आइतबार, जेठ २, २०७८

दौरा सुरुवालमा ठाँटिएका मनाङ्गे, नाङ्गिएका ओली

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ वैशाख १८ गते ५:०१

राजीव गुरुङ उर्फ दिपक मनाङ्गे । २०४६ सालपछि देशमा प्रजातन्त्र मात्रै आएन, डनतन्त्र पनि आयो । यही तन्त्रमा जोडिएर आएको एउटा नाम थियो— मनाङ्गे ।

यी डनहरुमध्ये अधिकांसको उदय थलो थियो— काठमाडौं । र, काठमाडौंको पनि ठमेल । चक्रे मिलन ठमेलमैं थिए । दीपक मनाङ्गे त्यहीं थिए । चरी, राधे, राजु गोर्खाली, गणेश लामा, रवत कार्की, रमेश सुनुवार, गणेश लामा र उमेश लामाहरु पनि त्यही आसपासमा थिए । ठमेलमा डान्स–बार रेष्टुराँको उदय हुँदै गर्दा दीपक मनाङ्गेको प्रभाव र हाहु सुरु भएको थियो । यो स्वभाविक थियो कि नेपालमा गुण्डागर्दीमा संलग्नहरुले प्रहरीबाट बच्न राजनीतिक फेरो समात्दै आएका छन् । मनाङ्गे पनि ०४७ सालदेखि ०६८ सालसम्मको समयमा राप्रपासँग जोडिएका थिए । तर, ०६२–०६३ को आन्दोलनपछि राप्रपा कमजोर बन्दै जाँदा उनले अन्य दलहरुको फेरो समात्न थाले ।

२०६६ फागुन ५ मा उनी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमा प्रवेश गरे । ०६८ सालतिर संघीय समाजवादी पार्टी प्रवेश गरे । ०७३ सालमा राप्रपा प्रवेश गरेका उनी एक वर्षपछि एमालेमा प्रवेश गरे ।

मनाङ्गको प्रदेशसभा क्षेत्र नं. ‘ख’ बाट उनलाई २०७४ सालमा एमालेले टिकट दिने निर्णय गर्यो । तर सामाजिक सञ्जाल र सार्वजनिक वृत्तमा व्यापक विरोध भएपछि पार्टी निर्णयबाट पछि हट्यो । मनाङ्गेले स्वतन्त्र उम्मेदवारी दिए । एमालेले कसैलाई उठाएन । चुनावमा विजयी भए पनि अदालतको आदेशपछि उनले सपथ लिन पाएनन् । नख्खु कारागारबाट ६ महीनापछि थुनामुक्त भएसँगै उनले १५ पुस २०७५ मा सपथ ग्रहणको माग गर्दै प्रदेशसभामा निवेदन दिए ।

उनले सपथ लिन पाउने वा नपाउने विवादकै बीच १४ माघमा सपथ ग्रहण गरे । माननीय बनेपछि पनि मनाङ्गेको शैली भने फेरिएन । २०७६ माघ पहिलो साता मनाङ्गेले कास्की फुटबल संघका अध्यक्ष मिलन गुरुङलाई झापड हाने । मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटनमा मनाङेले गुरुङलाई झापड हानेका थिए । मनाङका खेलाडीलाई मैदान, खर्च केही नदिएको र सम्झाउँदा नटेरेको भन्दै मनाङेले झापड हानेका थिए । प्रदेश सभाको अर्थ तथा विकास समिति सदस्यसमेत मनाङेले २०७७ असोज ८ गते उक्त समितिबाट राजीनामा दिएका थिए । क्रसर उद्योग, विकास निर्माणमा भएका अनियमिततामा दोषीलाई पनि कारबाही गर्न नपाएको भन्दै उनले राजीनामा बुझाएका थिए ।

‘यो देशमा सबैभन्दा ठूलो डन भनेको प्रधानमन्त्री हो, म के हो र’ ? भन्दै खुलेयाम चुनौती दिदैं हिड्ने मनाङ्गे आखिर को हुन् ? सही अर्थमा यी नेपाली लोकतन्त्रका पात्र र प्रवृत्ति मात्रै हुन् । चित्र र चरित्र मात्रै हुन् । अदालतहरुका मिसिल पल्टाउने हो भने राजिव गुरुङ उर्फ दिपक मनाङ्गेका अपराधका सुची गनेर नसकिने छन । उनका अपराधहरु सरकार देखी अधिकांश नेपालीलाई थाहा छ । कसैले जिब्रो टोकै पर्दैन । शक्तिको यो लडाईँमा मनाङ्गे सानो पात्र मात्र हुन ।

उनी आँफै भन्छन- “ठुलो डन त प्रधानमन्त्री हो । म के हो र” ? उनी यस अर्थमा इमान्दार छन । एउटा अपराधीको लागि सबैभन्दा पहिलो कुरा के भने कुनै अपराधलाई फत्ते गर्नु हुन्छ । अपराध गरीसकेपछी जोगिनु पर्ने दोस्रो कुरा हो । त्यसका लागि ‘पावरफुल’ ब्यक्तिको हात समात्न खोज्नु गलत हुँदै हुँदैन । किनभने अपराधीले गर्ने भनेको त्यही नै हो ।

दिपक मनाङ्गेको अपराधत लुकेको छैन, उनले अपराधबाट बाँच्नको लागि जसको हात समातेका छन त्यो पनि लुकेको छैन । मनाङ्गे त खुल्ला किताव जस्तै छन । यस अर्थमा उनी इमान्दार अपराधी हुन । त्यो दुनियाँ जहाँ उनले आफुलाई डन बनाए त्यहाँ यो सब जायज छ । मार्ने, मार्ने अनी आफु बाँचिरहने । बाँच्नका लागि कसको हात समाउने त्यो पनि उनले इमान्दारी पुर्वक नै गरे ।

मान्छेहरुले दिपक मनाङ्गेको आलोचना गर्नु बेकार जस्तो लाग्छ । एउटा अपराधीले आफु जोगिन जे जे गर्नुपर्ने हो उनले त्यत्ती मात्र गरेका हुन । बेइमान अपराधी त केपी ओली हुन । मनाङ्गेले भने जस्तै खासमा ठुलो डन त प्रधानमन्त्री हुन । उनकै पार्टीले मनाङ्गेलाई सांसद देखी मन्त्री बनायो । सर्सर्ती हेर्दा मनाङ्गे चुनाव जितेर आएका जनप्रतिनिधी हुन । मन्त्री बन्ने अधिकार उनलाई हरेक कोणबाट छ । उनी आफ्नो पुरानो पेशा प्रती जनप्रतिनीधी भए पनि उत्तिकै इमान्दार छन- जती केपी ओली बेइमान ।

एउटा पुरानो प्रसंग यहाँ मनासिव छ- चरी डन मारिनु भन्दा एक वर्ष अघी कुनै ग्याङ् फाइटमा उसलाई गोली लागेको थियो र अस्पातलमा पुगेको थियो । केपी ओली भेट्न गए- धर्म पुरा गरे । तर जब त्यही डन मारियो उनले चिनेनन् । “को हो चरी भनेको मैले चिन्दिन” । यस अर्थमा ओली बेइमान अपराधी हुन् । यो देशमा मिर्जा दिलसाद बेग, खोभारी राय, राजिव पराजुलीहरु पनि मन्त्री भइसकेका छन् । मिर्जा दिलसाग बेगलाई जसले मन्त्री बनायो मरेपछी उसैले श्रद्दान्जली दिएन । अपराधको दुनियाँ यस्तै हो- जो मर्यो त्यसको काम सकियो । केपी ओलीले पनि मनाङ्गेलाई चिन्ने छैनन् । तर एउटा कुरा के हो भने ओली भन्दा मनाङ्गे इमान्दार छन् पेशा प्रती । साँच्चै भन्ने हो भने प्रदेश मन्त्री हुने बित्तिकै पोखरामा मनाङ्गेले दौरा सुरवाल लगाए, ठाँटिए । यता काठमाडौंमा केपी ओली नाङ्गिए ।

तपाइँको प्रतिक्रिया

फेसबुक