शुक्रबार, वैशाख १४, २०८१

भ्रस्टाचारको आरोपमा निलम्बन गर्ने केन्द्रको निर्णय सार्वजनिक गर्न एनआरएनए केन्द्रबाटै किन आलटाल ?

नेपालप्लस संवाददाता२०७८ वैशाख १४ गते २२:१५

कोरोना भाईरस प्रभावित नेपाली मजदुरहरुको उद्दार र राहत कार्यक्रम अन्तर्गत भएको आर्थिक अनियमितता अनुगमन गर्न बनेको समितिले अनियमिततामा संलग्न ब्यक्तिहरुसँग स्पष्टिकरण लिएर यो हप्ता केन्द्रिय समितिमा प्रतिवेदन बुझाउँदै छ । स्पष्टिकरणका बेला आर्थिक अनियमिततामा संलग्न केही ब्यक्तिहरुले अज्ञानताबस गल्ती भएको बताएका छन भने केहीले गल्ती स्विकार गरेका छन् ।

मलेशिया लगायत खाडीका ९ राष्ट्रमा कार्यरत नेपाली मजदुरहरुको उद्दार र घर फिर्ती कार्यक्रमका लागि अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले एनआरएन केन्द्र मार्फत आर्थिक सहयोग उपलब्ध गराएको थियो । त्यसको कार्यन्वयनमा ब्यापक आर्थिक हिनामिना भएको आवाज उठे पछी एनआरएन केन्द्रले कोषाध्यक्ष महेश श्रेष्ठको संयोजकत्वमा अनुगमन समिती बनायो । त्यसै अन्तर्गत युनाईटेड अरब ईमिरेट्स (युएई) मा अनियमितताको छानविन गर्न राजु केसीको संयोजकत्वमा छानविन समिती गठन गरिएको थियो । उक्त समितिले एक महिना अघी नै आफ्नो रिपोर्ट अनुगमन समितिलाई बुझाईसकेको छ ।

रिपोर्टमा त्यहाँका एनसीसी अध्यक्ष प्रकाश कोइराला, उपाध्यक्ष पासाङ शेर्पा, आइसीसी संयोजक प्रविण पोखरेल लगायतका ब्यक्तिहरु अनियमिततामा संलग्न भएको किटान गरेको छ । तर आइसीसीले भने आरोप लागेका ब्यक्तिहरुलाई स्पष्टिकरण सोधेपछी मात्र अन्य प्रकृया अगाडि बढाइने बताउँदै कारवाहीको प्रकृया समेतलाइ लम्ब्याएको थियो ।

अनुगमन संयोजक तथा आइसीसी कोषाध्यक्ष महेश श्रेष्ठले छानविन समितिको प्रतिवेदन र आरोप लागेका ब्यक्तिहरुको स्पष्टिकरण आइसीसीमा यसै हप्ता बुझाउन लागिएको बताए । उनले भने “हामीले २-३ दिनमा यि सबै कुराहरु आइएसमा बुझाउँछौ र आइसीसीले उपयुक्त निर्णय गर्ने छ ।” तर कस्तो कारवाही हुन्छ भन्ने कुरा उनले खुलाएनन् ।

छानविन समितिको अध्ययन अनुसार युएईमा मात्र करिव २० लाख नेपाली रुपैयाँको अनियमितता भएको छ । ‘तपाईंहरुले लिएको स्पष्टिकरणमा के कुरा आएको छ त ?’भन्ने एक प्रश्नमा संयोजक श्रेष्ठले भने- “छानविन समितिको रिपोर्टमा भएजस्तै कति कुराहरुलाई स्विकार गरेका छन् भने कति कुराहरुलाई खण्डन गरेका छन् । यस अघि अध्यक्ष कोइराला र उपाध्यक्ष शेर्पालाई एनआरएनए युएईले निलम्बन गरिसकेको छ । आइसिसीको बैठकबाट निलम्बन गर्ने निर्णय बाहिरिएपनि आइसिसीले निलम्बन गरेको सार्वजनिक भने गरेको छैन । आइसिसीले गरेको निलम्बनको निर्णय सार्वजनिक नगरि किन आलटाल गर्ने र अड्काएर राख्ने गरिएको हो भन्ने चौतर्फी प्रश्न उठेको छ । केहिले आइसिसीको निर्णय सार्वजनिक नगर्नुमा आइसिसीका केहि ब्यक्तिको स्वार्थ हुनसक्ने आशंका गरेका छन् ।

जुम बैठकमा अध्यक्ष कोइरालाले आफूहरुले आइसीसीले भनेअनुसार नै काम गरेको बताएका थिए । नेपालप्लसलाई प्राप्त जुम बैठकको भिडियोमा तत्कालिन अध्यक्ष कोइरालाले उपाध्यक्ष पासाङ शेर्पाको बचाउ गर्दै भनेका छन- “यदी तपाईंहरुलाई मैले बदमासी गरेको लाग्छ भने मलाई निलम्बन गर्न सक्नुहुन्छ । तर उपाध्यक्ष शेर्पाले कुनै गल्ती गर्नु भएको छैन । उहाँले त आइसीसी र मैले अह्राएको काम मात्र गर्नु भएको हो ।”

आइएलओ द्वारा खाडी, मलेशिया लगायतका देशमा समस्यामा परेका नेपालीहरुको उद्दार तथा घरफिर्तीको सहयोगका लागि एनआरएन मार्फत शुरु गरिएको यो कार्यक्रम सकिन अब एक महिना मात्र बाँकी छ । र आइएलओमार्फत् भविष्यमा यस्ता खालका सहकार्यहरु हुन सक्ने सम्भावना क्षिण बन्दै गइरहेका छन् ।

आइएलओको उच्च स्तरिय कार्यालयले समेत यो योजनाका बारेमा आन्तरिक छानवीन र स्वतन्त्र लेखापरिक्षण सुरु गरिसकेको छ जसको विस्तृत प्रतिवेदन मे महिनाको पहिलो साता आइएलओको काठमाडौं कार्यालयलाई प्राप्त हुने जनाइएको छ ।

तपाइँको प्रतिक्रिया