बिहीबार, वैशाख ६, २०८१

कूटनीतिको नाममा फेरि शुरु भयो लाजमर्दो राजनीति !

‘राजदूतमध्ये देउवा सासु (जापान) र म्यानपावर व्यवसायी (ओमान) को भने म्याद थपियो’

नेपालप्लस कूटनितिक संवाददाता / काठमाडौं२०७८ वैशाख २१ गते १६:१७

राजदूत महेश दहाल

गत वर्ष पुसको अन्तिम सातामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको गठबन्धनमा टुटफुट सुरु हुनासाथै माओवादी कोटामा नियुक्त अष्ट्रेलिया, बहराइन, साउदी अरेबिया, डेनमार्क जस्ता मुलुकबाट राजदूत फिर्ता गरिहाल्ने तयारी सुरु भएको थियो । सत्ता–शक्तिको खेलमाझ ‘घरफिर्तीमा तयार भएर बस्नु’ भनेर ती मुलुकका राजदूतलाई बालुवाटारबाटै मौखिक सूचना पनि गैसकेको थियो । तर, सत्ता गठबन्धनमा फेरि भागबन्डा र मिलेमतो मिल्ने स्थिती देखिएपछि तत्कालै परराष्ट्र मन्त्रालयले बिज्ञप्ती नै जारी गरेको थियो— त्यस्तो होइन, राजदूत फिर्ता गरिने छैन ।

त्यसको ४ महिना नबित्दै फेरि सत्ता र कुर्सीको लडाइमा संघीय प्रदेशका प्रदेश प्रमुखसगै माओवादी कोटाका एकजना राजदूत महेश दाहाल भने अष्ट्रेलियाबाट फिर्ता बोलाइएका छन् । ‘एउटा राजनीतिक प्रदेश प्रमुख र अर्को कुटनीतिक पदाधिकारीको हैसियत एकै देखियो, एउटै मितिमा माओवादी कित्ताका सबैजना फिर्ता बोलाइएका छन्,’परराष्ट्रका एक सहसचिवले भने—‘यसमा कुटनीतिको कुरा कहीं छैन, राजनीति मात्रै छ ।’

कुटनीति होइन, राजनीतिका भरमा नेपालको परराष्ट्र नीति बाचिरहेको केबाट पनि पुष्टी हुन्छ भने झण्डै डेढ वर्षमात्रै अष्ट्रेलियामा राजदूत बनेर फिर्ता बोलाइएका दाहालभन्दा अघि अर्की राजदूत लक्की शेर्पालाई पनि यस्तै राजनीतिक कोपभाजनमा पारेर डेढ वर्ष मात्रै पदावधीपछि फिर्ता बोलाइएको थियो । आर्थिक हिनामिनाको आरोप लगाएर परराष्ट्रले फिर्ता बोलाएको भएपनि त्यो आरोपको छानविनको वा पुष्टी अझैसम्म पनि परराष्ट्र मन्त्रालयले गर्न सकेको छैन । भन्नका लागि कार्यसम्पादन मुल्यांकन भनेपनि राजनीतिक तावेदारी र शक्ति संघर्षका कारण खटाइएका राजदूतहरु पनि थपना बन्दै आएका छन् ।

माओवादीकै कोटामा त्यसमाथि माओवादी अध्यक्ष पुष्पकमल दाहालका नातेदार बनेर महेशराज दाहाल नोभेम्बर २०१९ मा अस्ट्रेलिया पुगेका थिए । अध्यक्ष दाहालका ‘निकटस्थ’ मानिएका दाहाल माओवादीमा जानुअघि कांग्रेस कोटामा नेपाल टेलिभिजनको अध्यक्ष नियुक्त भएका थिए । सत्ता भागबण्डाको राजनीति उत्कर्षमा पुगेसँगै सरकारले माओवादी सिफारिशमा रहेका गण्डकी र सुदुरपश्चिमका प्रदेश प्रमुख फेर्ने निर्णयका साथमा अष्ट्रेलियास्थित राजदूत महेशराज दाहाललाई फिर्ता गर्ने निर्णय गरेको हो । परराष्ट्र मन्त्रालयका एक उपसचिवका अनुसार, जापानस्थित राजदूत प्रतिभा राणा र ओमानस्थित राजदूत शर्मिला पराजुली ढकालको राजदूत पदावधी पुरा भएर पनि ‘अर्को निर्णय नभएसम्म’ म्याद थप गरिएको छ ।

जबकि फरक राजनीतिक पृष्ठभूमीबाट जापानमा राजदूत बनेकी राणा एकातर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ र पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाकी ससु हुन् । कोरोनाको पहिलो चरणमा गत वर्ष ६ महिनासम्म नेपालमा बसेर टोकियोको दूतावासलाई ‘भर्चुवल’ रुपमा चलाएपछि सर्वत्र बिरोध बेहोरेकी राणा भने ‘कार्यसम्पादन मुल्यांकन’कै आधारमा पदावधी थपिनेमा परेकी छिन् । उनकी छोरी अर्थात नेपाली कांग्रेसमा शक्तिमान महिला नेतृ आरजू राणा आफ्नो ‘हिप’को अपरेसनका लागि ४ महिनायता टोकियोमा रहेका कारण र सासु (राजदूत) तथा नेतृ आरजू (शेरबहादुर पत्नी) को प्रभाव–पहुचका कारण पनि राजदूत प्रतिभाको कार्यकाल कुनै मिति नतोकीकन थपिएको हो । यसअघि, अमेरिकाको वासिंङटनमा रहेका राजदूत अर्जुन कार्कीको पनि यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीको निगाहमा १ वर्षभन्दा बढी कार्यकाल तन्किएको थियो ।

अर्कातिर, ओमानमा रहेकी राजदूत शर्मिला पराजुली ढकाल पनि तत्कालिन फोरम लोकतान्त्रिक दलका तर्फबाट नेता बिजयकुमार गच्छेदारको सिफारिशमा परेकी थिइन् । कतै पुष्टी नभएपनि तत्कालिन फोरम लोकतान्त्रिक र नेता गच्छेदारलाई मोटो रकम दिएर राजदूत बनेकी भनिने ढकाल राजदूत बन्नुअघि एक म्यानपावर ब्यवसायी थिइन् । खाडी मुलुकसहितमा प्रतिबन्धित रहेको महिला कामदार समेत पठाउने ‘चार्ज’ बेहोरेकी ढकालले पैसाकै भरमा राजदस्त पद पाएको र त्यसपछि प्रधानमन्त्री ओली, राष्ट्रपति बिद्यादेवी भण्डारीसहितलाई रिझाएर पद थमौती गर्न सकेको चर्चा व्याप्त छ ।

यीबाहेक म्यानमारस्थित राजदूत भीम उदास (कांग्रेस), साउदी अरेबियास्थित राजदूत महेन्द्रप्रसाद सिंह राजपुत (माओवादी), बहराइनस्थित राजदूत पदम सुन्दास (माओवादी) को सिफारिसमा गएका हुन् । उनीहरुको कार्यकाल पुरा भैसकेको आधारमा यिनलाई फिर्ता बोलाइएको वा कुनै अर्को निर्णय गरिएकोबारे केही भनिएको छैन । राजनीतिमा जस्तै कुटनीतिमा पनि प्रतिसोधको व्यवहार देखाएर प्रधानमन्त्री ओलीले कुटनीतिक कारवाही गरिरहेको बारे स्वयम परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, परराष्ट सचिव भरत पौडेल र सरोकारका सबै अधिकारी मौन बसेका छन् । यसबारेमा पररष्ट्र मन्त्रालय वा परराष्ट्र प्रवक्ताले केही आधिकारिक बोल्न चाहेकै छैनन् ।

जबकि श्रीलंका, दक्षिण कोरियाजस्ता नेपालसँगको क्षेत्रीय वा श्रम–कूटनीतिका अर्थमा नजिकको सम्बन्ध रहेका मुलुकमा ३ वर्षयता राजदूत नियुक्त हुन सकेका छैनन् । ‘कुटनीतिक सन्तुलन, कार्यसम्पादन मुल्यांकन र कुटनीतिक आचारसंहिता त भन्नैका लागि मात्रै हो,’युरोपेली मुलुकबाट हालै घर फर्किएका एक राजदूत भन्छन्—‘एमाले पार्टीका प्रवक्ता रहेका हालका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जहाँ पनि राजनीतिकै प्रवक्ताको मात्रै काम गर्न सकेका छन्, कुटनीतिक जगत र आरोह–अवरोहबारे ज्ञवाली स्वयम ज्ञानशून्य छन् ।’

तपाइँको प्रतिक्रिया