बुधबार, वैशाख १२, २०८१

ओली अहंकारको अन्तिम मोहरा

ऋषी पल्लव२०७८ वैशाख २५ गते १७:०१

आउँदो सोमवार प्रधानमन्त्री केपी ओलीले आफ्नो सरकारलाई विश्वासको मत माग्न डाकेको संसदको बैठक बस्दै छ । अहिले सम्मको गन्जागोल हेर्दा ओली सरकारले विश्वासको मत पाउने सम्भावना न्युन बन्दै गइरहेको छ । एमाले पार्टी आधिकारिक रुपमा नटुक्रिएको भए पनि माधव नेपाल समुहले ओली सरकारलाई विश्वासको मत नदिने पक्का छ । प्रधानमन्त्रिले फकाएका महन्थ ठाकुर र आफ्ना पक्षका सांसदको मतले मात्र बहुमतको प्रधानमन्त्री भइरहन सम्भव हुने छैन । यदि केपी ओलीले संसदबाट विश्वासको मत पाउन सकेनन भने बैशाख २७ गते नै उनले राष्ट्रपती समक्ष रजिनामा बुझाउने छन् । र त्यसै दिन बेलुका सम्ममा ठुलो दलको नेताको रुपमा पुन: प्रधानमन्त्रिमा नियुक्त हुने छन ।

लुम्बिनी प्रदेशको अभ्यास हेर्दा राष्ट्रपती विद्यादेवी भण्डारीले बहुमतको सरकार बनाउनका लागि दलहरुलाई आग्रह गर्ने छैनन् । केपी ओलीको स्पष्ट रणनिती छ, तागत लगाएर भएपनि इतर पक्षलाई भित्तैसम्म पुर्याउने । यदि माधव नेपाल समुहले संसद सदस्यबाट राजिनामा दिए पनि संसदमा एमालेको हैसियत सबैभन्दा ठुलो दलको रहने छ । त्यसकारण पनि ओली पुन: प्रधानमन्त्रिमा नियुक्त हुनेछन । एक महिना भित्र उनले विश्वासको मत लिनसके सजिलै अरु डेढ वर्षका लागि प्रधानमन्त्री बन्नेछन भने विश्वासको मत लिन नसके मध्यावधी घोषणा गर्ने छन । त्यो उनको चाहना हो, यसमा नेपाली कांग्रेसको भित्री ऐक्यवद्दता रहेको छ । तथापी केपी ओलीले अहिले मध्यावधी घोषणा गर्ने बेलामा कसैले प्रश्न नउठाओस भन्ने अभिप्रायले संबाद थालेका छन । पछी चुनावका बेला जनताको दैलोमा भन्न पाइने छ- “माधव नेपालहरुले काम गर्नै दिएनन” ।

ओलीलाइ सजिलो छ । यदी उनी अप्ठ्यरोमा परेका हुन्थे भने माधव नेपाल समुहका मागघरु तत्काल पुरागर्ने थिए । ति मागहरु जो माधव नेपाल पक्षले ओली समक्ष राखेका छन पुरा गर्नै नमिल्ने छैनन । तर ओलीमा घमण्ड छ । मेटिनै नसकिने इगो छ जसले राष्ट्रलाई मिनेट मिनेटमा तहसनहस पारेको छ । घमण्ड यस कारणले छ, अहिले ओली राष्ट्रपती भन्दा पनि माथि छन् । उनले चाहेको काम राष्ट्रपतिलाई अह्र्याउन सक्छन् । शितल निवासको खटन वालुवाटारबाट चलेको छ ।

माधव नेपाल समुहका एक जना नेता भन्छन- “राष्ट्रपतीका भाषाण देखि बक्तब्य सबै वालुवाटारमा बन्छन । बालुवाटारको आदेश शितल निवासले किन मान्नैपर्ने भएको छ बुझिएको छैन” । हुन पनि ओलीलाई कुनै संकट पर्ने संकेत देखिने बित्तिकै राष्ट्रपती भण्डारीको सकृयता तुरुन्तै देख्न सकिन्छ । भर्खरै मात्र सरकारलाई विश्वासको मत दिलाउने मामिलामा उनको सकृयता ताज्जुबको छ ।

संसदमा विश्वासको मत लिने कुरा नितान्त दलिय प्रकृया हो । तर राष्ट्रपतिले यो विषयमा समेत सक्रिय नेताको जस्तै गरी छलफल र प्रधानमन्त्री ओलिको पक्षमा ‘क्यापेन’ शुरु गर्नु आँफैमा लाजमर्दो छ । विगत तीन वर्षलाई हेर्ने हो भने राष्ट्रपती भण्डारीका गतिविधिहरु कुनै राजनीतिक कार्यकर्ताका भन्दा फरक छैनन् । अझ खास गरेर ओलीलाई पर्नसक्ने संकटका अगाडि उनले सुरु गर्ने दलिय परामर्श उदेक लाग्दा छन । किन प्रधानमन्त्री ओलीको मोहरा बनिरहेकी छन भन्डारी ? प्रधानमन्त्री ओली र राष्ट्रपती विचको सम्बन्ध पदिय सम्बन्ध मात्रै हो या कुनै अदृष्य फाईदाका सम्बन्ध छन् ?

अलिकती पछाडि जाउँ- नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारीको दुर्घटनामा मृत्‍यु भएपछी एमालेको एउटा समुह भण्डारी पत्निलाई चुनावमा उतार्न चाहन्थ्यो भने अर्को समुह यिनलाई अगाडि बढाउने पक्षमा थिएन । स्वयं बिद्या भण्डारी राजनीतिमा आउन चाहँदिन थिइन् । एमालेका एक जना नेता भन्छन- “हामीले उहाँलाई अब तपाईं चुनाव लड्नपर्‍यो भन्दा उहाँले मान्नु भएन । छोरीहरु सानै छन् । मैले यिनलाई पढाउने हुर्काउने गर्नुपर्छ भन्नुभयो । मान्नु भएन । तर तेस्रो दिन उहाँ चुनाव लड्ने हुनु भो भन्ने खवर आयो” । खासमा उ बेला बिद्यादेवी भण्डारी पुन: राजनीतिमा आउन चाहन्नथिन् र ओलीकै आग्रहमा उनी राजनीतिक मोर्चामा देखिएकी हुन् । भण्डारीको हरेक राजनीति कदममा ओलीको सहयोग थियो । यदी एमाले पार्टीमा ओली शक्तिशाली हुन्नथे भने भण्डारी राष्ट्रपतीको उम्मेद्वार हुने कुनै गुन्जायस थिएन । एमाले भित्रको ठुलो जमात यस्तो थियो जसले भरत मोहन अधिकारी अथवा अमृत बोहरा मध्ये एकलाई राष्ट्रपतिको उम्मेद्वार बनाउन चाहन्थ्यो । झलनाथ खनाल आँफै आकांक्षी थिए । तर ओली अडान यस्तो थियो जसले भण्डारीलाई राष्ट्रपती बनाइ छाड्यो ।

एउटा संयोग भन्नुपर्छ कालान्तरमा ओली देशको प्रधानमन्त्रीका लागि पक्का भए । दुबै जनाको पार्टी मोर्चा भित्रको सम्बन्ध देशको मोर्चामा पुग्यो । र, देश यसरी छिन्नभिन्न भयो कि ओली भण्डारीको जोडीले बनाएका घाऊ निको हुन वर्षौं लाग्ने छ । भण्डारी दुनियाँ मै यस्तो राष्ट्रपनि हुन् जसले मन्त्रिपरिषदले सिफारिस गरेको ४३ मिनटमा मध्यावधी घोषणा गरेकी छन् । उनी दुनियाँमै सबैभन्दा धेरै अध्यादेश जारी गर्ने राष्ट्र प्रमुख समेत हुन् । राष्ट्रपती भण्डारी यस्तो राष्ट्रपती हुन् जसका आदेश र घोषणाहरुमा दर्जनौं बैधानिक त्रुटीहरु देखिएका छन् ।

सामान्यतया राष्ट्रपतिका आदेश र घोषणाहरु संविधान सम्मत हुने गर्दछन् । यदी सरकारका सिफारिस संबिधान सम्मत नभए पुन: संसद अथवा मन्त्रीपरिषदलाई सोध्न सकिने ब्यवस्था हुँदाहुँदै राष्ट्रपतिले आँखा चिम्लिने नजीर नेपालमा मात्र शुरु भएको छ । यहाँँनेर तीनवटा कुरा हुन सक्छ । पहिलो- या त राष्ट्रपतीलाई कानुन र संविधानको ज्ञान छैन र उनी हल्लनटाट मात्र हुन । दोस्रो- उनको दिनचर्या नै केपी ओलीको आदेश मान्नु हो । तेस्रो- उनी आफूलाई राष्ट्रपती बनाइदिने ब्यक्तिलाई भगवान मान्छिन । देशका लागि यि तिनैवटा कुरा खतरानाक छन् ।

राष्ट्रपतीले आफ्ना आदेशहरु इमान्दारीपूर्वक पालना गरेकोमा केही समय प्रधानमन्त्री ओली खुशी होलान् । तर यदी उनी १० वर्ष अझै बाँचे भने उनले देख्नेछन्, आफ्नै मोहराले बसालेको नजिरको परिणाम । बिद्या भण्डारीले अहिले शुरु गरेको दलिय चलखेल देश हितमा त छँदै छैन, कुनै दलको हितमा पनि छैन । यो केही क्षणका लागि ओली अहंकारको हितमा छ । अहंकारले एक दिन जलाउँछ । प्रधानमन्त्री ओली अहंकारको अन्तिम मोहरा हुन् । यसपछी शायद कुनै प्रधानमन्त्रीले यतिधेरै अहंकार पाल्ने छैन ।

तपाइँको प्रतिक्रिया