मंगलबार, वैशाख ११, २०८१

शनिवार- साहित्य / सृजना / नियात्रा

निरन्तर साधना र तपस्याका प्रतीक लीलबहादुर क्षेत्री सरको अभिनन्दनबारे

डा. गोबिन्द राज भट्टराई२०७८ वैशाख २५ गते १७:०३

(शिलाङ, तेजपुर, गुवाहाटी यात्रा : काठमाडौंदेखि एनजेपीको पहिलो भाग हेर्न यहाँ क्लिक गर्नुहोस्, दोस्रो भाग हेर्न यहाँ क्लिक गर्नुहोस,  तेस्रो भाग हेर्न यहाँ क्लिक गर्नुहोस,  चौथो भाग हेर्न यहाँ क्लिक गर्नुहोला र पाँचौं भागकालागि यहाँ क्लिक गर्नुहोला )

त्यस सन्ध्याका संवार्तामध्ये सबैभन्दा महत्वपूर्ण कुरा त लीलबहादुर क्षत्रीको अभिनन्दनग्रन्थको तयारी र निर्माणको विषय थियो । मैले नेपालदेखि हालका दुई ग्रन्थ ल्याएर भाइ डा। खगेन्द्रको उपस्थितिमा उहाँहरूलाई हस्तान्तरण गरेँ । पुस्तकको खण्ड र प्रारूपमाथि छलफल गर्‍यौँ । लीलबहादुरज्यूको विनम्रता के छ भने— एक पत्रिकाको विशेषाङ्कजस्तो मात्र निकालौँ । तर अरूको प्रस्तावना छ— त्यसरी होइन, यो उहाँको अभिनन्दनग्रन्थ हुनेछ । लीलबहादुर क्षत्रीको विषयमा केही हुनु सम्पूर्ण भारतीय नेपालीको जातीय गौरव एवं सम्मानको विषय हुनेछ । लीलबहादुर क्षत्री, इन्द्रबहादुर राईजस्ता उचाइका स्रष्टा न भारतका हुन् न नेपालका, ती त भौगोलिक सीमा नाघेर व्यापक भएका नेपाली जातिका गौरव शिखर हुन् । ती त नेपाली जातिका लागि विश्वसम्पदा सूचीमा पर्दछन् ।

पछिल्लो पटक नेपाल जाँदा लीलबहादुर क्षत्रीले आफ्ना कथाहरूलाई डा। रश्मिरेखा शर्माले असमिया भाषामा अनुवाद गरेको एक प्रति पुस्तक मलाई दिनुभएको थियो । त्यसपछि भाइ परासरले असमियामा खिचेर उहाँको एक घण्टा लामो वृत्तचित्र तयार पारेका रहेछन् । उहाँको बसाइँ उपन्यासको अनुवादक डिबी क्षत्रीसँग यसपालि भेटको संजोग परेको छ । त्यति मात्र होइन, उहाँका कृतीको हिन्दी, अंग्रेजी र चिनियाँमा अनुवाद भइसकेका छन् । अंग्रेजी अनुवादको चर्चा त अघि पनि भयो । नेपाली उपन्यासमा एउटै कृतीका एकै भाषामा दुईवटा अनुवाद भएको बसाइँ मात्रै हो । पहिलो ल्यारी हार्टसेलको (गत वर्ष उनी दिवङ्गत भए)। र दोस्रो प्रा। माइकल हटको । यी अनूदित कृतीमाथि यता नवराज न्यौपाने तथा रामजी तिमसिनाले अलगअलग तुलनात्मक अध्ययन गर्दैछन् । यस्ता प्रतिभाको योगदानलाई अभिनन्दनग्रन्थमा उतार्न सके कत्रो ठूलो कुरा हुने थियो ।

तीन घण्टा लामो यो भेटघाट, अत्यन्तै सुन्दर, भव्य र प्रेमपूर्ण भयो । त्यसो त अरू पनि आउनेहरू हुनुहुन्थ्यो; चाडपर्वले दिएन । यसबाट एकै झल्का भएपनि गुवाहाटीमा नेपाली स्रष्टा–द्रष्टासँगको भेटको वार्ताचर्चा र विषय के कस्तो हुन्छ भन्ने कुरा थाहा भयो । यताको नेपाली साहित्य कहाँ पुग्दैछ भन्ने विषयको प्रतिबिम्बन हेरियो । उता आदिकालदेखि रचेका लेख, रचना, रेडियो वाचन गरिएका नाटक, छरिएका पाण्डुलिपि कति धमिरा र मुसाले सके होलान् भन्ने चिन्ता छ लीलबहादुर सरलाई । अझ भन्नुहुन्छ— ‘यतिवटा भूमिका लेखिसकेँ, सङ्कलन गर्न सकिनँ, कति हराएर गए होलान् ।’

मैले भनेँ— ‘ती सारा भूमिका सङ्कलन गर्नाेस् । तिनको प्रकाशन आवश्यक छ । अझ तपाईंका आजसम्मका अन्तर्वार्ताजति सङ्कलन गर्नुहोस् । तिनको प्रकाशन झन् आवश्यक छ । म व्यवस्था गरौँला ।’

चुल्होमा अगुल्टो झोस्ता उठेका झिल्का अलिक माथि पुगेर क्षणमै खरानी हुन्छन्, त्यस्तो ठान्दा हुन्छ । परन्तु चुल्होमा आगो बलिरहन्छ । सबै सामान्यहरू तिनै क्षणिक झिल्का हुन् । तर स्रष्टा भने अनन्त कालसम्म दनदनाइरहने आगो हो । त्यो अखण्ड बत्तीमा फेरि तेल भर्नु पर्दैन । जीवनमा एक पटक तपस्या गरेपछि त्यसले सधैँ नै प्रकाश र ताप उत्पन्न गरिरहन्छ ।

हामीकहाँ सरकारले देख्तैन । नागरिकहरू अचेत छन् । समयभन्दा टाढाको सपनावृत्तमा बाँच्ने स्रष्टा सदा एक्लै हुन्छ । आफैं मात्र हुन्छ । यो निराशामा स्रष्टाको क्षमता, प्रतिभा, कल्पना र योगदान चिन्ने समय धेरै टाढा, धेरै पछि बसेको हुन्छ । अरूको बाटो नहेरी हामी आफैंले सकेसम्म आफ्नो काम गरेर जानुपर्छ । फेरि जाने बेला आइहाल्छ ।

उमेरले गर्दा केही शिथिलता छ । तर गर्ने कामको राशि घटेको छैन । एउटा स्रष्टाका बाँकी कर्म झन् बढ्दै जाने रहेछन् । खास गरी सङ्कलनको, खोजीको र आर्काइभ नबनी ती समाप्त हुन्छन् कि (वा भइन्छ कि) भन्ने चिन्ताको । लेखक सधैँ नै अनागतको चिन्तामा र कर्ममा हुन्छ । त्यसको इमारत नठडिई समय सिद्धिन्छ भन्ने ठूलो चिन्ता सबैमा हुन्छ ।

गत हप्ता ८४ वर्ष पुगेका जगदीश शमशेरले सिमलाबाट फोन गर्नुभो— गुरु, मलाई कसैले बुझोस् नबुझोस् त्यसको चिन्ता छैन । म केवल आफ्नो सिर्जना पूरा गर्न चाहन्छु । समय कम्ती छ ।

हाम्रा लीलबहादुर सरलाई आज ठीक त्यस्तै स्थिति र मूडमा पाएँ । गत वर्षको काठमाडौँ भ्रमणमा मलाई उहाँले सद्यप्रकाशित सिमलको भुवा (२०१२) उपहार दिनुभएको थियो । ‘यसलाई एकपल्ट पढिदिए पुग्छ भाइ’ पनि भन्नुभएको थियो । नभन्दै त्यो प्रेमले पढेको थिएँ । १५६ पृष्ठको यो सङ्ग्रहमा संस्मरण, निबन्ध र जीवनका अनुभूति छन् । अति रोचकताका कारणले मात्र होइन स्रष्टा लीलबहादुरको योगदान र अवधारणा बुझ्न यस कृतिको पठन अनिवार्य छ ।

तीमध्ये एउटा रचना छ आफ्नै बारेमा । सो पढ्दा मलाई लाग्छ— त्यहाँ लीलबहादुर सरको अन्तरात्मा बोलेको छ । आफ्ना सङ्घर्ष, आफूले भोगेका कष्ट, दुःखसुखको अतीत, पारिवारिक परिवेश र बाल्यकालपछिका प्राप्ति र सङ्घर्षहरू । कति सरल भाषामा यहाँ कति उदाङ्ग भई बोलेको छ त्यो बालक हृदय । एउटा लेखक कसरी कुनै आडम्बरहित हुने गर्छ । कसरी ऊ भौतिक उपलब्धितिर पनि एक दृष्टि दिँदै जीवनको अन्तिम लक्ष्यतिर, सिर्जना र साधनाको मार्गतिर समर्पित हुन्छ । त्यो यहाँ देखिन्छ । संसारकै महान् लेखक–स्रष्टाले यही भन्छन्, नित्य यही भन्छन् । एकातिर उनी त्यागी, योगीझैँ सिर्जनामा लिप्त छन्, अर्कातिर क्षुधा–तृष्णादेखि लिएर पारिवारिक पालनपोषण, आवास, सामाजिक सम्बन्ध आदि अनेक कुरा बाटो छेक्न आउँछन् ।

समाजले स्रष्टालाई हृदयमा आगो लिएर हिँडेको व्यक्ति हो भनेर चिन्दैन । उसले त आफूजस्तै धनसम्पत्तिको प्रतिस्पर्धी, ढोँगी, आडम्बरी औ सञ्चयको तपस्यामा लीन व्यक्ति ठान्दछ । जगतका त्यस्ता मर्यादा टाल्दाटाल्दै उसलाई, अनिच्छापूर्वक भोजभतेरमा जाँदा, न्वारन व्रतबन्धले गर्दा, सहकारीका मिटिङ र पार्टी बैठकमा तानिँदा अझ एउटा भूमिका र अर्काे शुभकामना अनि मन्तव्य औ विशेषाङ्कको निमित्त रचनाले गर्दा जीवन रातदिन बगेको छ । अन्यहरूको आकाङ्क्षारहित जीवन बगेर त्यस्तो पीर छैन । उनीहरू नदीजस्तै बतासजस्तै आफैं बगिरहेर यहाँ सृष्टिको नियम पूरा गर्दछन् । त्यसो गरेर उनीहरू अन्धकारमा बिलाउँछन् । त्यसरी विलीन भएको स्थितिलाई आकाशगङ्गाबाट झरेर आकाशमै बिलाउने कुनै उल्कातारा जस्तो ठान्दा हुन्छ । अर्थात् चुल्होमा अगुल्टो झोस्ता उठेका झिल्का अलिक माथि पुगेर क्षणमै खरानी हुन्छन्, त्यस्तो ठान्दा हुन्छ । परन्तु चुल्होमा आगो बलिरहन्छ । सबै सामान्यहरू तिनै क्षणिक झिल्का हुन् । तर स्रष्टा भने अनन्त कालसम्म दनदनाइरहने आगो हो । त्यो अखण्ड बत्तीमा फेरि तेल भर्नु पर्दैन । जीवनमा एक पटक तपस्या गरेपछि त्यसले सधैँ नै प्रकाश र ताप उत्पन्न गरिरहन्छ ।

त्यस कारण पृथ्वीको शोभा, यसको सुन्दरता र गाथा सबैथोक स्रष्टा नै हो । माथिको ठूलो स्रष्टाले तल (यस धर्तीमा) चुनिएका केही मानवलाई मात्र उसको कर्म सुम्पेको छ । तर सामान्यहरू यो बुझ्दैनन् । स्रष्टा एक अलौकिक आदेशले, उत्प्रेरणाले, अन्तस्करणको आह्वानले चलिरहन्छ । यो अरू बुझ्दैनन् । त्यो नबुझ्नेहरूको गन्तव्य मृत्यु नै हो । उनीहरू मृत्युपूर्व अधिक पदप्रतिष्ठाको, सुखसम्पत्तिको लक्ष्यमा सीमित हुन्छन् भने स्रष्टाचाहिँ यथासम्भव धेरै सिर्जना, गहिरा सिर्जना गर्न चाहन्छ । सिर्जनाले जगत्लाई बुझ्न र बुझाउन चाहन्छ । उसलाई प्रत्येक पलको ठूलो महत्व छ ।

लीला सरको यो निबन्धले संसारभरिका लेखक स्रष्टालाई छुनेछ । वास्तवमा मभित्रको लेखकलाई पनि ठीक त्यस्तै हुन्छ । मेरा प्रत्येक दिनका डायरी कतिपय त्यस्तै र तिनै चिन्ताले भरिएका छन् । अझ ८० पुग्न लागेका स्रष्टा लीला सरलाई एउटा उपयुक्त ठाउँमा घर छैन भन्ने सम्झिँदा र यो कुरा आगन्तुक अतिथिलाई भन्नु पर्दाखेरि कति दुःख लाग्दो हो ।

यो जगत् ईश्वरको सृष्टि हो । त्यसभन्दा मिहिन प्रकृतिको सृष्टि हो । दुवैमा प्राण भर्ने त मानव स्रष्टा नै हो । जीवन प्रवाहमय छ । मृत्युतिर एक सुरले बगेको छ परन्तु काम गर्नुपर्ने ठूलो डङ्गुर बाँकी नै छ । त्यो आतेस, त्यो चिन्ता, त्यो व्यग्रता, ती प्राप्ति र सन्तुष्टिको धारमा अनेक असन्तुष्टिका प्रहारहरू— लीला सरको यो निबन्धले संसारभरिका लेखक स्रष्टालाई छुनेछ । वास्तवमा मभित्रको लेखकलाई पनि ठीक त्यस्तै हुन्छ । मेरा प्रत्येक दिनका डायरी कतिपय त्यस्तै र तिनै चिन्ताले भरिएका छन् । अझ ८० पुग्न लागेका स्रष्टा लीला सरलाई एउटा उपयुक्त ठाउँमा घर छैन भन्ने सम्झिँदा र यो कुरा आगन्तुक अतिथिलाई भन्नु पर्दाखेरि कति दुःख लाग्दो हो । तर त्यो सानो बालकमन निष्कलङ्क छ । त्यसो त यस्ता कुरा त्यो सरकारले, समाजले, जसले स्रष्टाको सेवा प्राप्त गरिरहेको छ उसले गर्नुपर्ने हो । परन्तु यस्तो कुरा असम्भव रहेछ । अधिकांश ठूला लेखकहरू अकल्पनीय दुःखमा पनि हाँसेर बाँचेका छन् ।

त्यसैले यसपालिको भेटमा पनि लीला सरले भन्नुभयो— गोविन्द भाइ, देवेन्द्र त मेरो घरमा आएका छन् । तपाईंहरू मेरो परिवारको मान्छे । यहाँबाट चारपाँच मिनेट मात्र लाग्छ । तर तपाईंले कुनै पाप गर्नुभएको छैन भने त्यो नरकपथ हुँदै म तपाईंलाई आफ्नो घरको बाटो हिँडाउन चाहन्नँ । कुनै गर्नुभएको छ भने त्यो काटिन्छ । मेरो घरमा तपाईंलाई एकपल्ट निम्ता गर्दछु ।

उहाँको घर पुग्ने इच्छा मेरो मनमा थियो । तर उहाँको अनिच्छा, अप्ठ्यारा र चिन्ताको मनोविज्ञान देख्दा मैले आफ्नो अव्यक्त आग्रह त्यसै बन्द गरेँ । उहाँको आफ्नै बारे शीर्षक रचना पढिसकेको थिएँ । आज लीलबहादुर सर निःसन्देह विश्वस्तरका वन्दनीय नेपाली जाति हुनुहुन्छ । तर उहाँसँग जोडिएका सङ्कोच र अप्ठ्यारा के छन् ? उहाँकै वाणीमा सुन्न र सुनाउन चाहन्छु म ।

कस्तो त्याग र तपस्याले एउटा स्रष्टा जन्मिन्छ । त्यो कुरा सुनाउन लीलबहादुर क्षत्रीज्यूको निबन्ध–संस्मरण आदिको सङ्ग्रह सिमलको भुवा (२००८) मा सङ्कलित आफ्नै बारेमा निबन्धलाई स्रष्टाको अनुमति लिएर यहाँ पुनः उद्धृत गर्न चाहन्छु । अर्जुन पौडेलले अन्लिसिङ विदिन शीर्षकमा यसको अनुवाद गरिसकेका छन् । नेपाल एकेडेमीको अंग्रेजी जर्नल (जर्नल अफ नेपाली लिट्रेचर, आर्ट एन्ड कल्चर ८–२) को वर्तमान अङ्कमा सो रचना प्रकाशित हुँदैछ ।

“गत दुईचार वर्षदेखि यता धेरैले मलाई घचघच्याइरहन्छन्, अब तपाईंले आफ्नो आत्मकथा लेख्नुपर्छ भनेर । अहिले पनि हाम्रो ध्वनिका सम्पादक तथा प्रकाशक पद्मधर पौडेल, डा। शान्ति थापा, उत्तम प्रधानले हाम्रो ध्वनि विशेषाङ्कका निम्ति तपाईंले आफ्नै बारेमा केही लेख्नैपर्छ भनेर मलाई करकर गरिरहेका छन् । तर आफ्नै बारेमा लेख्ने काम ज्यादै कठिन लाग्छ । त्यसको सिलसिला मिलाउनै म सक्तिनँ । म सृजनशील साहित्य लेख्ने मान्छे । अहिलेसम्म मैले पाँचवटा जति उपन्यास लेखेँ; सयको छेउछाउ कथा नै लेखियो । दुई सयभन्दा बढी निबन्ध, प्रबन्ध, संस्मरण, नियात्रादि लेखिए होलान् । प्रकाशित, मञ्चित, अप्रकाशित, सबै गरेर १५, २० वटा नाटक, एकाङ्की पनि लेखिए । कविता र गीत लेख्ने सौख पनि थियो । झन्डै सयभन्दा बढी गीत कवितादि लेखिए होलान् । तर तिनमा धेरैजसोको जगेडा गरिएन र मस्यौदा बनाइएन । केही अझ पनि डायरीका पातामा वा कुनै बेकामे कागजका टुक्रामा खोजे फेला पर्लान् । यता अरू धेरैका कृतीमाथि सयभन्दा बढी भूमिका, शुभकामना, पत्रिकाको सम्पादकीय आदि लेखिए । भूमिका पनि विभिन्न विधाका सामग्रीमाथि लेखेको छु— कथा, कविता, उपन्यास, नाटक, गीत, निबन्ध, प्रबन्ध, संस्मरण, भ्रमण, कहानी आदि । त्यो पनि केवल नेपालीमा मात्र होइन, अंग्रेजी, हिन्दी, असमियामा पनि लेख्न बाध्य भएको छु म ।

अ।गो।स।को ‘सम्मेलन’ भन्ने पत्रिका तथा स्मृतिग्रन्थमा प्रधान सम्पादकका नाताले मैले लेखेका सम्पादकीय मात्रै पनि भेला पारेर सङ्कलन निकाल्ने हो भने नेपाली साहित्यको निम्ति त्यो अमूल्य निधि बन्ने छ । हाल कोहिमा, नागालेन्डबाट निस्कने पत्रिका ‘हाम्रो संस्कृती ’ मा लेखेका सम्पादकीय पनि पठनीय तथा मननीय छन् ।

यहाँसम्म कि मेरो हास्य–व्यङ्ग्य निबन्ध ‘खेलकुद’भित्र पनि केही सुझबुझसित चियाउने व्यक्तिले मेरो लुकेको बाल्यकाल चियाउन सक्छ । मेरा कथा ‘अविस्मरणीय मैतीदेवी’ भित्र पनि मेरो किशोरावस्थातिर बढ्दै गएको बाल्यकालले कताकति चियाउन खोज्दछ ।

झन्डै आठ वर्षजस्तो आकाशवाणी गुवाहाटीमा पनि मैले कार्यक्रम सञ्चालनको काम गरेँ र त्यहाँ प्रसार हुने नेपाली कार्यक्रमका निम्ति अनगिन्ती नाटक, रूपक, वार्ता, कथा, गीति नाटिका र विविध सामग्री लेखियो । त्यसको छुट्टै इतिहास छ । आवश्यकताले गर्दा शिशुहरूको निम्ति मैले पाठ्यपुस्तक पनि लेखेको छु र अनुवाद पनि गरेको छु ।

यसरी धेरै कुरा नै लेखियो । तर आफ्नै बारेमा लेख्ने जाँगर ममा कहिल्यै पलाएन । त्यसको सिलसिला नै कहिल्यै मिलाउन सकिनँ । अवश्य मेरा विविध, निबन्ध, कथा, उपन्यास, संस्मरण, मेरा जीवनका झाँकीहरू प्रतिबिम्बित भएका छन् । ती सामग्रीभित्र मेरा जीवनका धेरै अंशहरू फेला पर्छन् । कसैले ती सबै सामग्री बटुलेर मथ्ने हो भने मेरो जीवन–गाथा र कथाका सारतत्व स्वतः फेला पर्न सक्छन् । तर त्यसको निम्ति लगन र परिश्रम चाहिन्छ ।

‘झ्याउरे पार्टीमा लाग्दा’ भन्ने निबन्धमा मैले रेडियोमा काम गर्दाका अनुभवहरू समेटेको छु । त्यस्तै पाठशाला पढ्दाको मेरो बाल्य जीवनको झाँकी— ‘मेरा दृष्टिमा गोर्खा पाठशालाको सेरोफेरो’, भन्ने निबन्धमा फेला पर्छ । यहाँसम्म कि मेरो हास्य–व्यङ्ग्य निबन्ध ‘खेलकुद’भित्र पनि केही सुझबुझसित चियाउने व्यक्तिले मेरो लुकेको बाल्यकाल चियाउन सक्छ । मेरा कथा ‘अविस्मरणीय मैतीदेवी’ भित्र पनि मेरो किशोरावस्थातिर बढ्दै गएको बाल्यकालले कताकति चियाउन खोज्दछ ।

म नाटकको रहरभित्र कसरी मख्खिँदै अघि बढेँ, त्यो कुरा जान्न ‘घुर्मैलो सम्झनाभित्र मेरो नाट्य यात्रा’ भन्ने मेरो निबन्ध पढ्दा हुन्छ । मेरो पछिल्लो उपन्यास ‘प्रतिध्वनिहरू विस्मृतिका’मा त असमको, विशेषतः गुवाहाटी र शिलाङको विस्तृत रूपमा फैलिएको सामाजिक ऐनाभित्र मेरो जीवनको स्वरूप धेरै नै देखापर्छ । अवश्य यो उपन्यास हो जहाँ सत्य र यथार्थसित कल्पना जोडिएको छ र मस्तिष्करूपी मदानीले मथेर मात्र मेरो जीवनको यथार्थ सार झिक्न सकिन्छ ।

क्रमश :

लील बहादुर क्षेत्रीको तलको लेख हेर्नुहोस

साहित्य एकेडेमी पुरस्कार : केहि संयोग, केहि वियोग-५

तपाइँको प्रतिक्रिया