शुक्रबार, वैशाख १४, २०८१

कोरोना संक्रमित डाक्टर, चौबिसै घण्टा विरामीको सेवामा

नेपालप्लस संवाददाता२०७८ वैशाख १९ गते ११:०५

फोटो-कृसु क्षेत्रीको फेसबूक

नेपालगञ्जको भेरी अञ्चल अस्पतालमा एउटा वार्ड छ । त्यहाँ सिमित चिकित्सक मात्रै आवतजावत गर्छन् । त्यहि वार्डको एकापट्टी कोठामा सलाईन पानी दिने स्ट्याण्ड छ । एउटा सानो पोको तुर्लुङ्ग झुण्डिएको छ । पोकोमा जोडिएको स्यानो पाईपबाट एक जना डाक्टरको नाडीमा घुसारिएको सुईमा तप्प तप्प औषधी झर्छ । टेबल माथि देब्रे हात पसारिएको छ । त्यो हातमा औषधीको सुई घोचिरहेकाले चलाउन मिल्दैन । दाहिने हातमा उनको कलम छ । फाईल खोलेर विरामीको उपचार सूची हेर्छन् । कोरोना लागेका विरामीको उपचार गर्छन् । ति हुन् कोरोना संक्रमित डा. पुरुषोत्तम बर्मा ।

कोरोना संक्रमित भएकाले उनको त्यो कोठामा सिमित स्वास्थ्यकर्मी मात्रै आवत जावत गर्छन् । कोरोनाका विरामीले अस्पताललाई हम्मे हम्मे पारेको छ । उपचार गर्न ल्याएका विरामीका ओंठ सुकेका हुन्छन् । डर र त्रासले । विरामीलाई अस्पतालभित्र हुलिदिएपछि विरामीका आफन्त अस्पताल बाहिर आकुलब्याकुल बनेर कुरिरहेका हुन्छन् । ‘नजिक जाउँ आफैंलाई सर्ने डर । टाढा बस्दा भित्र आफन्तको हालत के भएको होला ?’ भन्ने मनभित्रै मडारिइरहने हुटहुटी । कोरोना संक्रमित भन्ने सुन्नेसाथ कतिपयका त आफन्तपनि भेटिन्नन् । भेटघाट गर्नै त्रसित हुने यो बेला कोरोना संक्रमित भन्नासाथ धेरैको सातो जान्छ । तर यि डाक्टर आफैं कोरोना संक्रमित भएरपनि उपचारमै खटिएका छन् ।

त्यसो त यो सबै गर्नु उनको बाध्यता होइन । जागिर जोगाउनपनि यसरि खटिरहनुपर्दैन । ‘म त कोरोना संक्रमित भएँ, उपचाररत छु’ भनेर स्वास्थ्यलाभ लिन, घरमै आराम गर्न डा. पुरुषोत्तम बर्मालाई केहिले छेक्दैन । उनले अस्पतालमै सुविस्ताको ओछ्यान पाउँछन् । उपचार पाउँछन् । तर यि डाक्टर मात्रै होइनन् । यिनमा समाजसेवाको भावनापनि छ । यिनको मनभित्र जिम्मेवारीको बोधपनि छ । चुनौतिपूर्ण अवस्थामा त्यसलाई चिर्नुपर्छ भन्ने हिम्मतपनि छ । चिकित्शकले निभाउनुपर्ने सेवाको जिम्मेवारिबोध पनि छ ।

डा. बर्मालाई थाह छ, यो अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मी गरी ९० भन्दा बढी संक्रमित छन् । अर्थात् आफू जस्ता धेरै सहकर्मी संक्रमित छन् । कोहि गलेका छन् । उपचारमा खटिनुपर्ने सहकर्मीकै सेवामा कतिपय सहकर्मी खटिनुपर्दा स्वार्थकर्मीको अभाव झन खट्किएको छ । सहकर्मीहरु विरामी परेका बेलानै यही अस्पतालमा २ सय ९९ जना कोरोना संक्रमित उपचाररत छन् । तिनको उपचार कसले गर्ने ? त्यसैले डा पुरुषोत्तम बर्मा उपचार गर्दै सेवामा खटिएका छन् । उनी यहि कक्षमा २४ सै घण्टा विरामीको उपचारमा चलायमान छन् ।

उनले कोरोना संक्रमित नभएका विरामीको उपचार गर्न पो मिल्दैन । कोरोना संक्रमित विरामीको उपचार गर्न त ज्यानले धान्यो भने किन नमिल्ने ? त्यसैले उनी कोभिड वार्डभित्र अन्य बिरामीको उपचारमा खटिँदै आएका छन् ।

तपाइँको प्रतिक्रिया