शनिबार, वैशाख ८, २०८१

ध्यान आकृष्ट गराएर खाइरहने खुबीका जादू केपी ओली

सुरेशचन्द्र कुइकेल / काठमाडौं२०७८ वैशाख १९ गते २२:४७

राजनीतिक मैदानमा उत्रिएकामध्ये कोही बोलेर, कोही ‘एन्टी–करेन्ट’ बनेर वा कोही कामैं गरेर जनसमुदायको ध्यान आकृष्ट गर्न चाहिरहेका देखिन्छन्, भेटिन्छन् । बोलेरै ध्यान खिच्न खोज्नेमा प्रतिनिधि सभामा सांसद गगनकुमार थापा देखिन्छन् भने राष्ट्रिय सभामा रामनारायण बिंडारी चर्चित छन् । राजनीतिमा ‘एन्टी–करेन्ट’ बनेर समाजवादी पार्टीकी सांसद सरिता गिरी र अहिलेको ओली सरकारका शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ चाहिनेभन्दा बढी चिनिएका छन् ।

लिम्पियाधुरासम्मको नयाँ राजनीतिक नक्साको बिरोधमा बोलेर र संसदीय अनुमोदनमा बहिष्कारमा उत्रिएका कारण सरिता गिरीलाई समाजवादी पार्टीले सांसद पदबाटै निष्कासन मात्रै गरेन, राजनीतिक अर्थमा निकम्मा बनाइदियो । तर, यी सबै झिनामसिना कुराबाट अघि बढेर कसैले राजनीति गरेको छ भने त्यो हो— खड्गप्रसाद शर्मा ओली (केपी ओली)।

पानी जहाजदेखि रेल्वे सेवा, घरघरमा ग्याँसका लाइनदेखि सुखी नेपाली–समृद्ध नेपालसम्मका नाराहरु आज आएर हेर्दा सबैभन्दा बढी जनसमुदायको ‘ध्यान आकृष्ट गर्न सक्ने’ गुरुमन्त्र थिए । निर्माण योजनाको ४० प्रतिशत मात्रै काम सम्पन्न भएको धरहराको उद्घाटन गरेर होस् वा मेलम्ची योजना दोहोर्याउँदै ‘पानीधारा खोलेर’ होस्— आम समुदायको ध्यान तान्न सक्ने अब्बल कोही पात्र थिए र छन् भने एकैजना छन्— केपी ओली ।

अहिले आएर सदनबाट बहुमत विश्वासको मत लिनैपर्ने जरुरी देखेपछि आगामी बैशाख २७ मा संसदमा गएर ‘मत’ परीक्षण गर्ने भनेर एकाएक आइतबार आएको निर्णय पनि यस्तै ध्यान आकृष्टको विषय बनेको छ । आइतबार नै लुम्बिनी प्रदेशको सरकारलाई तत्काल राजीनामा गर्न लगाएर र फेरि २ घण्टाकै अन्तरमा बलजफ्तीमा आफ्नै एमाले पार्टी नेतृत्वको सरकार बनाउन लगाएर पनि केपी शर्मा ओलीले अर्को राजनीतिक चलाखीबारेको सिप र शिल्पी देखाएका छन् । यसले आम समुदायमा गराएको ध्यान आकृष्ट आफैंमा नसोचेको र अकल्पनीय थियो ।

कोरोना कहरका माझ र एक प्रकारले स्वास्थ्य सेवा दिने कुरामा ‘हामी असमर्थ छौं’ भनेर सरकारले हात उठाइसकेको अवस्थामा जनसमुदायको ध्यान आकृष्ट गर्न संसदीय प्रकृयामा विश्वासको मत लिने रणनीति अघि आएको देखिन्छ । सम्भवत अहिलेकै हिसाबमा विश्वासको मत मिल्न नसक्ने र यदि मत नमिलेमा ठूलो संसदीय दलका हिसाबमा फेरि सरकार बनाउन पाइने विश्वास ओली पक्षमा रहेको पाइन्छ । ठूलो दलका तर्फबाट बनेको सरकारले अर्को चरणमा विश्वासको मत लिन नसकेपछि स्वभावत आम निर्वाचनमा जान सकिने र ओलीले चुनावी सरकारसमेत हाँक्ने विश्वास यो पक्षमा रहेको देखिन्छ ।

संविधानको धारा १०० को उपधारा १ अनुसार प्रधानमन्त्रीले आफूमाथि सदनको विश्वास छ भनि स्पष्ट गर्नका लागि कुनै पनि बेला विश्वासको मत लिनसक्ने व्यवस्था कायम छ । संविधानको व्यवस्थाले दिएको प्रावधानले नेपाली राजनीतिमा स्वभावत नयाँ तरंग ल्याएको छ, यो पनि ध्यान आकृष्ट गर्ने एउटा तकनीकि स्वभाविक हो ।

अहिलेको व्यवस्थामा, प्रतिनिधिसभामा हाल कायम रहेको संख्या २७१ को बहुमतका लागि १३६ जना सांसदको मत आवश्यक पर्छ । अहिलेससम्म प्रधानमन्त्रीको विपक्षमा कांग्रेसको ६१, माओवादी केन्द्रका ४८, जसपामा उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षमा रहेका १८ जना सांसद गरी १२७ जना देखिएका छन् । १२१ सांसद रहेको एमाले सिंगै ओलीको पक्षमा उभिएमा सजिलै बहुमत पुग्ने अवस्था छ । तर एमालेमा माधव नेपाल पक्षले ओलिविरुद्ध मत हालेको खण्डमा सरकार ढल्न सक्छ ।

तैपनि ओलीको दाउपेच र आम जनसमुदायको ध्यान आकृष्ट गराइरहने खुबीको जादू भने चलेकै छ । एउटा नेतामा हुने सच्चा गुणको कुरा गर्ने हो भने राजनीति गर्ने अन्तिम बिन्दूसम्मै पनि यसरी एक वा अर्को कारणले जनसाधारणको ध्यान आकृष्ट गराइरहन सक्नु आफैंमा ठूलो खुबी हो । यस अर्थमा झापाली ओली महान छन्, स्मरणीय छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक