बुधबार, वैशाख १२, २०८१

पत्रकार महिलालाई घरबाटै असहयोग, पत्रकारितामा टिक्नै गाह्रो

हात जोडेर 'ल यो विषयमा रिपोर्टिङ गर्दिनुस् न है' भन्नुपर्छ

नेपालप्लस संवाददाता२०७८ वैशाख २५ गते १७:४२

कोरोना भाईरसको महामारीले मुलुक गाँजेको छ । यस्तो बेला देशको सबै निकाय अप्ठेरोमा छ । सबैभन्दा अप्ठेरोमा देशका नागरिक छन्, राज्यको चर्को मनपरितन्त्र र राज्नैतिक दाउपेचका कारण । अस्पताल भरिभराउ छन् । विरामी राख्ने ठाउँ छैन । भएका बिरामीकालागिपनि अक्सिजन छैन । औषधीको हाहाकार छ । गाउँ र दूर्गम क्षेत्रलाई पुरै आँखा चिम्लेको छ राज्यले । यस्तो ज्यान जोगाउनै हम्मेहम्मे परेका बेलापनि गाउँका दूर्गम क्षेत्रमा पत्रकार महिलाहरुले सुचना दिईरहेकै छन् । चुनौति मोलेर नागरिकलाई सुसुचित गरिरहेकै छन् । ति महिलाका पिडा, दुखका अनुभव र घर परिवारबाटै निरुत्साहित गरिएका अनेक कहानी छन् । तिनै महिलाले आज शनिवार नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सन्जाल इन्जाले विश्व प्रेस स्वतन्त्रता दिवशका अवशरमा आयोजना गरेको कार्यक्रममा दूरदराजका यथार्थता सुनाए । आफू र आफ्ना सहकर्मीले भोग्नु परेका अनुभव कहे । पढौं ति पत्रकार महिलाका आआफ्ना अनुभव-

कर गरेर लेख्न लगाएको न्युजको गुणस्तर कस्तो होला ?

– मनिका झा, अध्यक्ष नेपाल पत्रकार महासंघ, धनुषा

मनिका झा

धनुषामा कोरोनाका संक्रमित बढिरहेका छन् । मृत्युदर कम छ । तर संक्रमितको संख्या बढेकाले स्थिति भायवह छ । म महासंघको जिल्ला अध्यक्ष चुनिएपछि चुनौति झन थपियो । कतिपयले त मलाई कोरोना अध्यक्ष भन्छन् । धनुषामा १५, २० जना पत्रकार महिलाहरु फिल्डमा खटिने छन् ।

पहिले आफ्नो काम एक्लै गर्थें । अहिले नेत्रित्वमा आएकाले चुनौति थपिएको छ । पत्रकार महासंघमापनि पुग्नुपर्‍यो । संस्थाको काम गर्नुपर्‍यो । आफ्नो कामपनि गर्नुपर्‍यो ।
फिल्डमा जाने पत्रकारको लागि सेनिटाईजर, मास्क छैन । कोरोनाले ल्याएको आर्थिक बिपत्तीले रोजगारीको समस्या बढाइदिएको छ । कोरोनाको बिपत्तीपछि मुख्या मेडियाका पत्रकारपनि हटाइए । कतिपयलाई कामको फेहरिस्त दिने । अस्पतालनै गएर रिपोर्टिङ गर्नुस् भन्ने । तर बेलामा पैसा नदिनाले इमेल र फोनको खर्चपनि पत्रकार आफैंले तिर्नुपर्ने अवस्था छ ।

मेडियामा हकहितका ठूलाठूला कुरा गर्ने पत्रकारलेपनि आफ्नै साथीभाईलाई शोषण गरेका छन् । पत्रकारलाई पैसा दिएन, तलब दिएन भन्दैमा समाचार नलेखौं के गर्ने ? काममा नजाउँ कहाँ जाने ? यो पत्रकारिता एक कखालको नशा रहेछ । नशा लागेपछि बाध्यतालेपनि काम गर्नुपर्‍यो ।

महिलालाई त झन गाह्रो छ । कामबाट हटाइएको छ । मान, सम्मान, अपमान र दुखले गरेको यो क्षेत्रको लगानीमा अहिले समस्या भएको छ । यो दुख कसलाई भन्ने ? सुन्ने कोहि छैन । रिपोर्टिङमा जान मास्क र सेनिटाईजर किन्ने पैसा त छैन के भन्ने ?

जिल्लामा आफ्ना रिपोर्टरलाई हात जोडेर ‘ल यो विषयमा रिपोर्टिङ गर्दिनुस् न है’ भन्नुपर्छ । समाचार यो यो लेख्नु भनेर जिम्मेवारी दिईन्छ । तर गर्ने नगर्ने आफ्नै मर्जी जस्तो छ । ‘केहि न्युज गर्नु न है ?’ भन्यो भने रिपोर्टर साथीहरुले ‘अफिसलाई भन्नुहुन्न ?’ भन्छन् । साथीहरुको नाताले ‘ल गरिदिनु न’ भन्नुपर्ने अवस्था छ । कर गरेर, साथीको नाताले लेख्न लगाएको न्युजको गुणस्तर कस्तो होला ?

पत्रकार भनेको छ । प्रेस पास छ । अरु जान नपाएको ठाउँमा जान पाइन्छ । चर्चा छ । तर दुख अनेक छन् । पत्रकार महिलाले घरमा बच्चापनि हेर्नुपर्छ । आफूलाई कोरोना लाग्यो भने बच्चा, परिवारलाईपनि लाग्ला भन्ने झन ठूलो त्रास हुन्छ ।

कृष्णमाया उपाध्याय- बिबिसी संवाददाता, जुम्ला

कृष्णमाया उपाध्याय

हामीलाई बिबिसीले सुरक्षित भएर रिपोर्टिङ गर्ने । नसके फिल्डमा नजाने र फोनबाटै गर्ने भन्ने निर्देशन छ । फोटो बिबिसीले किनेर प्रयोग गर्छ । मेरो त घरमा सानी छोरीपनि छ । छोरी घरमा छोडेर गयो । फर्केर घर आउँदा आफूलाई लागेको कोरोना छोरीलाईपनि सर्छ कि भन्ने डर हुन्छ । मास्क र सेनिटाईजर पाइन्न ।

यता जुम्लातिरका हिमाली घरहरु त बढि चिसा हुन्छन् । तिनमा ‘हिटिङ सिस्टम’ हुन्न । झन डर हुन्छ रोग लाग्ने । जुम्लाको तथ्यांक अनुसार अहिलेसम्म ८४ जना संक्रमित छन् । उपल्लो डोल्पामा आइसियु, भेन्टिलेटर केहि छैन अस्पतालमा । गम्भिर अवस्था परेमा अन्य अस्पताल लैजान हेलिकोप्टर पाइन्न ।

गत वर्षभन्दा अहिले बढि जोखिम छ कोरोनाको । कति त घरमै आइसोलेसनमा छन् । कतिपयले कोरोना जाँचपनि नगरि घरै बसेका छन् । यस्तो अवस्थामा कति संक्रमित छन् भन्नेपनि थाह हुन्न ।

बच्चाको जिम्मेवारी, आफ्नो काम, कार्यालयको कामले अवस्था गाह्रो छ । यति असुविधा छ कि इमेल चलाउनपनि डाटा किन्नुपर्छ । यहाँ पत्रकार महिलाको संख्यानै नगण्ड्य छ । २, ३ जना छापाका पत्रकार छन् । भएका अन्यपनि रेडियोमा समाचारवाचिका छन् जसलाई फिल्ड नगएपनि हुन्छ ।

जुम्लालगायत अन्य हिमाली क्षेत्रका पत्रकार महिलाले एकदमै कठिन अवस्थामा काम गरिरहेका छौं । रिपोर्टिङ गर्न फिल्डमा गयो महिलालाई सुरक्षित भएर बस्ने खाले ठाउँ हुन्न । गाडी हुन्न । हिँडेरै रिपोर्टिङमा जानुपर्छ । महिला, अपांगता भएका, वालवालिकाको लागि एकदमै समस्या छ । सेटिटाईजर र मास्क दिएको छैन ।

पत्रकार महिलाका चुनौति धेरै छन् । परिवारबाट पनि ‘यस्तो कठिन काम गर्नुपर्ने’ भन्छन् । बाहिरबाटपनि समर्थन र सहयोग छैन । कहिलेकाहिँ त ‘किन गरिएछ यस्तो काम’ जस्तो लाग्छ ।

रिमा सोमाई-

रिमा सोमाई

समाचारवाचिका, सामुदायिक रेडियो मदन पोखरा, पाल्पा

हामी समाचारवाचिकाका लागि रेडियोमा छलफलकालागि स्वास्थ्य संवन्धि ब्यक्ति ल्याउनु महत्वपूर्ण हुन्छ यो बेला । तर त्यस्ता ब्यक्ति ल्याउनै गाह्रो छ । पाल्पामा अहिले लकडाउन छ । तर ७, ८ बजेबाट पसलहरु खुल्छन् । लकडाउन भनिएपनि सामान्य अवस्थामा जस्तै मानिसहरु पसलमा जान्छन् । १५ दिनको लागि पुग्ने सामान किनेर घरमा बस्न त सकिन्थ्यो नि ! तर त्यसो नगरेर दिनदिनै पसल जान्छन् । कोरोना भाईरस रोग हो भन्ने जानकारि त छ । लकडाउनपनि घोषणा भएको छ । तर मानिसको क्रियाकलाप बजारमा सामान्य अवस्थाको जस्तै देखिन्छ ।

पाल्पामा संक्रमित ९२१ जना छन् । ति मध्ये ६८ जना मात्रै अस्पताल भर्ना छन् । बाँकि होम आइसोलेसनमै छन् । संक्रमितको दर बढेको देख्दा डर लाग्छ । तर डराएर त हुन्न । पत्रकारले सुरक्षा अपनाएर भएपनि जनतालाई सुसुचित पार्नै पर्छ ।

पहिलो लहरको कोरोनाकालमा यस्तो महामारी थिएन । यस्तै त होला दोस्रो लहरपनि भन्ने भयो । तर स्वरुप बदलिएको अहिलेको कोरोना लागेपछि शुरुमा ४, ५ दिन केहि नहुने रैछ । त्यसपछि गम्भिर बनाउने रैछ । हाम्रो घरमै पाँच जनालाई लागेपछि धेरै डर लाग्ने बनायो । दिन त सेनिटाईजर र मास्क बाँडेको त छ । तर पर्याप्त छैन ।

नितु पण्डित- अध्यक्ष, महिला संचारिका समुह

नितु पण्डित

पत्रकारलाई घरमै बसेर शतप्रतिशत काम गर्न संभव छैन । फोटो खिच्न, भिडियो, मल्टिमेडियाका लागि फिल्डमै जानुपर्छ । तर हामीलाई के लाग्छ भने जुनसुकै परिस्थितिलेपनि अवशरको स्रिजना गर्छ । सुरक्षित भएर गर्नसक्नुपर्छ । यो कोरोना महामारीले आफ्नै क्षेत्र, मेडियाकोपनि शक्ति, सामर्थ्य जाँच्ने अवशर जुरेको छ ।

कतिपय मेडियाले काम गरेको तलबनै दिएका छैनन् । त्यसले गर्दा दिनभरि काम गरेको तलब पाउँछु कि पाउन्न ? आफैंले कोरोना लगेर घर परिवारमा सारिन्छ कि ? काममा हिँड्दा त्यो पक्ष सोच्न बाध्य पार्छ । बच्चा कसरि हेर्ने, घर कसरि चलाउने, आफू कसरि जोगिने, जागिर कसरि जोगाउने भन्ने कुराले नैतिक दबाब स्रिजना गर्छ । यस्तो हुँदा रिपोर्टिङमा असर पार्छ ।

नेपाली मेडियाले कोरोना र बिपत्तीबारे तयारि गर्नुपर्ने थियो । लकडाउनको बेला कसरि काम गर्ने भन्ने तयारिकासाथ प्याकेज ल्याएर काम गरिएन । एक वर्षको महामारीले के देखायो भने मेडियाले न्युनतम स्रोतमा काम गराएका छन् । कतिको जागिर गयो । त्यो नहुनुपर्ने थियो ।

यो कोरोनाको कालमा केहि महिलाले सुत्केरी अवस्थामै घरै बसेरपनि समाचारवाचन गरेका छन् । न्युज बनाएका छन् । फिल्डमै गएर काम गर्नेपनि छन् ।

संचारिकाको एक तथ्यांक अनुसार पत्रकारितामा कूल पत्रकार मध्ये २५ प्रतिशत महिला छन् । उत्साहित छन् महिला । रेडियो, टिभी, मल्टिमेडिया सबैमा छन् महिला । तर पेशामा टिकिरहन सकेका छैनन् । हाम्रो माग हरेक मेडियाको समाचार कक्षमा २५ प्रतिशत महिला नेत्रित्व तहमै होस् भन्ने हो । तर छैन । महिलाहरु पत्रकारितामा टिकिरहने वातावण छैन । बाटो नभएपछि कहाँ जाने अब भन्ने अवस्था छ ।

बाला अधिकारी- उपाध्यक्ष, नेपाल पत्रकार महासंघ

बाला अधिकारी

बाँच र बचाउ भन्ने बच्चामा पढेको अहिले लागू भयो । महासंघलाई बुझ्नै नपाई कोरोनाको दोस्रो लहर आयो । कोरोनाकालमा कसरि पत्रकारलाई सहयोग गर्ने भन्नेमै हाम्रो ध्यान छ ।

देशभरमा ६५० जना पत्रकार संक्रमित छन् । नौ जनाको कोरोनाकै कारण म्रित्यु भयो । ति संक्रमित मध्येपनि १६८ जना पत्रकार महिला छन् । संख्याको आधारले हेर्दा महिला बढि संक्रमित देखिएका छन् । पत्रकार महिलाको संक्रमित दर कुल संक्रमितमा १८ प्रतिशत देखियो । कूल पत्रकारमा ३३ प्रतिशत पत्रकार महिला देखिए । यो भनेको उच्च हो ।

अहिले ज्याननै कसरि बचाउने भन्ने समस्या छ । पत्रकार महिलाको जागिर कसरि जोगाउने भन्ने अर्को चिन्ता छ । किनभने घरबाटपनि ‘बच्चा र परिवारलाई कोरोना सार्ने भएकाले काममा नजाउ’ भन्ने परिवारको दबाब छ । त्यसको कारणलेपनि महिलाले जागिर छोड्नुपर्ने अवस्था स्रिजना भएको छ । कतिपय मेडियामा महिलालाई बेतलबी बस्न बाध्य पारिएको छ ।

पत्रकार महिलाको अर्को समस्या के भने फोटो पत्रकार हो भने त फिल्डमै जानुपर्छ । रिपोर्टिङ त फोनबाट गर्न सकिन्छ । संक्रमणपनि तराईको भारतसित सिमा जोडिएको क्षेत्रमा बढि देखिएको छ । त्यसैले अहिलेको मुख्य ध्यान कोरोनाबाट कसरि बच्ने भन्ने हुनुपर्छ ।

देशभरिमा नेपाल पत्रकार महासंघमा महिला सदस्य २,४०५ जना छन् । १० जना महिला कार्यसमितिमा छौं । त्यसमा महिला कोटा भनेर आरक्षितमा छन् ।

पूर्ण रुपमा स्वतन्त्र पत्रकार, गैर राजनितिक पत्रकारको जति गफ दिएपनि पत्रकार महासंघको गत निर्वाचनमा देखिहालियो । कुनै दलमा नलागेका स्वतन्त्र पत्रकारको नतिजा कस्तो आयो । स्वतन्त्र पत्रकारका रुपमा निर्वाचन लडेर पत्रकार महासंघमा जितिन्न ।

म २३ वर्षदेखि नेपाल प्रेस युनियनको नेत्रित्वमा छु । राजनितिक पार्टीको आधारबिना महासंघमा जान सकिन्न । पेशा स्वतन्त्र होला तर कुनै न कुनै राजनितिक दलसित आवद्द हुनैपर्छ महासंघमा जान ।

उषा तितिक्षु- फोटो पत्रकार

उषा तितिक्षु

स्थिति दर्दनाक, भयावह छ भन्ने खास महत्वपूर्ण होइन । कति खोजि गर्‍यौं यो समयमा त्यो महत्वपूर्ण हो । भूकम्प आयो, गयो । त्यो बेलापनि कठिनाई थियो । तर भुइचालोदेखि अहिलेसम्म के सिकियो भन्नेनै आएको छैन । कोरोनाको काललाई लिएर क्षमा गर्ने ठाउँ छैन ।

पत्रकारपनि दुई थरी छन् । स्टाफ पत्रकार र स्वतन्त्र पत्रकार । स्वतन्त्ररुपमा पत्रकारिता गर्नेको पिडा कति हेरियो । फोटो पत्रकारिता गर्नेसित कति सहकार्य गर्‍यो त संचारिका समुहले ? फोटो पत्रकारलाई कति गाह्रो छ भन्ने कुरा त राज्यकै तर्फबाट फोटो खिच्न अवरोध गरियो । यसैबाट बुझिन्छ ।

अर्को ट्रेण्ड के छ भने फोटोमा चनाखो हुने, अडियो भिडियोमा चनाखो हुने । तर त्यो क्षेत्रमा लगानी नगर्ने परिपाटि छ । नेपालका संचार गृह, संचारका संस्थाले फोटोग्राफीलाई प्राथमिकतामा राखेर काम गरेकै छैनन् ।

निर्मला शर्मा – पूर्व अध्यक्ष, महिला संचारिका

निर्मला शर्मा

यो कोरोनाको महामारीका बेला स्वस्थ र सुरक्षित रहेर कसरि काम गर्ने भन्ने अहिलेको मुख्य चुनौति हो । पत्रकारको मनोबल उच्च नभए सूचनामा पहुँच पुग्दैन । पत्रकार सुरक्षित भएर निर्धक्कले रिपोर्टिङ गर्न पाएन भने जनताको सुसुचित हुने अधिकार कुण्ठित हुन्छ । सहि सुचना नआए झन बढि स्वास्थ्यको समस्या झेल्नुपर्ने हुनसक्छ नागरिकले ।

अहिले पत्रकार महिलाकोलागि पेशागत सुरक्षा छैन । कसरि महिलालाई डिजिटल पत्रकारितामा चुस्त पार्ने भन्ने अर्को महत्वपूर्ण पक्ष हो । मेडियाको नयाँ प्रविधीसँगै कसरि महिलालाई समयानुकुल पार्ने भन्ने पनि महत्वपूर्ण पाटो हो । किनकि प्रविधिमा चुस्त पार्न सकियो भने महिलालाई पत्रकारितामा टिकाउन सकिन्छ । महिलालाई संचार गृहमा निर्णायक तहमा पुग्ने बेला बाधा दिइन्छ । सम्पादक तहमा पुग्दा महिला हाकिम बन्छन् । महिलालाई आफ्नो हाकिम मान्न तयार देखिँदैनन् । महिला पछि हट्नुपर्ने हुन्छ । महिलाको क्षमता र दक्षता नपुगेर होइन ।

अर्को समस्या के छ भने छोरी, बुहारी, पत्नीले घरबाटै पत्रकारिताको आफ्नो काम गर्दा घरको कामपनि गर्नुपर्ने हुन्छ । घरको कामसहित पुरा गर्दा पत्रकारिताको काममा बाधा पुग्छ । अफिसको काममा बाधा परेपछि ‘ल बिदामा बस्नुस्’ भनिदिन्छ मेडियाको हाकिमले । बिदामा राखेपछि फेरि बोलाउँदैनन् र महिलाले कामबाटै हात धुनुपर्ने हुन्छ ।

फेसबूकमा लाईभ दिईएको यो कार्यक्रम हेर्नेभए यहाँ क्लिक गर्नुहोला

तपाइँको प्रतिक्रिया