आइतबार, साउन १०, २०७८

गण्डकीमा उत्तानो परेको संघियता

लक्ष्मण देवकोटा२०७८ वैशाख १६ गते १६:५३

अजब देशको गजब चाला भनेको यही हो । काठमाडौंमा दुखजिलो गरी बस्नेहरु ज्यान बचाउन गाउँतिर हाम्फालेका छन् । भारतमा ज्याला, मजदूरी गरेर बस्नेहरु पोका पन्तुरा बोकेर सिमाना नाघेपछि लामो सास फेरेर भन्छन, ‘मरिएछ भने पनि आफ्नै आँगनमा मरिने भइयो ।’ भीडभाड उस्तै छ । मानिसहरु अस्पतालमा बेड नपाएर मर्न थालेका छन् । भारतको कहालीलाग्दो दृष्य भारतीय मिडियाहरुले देखाइरहँदा पनि गण्डकी प्रदेशमा सत्ताको दुर्गन्धित खेलको कुरुप दृष्य मन्चन भइरहेकोछ । नंगा नाचे हजार तालको लयमा ।

केन्द्रीय संसद नै बध गर्ने गुरु ओलीको उपद्रो उनका चेला पृथ्वी सुब्बा गुरुङले सिक्ने नै भए । रातारात खसीबोका झैं मोलमोलाइमा बिक्री भए जनमोर्चाका खिमविक्रम शाही । जबकी जनमोर्चाको दलले निर्देशन दिएको थियो, पृथ्वीसुब्बा गुरुङको विपक्षमा मतदान गर्नू । ती हराए । एकैदिन सरकारी अस्पतालमा नेगेटिभ आएको कोरोना रिपोर्ट निजी क्लिनिकमा गएर पोजेटिभ भेटियो । आफ्नै दलका मानिसलाई आफ्नै दलको बेपत्ता सांसद हेर्न समेत दिइएको छैन । मूसक शाहीलाई पुलिसले रुँगेर बसेको छ । उता माओवादीका सभामुखले पनि मेसो पाइहाले । हत्तपत्त जनमोर्चा सांसदको पत्रका आधारमा हराएका सांसद नभेटिंदासम्म अनिश्चितकालका लागि संसद नै स्थगित गरिदिए ।

हिजो एमाले सकेसम्म चुनाव पर धकेल्न चाहन्थ्यो, आज प्रतिपक्षका सांसद नै बेपत्ता भएपछि प्रतिपक्षले चुनाव धकेलिदियो ।

जेजसो भएपनि यो फोहोरी खेलले गण्डकीमा बडो नराम्रो गरी प्रवेश पायो । पृथ्वी सुब्बाले फोहोरी खेल नखेलेर कोरोनाको नाटक नगरेको भए हिजै उनी गल्र्यामगुर्लुम हुनेथिए । रातभरीमा अग्राख पलायो । जनमोर्चाका सांसद हुँदै नभएको कोरोनाको नाटक गरेर आइसियूमा बसे । अस्पतालको बसाइ, चाहिने नचाहिने उठाबसीमा साँच्चिकै कोरोना लागेर ती सांसदको ज्यान तलमाथि परे के हुनेहोला ? को हुनेहोला त्यसको जिम्मेवारी ? हरामखोरहरु सब झेल्ली खेलेर जित्न कस्सिएकाछन् ।

गाउँगाउँमा अहिले कोरोनाको डरलाग्दो आगो सल्किएको छ । गाडीभाडा तेब्बर भन्दा बढि छ । जहाज भाडा उस्तै छ । स्वास्थ्य सामाग्री पुग्नेगरी छैन । मानिसहरुले सुरक्षाका नियम, उपाय पालन गरेका पनि छैनन् । हिजो पार्टीको किचलोमा ठाउँ ठाउँमा आमसभा हुँदा यिनीहरुले गाडीका गाडी मान्छे ओसारे । आज दूधे केटाकेटीहरु गाउँ फर्कन खोज्दा गाडी छैन । बोर्डरबाट आउनेहरुको सास्ती उस्तै छ । राजनीतिका नाममा गुण्डागर्दी गर्ने यी अधर्मीहरुको फोहोरी खेलले जनता दिक्क भइसकेका छन् ।

संसारकै जुनसुकै व्यवस्था ल्याएपनि हाम्रा नेताहरु सुध्रिने भएनन् । शेर बहादुर देउवा थिए उ बेला यस्तो धन्दा गर्ने । अहिले त देउवाका बाउ निस्किए कम्युनिष्टहरु । लुम्बिनी प्रदेशमा अविश्वास प्रस्तावमा सही गर्ने मान्छे नै रातारात मन्त्री भयो । त्यो दोग्लाले के विकास गर्ला ? सांसदहरुलाई गजब दशैं आएको छ । इदम् भ्रष्टम् उदम् भ्रष्टम् ।

यो फोहोरी खेलका गुरु प्रधानमन्त्री ओली नै हुन् । पार्टी विधान अनुसार पोलिटब्यूरो र केन्द्रीय कमिटीको वैठकलाई लात हानेर ‘जानेको गर’ भन्दिए । संविधानको बर्खिलापमा गएर संसदकै हत्या गरिदिए । अदालतले पुनर्स्थापना गरिदिंदा पनि उनलाई एकरत्ति ग्लानी भएन । सांठगांठ त अन्तै रहेछ । अख्तियारमा देउवा र प्रधानन्यायाधीशसँग गरेको भागबण्डा पार्टी विभाजनमा पुगेर देखियो । जनताले बुझे । अदालतको मान राख्न तैं चूप मै चूप बाहेक अर्को विकल्प रहेन । म सत्ता छोड्न परे कुर्ची नै भाँचिदिन्छु भनेर त्यसै भनेका होइन रहेछन् । सत्ता जोगाउनका निम्ति सम्पूर्ण साम, दाम, दण्डभेदको निर्लज्ज प्रयोग केन्द्रदेखि प्रदेशसम्म भइराखेको छ । मृत्यु ढोकैमा आएर जनता कहालिएका छन् । सत्तासिनहरुलाई केही मतलब छैन । उनीहरु धरहरा बनाउनुलाई महान् समृद्धि ठानेर मूरली बजाइरहेका छन् ।

अस्पतालहरुले ढोका बन्द गर्न थालिसके । गणतन्त्र र संघियतालाई छोटे महाराजहरुले उत्तानो पारिसके ।

मान्छेको ज्यान भन्दा ठूलो कुनै व्यवस्था हुँदो रहेनछ । जनताको ज्यानको माया नगर्ने शासक जनतालाई आवश्यक पनि हुँदो रहेनछ । तलैसम्म गणतन्त्रको बध गर्न जनताको मत प्राप्त प्रतिनिधिहरु कम्मर कसेर लागेको दृष्य मंचन भइरहेकोछ ।

शायद अब सबैको यौटै भरोसा होला, बचाए उनै पशुपतिनाथले बचाउलान् । नत्र के हो के हो !

तपाइँको प्रतिक्रिया

फेसबुक