बिहीबार, कार्तिक ११, २०७८

शनिवार- साहित्य / सृजना / नियात्रा

मानवतावादी संगीतकार भूपेन हाजरिका र अरू प्रसङ्ग

डा. गोबिन्द राज भट्टराई२०७८ वैशाख १८ गते ६:०८

(शिलाङ, तेजपुर, गुवाहाटी यात्रा : काठमाडौंदेखि एनजेपीको पहिलो भाग हेर्न यहाँ क्लिक गर्नुहोस्, दोस्रो भाग हेर्न यहाँ क्लिक गर्नुहोस,  तेस्रो भाग हेर्न यहाँ क्लिक गर्नुहोस,  चौथो भाग हेर्न यहाँ क्लिक गर्नुहोला)

त्यहाँबाट निस्केर हामी डा। भूपेन हाजरिकाको नाममा सरकारले उनको जीवनकालमै स्थापना गरिदिएको सङ्ग्रहालयमा प्रवेश गर्‍यौँ । त्यो भवन कलाक्षेत्रको आमनेसामने थियो । एउटा अत्यन्तै कलात्मक, शान्त, सुन्दर भवनमा बाहिरै जुत्ता खोलेर सिकुवालाई अभिवादन गर्दै दर्शनार्थीले प्रवेश गरें । प्रवेशद्वार नकट्तै उनको मधुर स्वरमा भावनापूर्ण सङ्गीत बजेको सुन्यौँ । हेर्दै गयौँ । एउटा कक्षमा उनका अमूल्य चयनका पुस्तक, अन्य सङ्कलन, सिडी, पाण्डुलिपि । अर्कामा उनका कृतिहरू, अर्कामा अनेक भेटघाट मिलनका स्मृति सोभनिर, अर्कामा उनले प्रयोग गरेका यावत् वस्तुहरू— लामा किमती वस्त्र, जुत्ता, चस्मा, कलम, कापी, वाद्यसामग्री, भादगाउँले ढाका टोपी, अरू प्रिय वस्तु; अन्य कोठामा अत्यन्तै निजी र प्राइभेट सामग्रीहरू— पुराना ग्रामोफोनदेखि नयाँका सिडी र अन्य उपकरण, तस्बीर र पत्रले सजिएको उज्यालो कोठा ।

नेपालमा स्रष्टाको जीवनकालमै खोलिएका फाउन्डेसन र प्रतिष्ठानको सङ्ख्या हजार पुग्नै लाग्यो होला । तर अधिकांश त सीमित स्वार्थले अमर हुने इच्छाले गरिएका, गराइएका छन् । ती प्रायशः झोले संस्था हुन् ।

त्यसो त, मैले बेलायतमा शेक्सपियरको आवासदेखि रुसमा टाल्सटाय आवासको सङ्ग्रहालय हेरेँ । थाइल्यान्ड र कोरियामा राजप्रसाद र अवशेष स्मारकहरू हेरेँ । पछिल्लोचाहिँ कोरियाली विदुषी लेखिका म्योङ्ग ही (१९४६–१९९८) को निजी सङ्ग्रहालय स्मारक हेरेको सम्झना छ । ती सबैभन्दा जीवन्त भूपेन हाजरिकाको सङ्ग्रहालय देखेँ । देखेपिच्छे आफ्नो देशको सम्झना आउँछ । आखिर हाम्रोमा कसैको पनि स्मृति अवशेष छैन भन्दा हुन्छ । विद्यापतिको छैन । महाकविको छैन । वी.पी.को छैन । इमानसिंहको छैन । सिद्धिदासको छैन । नारायणगोपालको छैन । पछिका पनि कसैको छैन ।

सम्पन्न स्थितिका लेखक स्वयंले कतै बल गरेका छन् । तर त्यो पनि होलाजस्तो लाग्दैन । सर्वप्रथम सरकार सचेत हुनुपर्छ । सरकारको लक्ष्यअनुसार पछिपछि विज्ञ जनता । जनताको अर्थ भीड होइन, मर्मज्ञको समुदाय । नेपालमा स्रष्टाको जीवनकालमै खोलिएका फाउन्डेसन र प्रतिष्ठानको सङ्ख्या हजार पुग्नै लाग्यो होला । तर अधिकांश त सीमित स्वार्थले अमर हुने इच्छाले गरिएका, गराइएका छन् । ती प्रायशः झोले संस्था हुन् । एक दुई लाख वा बढी रकम र केही पुरस्कारयुक्त । तर तिनीहरूको नाममा घर वा सङ्ग्रहालय छैनभने त्यसको कुनै अर्थ रहँदैन । त्यसका संस्थापक सिद्धिएपछि ती मुढेबलहरू धमिराका ढिस्का हुन्छन् । समयले नै गर्नु, गराउनु पर्‍यो । जनस्तरले नै उठ्नु, उठाउनु पर्‍यो । कला साहित्य संस्कृतिको उत्थानमा सङ्गठित भएर बौद्धिक वर्ग उठेको छैनभने अरू जस्तोसुकै होस् प्रयत्नको कुनै अर्थ रहने छैन ।

नेपालमा एउटा नमूना सङ्ग्रहालयको स्थापना हुनुपरेको छ । महाकविको स्थापना नगरी अरूको हुनु र गर्नु भनेको पनि देशप्रति उपहास गर्नु हो । तर गर्दैछन् । महाकविको सालिक राख्ने ठाउँमा आफ्नाको राख्तैछन् । बलात् ठड्याइएको सालिकले को अमर हुन्छ ?

सङ्ग्रहालयबाट निस्केर फेरि परिवेश घुम्यौँ । थुम्कामा डाँडामा, घना जङ्गल भित्रभित्रै बाटा छन् । र धेरै पर र भित्र एउटा खुला थिएटर छ । मलाई यो ग्रिसमा देखेको एम्फिथिएटरझैँ लाग्यो । हजारौँ मानिस एकैचोटि बसाएर प्रस्तुति, कलाकर्म गर्न सकिने त्यो खुला ठाउँ थियो । अरू घुम्नु थियो । तर समय धेरै छैन । फुलुमनीको पथप्रदर्शनमा बेलाबेला खगेन भाइको दूरभाषिक निर्देशनमा चलिरहेका थियौँ ।

त्यहाँबाट फर्कियौँ र साहेब खानको सल्लाहमा बजारको अर्काे अन्त्यतिर लाग्यौँ । मध्याह्न भइसकेको थियो, ‘निरामिष भोजनालय पुर्‍याऊ भाइ,’ हामीले भन्यौँ । उसले शहरको पल्लो छेउ कतै पुर्‍यायो । बाहिर सूचनापाटीमा ‘आसामिज थाली’ लेखेको थियो । नक्सामा थालीभरि पस्केका भोज्य पदार्थ पनि थिए । तर भित्र पसेपछि मात्र थाहा भयो, त्यस्तो थालीका लागि निकै अघि अर्डर गर्नुपर्ने रहेछ । समयको भावमा त्यो ‘थाली’ निर्माण हुन सकेन । अर्कै तयारी खाना टिपेर हामी फेरि उड्यौँ । गुवाहाटी विश्वविद्यालयको परिसर पुग्नु थियो । त्यहाँ पुग्यौँ । पुग्दा त्यहाँ पनि हाम्रैमा जसरी गाईवस्तु चरिरहेको देख्न पाउँदा अलिकति आनन्द लाग्यो । हामी त्यसै गरी सँगसँगै गुज्रिरहेका छौँ भन्ने लाग्यो ।

त्यहाँ जानुको एउटा प्रमुख उद्देश्य त डा. भूपेन हाजरिकाको दोस्रो वार्षिक पुण्यतिथिमा आफ्नो उपस्थिति जनाउनु थियो । यद्यपि हामी अनामन्त्रित अतिथि थियौँ । विश्वविद्यालयकै जमीनमा डा. भूपेनको समाधि निर्माणस्थल अनेक पुष्पमालाले सुसज्जित, ठूलो दीप जलिरहेको, नजिक सेतो पन्डालमा सयौँ नरनारी र विद्यार्थी तत्पर थिए । केही प्रवचन, स्मृति कविता, सङ्गीत र अन्य कार्यक्रमको तयारी हुँदै थियो । मलाई फुलुमनीले नजिक पुर्‍याइन् । समाधिस्थलमा फूलले छोपिएर सुतेको उनैको आकृति थियो । छेउमा ठूलो लाइफसाइज फ्लेक्समा हाजरिकाका गम्भीर मुद्राको तस्बीर, चिरपरिचित भादगाउँले टोपी, सानो खुकुरी पिन टोपीबाट टल्केको, एउटा एथ्निक सुन्दरता बोकेको इस्टकोट र पहिरन यस्तो मुद्राको दर्शन गर्‍यौँ ।

नेपालमा एउटा नमूना सङ्ग्रहालयको स्थापना हुनुपरेको छ । महाकविको स्थापना नगरी अरूको हुनु र गर्नु भनेको पनि देशप्रति उपहास गर्नु हो । तर गर्दैछन् । महाकविको सालिक राख्ने ठाउँमा आफ्नाको राख्तैछन् । बलात् ठड्याइएको सालिकले को अमर हुन्छ ?

भारतीय सङ्गीत–कलाका म्यास्ट्रो डा. भूपेन हाजरिकासँग नेपाली बौद्धिक जीवन पनि नजिकसँग जोडिएको छ । हाजरिकाप्रति श्रद्धाले भरिएकी फुलुमनीले मलाई लगेर स्मारक–स्थल पुर्‍याइन् । पुष्पादि धूपले हाजरिकाको ठूलो तस्बीर ढाकेको थियो । सहयोगीहरू छेउमा बसेर अतिथिलाई पुष्प थुँगा, माला प्रदान गर्थे । त्यहाँका प्रबन्धकसमक्ष फुलुमनीले मेरो परिचय गराइन् । तत्कालै त्यसका अधिकारी ‘शोक पुस्तिका’ लिएर मसमक्ष आइपुगे । मैले लेखेँ, ‘म मेरो देश नेपाल तथा सम्पूर्ण नेपाली जातिका तर्फबाट महान् स्रष्टा डा. भूपेन हाजरिकाप्रति हार्दिक सम्मान एवं श्रद्धाञ्जलि अर्पण गर्दछु । डा. भूपेन हाजरिका जसलाई संसारले चिन्दछ, उनले मानव हृदयका अनि मानवताका गीत गाए । उनी त्यसैले हाम्रा महादेशका एक अमर नक्षत्र हुन् । म आज तिनै महान् साधक स्रष्टाको दोस्रो वार्षिक पुण्यतिथिको अवसरमा ती अमर आत्माकै (प्रस्तावित) समाधिस्थलमा शिर निहुराएर भावपूर्ण श्रद्धाञ्जलि प्रकट गर्दछु । एउटा कलाकारको देश हुँदैन । ऊ जातीय, भाषिक, धार्मिक बन्धनमा हुँदैन । डा. हाजरिका सदा हामीसित रहनेछन् । त्यो अमर आत्मालाई सदा शान्ति मिलोस ।’

होटेल सिरोइ लिलीको कोठामा पुगेपछि एक कप दूध छेउमा ठड्याएर दिनभरिका घटना एक रिल सम्झिन थालेँ । होटेलले हाम्रो कोठामा छिराइदिएको एउटा पत्रिका टिपेर हेरेँ— दि आसाम ट्रिब्युन पर्खिरहेको थियो । यसको भोल्यूम ७५ नं २९९, नोभेम्बर ५, २०१३ अङ्कमा भूपेन हाजरिकाको श्रद्धाञ्जलीमा, उनको सम्झनामा लेखिएका गहिरा आलेख थिए । आजै मैले गुवाहाटी विश्वविद्यालय परिसरमा उनीप्रति श्रद्धासुमन चढाएर आएको थिएँ । अखवारको यस अङ्कमा भूपेनको द्वितीय पुण्यतिथिको अवसरमा उनीप्रति श्रद्धाकामना, उनका कर्म, तस्बीर र अनेक रचना थिए । शुरूको पृष्ठमा छ— प्लान टु कन्भर्ट समाधि इन्टु अर्किटेक्चरल मार्भेल (समाधिलाई अद्भुत वास्तुशिल्पीय स्मारकका रूपमा विकसित गर्ने योजना) । अग्रपृष्ठको उक्त समाचारले भन्छ : राज्य सरकारले कल्चरल आइकोन डा. भूपेन हाजरिकाको समाधिलाई एक वर्षभित्र १० करोडको लागतमा अद्भुत वास्तुशिल्पीय स्मारकका रूपमा परिणत गर्नेछ । डा. हाजरिका एक सङ्गीतकार, कम्पोजर, साहित्यकार, फिल्म निर्माता, पत्रकार, कोलम्बिया विश्वविद्यालयबाट अडियो भिजुअलमा विद्यावारिधि, अनेक सम्मान र अलङ्कारले विभूषित नेपाली जातिप्रेमी थिए । अनेक जातिप्रेमी थिए । उनको सम्पूर्ण हृदयमा मानवतावादको वास थियो ।

त्यसो त, सो अवसरमा प्रस्तुत अङ्कमा प्रकाशित चारवटै लेख पढेँ । तीमध्ये एउटाको सारतत्व खिचेर म आजको रात सेरोइ लिलीको शरणमा जान चाहन्छु—

मेरो सन्ध्याकालीन भ्रमणमा म एउटा ससानो पार्कलाई नाघेर जान्छु । त्यस पार्कमा नानीहरू खेल्दै हुन्छन् । ठूलाहरू टहल्दै हुन्छन् । यो शहरभन्दा टाढा एउटा शान्त ठाउँमा अवस्थित छ । त्यस कारणले म त्यहाँ पुगेका बेला एउटा गम्भीर र मध्यम पुरुष स्वर (ब्यारिटोन) सुन्दछु । त्यो स्वर पार्कमा रहेका एक व्यक्तिबाट निस्किरहेको हुन्छ । त्यो स्वर मतिरै प्रवाहित हुन्छ । म रोकिएर सुन्छु :

कहिलेकहिलेदेखि म पौडँदै आएको छु
समुद्रहरूका दोभानमा
म थाकेको छुइनँ
यद्यपि यी छालहरू मेरो मस्तिष्कको सागरमा
निरन्तर तरङ्गित छन्
छालहरूको एउटा अनन्त,
अन्त्यहीन छालको उत्ताल तरङ्ग प्रवाह
मेरो मस्तिष्कको सागरमा यसको छाती

आज भूपेन आसामेली समाजमा सशरीर छैनन् तथापि उनी यसरी सर्वत्र विद्यमान छन् । यसले प्रमाणित गर्दछ, उनले कत्रो प्रभाव बनाएका रहेछन् । कविका रूपमा, गीतकारका रूपमा, सङ्गीतकारका रूपमा, लेखकका रूपमा, फिल्मनिर्माताका रूपमा यस क्षेत्रको सांस्कृतिक परिदृश्यमा उनको प्रभाव र उपस्थिति व्यापक छ ।

उत्तरी आसामको कुनै मार्गको एउटा ढाबामा हामी रोकियौँ र भोजन लिने विचार गर्‍यौँ । त्यसका प्रबन्धक रैथाने होइनन् भन्ने कुरा स्पष्ट थियो । त्यहाँ ग्राहकहरू पनि धेरै थिएनन् । भएकाहरूमध्ये पनि लामो मार्गका वाहन–चालकहरू थिए । तर त्यो ढाबामा बज्ने क्यासेट प्लेयरबाट सदाको सुपरिचित उही ब्यारिटोन स्वर गुन्जिरहेको थियो :

मानिस मानिसप्रति नै उदासीन भइदिने हो भने
अरूप्रति अनुकम्पा नरहने हो भने
हे मित्र, मलाई भन
मानवताका बारेमा कसले चिन्ता गर्ला ?
एउटा महाविद्यालयको कार्यक्रम छ । कार्यक्रम शुरू हुन बाँकी नै छ । विद्यार्थीहरूको होहल्ला छ । सम्पूर्ण हल युवा उत्साहले उम्लिएको छ । त्यो ढिलाइको निमित्त क्षमायाचना गर्दै त्यहाँका आयोजकहरू यसको साउन्ड सिस्टम खोल्छन् र परिवेशमा त्यही सुपरिचित ब्यारिटोन गुन्जिन्छ :
आकाशले मलाई अनन्त दृश्य दियो
अनि झन्झावातले मलाई भयप्रद शक्ति दियो
गर्जनले मलाई प्रकम्पित शक्ति दियो
अनि साहसले मलाई न्याय दियो
अब म क्षितिजको निर्माण गर्दछु
सङ्गीतसँगै म कम्पित हुन्छु ।

त्यसपछि त्यो सम्पूर्ण हल शान्त हुन्छ । केही विद्यार्थीहरू त्यही स्वरमा गाउन थाल्छन् । आज भूपेन आसामेली समाजमा सशरीर छैनन् तथापि उनी यसरी सर्वत्र विद्यमान छन् । यसले प्रमाणित गर्दछ, उनले कत्रो प्रभाव बनाएका रहेछन् । कविका रूपमा, गीतकारका रूपमा, सङ्गीतकारका रूपमा, लेखकका रूपमा, फिल्मनिर्माताका रूपमा यस क्षेत्रको सांस्कृतिक परिदृश्यमा उनको प्रभाव र उपस्थिति व्यापक छ । उनी शङ्करदेव, ज्योतिप्रसाद, विष्णुराधा जस्ता सांस्कृतिक परम्परामा हुर्केका थिए, जोचाहिँ आसामको साङ्गीतिक एवं सिनेमाटिक जगत्का पुनर्जागरणकालका संस्थापक थिए । त्यसैले गर्दा हाजरिकाको उपस्थितिले हजारौँलाई प्रेरित गरिरहेको छ । उनले सुषुप्त रहेको आसामेली संस्कृतिको पुनरुत्थापन गरे । त्यसभन्दा बढी महत्वको कुरा के छ भने उनी जनस्तरका सामान्य लोकका महान् कलाकार थिए । उनले व्यावसायिक विश्वको अगाडि कहिल्यै घुँडा टेकेनन् र सधैँ संस्कृतिको सुधारमा लागिरहे । पछि उनले पौल रोब्सनजस्ता महान् स्रष्टाबाट पनि प्रेरणा लिए ।

उनको स्वर तथा लय मनमोहक हुन्छ । देख्ता सामान्य लाग्ने गेय सरलताभित्र दार्शनिक गहिराइ हुन्छ । उनले आफ्नो हृदयलाई सदैव सामान्य लोकको निमित्त अर्पित गरे । एउटा चिसो शिशिरको रातमा उनले गाएका छन् :
शिशिरको एक चिसो रातमा
मलाई भर्भराउँदो आगो बल्न देऊ
कुनै वस्त्रहीन गरीब कृषकको
ढल्न लागेको झुपडीलाई न्यानो पारौँ

भारतवर्षमा कमै स्रष्टा होलान् जसले भावना र संवेदनालाई यति तीव्रताका साथ प्रस्तुत गर्न सके । उनले सङ्घर्षरत जनजीवनलाई बोकेर उनीहरूको हृदयलाई छोएका छन् र उनले शोषणमुक्त, अन्यायरहित अनि धर्म, जाति आदिको विभाजनरहित समाजको परिकल्पना गरे र जनमानसको स्वरमा गाइरहे । उनी समय र दिशाको सीमा पार गर्दै सम्पूर्ण मानवतालाई अँगाल्छन् । त्यसै कारणले गर्दा उनीप्रति यो प्रेम र श्रद्धा भरिएको हो । उनको शरीर समाधिस्थ गरिएका ठाउँमा उनलाई अन्तिम बिदाइ गर्न लाखौँ जनसमुदाय पुगेको तथ्यले नै यो प्रमाणित गर्दछ । यस क्षेत्रका मानिसले भूपेन हाजरिकालाई एउटा अग्रणी अभिभावक ठानेका थिए र उनले छाडेपछि आफूलाई एक्लो मानेका छन् । उनले यो नश्वर चोलालाई बदले तापनि उनी अझै हामीसँगै छन्, सँगै बसिरहने छन् । एउटा अमर र अनन्त स्वर सधैँ गुन्जिरहने छ जसले हाम्रो समाजलाई बाटो देखाइरहला । प्रत्येक अँध्यारोमा पथप्रदर्शन गरिरहला ।
(टाइमलेस प्रेजेन्स— अरुणकुमार दत्त, दि आसाम ट्रिब्युन, गुवाहाटी, नोभेम्बर ५, २०१३ )

भूपेन हाजरिकाको बाँकी प्रसङ्ग यहीं जोडेर मात्रै म यात्रालाई अघि बढाउन चाहन्छु । पछि नेपाल फर्केपछि पनि मलाई ती कला–मनीषीको महत्ताले छोइरह्यो । यता नेपालमा उनको स्वरको पूजा गर्नेहरू म चिन्दछु । यस्ता भूपेनलाई नेपाल–भारतका अमर सेतु बनाउने अनुवादक कर्णबहादुर क्षत्रीलाई केही प्रश्न सोध्न मन लाग्यो र तत्काल तीन प्रश्न साइबर–सेवामा भाइ डा. खगेनमार्फत लेखी पठाएको थिएँ ।

उनले गोर्खा नेपाली भाइहरूलाई पनि धेरै माया गर्थे र दुईवटा गीत नेपालीमा पनि गाएका थिए । उनले सारा जीवन नेपाली टोपी लाएर कटाए र मृत्युपछि पनि त्यो टोपी नखोलिदिनू भनेका थिए । अहिले त्यो टोपी म्युजियममा राखिएको छ ।

प्रश्न नं. १— आदरणीय अग्रज कर्णबहादुरज्यू, डा. भूपेन हाजरिकाका गीतका नेपाली अनुवादक तपाईं; हाजरिकाको सङ्गीतकलाप्रति कसरी आकर्षित हुनुभयो अथवा कुन उद्देश्यले उनका गीतको नेपालीमा अनुवाद गर्नुभयो ?

उत्तर— नेपाल इन्डियाको सफर सकी सन्चै घर पुग्नुभएछ जान्न पाउँदा खुसी लाग्यो । भूपेन हाजरिकाका गीतबारे जिज्ञासा राखेकामा म उत्तेजित छु । मेरा जवाफहरू यस प्रकार छन् :

सानैदेखि सुनेर आएको सुमधुर र गहकिला अर्थ भएका गीतहरू सुनेर ठूलो भएँ । आजको समाजमा र व्यक्तिका जीवनमा भएका घटनाहरूलाई उहाँले राम्ररी भन्नुभएको छ । उहाँको सृष्टि अमूल्य छ । त्यसको उपभोग विश्वका नेपालीभाषी जनताले पनि गर्न सकून् ! त्यही मेरो इच्छा हो, उद्देश्य हो । भूपेनले आसामका सबै सानाठूला जात र भाषा बोल्ने मानिसहरूका बीच एउटा सम्मानजनक सम्बन्ध कायम गर्ने कोसिस गरेका थिए । उनले गोर्खा नेपाली भाइहरूलाई पनि धेरै माया गर्थे र दुईवटा गीत नेपालीमा पनि गाएका थिए । उनले सारा जीवन नेपाली टोपी लाएर कटाए र मृत्युपछि पनि त्यो टोपी नखोलिदिनू भनेका थिए । अहिले त्यो टोपी म्युजियममा राखिएको छ ।

प्र.नं. २— तपाईंले मनमा लिएको यस्तो उद्देश्यबारे, अनुवाद गर्नेबारे, डा. भूपेनसित तपाईंको वार्ता भयो ? उहाँले कस्तो मान्नुभयो ?

उत्तर— दुर्भाग्यवश भूपेन हाजरिकासँग यो कुरा हुन पाएन । यो योजना मनमा आए पनि उहाँ त्यति बेला बिरामी हुनुहुन्थ्यो र मुम्बैमा बस्नुहुन्थ्यो ।

प्र.नं. ३— यति कार्य सम्पन्न गर्न पाउँदा तपाईंलाई कस्तो लागेको छ ?

उत्तर— यो कामको फल त मेरो मनको शान्ति हो । गर्न खोजेको काम गरेको खुसी हो । जनताले मन पराए भने अरू खुसी लाग्नेछ । यो प्रयासले रैथाने आसामे र नेपालीका बीच सम्पर्क बढाउनेछ भन्ने आशा पनि राखेको छु ।
हजुरलाई धेरै धन्यवाद । क्रमश:…….

तपाइँको प्रतिक्रिया

फेसबुक