शुक्रबार, वैशाख १४, २०८१

प्रदेश पिच्छे राजनितिक तिकडम जारि, कसरि पाउला संवोधनले सार्थकता ?

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ वैशाख २० गते १४:३४

Photo-thehimalayantimes.com

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार अपरान्ह देशवासीका नाममा सम्बोधन गर्दै स्वास्थ्य संकटकाल शुरु भएको संकेत गरेका छन् । प्रधानमन्त्रीले जनस्वास्थ्य मापदण्ड लागू गराउन २४ सै घन्टा सुरक्षाकर्मी परिचालन हुने बताएका छन् । प्रधानमन्त्रिको सम्बोधन अनुसार जनस्वास्थ्य मापदण्ड कार्यान्वयनको सम्पूर्ण नेतृत्व गृह मन्त्रालयले गर्नेछ । जसको अर्थ उपचार र यसक्रममा हुने हरेक गतिविधी सुरक्षा निकायको अन्तर्गत रहने छ । प्रधानमन्त्री केपी शर्मा ओलीले धेरै शैय्या भएका मेडिकल कलेज र ठूला सरकारी तथा नीजि अस्पताललाई कोरोना संक्रमितको उपचारमा प्रयोग गर्ने बताएका छन् । यसका लागि सरकारी र निजी सबै अस्पतालले दैनिक रुपमा आफ्नो अस्पतालमा प्रयोग भएका र खाली रहेका शैयाको अद्यावधिक विवरण स्वास्थ्य मन्त्रालयमा पठाउनुपर्ने छ । नपठाउने अस्पतालाई सरकारले कारवाही गर्ने प्रधीनमन्त्रीले बताए।

“सबै सरकारी तथा निजी अस्पतालले आफूसँग खाली भएका तथा प्रयोग भएका बेडको दैनिक अध्यावधिक गर्ने र त्यसको विवरण स्वास्थ्य मन्त्रालयमा पठाउनु पर्ने छ” ओलीले भने “नपठाउनेलाई कारवाही हुनेछ ।”

ओलीले वीर अस्पतालको नयाँ भवन र त्रिचन्द्र मिलिटरी अस्पताललाई कोभिड अस्पताल बनाउने बताए ।

प्रदेश सरकारले पनि उक्त प्रदेशमा रहेका मेडिकल कलेज र ठूला अस्पताललाई कोभिड अस्पतालको रुपमा र साना अस्पताललाई ननकोभिड अस्पतालको रुपमा संचालन गर्ने बताए ।

यसैगरी, जोखिम मोलेर कोभिड संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारीलाई खाइपाइ आएको तलबको ५० प्रतिशत जोखिम भत्ता दिने घोषणा फेरि गरेका छन् । जबकि गत वर्षकै जोखिम भत्ता नपाएको भन्दै स्वास्थ्यकर्मी अझै आन्दोलित छन् । ओलीले स्वास्थ्यकर्मी तथा कर्मचारीको परिवारको उपचार र स्वास्थ्य बीमाको व्यवस्था सरकारले गर्ने बताएका छन् । उनले स्वास्थ्य जनशक्ति परिपूर्ति गर्न अवकाश प्राप्त स्वास्थ्यकर्मीलाई एक वर्ष करारमा भर्ना गरेर जनताको सेवामा लगाइने समेत बताए ।

कोरोना संक्रमणको मापन उच्च विन्दुमा पुग्दैगर्दा प्रधानमन्त्रीको यो सम्बोधन साकारात्मक जस्तो त देखिन्छ । तर प्रधानमन्त्री बाहिरिएर गृहमन्त्रालयलाई संकटको नेतृत्व गर्ने जिम्मा दिनु आफैंमा उदेक लाग्दो छ । सम्बोधनमा उनले २४ सै घण्टा सुरक्षाकर्मी परिचालन गरिने बताउँदा जनमानसमा झन ठूलो त्रास पैदा हुने निस्चित छ । स्वास्थ्य संकटको यो घडीमा सुरक्षाकर्मीद्वारा झन धेरै बल प्रयोग हुनसक्ने आशंका बढाएको छ ।

सर्सर्ती हेर्दा प्रधानमन्त्री स्वास्थ्य संकटको यो समयमा पनि आफ्नो राजनीतिक चतुर्याँबाट बाहिर निस्किन सकेका छैनन् । देशमा स्वास्थ्य संकट बढ्दै गएपनि देशभरि ओलीका राजनीतिक तिक्डमहरु जारी छन् । सांसद किनबेच देखि प्रदेश सरकार भत्काउने र बनाउने खेलहरु चलिरहेकै छन् । लुम्बिनी प्रदेश स्वास्थ्य तथा राजनीतिक संंकटले आक्रान्त छ । त्यहाँको सरकार राजनीतिक चालबाजी मै छ । ओलीका अनुयायीहरु प्रदेश सांसद किनबेच र अपहरणमा संलग्न छन् । जबसम्म यस्ता राजनीतिक कृयाकलाप र भिडभाडका गतिविधी रोकिँदैनन् तबसम्म संक्रमणलाई कम गर्न सकिंदैन । ओलीले यो कुरा बुझेका छन् वा छैनन् थाहा छैन । तर स्वास्थ्य संकटको यो समयमा सबभन्दा पहिले आफ्ना अनुयायीले प्रदेशहरुमा मच्चाएको उदण्डता रोक्नु पर्छ । संक्रमणका वाहक राजनितिक अनुयायीहरु हुन जो रातविरात कार्यकर्ता भेला गरेर माला लगाउन ब्यस्त छन् ।

तपाइँको प्रतिक्रिया