो बदलाव कहिलेदेखि भयो ? कुनै कारणवश भयो वा विनाकारण भयो ? मलाइ किन किन यो जान्न मन लागीरहेको छ । धेरै प्रश्न उठाउन मन छैन । मात्र जान्न मन छ । मेरो मनको यो जिज्ञाशा जती वाहियात जस्तो देखिन सक्छ, उत्ती अर्थपूर्ण पनि हुनसक्छ । मलाइ थाह छैन । कसैसँग यसको ठ्याक्क जवाफ पनि हुनसक्छ । र, म बेबकुफ ठहरिन पनि सक्छु । त्यतीन्जेलसम्म भने म अर्थ र कारण खोजीरहेको हुनेछु – किन नेपालका अहिलेका प्रधानमन्त्री खड्गप्रसाद ओलीले खप्र हुन चाहेनन् । र, अंग्रेजी केपीलाइ ग्रहण गरे र?

नेपालका प्रधानमन्त्री ओली, जो नेपाली मिडीयाालाइ भाषा, आदर र अनुशासन सिकाउँछन । नेपालका प्रधानमन्त्री ओली जो सबैलाइ पूर्वीय संस्कृती, सभ्यता, अनुशासान र ज्ञानको पाठ पढाउँछन । नेपालका प्रधानमन्त्री ओली, जो बेलाउतीको पात र बेसार भनेपछि हुरुक्क हुन्छन् । नेपालका प्रधानमन्त्री जो, कहिले धन्वत्तरी, कहिले नेपालका भाषा विज्ञ बालकृष्ण पोखरेलका रुपमा प्रकट हुन्छन् । नेपालका प्रधानमन्त्री ओली जो, ‘हाय ड्याड’ वा हाय मम’ भनेको पटक्कै मनै पराउँदैनन् । नेपालका प्रधानमन्त्री ओली जो गैंडालाई राइनो’ भनेको सुन्न चाहँदैनन । ति ओली आफ्नै नाम ‘केपी’ भनेको कसरी सुन्न सक्छन् !

उसो त, नेपालका प्रधानमन्त्रीका अनेक रुप छन । म बबुरो के चर्चा गरुँ ? उनको वर्णनको जिम्मा म शेषनागहरुलाइ दिन्छु । अरिंगालहरुलाइ दिन्छु । शेषनाग जो उनका वरिपरी बसेर अरुलाइ फँडा फिँजाउँछन् । ती नागहरुको म नाम नलिउँ । अरिंगालहरु जो उनका वरीपरी बसेर अरुलाइ पखेंटा फिंजाउँछन र अरुका लागी खिल जम्मा पार्छन, ती अरिंगालहरुको म नाम नलिउँ ।

म अचम्मको आश्चर्यमा छु – सभ्यता, सँस्कृती, भाषा, आाफ्नोपन र आदरका व्याख्यता, त्यस्ता उच्चकोटीका नेपालका प्रधानमन्त्री ओली सँँच्ची किन आफू भने खप्रबाट केपी भए ? खप्रलाइ केपी हुन के बाध्यता आइलाग्यो ? खप्रमा उनले के खराबी देखे ? र, केपी हुनुमा उनले के असल देखे ?

मलाइ सम्झना भएसम्म गृहमन्त्री हुँदासम्म यी खडगप्रसाद नै थिए । त शनै शनै यी केपी बन्दै गए । उनै केपीले जब जब हिजोआज नेपाली मिडीयालाइ भाषा र मौलीकताको पाठ पढाउँछन, अनी मलाइ उनैलाइ सोध्न मन लाग्छ– खप्र किन केपी भएको ?

हुनत, यो बिचमा नदीहरुमा धेरै पानी बगिसक्यो (अक्सर भनीने) बागमतीमा धेरै पानी बगिसक्यो । यो वाक्य मैले जानी जानी प्रयोग नगरेको हुँ । यसकारण कि हिजोआज बागमतीमा पानी बग्छ कि फोहोर बग्छ, मलाइ थाह छैन । यो बिचमा, खडगप्रसादको जिन्दगीको पानी पनि धेरै बगेको छ । जसै जसै पानी बग्यो, शायद उनी पनि बगे । बगे होलान् । बग्न त, न पानीलाइ, न जिन्दगीलाइ रोक्न सकिन्छ । म जसरी बगें, उसैगरी खडगप्रसाद पनि बगे होलान् । म जसरी बगेर अमेरिकी भएँ, उसैगरी शायद खडगप्रसाद बगेर केपी भए । तर डर यत्ती मात्र हो म बग्दा म मात्र बग्दोरहेछु । खडगप्रसाद बग्दा त देशै पनि बग्ने खतरा हुँदोरहेछ । यसैले म कामना गर्छु– खडगप्रसाद बग्दै बग्दै केपी भएर सागरमा नबिलाउँन ।

कता कता मलाइ डर छ– नेपालामा कसैले कृतिम खहरे ल्याउँछ । र, राजननैतीक एवं सामाजीक चेतनालाइ समेत बगाउँछ । कतै प्रधानमन्त्री ओली पनि खहरेको ढुंगा जस्तै हुन कि ? मलाइ डर छ । उनले आँफुलाइ खहरेबाट जोगाऊन । म त यही चाहान्छु । म त चाहान्छु– नेपालका प्रधानमन्त्रीले के पी होइन, खप्र नै रहिरहुन् ।

बेसार र अम्बाको पातको जती गफ दिएपनि म त चाहान्छु, नेपालका प्रधानमन्त्रीले नेपाली च्युरीलाइ ‘इन्डियन बटर ट्रि’ बन्न नदिऊन् । बेसार र अम्बाका पातको जती गफ दिएपनि म त चाहन्छु, नेपालका प्रधानमन्त्रीले रगत शुद्ध गर्न र कलेजोको उपचारमा काम लाग्ने नेपाली घोलटाप्रेलाइ ‘इन्डियन पेनीवोर्ट’ हुन नदिऊन् ।

बेसार र अम्बाको पातको जती गफ दिएपनि, म त चाहान्छु, नेपालका प्रधानमन्त्रीले नेपाली घ्युकुमारीलाइ, ‘इन्डियन आलो’ हुन नदिऊन् । बेसार र अम्बाको पातको जती गफ दिएपनि म त चाहान्छु – नेपालका प्रधानमन्त्रीले नेपाली जामुनलाइ, ‘इन्डियन ब्ल्याकबेरी’ हुन नदिऊन् । बेसार र अम्बाको पातको जती गफ दिएपनि म त चाहान्छु, नेपालका प्रधानमन्त्रीले मुटुलाइ स्वथ्य राख्न काम लाग्ने नेपाली राजवृक्षलाइ ‘इन्डियन ल्याबरनम’ हुनबाट रोकुन् । आखिरमा म त चाहन्छु – खप्र, खप्र नै रहुन् ।

मैले अघि नै भनें नि– म बग्दा मात्र म मात्र बग्दोरहेछु । खडगप्रसाद बग्दा त देशै पनि बग्ने खतरा हुँदोरहेछ । अरु थप म के भनुँ ? म त उही प्रश्नको वरीपरी रन्थनिएको छु – साँच्ची खप्र किन केपी भए ?

तपाइँको प्रतिक्रिया

फेसबुक