बिहीबार, चैत १५, २०८०

वरपर गार्ड राखेर मुख्यमन्त्री कोरोना संक्रमित भीडमा, फर्किँदा कोरोना लिएर आए

‘केन्द्र र प्रदेशका एक दर्जन मन्त्री थला परे’

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ वैशाख २३ गते २२:३४

photo Credit-nepalpress

हरिद्धारको कुम्भमेलाबाट फर्केर आएका पुर्वराजा ज्ञानेन्द्र र रानी कोमललाई कोरोना संक्रमण भएपछि एक सातायता उनीहरु दुबैजना नर्भिक हस्पिटलमा सघन उपचारमा छन् । त्यही मेलामा सहभागी भएर आएका ५ सयभन्दा बढी नेपाली श्रद्धालुलाई कोरोना भएको पुष्टी भैसकेको छ ।

‘सकेसम्म भीडभाडमा नजानु, मास्क र स्यानेटाइजरको उपयोग नित्य गर्नु, कोरोनालाई खेलाँची नगर्नु’ भन्दै अरुलाई अर्ती दिने राज्य संयन्त्रका मन्त्री र नेताहरु अहिले एकपछि अर्को गर्दै थला पर्न थालेका छन् ।

पर्यटन मन्त्री भानुभक्त ढकाल, उर्जा मन्त्री टोपबहादुर रायमाझी, खानेपानी तथा सरसफाइ मन्त्री मणि थापा, प्रदेश १ का कानून मन्त्री हिक्मत कार्की, गण्डकी प्रदेशका भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा, सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी, प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादव, लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती, लुम्बिनीकै आन्तरिक मामिला तथा कानूनमन्त्री कुलबहादुर केसीसमेत कोरोना संक्रमित भएका छन् ।

यस बीचमा, कांग्रेस पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा, सांसदहरु लक्ष्मणलाल कर्ण, रामबाबु यादव, नरमाया ढकाल र पार्वती डीसी चौधरीसमेत कोरोनाबाट संक्रमित बनेका छन् । यही बैशाख २७ गतेबाट सुरु हुन लागेको संसद अधिवेशन र त्यसमाथि प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मतसम्बन्धी तालिकाका कारण अहिले कारोनाले थला परिसकेका ११ जना (नयाँ ४ बाहेक) सांसदको मत कसरी लिने भन्ने छलफल पनि अघि बढेको छ ।

यहीबेला, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङको स्वाब परीक्षणमा गत बुधवारयता कोरोना संक्रमित भएर ‘आइसोलेसन’मा पुगेका छन् । उनी पोखरामा रहेको संक्रमित बिरामीको कक्ष अवलोकनमा राजनीतिक आसेपासे र सुरक्षाकर्मीसहित लिएर मंगलबार आकस्मिक भ्रमणमा गएका थिए । कुनैपनि स्वास्थ्य निकाय र स्वास्थ्य संगठनकै क्राइटेरियामा पनि यसरी जोकोहीले सावधानी नअपनाइ कोरोना संक्रमित क्षेत्रको भ्रमणमा जान पाइन्न । तर, यो भ्रमणमा गएर आएपछि मुख्यमन्त्रीका आसेपासे र सुरक्षाकर्मीसहित ९ जना कोरोना संक्रमणमा परेका छन् ।

पोखरास्थित कोरोना संक्रमित बिरामी कक्ष अवलोकन गर्दै मुख्य मन्त्री गुरुङ

यहि मेसोमा उनै मुख्यमन्त्री बिरुद्धको अविश्वास प्रस्तावसहितको कार्यतालिका अघि बढेको छ । गण्डकी प्रदेशको विशेष अधिवेशन पनि यही वैशाख २७ गते बस्ने भएको छ । बिहीवार गण्डकी प्रदेश सचिवालयमा बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले सोमबार बैठक तय गरेको हो । सोही दिन सरकारविरुद्धको अविश्वास प्रस्तावमाथि मतदान हुने प्रदेशसभा सचिवालयले जनाएको छ । सभामुख नेत्रनाथ अधिकारीले परामर्श समितिको बैठकले सर्वसम्मत रुपमा विशेष अधिवेशनको मिति तय गरेको र सोही दिनमा पक्ष विपक्षमा लिखित मत विभाजन हुने बताएका छन् ।

अविश्वासको प्रस्ताव आउने भएपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले वैशाख १ कै मध्यरातमा हिउँदे अधिवेशन अन्त्य गराएका थिए । चैत २५ मा सुरु भएको हिउँदे अधिवेशन जम्मा ३ दिन चल्यो । वैशाख १ मा जनमोर्चा र २ मा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीविरुद्ध कांग्रेस, माओवादी र जसपाका २८ सांसदले वैशाख २ मा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । वैशाख २ मै तीन दलले विशेष अधिवेशनको माग गर्दै तत्कालीन प्रदेश प्रमुख अमिक शेरचन समक्ष निवेदन बुझाएका थिए । सो अनुसार प्रदेश प्रमुख शेरचनले वैशाख १३ मा विशेष अधिवेशन आह्वान गरेका हुन् । विशेष अधिवेशनको पहिलो दिनमै कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले अविश्वासको प्रस्ताव टेबुल गरेका थिए ।

तपाइँको प्रतिक्रिया

फेसबुक