बुधबार, असार २, २०७८

मेरी नैनी भित्रै हराएकी म

शशी भट्टराई२०७८ वैशाख २२ गते ११:०१


काठमाडौंको इन्द्रचोक ओटुमा जन्मिएका पोषण पाण्डे नेपाली साहित्यका बिर्सिन नहुने स्रष्टा हुन् । जीवनलाई आफ्नै आदर्श र सिद्धान्तमा चलाउन चाहने साहित्यकार पाण्डे त्यस्तै मौलिक बिचारका धनी स्रष्टा हुन् । नयाँ सोच र शैलीमा सिर्जना गर्न रुचाउने उनले मनोवैज्ञानिक लेखनलाई रोजेका छन् । जीवनमा कहिल्यै पनि आफ्नो बारेमा आफैं प्रचार गर्न अघि नसर्ने भद्र एवं शान्त व्यक्तित्व पाण्डे प्रचारमा नभइ कर्ममा विश्वास गर्ने स्रष्टाका रुपमा चिनिन्छन् ।

स्नातकसम्मको औपचारिक शिक्षाआर्जन गरेका उनी अङ्ग्रेजी साहित्यकापनि गहन अध्येता थिए। उनले लामो समयसम्म नेपाल राष्ट्र बैंक र शाही नेपाल वायु सेवा निगममा जागिरे जीवन बिताए । सानो उमेरदेखि नै साहित्य सिर्जनामा लागेका पाण्डेले पहिलो सार्वजनिक कथा ‘चोर’ लेखे ।

एकजना स्रष्टालाई एउटै मात्र रचनाले पनि अमर बनाएको धेरै उदाहरणहरु छन् । देवकोटाले सयौं कृति लेखे तर मुनामदनको जति लोकप्रियता उनलाई अरुले दिलाउन सकेन । त्यस्तै गोपालप्रसाद रिमालको ‘आमाको सपना’ ले उनलाई नेपाली माझ चिनायो । माधव घिमिरेको गौरी, मदनमणि दिक्षितको माधवी, गोविन्दराज भट्टराईको मुगलान, पारिजातको शिरीषको फूल आदि । यसै गरेर स्रष्टालाई एउटै मात्र रचनाले पनि अमर बनाएकामा पोषण पाण्डेलाई भने ‘भिनाजुको स्वेटर’ कथाले नेपाली साहित्य जगतमा राम्रोसित चिनायो ।

पाण्डेकी आमा त्यो समयकी नाम चलेकै साहित्यकार भएकोले पनि आफ्नो पारिवारिक पृष्ठभूमिका कारणले उनको साहित्यिक क्षेत्र अगाडि बढेको हुनसक्छ । पारिवारिक पृष्ठभूमिबाट संस्कारको रुपमा चेतना जागरणलाई लिएर आएका पाण्डेले समाजका सामु अथवा नेपाली साहित्य जगतलाई सशक्त नेपाली कथा र कविता दिएर गए ।

नेपाल प्रज्ञा प्रतिष्ठानको प्रकाशन बटवृक्षको कवितासङ्ग्रह भित्र ५१ वटा कविता रहेका छन् । पोषण पाण्डे (तीर्थ सदन द्वारा प्रकाशित मेरीनैनी कविता सङ्ग्रहमा ६२ वटा कविता रहेका छन् । उनका कविता वि।सं। २०२० सालमा कविता विधामा नेपाल एकेडेमी अवार्ड, २०३४ मा रत्नश्री स्वर्णपदक, २०२६ मा प्रबल गोरखा दक्षिणबाहु, शिक्षामन्त्रालयबाट नगद पुरस्कार, २०४८ मा सिद्धिचरण पुरस्कार, महेन्द्र प्रज्ञा पुरस्कार आदि पुरस्कारहरूबाट सम्मानित भएका छन् । अल्पायुमा नै बितेका उनका केही मृत्युका कविताहरू पनि छन् ।

उनका कवितामा चन्द्रसूर्य, पृथ्वी, आकाश, आदि जस्ता विम्बको बारम्बार प्रयोग भएको पाइन्छ । पहिलो कविता मुहान देखि अन्तीम मेरी नैनीसम्म आउँदा आफ्नै किसिमका कथ्य, भाष्य र लयमा आधारित छोटा कविताहरू धेरै छन् । पाण्डेले लेखेका कविताहरूले पाठकको मन सजिलै जित्न सक्छब्। देशप्रेम सम्बन्धि कविताहरू सशक्त छन् । सरल भाषामा लेखिएका यी कविताहरू पढ्ने बित्तिकै पाठकका ह्रदयमा पुगिहाल्छन् ।

कवि पोषण पाण्डेद्वारा रचित ‘म आउँछु’ नामक गद्य कविता एक सरल र सुन्दर कविता हो । साहित्यका नवरस मध्ये रसहरुको राजा मानिने शृङ्गार रस यस कवितामा पाइन्छ । प्रस्तुत कविताको स्थायी भाव रति हो, जुन यौन चाहना र यौन उमङ्गको सुखद क्षण हो । यौनमा नवजीवनको सौन्दर्य उपहार हो र नैसर्गिक अधिकार हो । यहाँ कवि पाण्डेले हावालाई विम्ब बनाएर एउटा प्रेमी र प्रेमिकामा हुने प्रेमको प्रणय लीलालाई सुन्दर ढङ्गले प्रस्तुत गरेका छन् । प्रत्येक कविताले एउटा भाव, एउटा दर्शन बोकेको छ । त्यसैले सुन्दर भाषा संयोजन र कविभावले मीठा बनाइएका कविताहरू प्रत्येक पन्नामा आफैं फटाफट हिंडेका छन् ।

कविले मनको नदी सपनालाई विम्ब मानेर मानविय जीवन सँग तुलना गरेका छन् । जसरी नदीको किनारै किनार पानी बाहेक केही हुँदैन, त्यसैगरी जीवनका प्रत्येक पाइलामा मात्र हाम्रो सपना हुन्छ । त्यही सपनाकै लागि हामी निरन्तर अघि बढिरहन्छौं । थकित हुँदा पनि त्यै सपनाको कल्पना गर्दै प्रेरित भएर गन्तव्यतर्फ लम्किरहन्छौं । सपनाका लहरहरु कहिल्यै टुट्दैनन् । एउटा पूरा भएपछि अर्को सपनाका लागि हामी तत्पर रहन्छौं । त्यसरी नै नदीको अन्त्य भेटिंदैन, हिंड्नु र हिंडिरहनु बाहेक अन्य कुरा मनले मान्दैन ।

त्यस्तै प्रेमको व्याख्या कवितामा कविले थरिथरिका प्रेमका बारेमा वर्णन गरेका छन् । दुईतर्फि प्रेममात्र प्रेम नभइ एकतर्फि प्रेम पनि प्रेम हो भनेका छन् । चर्केको ऐनालाई विम्ब मानेर कविले ती सम्पूर्ण चर्केका प्रेमिल मुटुहरुलाई सम्बोधन गर्दै समर्थन नपाएका, बिथोलिएको प्रेम झन् उच्च वर्गका प्रेम हुन् भनेका छन् । मुटु चर्केपनि धड्किन्छ । छिया छिया भएको मुटुमा पुनः चोट लाग्ने सम्भावना न्यून हुन्छ । ‘त्यसरी पिरोलिएको मुटु लिएर कसैलाई माया गरिरहनु पनि प्रेम हो’ कवि भन्छन् ।

मेरी नैनी कवितामा कविले हरपल आफ्नी मायालुलाई सम्झिरहेका छन् । लेखकले आफ्नो आँखाको परेलीमा, बाँसुरीको स-साना प्वालहरुमा र आफ्नो मुटुभित्र उनको प्रेमिकाको अस्तित्व बचाईराखेका छन् । उनको मायालाई हामीले पारदर्शी रुपमा महसुस गर्न सक्छौं । आफ्ना भावहरुलाई उनी आफूभित्र लुकाएर आफ्नी मायालुलाई मनभित्र सुरक्षित राख्ने कुरा स्पष्ट पार्छन् । ढुङ्गालाई संसार चिनाउँछु भन्ने कवि भावनामा डुबेर अनेक विम्बहरुमा मायाको महल खडा गरिदिन्छन् ।

बाडुली कविता कसैको सम्झनामा बगेर लेखिएको एउटा सशक्त कविता हो । बाडुलीको अर्थ सम्झना भन्ने हुन्छ । कविले यो कविताको माध्यमद्वारा आफ्ना प्रिय नरेशलाई सम्झिरहेको अनुभूति हुन्छ । आफ्ना प्यारा राजाको सम्झनामा व्याकुल भएर रचेको यो कविता २०४४ साल पुस १ गते राष्ट्रिय सभागृहबाट कविता प्रतियोगितामा उनले वाचन गरेका थिए । उनको यो कविता धेरै चर्चित भएकोले नै मैले पनि एकजना साहित्यकारबाट धेरै पहिले पोषण पाण्डेको एउटा उत्कृष्ट कविता भनेर सुन्ने मौका पाएकी थिएँ । प्रकृति, सम्झना र जीवन, तीनैतिरबाट मिलाएर लेखिएको यो कविता अत्यन्त कारुणिक छ ।

जीवनले यो जगतबाट बिदा लिएपनि सत्कर्म गरेको खण्डमा त्यो नाम अमर रहनेछ । आत्माले हाम्रो वरिपरिबाट नियाली रहनेछ । जीवन प्रकृतिमा मिल्छ तर सुवास भने पुष्प बनेर यो संसारमा छरिइरहनेछ भन्ने आशयको यो कविता कहिले बुढो हुँदैन । सधैं सबै पुस्ताका लागि जवान रहन्छ । कवि भावुक भएर भन्छन्, “म अचानक एक मुठ्ठी माटो च्यापेर सगरको फेदिमा चढाउँछु देवराज । हे राजन म त धर्तीमा छु । मेरो तिमीसम्म हात पुग्दैन । यो थुँगो थमाइदेऊ ।” शान्त रसमा लेखिएको यो कविता पाठकहरुले अत्यधिक रुचाइएको कविता हो ।

उनका कवितामा मनोविज्ञान, विद्रोह, आडम्बरप्रतिको आक्रोश, प्रेम, कोमलता र उनको निजीपन र मौलिकता अभिव्यक्त भएको देखिन्छ । मान्छेभित्रको मान्छेलाई कविले झकझकाउँछन् । निदाएको चेतनालाई कवि ब्युँझाउँछन् । दु:ख, पिडा, वेदना, आँशु, धोका, सबै उनी कविताले धुन्छन । पखाल्छन् । समग्रमा भन्नुपर्दा उनको प्रकृति प्रतिको प्रेम र अनेक कलाप्रतिको चिन्तन, साधना र सफलता यी कवितामै देख्न पाइन्छ।

तपाइँको प्रतिक्रिया

फेसबुक