शुक्रबार, वैशाख १४, २०८१

अन्तर्राष्ट्रिय वाल तथा किशोर कविता प्रतियोगितामा बङ्गलादेशकी इभान्जेलिना बल प्रथम

नेपालप्लस प्रतिनिधी२०७८ वैशाख १९ गते १०:१२

गैरआवासीय नेपाली सङ्घको भाषा, साहित्य, संस्कृति तथा सम्पदा समिति र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को आयोजनामा गैरआवासीय नेपाली युवाहरू बिच सम्पन्न अन्तर्राष्ट्रिय बाल तथा किशोर कविता प्रतियोगितामा बङ्गालदेशकी इभान्जेलिना बल प्रथम भएकी छन् । उनले एकहजार अमेरिकी डलरको पुरस्कार हात पारेकी छिन् । त्यसैगरी जापानका अभिनव गिरी द्वितीयहुँदै पाँच सय अमेरिकी डलरको पुरस्कार जितेका छन् भने पोर्चुगलकी मानस्वी खरालले तीन सय डलरको तृतीय पुरस्कार जितेकी छिन् । त्यस्तै अङ्ग्रेजी भाषाका कवितातर्फ उत्कृष्ट भइ अमेरिकाकी ओजस्वी पसछेले दुई सय डलरको पुरस्कार जितेकी छिन् ।

कार्यक्रममा प्रमुख अतिथी नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले विजेता कविहरूलाई बधाईदिँदै दोश्रो पुस्ताका गैरआवासीय नेपालीहरुले भाषा, साहित्य र संस्कृतिलाई प्रवाशमा प्रवर्धन गर्न विशिष्ट भूमिका खेल्नुपर्ने र एनआरएनए र अनेसास लगायतका संस्थाले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिए । उनले यसका लागि नेपाल प्रज्ञा प्रतिष्ठानले सक्दो सहयोग गर्ने बताए ।

कार्यक्रममा विशिष्ट अतिथी पूर्व कुलपति एवम् मूल्यांकन समितिका प्रमुख बैरागी काइँला, नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त, एनआरएनएका अध्यक्ष कुमार पन्त, पूर्व अध्यक्ष जीवा लामिछाने र भवन भट्ट, अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी, अनेसास ट्रष्टी सभापति गीता खत्री, वरिष्ठ साहित्यकारहरू अशेष मल्ल, दिनेश अधिकारी, प्रकाश सायमी र डा। बिन्दु शर्माले आआफ्ना रचना वाचन गरि शुभकामना दिएएका थिए ।

त्यस्तै, अतिथी कविहरू रबिन शर्मा (जापान), हिमान्शु निभा कुँवर (अमेरिका), तीर्थ सङ्गम राई (कतार), गणेश खडका (अफ्रिका), इसिका अधिकारी (युरोप), केशव सिग्देल (नेपाल), गोवर्ध्दन पूजा (अमेरिका) र प्रविणा बराल (जापान) ले कविता वाचन गरेका थिए । आयोजकका तर्फबाट एनआरएनएका पूर्व कोषाध्यक्ष एवं भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिका अध्यक्ष हिक्मत थापाले स्वागत मन्तव्य राखेको कार्यक्रममा समितिका सहअध्यक्ष महेश्वर पन्तले प्रतियोगिताको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा एनआरएनएका महासचिव डा। हेमराज शर्मा, एनआरएनए अमेरिकाका अध्यक्ष सुनील शाहले शुभकामना दिएका थिए भने कार्यक्रम संयोजक अनेसासका महासचिव तथा एनआरएनए अमेरिकाका उपाध्यक्ष सर्वज्ञ वाग्लेले धन्यवाद ज्ञापन गरेका थिए । मूल्यांकन समितिको तर्फबाट नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा।डा। हेमनाथ पौडेलले नेपाली भाषाका प्रतियोगी र महेश पौडेलले अङ्ग्रेजी भाषाका प्रतियोगी मध्यबाट पुरस्कृत नामको घोषणा गरेका थिए ।

साठी जना प्रतियोगी मध्येबाट अन्तिम चरणमा पुगेका कविहरू अभिनव गिरी, अंशु सुवाल, आगत खरेल, इभान्जेलिना बल, गुन्जना न्यौपाने, गङ्गा फुयाल, मानस्वी खराल, समृद्धि नेपाल, सरला बाराकोटी, र सौगात पराजुलीले नेपालीमा र ओजस्वी पसछे, मारिया अधिकारी र प्रेमा पौड्यालले अङ्ग्रेजीमा कविता सुनाएका थिए ।

तपाइँको प्रतिक्रिया