बिहीबार, चैत १५, २०८०

भारतलाई कोरोना विरुद्धको लडाइँमा सहयोग गर्न चीन र पाकिस्तान इच्छुक

नेपालप्लस सम्वाददाता, काठमाडौं२०७८ वैशाख १३ गते १८:११

भारतमा कोरोना संक्रमणले भयावह रुप लिइरहेको बेला चीनले सहयोगको लागि हात बढाएको छ । भारतीय विदेशमन्त्री एस। जयशंकरले विश्व समुदायलाई कोरोना विरुद्धको लडाइँमा सहयोगको निम्ति आव्हान गर्ने बित्तिकै चिनियाँ विदेश मन्त्रालयले ‘कुन कुन क्षेत्रमा के कति सहयोगको आवश्यकता परेको हो ?’ भन्ने प्रश्न गर्दै चीन सरकार सहयोगको निम्ति तयार रहेको बताएको छ ।

विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिंगले ट्वीट गर्दै भनेकी छिन्, ‘भारतमा कोरोना संक्रमणको भयावह स्थितिको बारे हामी जानकार छौं । तोकिएरै आवश्यक सहयोगको माग भएमा हामी तत्काल सहयोगको निम्ति तयार छौं ।’

चीनबाट दिनहुँ सामान लिएर आउने सिचुवान एयरलायन्सको कार्गो विमानले १५ दिनको निम्ति कोभिड १९ को कारण देखाएर विमान रद्द गरिदिएपछि भारतमा आउने अत्यावश्यक सामानहरुको आपूर्तिमा समस्या परेको छ । कोरोनाको प्रकोप बढ्ने बित्तिकै भारतबाट जियांग्सू युवे मेडिकल इक्विप्मेन्ट कम्पनीमा अर्डर गरिएका १८ हजार अक्सिजनका सिलिण्डरहरु दिन रात नभनी कम्पनीले बनाइरहेको जनाएकोछ । यस्तै मास्क, पीपीई सेट लगायत अन्य सामाग्रीहरु पनि चीनमा ठूलो सँख्यामा अर्डर दिइएको अखबारहरुले जनाएका छन् ।

चिनियाँ संचार माध्यमहरुमा भारतमा कोरोनाको कहरको नियमित रिपोर्टिंगहरु भइरहेका छन् । अमेरिका, वेलायत र युरोपबाट भन्दा छिमेकी देशहरुबाटै आवश्यक सरसहयोग लिनु राम्रो हुने आशयका विचारहरु चिनियाँ सरकारी संचार माध्यममा प्रकाशित प्रसारित भइरहेका छन् ।

त्यस्तै, पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पनि भारतलाई मानवीय संकट परेको बेला आफूले सकेको सहयोग गर्न सधै तयार रहेको बताएका छन् । पाकिस्तानी विदेश मन्त्रीले वक्तव्य नै निकालेर सहयोगको निम्ति हात बढाएको जनाएका हुन् ।

चीन र पाकिस्तानसँग सधै लडाइँ झगडा मात्रै गरिरहने भारतले उनीहरुसँग के कस्तो सहयोग लिनेछ ? अहिलेसम्म स्पष्ट पारिसकेको छैन । सिंगापुर र साउदी अरबबाट अक्सिजन आउन भने शुरु भैसकेको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक