शुक्रबार, वैशाख १४, २०८१

प्रियंकाको नाइटोमा दुनियाँको गलफत्ती

लीलाधर भारद्वाज२०७८ वैशाख २० गते २२:२०

जताततै कोरोनाको कोलाहल भएको यो काठमाडौंको खाल्डोमा हिरोनी प्रियंका कार्कीको भूँडीको दर्शन पाइयो । कार्कीजी दुईजीउकी हुनुहुँदो रहेछ । उहाँको पेटमा अर्को नेपाली फक्रँदै गरेको देख्दा आफू नेपाली हुनुका नाताले ढक्क छाती पनि फुल्यो । छाती त मेरो पनि ५६ इन्चकै थियो । व्यायामको कमीले भूँडी फुलेको हुनाले छातीको चौडाइ छपन्न इन्चका सीनाबाट अलि कम भए झैं लागिरहेको छ । तथापि, जीउ तनक्क तन्काएर आगन्तुकका नाममा एक सलोट हानुकी झैं अनुभूत गरें । यद्यपी यी सबै कुरा सिरकभित्रको गुजुल्टोमै भएका थिए ।

ट्विट हेर्छु, प्रियंकाको भूँडीको हल्लाखोर । स्पेश छिर्छु नाइटोबाट जुस ख्वाउन हुने कि नहुने पेटको बच्चालाई भन्ने बहस । नेपालका मिडियाहरु कोरोना भगाउन खटिएको केही दिन भयो । सामाजिक संजालका मानिसले काम पाएछन् प्रियंकाले नाइटोबाट पेटभित्रको बच्चालाई जूस ख्वाएपछि । कोही भन्छन्, पेटको बच्चालाई चीसो हुने भओ । जूस ख्वाउन नहुने । अर्काथरीले कोकोहोलो मच्चाए, गाउँतिर पुट्ट उठेको भूँडी छोपेर हिन्छन् अझै, हेर बजारका छिल्लिएका । फोटो फेरि हेरें, कतै गडबड छ कि भनेर । ढाक्न पर्ने जिनिस त प्रियंकाले ढाकेकै छिन् । देखाएको त भूँडी मात्र न हो । बडो मिहिनेतका साथ चित्र बनाएर झन् । भूँडीको यो महान चित्र बनाउने चित्रकार को हुनुन्छ होला ? उहाँलाई बरु उत्कृष्ट चित्रकलाको पुरस्कार दिन म सिफारिश गर्दछु ।

मेरा बाबै, प्रियंकाले पेट बोक्दा पनि राइँदलो भाथ्यो । हामी दुई गर्भवती छौं भनेर लेख्दा दुनियाँले कुम ठोक्यो । स्वास्नी त गर्भवती भएको सुनियाथ्यो । लोग्ने भएको त थाहा थिएन सम्म भन्न भ्याए मान्छेले । हामीकहाँ केही नगरे पनि हल्ला ।
केही गरेपनि हल्ला । अझ सिनेमा क्षेत्रका सेलिब्रेटीको त कुरै नगरौं । धेरैले चिन्ने हुनु पनि आफैंमा एक दुःख होला । हेर्नोस् त मलाई कसैले चिन्दैन र म ढुक्क लेखिराख्याछु । तीनटा लाठे र यौटी लक्ष्मी जन्माएकी मेरी स्वास्नीलाई पनि
प्रतिकृया बुझिपाउन भनेर प्रियंकाको फोटो देखाएँ । बूढी रन्किई, ‘मेरी आँवै नि । हेर अचालका केटीहरु छिल्लीएका । क्यार्न देखाउन परो यो भूँडी ? हे हरिवैराग । हाम्ले पनि चचारवटा पाकै हुम् । छोपेरै पाइयो । हेर लाजको पसारो ।’

मैले अलिक आधुनिक चिन्तनको पारामा भने, तेरों भूँडी पो तेरो हो । कर्कीनीको भूँडीमा तँलाई के को टनकटनक ? मन लागे देखाउँछे । मन नलागे छोप्छे । बूढीले खार पोखी, उ बेला ढाकेर हिंड्न लगाउने तिमी नै हो । धेरै फूर्ति नलगाउ । मैले पनि
सासु ससुराको अगाडि यसैगरी भूँडी देखाभए मेरो के गति हुन्तो ? छोरी कलेज पढ्छे । उसले पहिल्यै नै ट्विटमा लाइक गरेर रिट्विट गरिसकेकी रहिछ प्रियंकाको फोटोमा । उसले मेरो सपोर्ट गरी । भनी, बाबा इज राइट । सि क्यान डिसाइड हर
टमी ।

एकजना माओवादी लडाकु नानी जो पत्रकारिता गर्छिन्, उनले त प्रियंकालाई भट्टे सराप गरेकी रहिछन् । मेरी छोरी आराध्यालाई यो कुरो पटक्कै मन परेको रहेनछ । ‘दे आर स्टिल इन फरेस्ट’ भनी रिसाउँदै । मैले सम्झाएँ, ‘क्रान्तिकारी हुन् ।
यो अश्लिल लाग्यो होला’ भन्दिएँ । के ठीक के बेठीक समाजले छुट्याइहाल्छ नि ।

आराध्या मसँग पनि झर्किई, सबै कुरा समाजको टाउकोमा हाल्ने, अनि हामी चूप लाग्ने ? इट्स इम्पोसिबल ।

प्रियंकाको भूडीको चित्रले घरमा खैलाबैला भयो । छोराहरु पनि बाँडिए । कोही पक्ष त कोही प्रतिपक्षमा ।

आमसंचार पढिरहेको छोराले मलाई सिकायो, यो सब मेडियाको खराबीले भएको हो ।

मैले सोधें, पुत्र यी प्रियंका कार्की जो क्यारियरको लागि अमेरिका छोडेर आइन् । हरेक दिन शारिरीक, मानसिक, सामाजिक व्यायाम गर्छिन् । नृत्य गर्छिन् । चलचित्रमा अभिनय गर्न तिमेरुले भने जस्तो छैन । बिहे भो । बिहे भएपछि जे हुन्छ,
त्यही भयो । भूँडी पुट्ट भयो । यसमा मेडियाको रोल कताबाट आयो फेरि ?

सबै गलल्ल हाँसे । बूढीलाई अश्लिल लागेछ । हेर न केटाकेटीको अगाडि बोलेको भन्दै भान्सातिर पसी ।

मान्छे कोरोनाले मर्न थाले । मान्छेलाई आफ्नै ज्यानको भन्दा प्रियंकाको भूँडीको बढि टेन्सन छ । सामाजिक सन्जालमा होस् या व्यक्तिगत भेटमा होस्, उनीहरुले आफ्नो राय दिएकै हुन्छन् ।

दुनियाँको सबैभन्दा सजिलो काम राय दिनू । हामी नेपालीको चलिआएको काम, कुरा काट्नू ।

मलाई यौटै कुरो भन्न मन छ, मानिसले खुशी व्यक्त गर्नुपर्छ । पेटमा बच्चा हुर्किंदैछ । आमा हुनुको नाताले उनलाई केही रमाइलो गर्न मन लाग्यो । नौ नौ महिनासम्म पेटमा बच्चा बोकेर हिंड्ने प्रियंका, प्रसव वेदना भोग्ने पनि प्रियंका, जन्माएपछि हुर्काउने पनि प्रियंका । अनि तिमेरुलाई केको ट्याइँ ट्याइँ हो । देखाउन द्याओ न भूँडी । प्रियंकाको भूँडी प्रियंकाकै मर्जी ।

तपाइँको प्रतिक्रिया