बुधबार, असार २, २०७८

स्मृतिलोकमा फर्किंदा

अनिता पन्थी२०७८ वैशाख २३ गते १३:००

अनिता पन्थी

डा. अञ्जना वस्ती (भट्टराई) कृत स्मृतिलोकको यात्रा एक संस्मरणात्मक निबन्ध संग्रह हो । प्रकारान्तरले जीवनी भने पनि हुन्छ । त्यही जीवनले
भोगेका कुरा न हुन् । त्यसबखत जब कुनै व्यक्तिको जीवनी पढिन्छ त्यसपछि भाषा साहित्यको महत्व अझ विशेष लाग्न थाल्छ । एकपटक हिँडिसकेको र अब हिँड्न असम्भव मार्गको एउटै छनोट छ पुनः यात्राको निम्ति– त्यो हो साहित्य । भाषा माध्मबाट विगतमा फर्किएर गरिएका अनन्त यात्रामध्ये स्मृतिलोकको यात्रा पनि त्यस्तै एक रहेको छ ।

स्मृतिलोकको यात्रामा उपलब्धिपूर्ण बचाइका लागि संघर्षरत वहाँको जीवन नारी चरित्रको लागि एउटा प्रेरणाको स्रोत बन्ने छ ।

संस्मरण र श्रद्धासुमन खण्ड गरी दुई भागमा विभाजित यस कृतिमा २० वटा रचनाहरू समाविष्ट छन् । यसभित्र लेखक मनलाई पाठकले जहाँतहीँ भेटिरहन्छ । कहीँ प्रसन्न चित्तले हाँसेको मुहार, कहीँ सन्तप्त वेदना, करुणा र शोकमा डुबेको कान्तिहीन अनुहार । कहीँ संघर्ष र चुनौतीलाई आत्मसात् गर्दै अघि बढेका पाइला । कहीँ प्राप्तिले हर्षित मन र त्यसले निर्माण गरेको सबैसबै प्रकारका विम्ब पाठकमाझ ठिङ्ग उभिएको दृश्य आउँछ । कति ठाउँमा त लेखकले पाठक मनको कुरा कसरी जान्नुभयो होला जस्तो पनि हुन्छ । यस्तो आभासित हुनु लेखकीय कला हो ।

संस्मरण खण्डको पहिलो आलेख म अञ्जना वस्ती भट्टराईमा लेखकको आजसम्मको सम्पूर्ण जीवन त्यहीँभित्र खाँदिएको छ । उक्त विवेच्य कृतिका बाँकी रचनाहरू यही आलेखबीचका रिक्तस्थान परिपूर्ण बनाउन र थप अर्थ्याउनका लागि विशेष रहेका छन् । आफू जन्मनुभन्दा अगाडिका केही पृष्ठभूमि, जन्म, शैशवकाल, बाल्यकाल, अक्षरारम्भ विद्यालय जीवन, धनकुटा क्याम्पसको उच्च शिक्षा, अध्ययनको लागि विश्वविद्यालय प्रवेश, विवाह, कलेजमा शिक्षण पेशा आरम्भ, पुनः काठमाडौँ प्रस्थान, विद्यावारिधिको लागि हैदरावादको बसाइ, गृहनिर्माण र अन्त्यमा विभागीय प्रमुख हुँदासम्मको आधा शताब्दी अझ बढी लामो जीवनले भोगेका अनुभवहरू यसै रचनामा समाहित छन् ।

केटाकेटी बेलाको निष्कपट भावना, निश्छल स्वभाव, अभाव र समस्यामा पनि फुरुङ्ग हुने कृति भित्रको त्यो बालापन लाग्छ, लेखकको मात्रै होइन, त्यो त हामी सबैको हो । हाम्रै कुरा लेखिएको हो । आफ्नी मुवाँको पैसा चोरेर मनपर्ने कुरा खाएको दिन वहाँ भन्नुहुन्छ, “जहाँ अभाव त्यहाँ उपाय । एक दिन मौका पारेर पाँचवटा एक–एक पैसा झिकी त्यो चना र भुजा खाएको दिन मुवाँले थाहा पाएर मुड्की लगाएपछि छुट्यो त्यो बानी (पृ.–११) ।”

उस बेलाको समय आजको जस्तो थिएन । र पनि लेखकको त्यो उदार, दुरगामी र सचेत पारिवारिक परिवेशले नै वहाँलाई आज यस स्थानमा ल्याइपुर्‍याएको छ । त्यतिखेरको समयमा विवाहभन्दा पनि पढाइलाई पहिलो प्राथमिकतामा राख्नु सामान्य कुरा थिएन । त्यो एउटा चुनौतीको विषय हो । स्नातकोत्तरको अध्ययन आरम्भ भएपश्चात् बल्ल वहाँको बिहे भएको छ ।

जीवनको पर्याय नै संघर्ष हो । जीव विज्ञानका अनुसार बाँच्नका लागि कुनै प्राणीले संघर्ष गर्न सक्दैन भने धर्तीमा उसको कुनै पनि अधिकार रहँदैन । त्यस्तै रहेछ मान्छेको अस्तित्व पनि । मृतिलोकको यात्रा पढ्दा यही कुराको बोध हुन्छ । अर्को कुरा दुःख, अभाव, जटिलता त्यस्तै अनेक तत्वहरू मान्छेका जीवनमा आइरहन्छन् । त्यही समय नै हरकोही व्यक्तिको परीक्षण काल हो । उक्त परीक्षणमा उत्तीर्ण हुन सकिएन भने बचाइ निरर्थक प्रायः हुन जान्छ । पाठकको दृष्टिमा यहाँ लेखक सम्पूर्णतः उत्तीर्ण हुनुभएको छ । वहाँले स्मृतिलोकको यात्रामा आफूलाई कत्ति पनि छिपाउनु भएको छैन । जस्तो बाँच्नु भयो त्यस्तै रूपमा प्रकटित हुनु भएको छ । यस कारणले पनि कृति अझ गहन लाग्छ ।

देशको अस्थिर राजनीति, द्वन्द्व, अन्तर्संघर्ष, विश्वविद्यालयको पदीय खिचातानी, षड्यन्त्र, विद्यार्थी राजनीति जस्ता विषय हिजो पनि थिए र आज पनि उस्तै छन् । यस्तो परिवेशले धेरै कठिनाइहरू थप्ने गर्छ । “निष्ठावान् शिक्षकका लागि कठिन परीक्षणका घडी आए । शिक्षक, कर्मचारी, विद्यार्थी ससाना अवसरवादी समूहमा विभक्त भई एक अर्काप्रति घात प्रतिघातको लडाइँमा तल्लीन रहनलागे । विश्वविद्यालय शिक्षालयन भएर युद्धस्थल जस्तो प्रतीत हुन्थ्यो (पृ.–३४) ।”

प्रा.डा. अभि सुवेदीको नाकट अग्निपर्व र प्रा.डा. गोविन्दराज भट्टराईको निबन्ध संग्रह विश्वविद्यालयमा अग्निपूजा त्यसैको प्रतिछायाँ हो, वहाँ भन्नुहुन्छ ।

हामी बाह्य रूपमा जति परिवर्तनशील भयौँ, त्यति नै आन्तरिक रूपमा हुन सकेनौँ । हिजो र आजका समयबीचमा धेरै परिवर्तनहरू आए । भौतिक प्रविधि र सुविधाहरू थपिए । शिक्षित र सभ्य भए । सुखी र सम्पन्न देखिए । तर मानसिक स्तरमा कुनै परिवर्तन नआएकोमा लेखक खिन्न हुनुहुन्छ । आज पनि महिलालाई अर्कै दृष्टिले हेर्ने र सुरक्षाको प्रत्याभूति नहुने जस्ता कुरा कायमै रहेका छन् । विस्मृतिमा छेलिएका अतीतको सम्झनामा वहाँले एकपटक आफैँलाई सोध्नु भएको छ, कहिले होला हामी चेतनशील र परिष्कृत हुने ? अनि सचेत र संयमित पनि ।

स्मृतिलोकमा बाल्यकालका ती रमाइला दिनहरू आनन्दका लाग्छन् । सानु बेलाका उत्सविला क्षण र चाडपर्वहरू, त्यतिखेरको सामाजिक संरचना, चालचलन अनि गाउँले परिवेशको चित्रणले ग्रामीण भेगका पाठकलाई आफ्नै ठाउँको सम्झना आउन थाल्छ भने शहरिया भेगका पाठक चाहिँ त्यस ठाउँको कल्पना गर्न थाल्छन् ।

संस्मरण तथा जीवनी लेखिनुको एउटा कारण यही हो, लेखक बाँचेको समयको पदचाप हराएर नजाओस् । त्यस समयको वस्तुस्थितिबारे अबकालाई के थाहा ? परिवर्तन यो स्वाभाविक प्रक्रिया हो । परन्तु त्यसलाई भाषाले जोगाएर राख्नुपर्छ । यही नै हाम्रो परिचय हो । इतिहास हो । लेखकले यस कुरालाई विशेष जोड दिनुभएको छ ।

स्वयं समय नै अस्थिर छ । त्यसैको प्रभावमा हाम्रा गतिविधिहरू, संस्कृति र सभ्यताको स्वरूप पनि परिवर्तित हुँदै जान्छन् । परिष्कृत हुन्छन् । यद्यपि नवीन सभ्यतामा त्यही अतीत झल्किएको हुन्छ । यसर्थ आजका कुनै पनि कुरा नौला र पृथक छैनन् । बरु केही शुष्क र यन्त्रिकबन्दै गएका छन् । अतीतको धनकुटामा चौतारको सम्झना निबन्धमा यस्तै अर्थ सम्प्रेषण भएको छ ।

स्मृतिलोककी यात्री (लेखिका) जहाँ गएपनि मनभरि आफ्ना बन्धु बान्धबलाई सँगसँगै लिएर अघि बढ्नु भएको छ । आत्मामा अटाएको आत्मारा लेखमा वहाँले माइती र मावलको वंशावली नै तयार गर्नु भएको छ । आफ्ना हरेक खुशी र उपलब्धिमा वहाँले माता पिताजीको स्मरण गर्दा यस्तो लाग्छ, असल सन्तान हुनुको परिचय यही हो । प्रतिदिन वृद्धाश्रमको स्थापना बढिरहेको यस समय प्रस्तुत कृतिले आम पाठकमा सकारात्मक सन्देश दिने छ– मातृदेवो भवः, पितृदेवो भवः ।

समयप्रति ज्यादा सचेत र कर्मलाई पुज्ने, कर्मलाई नै मनोरञ्जनको माध्यम बनाउने व्यक्ति स्वअनुशासनमै रमेको हुन्छ । लेखकले विद्याव्यसनमा रम्ने गोविन्दराज भट्टराई शीर्षकमा यही कुरा बताउनु भएको छ ।

यस्तै विवाह अनेक आमाको मनमा स्रष्टाका एकदमै वैयक्तिक अनुभूति रहेका छन् । तथापि यो सबैको भोगाइ हो । छोरीलाई पराई घरमा पठाएपछि एउटी आमाको मनमा उठ्ने अन्योल, रिक्तता, नियास्रो, छोरीको अनिश्चित भविष्यप्रतिको चिन्तामा सबै आमाहरूलाई यस्तै हुने गर्छ । विशेष गरी यस रचनाले छोरीकी आमालाई संवेदित बनाउने छ ।

हाम्रोमा कामको कुनै सम्मान छैन । किनकि हामी अल्पविकसित देशका नागरिक दरिद्र विचारले निर्देशित छौँ । अरूको आत्मसम्मानमा चोट पुर्‍याएर आफूलाई उच्चकोटीको ठहर्‍याउँछौँ । संस्कृति र संवोधनमा गाँसिएको आत्मसम्मानमा यही कुरा आएको छ । कुनै पनि व्यक्तिलाई होच्याउनु यो उसको दोष होइन । उसले त्यही सिक्यो त्यही जान्यो जहाँ उसलाई हुर्काइएको छ । यसर्थ दोषी व्यक्ति होइन समाज हो ।

प्रस्तुत ग्रन्थका प्रायः रचनाहरू सूक्ष्म विषयको उठान गरी गम्भीर अर्थ बोध गर्न लगाएर टुङ्गिएका छन् । भावनासँग सम्बन्धित आँसु पनि त्यस्तै एक रहेको छ । आँसु उमार्ने पीडा, हर्ष, कष्टहरू ती अनेक किसिमका हुन्छन् । कति आँसु बाहिरै बगिदिन्छ त कति भित्रभित्रै । यद्यपि बाह्य रूपमा आँसु नदेखाउनेहरू दुःखी हुँदैनन् भन्ने होइन ।

स्मृतिलोकको श्रद्धासुमन खण्डमा एघार वटा निबन्धहरू संकलित छन् । त्यसमा लेखकका मातापिता, सासू ससुरा, हजुरआमा, ठूलीआमा तथा आफ्ना निकटमा रहेका स्वजनप्रति भावपूर्ण श्रद्धासुमनले सम्मान गरिएको छ । ती आत्मीयहरूको शोकमा लेखक मन ठाउँ ठाउँमा फाटिएको छ । उदासी छ । ती क्षण र स्मृतिहरू भुलेर भुल्नै नसकिने हुँदा शब्दमा पोखिएर आफूलाई शान्त पार्नकै निम्ति पनि साहित्य रचिँदो रहेछ ।

प्रेरणापुञ्ज हाम्री मुवाँ र आत्मनिर्भरताको दिशातिर हाम्रा बुवाको पथप्रदर्शन जस्ता दुई निबन्धमा कतै मैले वीपीको आत्मवृत्तान्त पढ्दै त छुइनँ जस्तो झल्को लाग्यो । लेखक माताको त्यो उत्साह, धैर्य, कहिल्यै नहार्ने स्वभाव, दूरगामी दृष्टि, आत्मनिर्भर व्यक्तित्वमा मैले दिव्या कोइरालाको बारेमा केही जान्दैछु जस्तो भयो । त्यस्तै वहाँका पिताका अग्रगामी चेतनामा मैले कृष्णप्रसाद कोइरालाको व्यक्तित्व देखेँ ।

यस निबन्धात्मक संग्रहमा लेखकले आफ्नी हजुरआमाको सम्झनामा एउटा कविता पनि रच्नु भएको छ । यसले के पुष्टि गर्छ भने वहाँ कवि हृदयको व्यक्ति पनि हुनुहुन्छ । नातिनी र हजुरआमाबीचको समय, परिवेश र कर्मको अन्तर अनि दृष्टिकोण नै यहाँ मुख्य कुरा रहेका छन् । त्यस्तै पृथक जीवनशैली र व्यस्तता पनि । आज पनि कति अभिभावकहरू नबुझ्ने नै हुन्छन् । त्यस समयमा यस्तो सचेतता ! छोरा र बुहारीलाई समदृष्टिले हेर्ने, शिक्षाको महत्व बुझ्ने आफ्ना सासू ससुराको त्यो उदार व्यक्तित्वलाई सम्झिएर लेखक अहिले पनि उत्तिकै आश्चर्यमा हुनुहुन्छ ।

स्मृतिलोकका प्रत्येक रचना आफैंमा विशेष प्रकृतिका लाग्छन् । परिष्कृत भाषाशैलीले बनिएका यी आलेखहरू कति प्रेरणादायी छन्, कति आश्चर्यचकित पार्ने छन्, कति संवेदनामूलक छन्, कति स्वअनुभूतिमूलक रहेका छन् । अनेक सर्दाम मिश्रित स्मृतिलोकको यात्रा निश्चित पाठक वर्गलाई मात्र नभएर सम्पूर्णको लागि स्वागतयोग्य रहेको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक