शुक्रबार, वैशाख १४, २०८१

जानाजान २२ जनालाई कोरोना सार्ने ठिटो प्रहरीको खोरमा

नेपालप्लस न्युज डेस्क२०७८ वैशाख १३ गते २१:३५

स्पेनको मायोर्का टापूमा कोरोना संक्रमित तन्नेरीले जानाजान अरुलाई रोग सार्दै हिंडेपछि प्रहरीले पक्राउ गरेको छ ।

एउटा निजी कम्पनीमा कार्यरत ती तन्नेरी नियमित जिमखाना जाने गर्दथे । हल्का रुघाखोकी, ज्वरो आएपछि उनी कोरोना परीक्षण गर्न गए । कोरोना लागेको भेटियो । आइसोलेशनमा बसेर उपचार गर्नुपर्नेमा उनी भोलिपल्टदेखि नियमित काममा गए । जिमखाना गएर व्यायाम पनि गर्न थाले । बजारमा नियमित सामान किन्न पनि हिंडे ।

गएको साता साथीभाइलाई भोज पनि ख्वाए । कुखुरा र बंगुरको मासु पकाएर मजाले बियरसँग खाएर रमाइलो गरे । रमाइलो गर्ने क्रममा मास्क निकालेर “म तिमीहरु सबलाई कोरोना सार्दिन्छु” भन्दै ठट्टा गरे । मातेर झल्लु भएपछि सबैले हातमा हात मिलाएर नाचगान गरेका थिए ।

भोज खाएको भोलिपल्टबाट सात जना सँगै रमाइलो गर्नेलाई ज्वरो आउन थाल्यो । रोग सार्ने व्यक्तिलाई त ज्वरो आइरहेकै थियो । काम गर्ने ठाउँमा अरुलाई पनि ज्वरो आउने र जिमखाना जानेमा पनि संक्रमण भेटिएपछि उनको पुनः परीक्षण भयो । जम्माजम्मी २२ जनामा कोरोना भेटियो ।

अहिले उनलाई पुलिसले पक्रेर खोरमा थुनेको छ । खोरमा पनि उनलाई आइसोलेशनमा राखिएको छ । डाक्टरहरुले नियमित रेखदेख गरिरहेका छन् । पुलिसले पनि टाढैबाट सोधुपूछ गरिरहेको छ ।

अब उनलाई अदालती प्रकृयाबाट कोरोना विरुद्धको कानून पालना नगरेको अभियोग प्रमाणित भएपछि कारवाही गरिने भन्दै रोयटर्सले उल्लेख गरेको छ ।

तपाइँको प्रतिक्रिया