शुक्रबार, वैशाख ७, २०८१

कथा : दाईको सपना

किरण कुमार / काठमाडौं२०७८ वैशाख १३ गते २२:०७

“बा म पाइलट बन्छु ।” उडिरहेको हवाईजहाज देखाउँदै दाई यसै भन्थ्यो । यो त्यतिबेलाको कुरा हो जतिबेला दाई सानै थियो । म झन् सानो थिएँ । मलाई त पाइटल भनेको के हो पनि थाहा थिएन ।

बा मुख उज्यालो बनाउँदै, “ल ल बन्छस् ।” भन्नुहुन्थ्यो । बाले भनेपछि दाई पाइलट बन्छ । मलाई यस्तै लाग्थ्यो । किनकी बाले भनेका धेरै कुरा हुन्थे, हाम्रो घरमा ।

पाइलट बन्न धेरै पढ्नुपर्छ भन्ने सुनेको थिएँ । दाई सधैँ पढैर नै त बस्दैनथ्यो । तर दाईको नतिजा राम्रो थियो । नतिजा राम्रो हुनु भनेको धेरै पढ्नु हो । त्यसैले दाईमा पाइलट बन्ने छाँट थियो । पाइलट बन्न धेरै पढ्नु पर्छ भन्ने कुरा उसले पनि बुझेको थियो । बालाई उसमा विश्वास थियो र दिनुहुन्थ्यो, राम्रो पढ्ने हौसला ।

आकाशमा दिनमा धेरैपटक हवाईजहाज आउजाउ गर्थे । दाई हरेक उडान सकेसम्म नछुटाइ हेर्थ्यौ । हेर्न स्थिति नभए आवाज नै भएपनि मौन रहेर सुन्थ्यो ।

मलाई भने हवाईजहाजको आवाज सधैँ कर्कश नै लागिरह्यो । कहिले साना आउँथे । कहिले अल्लि ठूला आउँथे । ठूलो आवाज निकाल्दै । झरीका दिनमा आनन्द दिन्थ्यो । आउँदैन थियो । नआए नै वेश लाग्थ्यो ।

हवाईजहाज पनि गाँउ हुँदै उड्ने मात्र गर्थ्यो । बस्ने ठाउँ थिएन, गाउँमा । हवाईजहाजले चाहेर पनि बस्न पाउँदैन थियो । गाउँले रहर गरेर पनि हवाईजहाज बस्दैनथियो ।

उड्ने गुड्ने देखेको साधन त्यही थियो । अर्थात् गाउँमा गाडी चल्दैनथियो । बाटो खुलेको पनि थिएन । गाडी देख्न सहर पुग्नुपर्थ्यो । तीन, चार घण्टा हिंड्नु पर्थ्यो सहर पुग्न । त्यसलाई सहर पनि के भन्नु ? आठ, दश ओटा पसल रहेछन् । दिनमा एक्दुईटा गाडी आउँदो रहेछ । मैले धेरै पछि मात्र थाहा पाएँ । तर सहर भनेको सहर नै हो । गाँउमा नपाइने सामानहरू त्यस सहरमा थिए । ठूलो कुरा त गाडी देख्न पाइन्थ्यो त्यहाँ । अरू आवश्यक सामानहरू पनि त्यहाँ पाइन्थ्यो । गाँउलेहरू सामान लिन त्यहाँ पुग्थे । बच्चाबच्ची पनि पुग्थे । एक्दुई जोर लुगा किन्थे । छुट्टै सान देखाउँदै गाँउ आइपुग्थे । केही दिन, हप्ता नै भनौँ न, सानकासाथ गाँउ डुल्थे । त्यो सौभाग्य मलाई मिलेको थिएन । हुन त मलाई त्यस्तो रहर कहिल्यै चलेन । त्यसबेलासम्म दाई पनि पुगेको थिएन, त्यस सहरमा । पुग्यो भने, गाडी गुडेको देख्थ्यो भने दाईले सोच्ने, सपना देख्ने विषय फेरिन्थ्यो होला ।

दाई भन्थ्यो, “थाहा छ तँलाई, हवाईजहाजमा पाइलट हुन्छ नि ?” मलाई थाहा हुने कुरा नै थिएन । मौन रहन्थें । उ थप्थ्यो, “पाइलटले हवाईजहाज गुडाउँछन् ।”

हवाईजहाज कसरी उड्छ होला ? कहिलेकाहिँ सोच्ने गर्थें । तर सोचेर उत्तर कहाँ पाइन्छ र ? दाईको मनमा कौतूहलता त हुन्थ्यो होला । तर उसले यसबारे कहिल्यै केही भनेन । सायद थाहा नभएर होला । मैले पनि केही सोधिन ।

दाई पढ्नमा मात्र होइन, अन्य क्रियाकलापमा पनि सक्रिय थियो । खेल्न कुद्न कसैले भेट्दैन थिए ।

खेल्न भनेर दाईको पछिपछि म पनि लाग्थें । तर दाईले सधैँ झिझो मान्थ्यो । म सानै थिएँ, त्यसैले होला । बेलुका स्कूलबाट आएपछि दाई प्रायः सधैँ फुटबल खेल्न कुद्थ्यो । दाई कुदेपछि म पनि कुद्थे । थोत्रा, हावा नभएका बल हुन्थे । मलाई खेल्न त के दिन्थे । छेउमा बसेर हेर्ने अनि बल बाहिरतिर, झाडीतिर, तल्लिर पाटातिर गयो भने कुद्दै ल्याउने । त्यही बेला मात्र मैले बल छुन पाउँथे । नत्र त हेर्नमा नै सिमित हुन्थ्यो ।

कहिलेकाहिँ दाई जानीजानी बल बाहिर फाल्थ्यो । अनि मलाई ‘लिन जा’ भन्थ्यो । मलाई बल ल्याउन त मजा नै लाग्थ्यो । दौडिहाल्थें । बल भुईमा राखेर जोडले हान्न पनि दिन्थे । बल हानिसके पछि दाई भन्थ्यो, “भाई, तँ घर जा । आमाले गाली गर्नुहुन्छ फेरी ।”

मलाई घर पठाउन उसले बल बाहिर फालेको बुझेपछि म लुरुलुरु घर फर्कन्थें । बल हेर्न अरु कुनै दिन कुर्नु पर्थ्यो ।

दाई चङ्गा पनि खुब राम्रो उडाउँथ्यो । आफैँ चङ्गा बनाउँथ्यो । के के कला जान्ने हो, दाई पनि । धागो पनि धोक्रा उधिनेर निकाल्थ्यो । कहिले दाम्लो बनाउन भनेर ल्याएको नाइलनको डोरी सक्याउँथ्यो । तर पनि बाआमाको गाली भने कम नै खान्थ्यो । चङ्गा माथि पुऱ्याएपछि मेलै पनि चङ्गाको लट्टाई छुन पाउँथे । दाईले धागो छोड्न भने दिंदैनथियो । लट्टाई समाएर बसिरहन पनि खुब मजा आउँथ्यो । चङ्गा तलतल झर्न थालेपछि भने मेरो लट्टाई समाउने कोटा सकिन्थ्यो । चङ्गा उडाउने समय सकिन्थ्यो ।

दाई खेतबारी कुलो हेर्न पनि बारबार पुगिरहन्थ्यो । एकदिन उ र म कुलो हेर्न गएका थियौँ । बर्षा लागे पनि कुलोमा पानी राम्रो थिएन । कहिले कसले मार्दिने, कहिले कसले लगाइदिने, कहिले खोलिएर जान्थ्यो । हाम्रो खेत राम्ररी ढाकेकै थिएन । यो त्यतिबलाको कुरा हो, जतिबेला दाई हाईस्कूल पढ्न जान थालिसकेको थियो । त्यतिबेला नौ, दश पढाई हुने स्कूललाई हाईस्कूल भनिन्थो । हुन त गाउँमा पाँचसम्म मात्र पढाई हुने स्कूल थियो । हाईस्कूल पुग्न एक घण्टा हिंड्नुपर्थ्यो । मेरो एक घण्टा हिंड्नुपर्ने दिन सुरु भएकै थिएन ।

“ओई, पानी हेर्न जानी । हिंड् ।” दाईले यत्ति भनेपछि म उसको पछि लागेको थिएँ ।

कुलोको मुहान अर्थात् खोलासम्म नै पुग्यौँ । खोलाबाट नै पानी चुहिएर कुलो सुकेको रहेछ । थुनथान पाऱ्यौँ । कुलोमा अटाइनअटाइ पानी बग्न थाल्यो ।

पानी अन्त कहीँ चुहिन्छ कि भनेर हेर्न पानी सँगसँगै हिंड्नु पर्थ्यो र चुहिएको ठाउँमा थुन्दै अघि बढ्नुपर्थ्यो । तर दाई पानीभन्दा छिटोछिटो हिंड्न थाल्यो । मैले कुरा बुझिहालेँ । कुलो त निहुँ मात्र थियो । उद्देश्य त अर्को रहेछ । उद्देश्य थियो, आँप खाने । खानेभन्दा पनि चोर्ने भन्दा उपयुक्त होला । नसोधी खानुलाई चोर्नु नै भन्दा वेश होला ।

आफ्नै बारीमा पनि आँप नभएको त होइन । तर भर्खर असार सकिँदै गर्दा ति आँप काँचै थिए । आँप पाक्नलाई अझै अर्को महिना कुर्नुपर्थ्यौ । फेरी गाँउका भूराभूरीको हरेक दिनको पुग्ने ठाउँ बनेको थियो, मङ्गलेको आँपघारी । घारीभन्दा पनि बारी नै भन्दा उपयुक्त होला । मङ्गल ठकूरीको बारीभरी आँपका बोट थिए । बारीमुनि थियो कुलोको बाटो ।

मङ्गल ठकूरीको पुर्ख्यौली जमिन थियो । फलफूल प्रशस्त थिए । आँप पनि गाउँमा अरूकोमाभन्दा चाँडै पाक्ने जातका थिए । सबैभन्दा मिठो लाग्थ्यो, सुपारी आँप । त्यो छिटो पाक्थ्यो, काँचो पनि मिठो हुन्थ्यो । स्कूलमा बर्षे बिदा सुरु भएपछि गाउँका भूराभूरीलाई त्यहाँ पुग्न कुनै समस्या थिएन । समस्या आँपधनीले भेटे भने मात्र हुन्थ्यो ।

तर ममा त्यस्तो आँट कहिल्यै आएन । देख्दा खाउँजस्तो नलाग्ने त होइन । तर हातै हाल्न धक लाग्थ्यो । र पस्दिन थिएँ । बाटो पर्दा पनि खुरुखुरु हिंड्थें ।

त्यसदिन दाईले आँप खुवाउने योजना बनाएछ । हुन त त्यसभन्दा अघि पनि त्यहाँको आँप नखाएको होइन । तर अरूबेला “आँप खान जाने । हिंड्” नै भन्थ्यो । म लुरुलुरु पछि लाग्थें ।

दाई छिटोछिटो अघि बढ्यो । मैले भेट्टाउनै सकिन । म पुग्दा त दाई आँपको रुखमा चढिसकेको रहेछ । अरु कोही रहेनछन् । म बारीमा उक्लिएँ । रुखमा उक्लिन आँट थिएन । त्यसमाथि बर्शामा आँपमा रुख चिप्ला हुन्थे । लड्ने सम्भावना धेरै हुन्थ्यो ।

दाईले आँपको हाँगा हल्लायो । पाकेका आँप बरर झरिहाले । मैले दाईलाई हाँगा नहल्ला है भनेर आँप बटुल्ल लागेँ । दाई हाँगामा बसेर आँप टोक्दै रहेछ । मैले पनि एउटा आँप टोकिहालेँ । अनि अरु आँप पोल्टामा बटुल्न थालेँ । पोल्टो भरी भएको थियो । त्यत्तिकैमा माथिबाट कोही करायो, “त्यहाँ को हँ ?”

आवाज चिनीहालें, मङ्गल ठकूरीकी जहान । ‘ल अब मार्ने भइन’। यही सोचेर म झटपट दौडिन लागेँ । दाईलाई भागौँ पनि नभनी । अप्ठेरोमा आफ्नो ज्यान प्यारो ।

म हत्तपत्त कुलोमा पुगिहालेँ र माथिबाट नदेखिनेगरी झारीमा छेकिएर बसेँ । स्वाँस्वाँ र फ्वाँफ्वाँ त थियो नै । दाई कुनबेला आउला भनेर पर्खिन थालें । दाई आएको भए त्यति डर चिन्ता र स्वाँस्वाँ हुन्नथियो होला । तर दाई आएन । कता गयो, रुखबाट लड्ने हो कि । अब डर लाग्न थाल्यो ।

“कुन बज्या हो त्यहाँ, हँ ?” मङ्गलेकी जहान फेरी कराइन् । ‘ल आज दाई फस्यो । रामधुलाई भेट्ने भो ।’ मनमनै सोचेँ ।

“राजेश कता गयो, आमा ?” दाईको आवाज सुनेँ । दाई ठिकठाक नै रहेछ, बुझेँ । दाईको स्वरमा कुनै डर झल्किएको थिएन ।

“रुखबाट झरिहाल् त ।” मङ्गलेकी जहान अझै थर्काउँदै थिइन् ।

दाई रुखबाट झर्न थाल्यो । झरीसकेपछि बोल्यो, “राजेशलाई तल खेल्न जा भन्दिनु है ।” राजेश मङ्गलेको एक्लो छोरा थियो । दाईभन्दा पनि माथिल्लो कक्षामा पढ्थ्यो । कहिलेकाहिँ दाईसँग खेलेको पनि देखिन्थ्यो । तर सधैँ त होइन । त्यति धेरै मिलजुल पनि थिएन । दाईले आफूलाई सम्हाल्न सकेकोमा खुशी भएँ । दाईको यही त कला थियो । उसमा आँट थियो । भनेको कुरा नगरी छोड्दैन थियो ।

मङ्गलेकी जहानको कुनै आवाज सुनिएन ।

दाई सरासर म भए ठाँउमा आयो र सोध्यो, “खोई आँप ?”

म आफ्नो पोल्टातिर हेर्न थाले । पोल्टो रित्तो थियो । आँप जति सबै भाग्दाखेर खसेछन् । ‘थुइक्क । त्यति आँप त सम्हाल्न पर्छ नि’ आफैँलाई भनेँ ।

अघि टोक्न थालेको आँप हातमै रहेछ । दाईले खोस्यो र टोक्यो । केही नभनी हिंड्यो । म पछिपछि लागें । विकल्प पनि त केही थिएन । फेरी आँप लिन जाउँ त मारीहाल्लिन मङ्गलेकी जहानले ।

त्यसपछि राजेश र दाईको सङ्गत बाक्लिन थाल्यो । खेल्न, गाँउ डुल्न, वनतिर घुम्न सँगै देखिन थाले । अब आँप चोर्नु पर्ने आवश्यकता दाईलाई थिएन । तर त्यसदिनदेखी मलाई भने आँप खान लैजान छोड्यो । दाईको पछि लाग्न मैले पनि कम गर्न थाले ।

महिना बित्न थाल्यो । हाम्रोमा पनि आँप पाक्न थाल्यो । दाईले उसँगै राजेशकोमा आँप खान नलगेको रिस कम हुन थाल्यो, बिर्सन थाले ।

आँप खाएर सकिने थिएन । बेच्न लैजानु पर्थ्यो । बा र दाई भएर आँप टिपे । सहर लैजान ठिक्क पारे । र एक बिहानै बोकेर सहर हिंडे । साथमा अरू तीन जना मान्छे पनि थिए, जसलाई ज्यालामा आँपको भारी बोक्न लगाएका थिए बाले । मलाई पनि सहर जाने मन त थियो तर भन्न सकिन । बर्खाको बेला हिड्नु पनि त्यति उचित थिएन । भनेको भए पनि लैजाँदैनन्, थाहा थियो ।

स्कूल खुल्ने दिन पनि नजिकिंदै थियो । कापी कलमको खाँचो पनि थियो । दाई आफैँ सहर जान्छु भन्न थाल्यो । कापी कलम पनि ल्याउने र रहलपहल केही आँप पनि बेच्न लैजाने उसको योजना थियो । बाले एक्लै पठाउन मानेनन् । साथमा राजेश पनि जाने कुरा दाईले भने पछि मात्र बा राजी भए, दाईलाई सहर पठाउन ।

म नयाँ कापी, नयाँ कलम पर्खिएर बसेँ । दाईले आँपको डोको बोकेर हिंड्ने बित्तिकै । तर दाई फर्किएन । न कापी कलम आयो, न डोको नै फर्कियो । भोलीपल्ट मात्र थाहा भयो, दाई सहर भागेछ । साथमा राजेश पनि भागेछ ।

पाइटल बन्ने सपना लिएको मेरो दाई गाडीको ढोका ढकढकाउन हतार गरेर हिंडेछ ।

दाई सपना मारेर हिंड्यो । यता बाको सपना पनि चकनाचुर भयो । त्यसपछि बाको स्वर सधैँ रुखो भयो ।

मलाई कापी कलम त चाहिएको थियो नै, र बालाई कापी कलम ल्याइदिनु भनें ।

“पढेर के गर्छस् तँ ?” बाले सोध्नुभयो ।

मलाई के थाहा र, ‘पढेर के गर्छु ?’ केही सपना थिएनन् । कुनै रहर थिएनन् । दाईले घर छोडेपछि त झन् सपना देख्न हुन्न भन्ने लाग्यो । चुपचाप घोसेमुन्टो लगाएर मौन बसें । दाई हुन्थ्यो भने परिस्थिति भिन्न हुन्थ्यो होला ।

“नपढेर चाहिँ के गर्छ र ?” बरु आमाले दिनु भयो प्रश्न सहितको जवाफ । यसको जवाफ बासँग पनि थिएन कि । त्यसैले बा मौन रहनुभयो । त्यसपछि बा मौन रहँदै आवश्यक शुल्क तिरिदिनु भयो । कापी कलमको जोहो गरिदिनु भयो ।

एक महिना जति पछि राजेश गाउँ फर्कियो । फर्कियोभन्दा पनि फर्काइयो । उसको बाले धुइँपताल खोजे, राजेशलाई । र जबरजस्ती घर फर्काउन सफल भए । तर हाम्रो बाले दाईलाई खै किन त्यसरी खोज्न गएनन् । मन मरेर हो कि ! दाई पनि धेरै वर्ष घर फर्किएन ।

दाईले डोको गाँउको मान्छेलाई पठाइदिएको कुरा राजेशबाट थाहा पाएपछि बा गाउँको त्यो मान्छेसँग बोल्न नै छोडिदिनु भयो । खै किन हो डोको माग्न जानु भएन । ‘दाईले कापी कलम पनि पठाइदिएको थियो होला ।’ म यही सोचेर बसेँ । बालाई ‘लिन जानु’ पनि भन्न सकिन । बरु डोको देख्ने बित्तिकै दाईको याद आइरह्यो । अनि याद आइरह्यो दाईको ‘हवाईजहाज गुडाउने’ सपना ।

तपाइँको प्रतिक्रिया