बुधबार, असार २, २०७८

मुख्यमन्त्री ज्यू ! जबजको सुल्टो यात्रामा फर्कनुस्

सिद्धिचरण भटराई२०७८ वैशाख २३ गते ५:०३

प्रिय नेता शंकर पोखरेलले ३ वर्ष अघि मुख्यमन्त्री हुँदा मैले आशा भरेर एक लेख लेख्दै शुभकामना दिएको थिएँ । लुम्बिनी प्रदेशमा जननेता मदनभण्डारीको जनताको बहुदलीय जनवादको व्यवहारिक कार्यन्वयन हुनेछ । किनकि जबजका उत्तराधिकारीको रुपमा चिनिएका पोखरेल यस प्रदेशका मुख्यमन्त्री छन् । उनी यसै कारण मदनभण्डारीका पनि प्रिय थिए । महामहिम राष्ट्रपतिका पनि प्रिय छन् । स्वयं केपी शर्मा ओलीका पनि एक बैचारिक पक्षधर नेता छन् । यी सबै राष्टिय अनुकुलतामा मुख्यमन्त्री भएका शंकर पोखरेलले प्रदेशका नीति तथा कार्यक्रममा जबजका आधारभूत नीति र योजनालाई क्रियान्वयन गर्दै एउटा फराकिलो नमुना प्रयोग गर्न सक्ने छन् । यही कुरालाई मैले लेखमा समावेश गरेको थिएँ ।

समय छिटै बित्यो । पहिलो वर्ष त संघिय सरकारबाट प्रादेशिक संरचनाहरु स्थापना गर्न, कानुन बनाउन र अभ्यासमा रुमलिँदा बित्यो । यसमा धेरै आलोचना र अपजस दिनुपर्ने कारण देख्दिन । तर बाँकी दुई वर्षमा प्रदेशले नाम र राजधानी पाउने बाहेक अरु खास जनअनुभुति योग्य काम भएन । प्रदेशको नाम र राजधानि तोक्दा भएका अलोकतान्त्रिक कार्यशैली पनि नोटिसमा भएकै विषय हुन । उनले केपी र प्रचण्डलाई रिझाएर जसरी राजधानीको स्थानान्तरणत गरे प्रदेश सभा सदस्यको मन जित्ने र लोकतान्त्रिक छलफल र निर्णयमा रुचि देखाएनन् । अहिले राष्ट्रिय राजनीति नबिग्रिएको भए पोखरेललाई आर्थिक र नैतिक रुपमा त्यति चुनौति आएको थिएन । उनि आर्थिक मामिलामा निष्कलंकै लाग्ने नेता मानिन्थ्थे, मानिन्छन् । तर हुँदा छँदाको दुई तिहाईको कम्युनिष्ट पार्टी फुटाएर एक्लो दौडमा मैदानमा उभिएका दम्भी प्रधानमन्त्री केपी शर्मा ओलीको पछि लाग्दा उनको वैचारिक र नैतिकस्तर स्वात्तै तल खस्केको महसुस आम बुद्धिजिवी र जन समुदायले गरेका छन् ।

जबजका ब्याख्याकार मानिएका पोखरेलले जबजको मुल्य मान्यता भन्दा निकै बाहिर व्यवहार गरिरहेका छन् । इमान र सिद्धान्तको कार्यन्वयन राजनीतिज्ञले अवसर आउँदा गरेर देखाउने हो । यही कारण उनीसँग अपेक्षा थिए,अद्यापी छन ।

जबजका ३ वटा मुख्य सैद्धान्तिक पक्ष छन । पहिलो हो, पार्टीको लोकतान्त्रिकरण । दोश्रो, राज्यसत्ताको लोकतान्त्रिकरण । र तेश्रो, व्यक्ति स्वयंको लोकतान्त्रिक रुपान्तरण । यो पनि समाजवादी मुल्य मान्यताको जगमा उभिएर गरिने लोकतान्त्रिकरण नै मदन भण्डारीको जबजको मर्म हो । यसरी हेर्दा पार्टीको लोकतान्त्रिकरणको पक्षमा कमरेड पोखरेलमा ओली सत्तामा नहुँदासम्म प्रखर पक्षधता देखिएको थियो । यो ठिकै थियो । किनकी पार्टी सत्तालाई खबरदारी गरेर लोकतान्त्रिकरण गर्नु जबजका हरेक अनुयायीको एक कतव्य पनि हो । तर ओली पार्टी अध्यक्ष भएपछि अधिकारको अपव्याख्या गर्दै तानाशाहीपथतिर अघि बढदा पनि त्यसको ठोस रुपमा बिरोधमा आवाज निकाल्नु पर्नेमा त्यसैलाई मलजल गरेर शंकर पोखरेल आफनो सैद्धान्तिक निष्ठालाई कमजोर बनाउँदै आएका थिए । पार्टी एकता पछिको बिधान बिपरित पहिलो अध्यक्ष र दोश्रो बरियताको अध्यक्षमा वकालत गर्ने, एमाले एक्लै हुँदा पार्टीमा छलफल बैठक नगर्ने, आफनो कुरो लागु नहुने भएपछि बैठक छोडेर हिँडने, बिवाद चकाउँदै लगेर एकल अध्यक्षको वैयक्तिक निर्णयमा पुर्याउने यस्ता अलोकतान्त्रिक बिधितर्फ पार्टीलाई धकेल्न लाग्दापनि बचाउ गर्ने काम शंकर पोखरेलले गरिरहे । यसरी हेर्दा पोखरेल जीको सैद्धान्तिक निण्ठा व्यवहारिक कार्यक्षेत्रमा लागु भएन । यसरी हेर्दा जबजको नाम लिनु एक ढोंग वा वनावटी शब्दजाल मात्र जस्तो हुँदै आएको थियो ।

नेकपा एमाले पार्टी कार्र्यकर्ताको पार्टी हो । एकल नेताको छत्र छायाँ भएको पार्टी हैन । धेरै समुहहरुको एकताबाट निर्माण भएकोले यहाँ धेरै नेता छन् । धेरै भएकोले छलफल, बिधिसम्मत निर्णयको संस्कार निर्माण गरेको पार्टी हो । यो पार्टी भित्र अल्पमत र बहुमतमा पर्नु एक जीवन पद्धती रहँदै आएको थियो । माधव, झलनाथ, बामदेवहरु कहिले अल्पमत र कहिले बहुमत हुँदै हार्दा र जित्दा पनि यही पार्टीमा आफूलाई समाहित गर्दै आएका थिए । बहुमतको सदर र अल्पमतको कदर यो पार्टीको जीवन पद्धती थियो । ओली अध्यक्ष भएपछि अध्यक्षको महिमागान र अरु नेताको अपमान, ओलीको देवत्वकरण अन्य नेताको दानवीकरण, जीतको समग्र जस पार्टीको सामुहिक नेतृत्वलाई नभएर व्यक्तिलाई दिने अत्यन्त व्यक्तिवादी चरित्र स्थापित गर्न खोजियो । यो जवजको सामुहिक निर्णय व्यक्तिगत जिम्मेवारीको सांगठनिक स्प्रीटको प्रतिकुल थियो । त्यसका बिरुद्ध आलोचना गर्नेलाई भेदभावपूर्ण गर्न थालियो ।

पार्टी सदस्यहरुको वैज्ञानिक अभिलेख, कार्यविभाजन, परिचालनका हिसावले यो पार्टी दक्षिण एशियाकै एक सुसंगठीत पार्टी थियो । सानातिना गुटका भंगालाले बगाउने पार्टी यो थिएन । गुटहरु हुन्थे । तर स्थायी थिएनन् । सबैले गुट अस्थायी हो नै भन्दथे । तर ओलीले नवौं महाधिवेशनमा अध्यक्ष भईसकेपछि गुट बिसर्जन गरेर सबैको नेता बन्नु पर्नेमा उनि निरन्तर गुटको संरक्षणमा लागे । मानौंकि एमाले र नेकपाको दुई तिहाई उनी र उनका गुटका सदस्यहरुलाई बरदानमा आएको सम्पति जस्तो गरियो ।

यो पार्टीमा हरेक पार्टी सदस्यहरुको योगदान छ । आन्दोलनमा ओलीलाई मन पराउने र नपराउनेहरुको पनि योगदान छ भन्ने बिर्साइयो । ओलीको रणनीति आगामी चुनावमा पनि जसरी पनि आफना गुणगान गाउने आसेपासेहरुलाई टिकट बाँडेर सत्तामा राईदाई गरिरहनेमा रहन गयो । यसरी उनले पार्टीमा कब्जा गर्ने नीति लिए ।

सरकारमा हुने प्रभावलाई पार्टी सत्ताको विस्तारमा दुरुपयोग गरियो । संविधानमा उल्लेख भएका समाजवाद उन्मुख व्यवस्था, मौलिक हक कार्यन्वयन, देशको समृद्धिका सपनामा मेहनतकश श्रमजिवी मानिसको हितको पक्ष कमजोर भयो । ठूला सपनाहरु रेल, हवाईजहाज, ठूला सडक र धरहराले जनताका दैनिक बेहोर्ने साना समस्याहरु ओझेल पर्न थाले । जनता र राज्यका विचको अन्तरबिरोध गहिरो गरी बढ्न थाल्यो । यो अन्तरबिरोध टाल्न झन ठूला सपनाहरुको व्यापार शुरु भएको छ । एमसिसि यसकै उदाहरण हो । त्यो व्यापारमा बिदेशी कम्पनीहरुले जित्ने नेपाली उद्यमीहरु र स्वाभिमानले हार्ने लक्षण देखिएकै छ ।

पुँजीवादीहरु के गर्छन भने जनताका वर्गिय समस्या हल गर्न नसकेपछि संघर्षलाई टालटुल पार्न उनीहरु जात र धर्मको नारा फ्याँक्छन र जनतालाई सके भिडाउँछन् नसके अल्मल्याउँछन । ठीक यसै गरी ओली जि यही रणनीतिमा हुनुहुन्छ । तर विडम्बना बैचारिक मार्क्सवादी चेत र जबजका व्याख्याकार पोखरेल जी यी सबै पक्षलाई नजरअन्दाजन गरेर आफ्नो मरणासन्न सत्ता टिकाउन अनुचित संझौताहरुमा हस्ताक्षर गर्दै हुनुहुन्छ । पछिल्ला मन्त्रिहरु थप गर्ने कार्य यसैको उदाहरण हो । यी सबै कुराले आदर्श राजनीति माथि उहाँ स्वयंका व्यवहारले धावा बोलिरहेका छन् ।

लुम्बिनी प्रदेस सभामा जुनसुकै तरिकाबाट हिसाव गर्दा पनि एमालेको बहुमत पुगेको देखिँदैन । अर्कोतिर आफना बिरुद्ध दर्ता भएको मुख्यमन्त्रीको अविश्वासको प्रस्तावको सामना नगरी आफैं राजीनामा दिएर एकै दिनमा बहुमतको एकल सरकारका बनाउने सेटिंगको खेलमा लागेपछि प्रदेशको राजनीति फोहोर पार्न उहाँले जुन नेतृत्व गर्नु भयो, त्यो सर्वथा अनुचित छ । एक प्रकारले संसदको मौजुदा सुचि छलेर छलछामको राजनीति प्रवेश गराउने अपजस पनि पोखरेललाई जान्छ । एकल सरकार हो भने मन्त्री बनेका मानिस किन एकै पार्टीका छैन? अरुबाट तानेर, पार्टी फोरेर, पदको लाभदिएर किनेका सभासदहरुलाई मन्त्रि बनाएर उहाँको राजनीति राम्रो बन्दैन । ति सांसद एमाले नै बनेछन भनेपनि त्यो असल राजनीतिक चरित्रका मानिने छैनन् ।

हामी जस्ता भुई तहका कार्यकर्ताको अपेक्षा थियो- राष्ट्रिय राजनीतिमा वैचारिक नेता शंकर पोखरेलको हस्तक्षेप गरी सहि राजनीति स्थापित गर्न लाग्नु हुनेछ । मैले त यही प्रदेशका दुई विचारवान प्रतिभाशाली नेताहरु घनश्याम भुसाल र शंकर पोखरेललाई खुलापत्र लेख्दै दुबैले सिद्धान्तनिष्ट राजनीति स्थापित गर्न लाग्नुहोस भनेको थिएँ । विचारमा तपाईहरु पनि भिडनुहोस । तर मित्रवत, पार्टी राजनीतिलाई वैचारिक र व्यवहारिक बनाउन योगदान गर्नुहोस । यसले समाजवादी आन्दोलन बचाउँछ भनेको थिएँ । केही हदसम्म उहाँहरु विचमा हुने सम्वादले आशा पनि नजगाएको हैन । नेकपा एमालेको युवा पुस्ता यी दुवै नेताप्रति आशावादी थियो । यी दुबैको हस्तक्षेपकारी भुमिका केन्द्रिय सचिवालयका नेताहरुलाई जरुरी थियो । नेकपा भित्रको महाविवाद नेकपा एमाले र माओवादीलाई सर्वोच्चले व्यूँताईदिएर अन्त्य गरे पछि पनि एमाले समेत एक राख्न नदिने ओलीको कदममा टुलुटुलु हेरेर समर्थन गर्ने शंकर जीहरु देखेपछि मलाई नेपालमा आस्था, बिश्वासकै मृत्यु पो हुनु लाग्यो कि जस्तो भईरहेको छ ।

जनताको बहुदलीय जनवादले सत्तामा जसरी पनि रहने, चुनाव जसरी पनि जित्ने भन्दैन । जबज मुल्यमान्यता र निष्ठाको दस्तावेज हो । यसले इमान, नैतिकता, बैधानिकता, कानुनी शासन, शक्ति पृथकिकरणको पनि कुरा गर्छ । यो भन्दा बढि यसले सामुहिकताको कुरा गर्छ । समानताको कुरा गर्छ । जनवादको कुरा गर्छ । र जनवादीकरणको कुरा गर्छ । समाजवादको कुरा गर्छ । सत्ताको उन्मादमा मात्तिएको समाजवादी सोभियत संघ र पुर्वियुरोपको रुमानियाबाट सिकेर केन्द्रियता मात्र भएको कम्युनिष्ट सत्ताको विकल्पमा प्रतिष्प्रर्धा र श्रेष्ठताको अभ्यास भएको पार्टीको कुरा गर्छ । यसले छलछाम र षडयन्त्रबाट राजनीतिमा टिक्ने, उभिने धरातल बनाउने कुरा पटक्कै गर्दैन । पार्टी सदस्य सार्वभौम भएको पार्टीमा एउटा व्यक्तिले माथिबाट फरमान जारी गर्ने तलबाट स्यालहुइयाँ गरेर पार्टी चलाउने पद्धतीको खिलाफमा जबज हुन्छ । तर यहाँ लेनिनले भने झैं क्रान्तिको नाम लिँदै क्रान्तिकै गला रेटने प्रबृति हावी छ ।

आज हामी सबैको चुनौती छ, जबजको नाम लिँदै जबजका स्थापित मुल्यमान्यता भएको पार्टी भत्काउने कार्यगर्नेहरुबाट पार्टीलाई कसरी जोगाउने ? यो प्रश्न शंकर पोखरेल देखि सबै पार्टीका शुभेच्छुकहरुमा । जबजको ठिक उल्टो यात्राबाट सुल्टो यात्रामा फर्कन ढिला नगर्नुस कमरेड । तपाईलाई न्याउरी मारी पछुतो हुनेछ । अर्थात हामी सबैले त्यो दुखद पक्ष भोग्नेछौं ।

तपाइँको प्रतिक्रिया

फेसबुक