बिहीबार, वैशाख १३, २०८१

प्रधानमन्त्री ओलीको जिल्लामा ओलीबाटै ‘पीडित’ दुइ मनुवा

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ वैशाख २३ गते १५:०२

—नापीले निजी जमिन देखाएकोमा नगरपालिकाले सरकारी बनाइदियो : पदम माझी
—आन्दोलनका मेरा साथी ओलीलाई भेटेर मर्ने इच्छा छ : मनबहादुर तामाङ

                   पिडित पदमबहादुर माझी

देशको प्रधानमन्त्री र राजनीतिको सर्वशक्तिमान पात्र भएपछि स्वभावत: केपी शर्मा ओलीका आरोह–अवरोह र सफलता–बिफलताका क्षणहरु उत्खनन हुदै बाहिर आउँछन् नै । अहिले भने प्रधामानन्त्री ओलीको गृह जिल्ला झापा (दमक) र उनको राजनीतिक यात्राको सुरुवाती बिन्दू झापा बिद्रोहमा जोडिएका २ पात्रका बारे उल्लेख गरिंदैछ जो यिनै प्रधानमन्त्री ओलीका कारण बिचल्ली झैं देखिएका छन् ।

पदमबहादुर माझी, दमक

दमक १ निवासी हरिमाया मझिनी ०२१ अघि २८ बिघा जमिनकी धनी थिइन । उनी पति हरिबहादुर र एक्लो छोरा धनबहादुर माझीको निधनपछि एक्लो नाति पदमबहादुरसँग बस्दै आएकी थिइन् । मझिनीले नै आफ्नो निजी जमिनमा साप्ताहिक रुपमा प्रत्येक बुधबार लाग्नेगरी दमकमा बजार लगाउन सुरु गरेको दाबी गरिन्छ । बुधवारको बजार पहिला रतुवा नदीको बगरमा लाग्दै आएको थियो । २००८ सालमा रतुवा नदीमा आएको ठूलो बाढीले बजार बगायो ।

बाढीले बगाएको बजारलाई मझिनीले दमक नगरपालिका ७ (साविक १२) हाटखोलास्थित आफ्नो निजी जमिनमा सारेकी थिइन । बजार लगाएबापत मझिनीले प्रत्येक पसलेबाट पैसा उठाउँथिन । त्यही पैसाले मझिनी र नाति पदमबहादुरको दैनिकी चल्थ्यो । ०२१ सालमा भएको नापीले हाट खोलाको जमिनलाई ‘हटिया’ भनेर उल्लेख गर्‍यो । पुर्खौली जमिनलाई नापी टोलीले ‘हटिया’ भनेर उल्लेख गरेपछि माझी परिवारमा संकटका दिनहरु सुरु भए ।

हरिमाया मझिनीको नाममा कित्ता नं। ६४२ को हाट खोलामा ११ कट्ठा ४ धुर जमिन दर्ता थियो । यही कित्ता नम्बरबाट मझिनीले ८ धुर जमिन आसबहादुर श्रेष्ठलाई बिक्री गरेकी थिइन । आसबहादुरको निधनपछि उक्त जमिन उनका छोरा जुद्धबहादुर श्रेष्ठका नाममा अझै छँदैछ ।

तर, दमक नगरको क्षेत्रसहितमा औद्यागिक पार्क बनाइने बन्ने योजना अघि बढेपछि प्रधानमन्त्री केपी शर्मा ओली र उनका भतिज तथा दमक नगरका मेयर रोमप्रसाद ओलीले सबै जग्गा हडपे पछी माझीजस्ता केही जनसाधारण भने घर न घाटका बन्न पुगेका छन् । पदमबहादुर माझीको नाममा दर्ता रहेको भनी धनीपुर्जा प्रमाणपत्र र उक्त जमिनको ०५३-५४ सालसम्मको मालपोत तिरेको प्रमाण समेत हुँदाहुँदै ‘नक्कली कागजातको जग्गावाल’ भनेर पदमलाई अहिले सुकुम्वासी बनाइएको छ ।

०७५ जेठ ५ गते नगरपालिकाले प्रहरी घेराबीच जेसीबी लगाएर माझीसहितको घरटहरा भत्काएपछि नगरपालिकाले उक्त जमिनमा अत्यधुनिक सपिङ मल बनाउने योजना अघि सारेको छ ।

यसरी अस्ति भर्खरैसम्म जमिनवालका छोरा–नाति पदमबहादुर माझी जीवनको उत्तर्राधमा मानसिक रोगीजस्तै बनेका छन् । खानाको ठेगान छैन । दिनहरु भौतारिएर बित्छ । जोकोहीसँग भेट हुँदा ७२ वर्षे माझी भनिरहन्छन्—‘मलाई न्याय दिलाइदिनु पर्यो ।’

दमक ५ का दुर्गाप्रसाद कट्टेलले माझी परिवारको मूल्यवान जमिन नगरपालिकाले बलजफ्ती हडपेको दाबी गरे । ‘नगरपालिकाले उक्त जमिन नियतबस हडपेको देखिन्छ । नजिकै ४ धुर जमिन किनेर बाँकी जमिन जबरजस्ती आफ्नो बनाएको देखिन्छ’ कट्टेलले भने,‘सुकुम्बासी आयोगले दिएको धनीपुर्जा र पुराना कागजातहरु देखाउँदा किर्ते गर्‍यो भनेर नगरपालिकाले उल्टै पदमबहादुरलाई धरपकड गराएर दुख दिएको छ । मुअब्जाको कुरै छोडौं’ ।

मनबहादुर तामाङ, अर्जुनधारा

पिडित मनबहादुर तामाङ

२०२८ सालको अन्त्यतिर झापामा चलेको कम्युनिष्ट बिद्रोहका नाइको थिए— केपी शर्मा ओली । त्यही प्रकरणमा विद्रोहमा उत्रिएकामध्ये रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, रत्नकुमार वान्तवा लगायतको पंचायती सरकारले ज्यान लिएको थियो । त्यही काण्डका एक योद्धा् हुन्— ७६ वर्षीय मनकुमार तामाङ । निहत्था जनताको हत्या गरेको अभियोगमा उनी १७ वर्ष ७ महिना ७ दिन जेल परेका थिए । उनीसँगै सोही आरोपमा जेल बसेका पाँच जना सुखानीमा सहिद भए । बाँचेकामध्ये केपी शर्मा ओली मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्रीसहित एमालेका अध्यक्ष छन् । ओलीसँग ‘तँ-तँ–म-म’ चल्ने र नख्खु जेलमा ११ महिनाजति साथै समय बिताएका तामाङ भने अहिले झापामैं सुकुम्बासीसरहको जीवन बिताइरहेका छन् ।

‘राजनीति त गर्दा हुँदोरहेछ । मैले उहाँहरूले जे जे भन्नुभयो त्यही मानें । २०४६ सालको आन्दोलनबाट संवैधानिक राजतन्त्रात्मक बहुदलीय व्यवस्था आएपछि उहाँहरू अघि बढ्नुभयो, म जस्ता अरु कार्यकर्ता भने पछि पर्यौं ।’ आज तिनै योद्धा तामाङ बस्ने घर घामपानी थेग्न नसक्ने अवस्थामा छ ।

२०४६ सालको प्रजातन्त्र प्राप्तीपछि मात्रै जेलबाट छुटेर उनी झापा मुलथलो फर्किएका थिए । उनले प्रधानमन्त्री ओलीलाई भटेरै मर्ने इच्छा राखेका छन्। ‘उहाँको सुरक्षाको लागि मैले हतियार उठाएँ। बुवा-आमा, दाजु-भाइ लगायतका आफन्तले दिएको कुनै सल्लाह मानिनँ । हामीविरुद्ध तत्कालीन शासकलाई सुराक गर्ने र किसानलाई दुस्ख दिने जमिनदार सिध्याउनुपर्ने उहाँले दिएको आदेश पालना गरें । उहाँ (ओली) कस्तो हुनुभयो एक पटक उहाँलाई नजिकैबाट हेरेर मर्ने इच्छा छ- तमाङले भने ।

ओली देशको प्रमुख छन् । उनको एउटा सानो इसारामा जेपनि हुनसक्ने अवस्था छ । तर तिनै ओलीलाई लुकाउन र उनको सुरक्षाका लागि हतियार बोकेर हिंडेका तामाङको जीवन मृत्‍युको पर्खाइमा छ । झापा विद्रोहको मुख्य योजनाकार मानिएका सीपी मैनाली, राधाकृष्ण मैनाली, नरेश खरेल, मनकुमार गौतमलगायत थुप्रै नेताहरूसँग उनले जेल जीवन बिताएका छन् । तर देशमा प्रजातन्त्र आएपछी आनन्दले जीवन बिताउने पर्खाइमा रहेका तमाङ जस्ता ब्यक्तीहरुसँग न घर बास छ, न जीवन बिताउने अन्य विकल्प । कतिसम्म भने बिहान-बेलुकाको हातमुख जोर्न उनले छिमेकीको शरण पर्नुपर्छ । बाँस मागेर काटेको चोयाबाट उनले डोको बनाएर बिक्री गर्दै गासको जोहो गर्छन् ।

उनको घरमा श्रीमती फूलमाया मुटु रोगी छिन् जो आफैं रोगले हलचल गर्न सक्दिनन् । यो दुःख सास्ती देखेर अर्जुनधारा नगरपालिका प्रमुख हरिकुमार रानाले तामाङलाई झुप्रो घर बनाउन ३ लाख रुपैंया सहयोग दिने घोषणा त गरेका छन्, तर अरु बिचल्ली र दैनिक छाक टार्ने समस्या भने चर्को छ ।

प्रधानमन्त्री ओलीको नवजर नपर्दा उनको गृहनगर र जानपहिचानमा जोडिएका दमक र अर्जुनधाराका दुइ जनसाधारण यसरी पिल्सिएका छन् जसबारे केन्द्रमा ओलीलाई सम्झाइदिने–बुझाइदिने कोही देखिन्न ।

झापा बिद्रोहमैं परेर सुकुम्बासी जीवन बिताइरहेका दधिराम उप्रेती, बीरबहादुर श्रेष्ठ, दुर्गा अधिकारी (सानो) र दुर्गा अधिकारी (ठूलो) जस्ता योद्धाहरु पनि आज उसैगरी ओझेलमा छन् । तर, योभन्दा बढी दमकका माझी र अर्जुनधाराका तामाङको हालत दुर्दान्त छ । प्रकारान्तरले प्रधानमन्त्री केपी शर्मा ओली यी नाममा जोडिएका छन् ।

तपाइँको प्रतिक्रिया