मंगलबार, वैशाख ११, २०८१

देश धरधरी रोएका बेला अत्याचारीहरुको विशेष संसद अधिवेशन

नेपालप्लस टिम२०७८ वैशाख २६ गते १८:२४

यतिखेर देश सिंगै धरधरी रोएको छ । गम्भिर बिरामी परेर अस्पताल लगिएका मध्ये कतिपयले कोरोना परिक्षणकालागि कुर्दाकुर्दै ज्यान गुमाएका छन् । कतिपयले बल्ल बल्ल परिक्षण गर्न पाएपनि अक्सिजन नपाएर प्राण त्याग्नु परेको छ । अस्पतालमा स्यानिटाईजर छैन । अक्सिजन पाइन्न । अक्सिजन भए त्यो राख्ने सिलिण्डरको अभाव छ । अस्पतालका बिरामीलाई बेड छैन । सिकिस्त परेका विरामीका आफन्तले विरामी राख्ने अस्पतालमा कोठा खोज्दाखोज्दै ज्यान गएको छ । एम्बुलेन्स नपाएर बिरामीलाई अस्पताल पुर्‍याउन सकिएको छैन । बल्लतल्ल अस्पताल पुर्‍य्यो बेड पाइन्न । कतिप्यको अस्पताल खोज्दाखोज्दै बाटैमा सास गएको छ ।

अनियन्त्रित रुपमा बिरामीको चाप बढेपछि अस्पतालमा उपचारको निकै समस्या छ । भएका स्वास्थ्यकर्मीपनि आफैं संक्रमित छन् । संक्रमित अवस्थामै कतिपय चिकित्सकले बिरामीको उपचार गरिरहेका छन् । कतिपय अस्पतालमा नर्सहरु २४ घण्टानै विरामीको सेवामा खटिएका छन् । उपचारमा खटिँदा खटिँदै ति भुइमै ढलेका छन् । आँखा खुल्नासाथ फेरि सेवामा जुटेका छन् । तर राज्यको जिम्मेवारी लिएको सरकार कता छ ? उसको ध्यान कुर्सी कसरि टिकाउने भन्नेमै केन्द्रित छ । भएका मन्त्री, सांसद पद कसरि जोगाउने भन्नेमै सरकारको ध्याउन्न छ । सरकारका तर्फबाट यो भन्दा नालायकी अर्को हुनै सक्दैन ।

कैलालीको टिकापुर अस्पतालले त स्थिति आफ्नो नियन्त्रण भन्दा धेरै बाहिर गैसकेको सार्वजनिक रुपमै बताइसकेको छ । थुप्रै अस्पताल आफ्नो स्रोतले नभ्याउने अवस्थामा पुगेका छन् । अस्पतालमा उपचाररत सबैलाई अक्सिजनको आवश्यकता छ । तर अस्पतालसित अक्सिजन छैन । कतिपयलाई एक पटक अक्सिजन दिएपछि अर्को पटक दिन नपाएर छट्पटाईरहेका छन् । अस्पताल ब्यवस्थापन समिति, चिकित्सकहरुले सहयोगका लागि सार्वजनिक अपिल गरेका छन् । तिनको अपिल कसले सुन्ने ?

सुन्नुपर्ने सरकारले हो । सरकार जनताको कर खाएर बसेको छ । जिम्मेवारीपनि उसैको हो । तर जनताको सेवा गर्ने गुलिया भाषण दिएर नथाक्ने सरकारको उपस्थिति कहाँ छ भन्ने जनताले अनुभुति गर्न पाएका छैनन् । देशभरि यस्तो बिपत्ती पर्दापनि प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान सरकार कसरि टिकाउने भन्नेमा छ । सम्पूर्ण राज्यशक्तिको दुरुपयोग त्यसैमा भैरहेको छ । आफ्नो सरकार टिकाउन विश्वासको मत लिने प्रयोजनका लागि भोलि सोमबार विशेष अधिवेशन बोलाएका छन् । यो विश्वासको मत लिन उनको सिंगो सरकार, एमाले ओली गुट, यो सरकारका मन्त्रीहरु ब्यस्त त छन् । तर जनताको सेवाकालागि होइन । दलका नेताहरुसितको बैठक, सांसद तानातान र सके पार्टी फोर्ने ध्याउन्नमा ।

यो सरकार जनबिरोधी देखियो । जनतामारा देखियो । राष्ट्रघाती र घोर अप्रजातान्त्रिक देखियो भनेर अन्य दलहरु उम्किन पाउने अवस्था छैन । बाँकी दलहरुको भूमिका जनताप्रति जवाफदेहि हुनुपर्छ कि पर्दैन ? मुख्य प्रतिपक्षी दलहरुको भूमिका संसद र सरकार टिकाउने वा गिराउने भन्दा देशको संकट कसरि टार्ने भन्नेमा केन्द्रित हुनुपर्ने हो कि होइन ? तर सरकारसँगै प्रतिपक्षी दल र त्यसपछिका अन्य मुख्य दलहरुको ध्याउन्नपनि सरकार गिराउने र आफ्नो पार्टीका पक्षमा दाउपेच गर्नमै केन्द्रित देखियो । योपनि जनताप्रतिको ठूलो धोका, अविश्वास र गद्दारी हो ।

पूर्णरुपमा अलोकतान्त्रिक, १८ औं शताब्दीतिरका बादशाह जस्ता लाग्ने केपी ओलीले यो संकटका बेला सरकार टिकाउने, पार्टी फोर्ने, अध्यादेशमा देश चलाउने, संसद अधिबेशनको नाटक मन्चन गरे भन्दैमा बाँकि राष्ट्रिय पार्टीहरुलेपनि उनैको डमरुका तालमा कम्मर मर्काउनुपर्थेन । ओलीको राष्ट्रघाती संसदिय खेलको रत्यौलीकै भाका हाल्नुपर्थेन । तर आफूलाई विश्वकै नंबर एक प्रजातान्त्रिक दल मान्ने कांग्रेस, विश्वकै एक नंबर साम्यवादी पार्टी दाबी गर्ने माओवादी केन्द्र र विश्वको सर्बोत्क्रिष्ठ जबज बिचार भन्दै कुर्लिने एमाले (नेपाल गुट) हरुको ध्यानपनि देशको संकटमा गम्भिर देखिएन ।

बरु अहिलेपनि नेपाली कांग्रेसका सभापती शेर बहादुरको प्रधानमन्त्री ओलीसितको भेटघाट र बार्गेनिङ सकिएको छैन । ओलीलाई गिराएर प्रधानमन्त्री कसरि बन्ने भन्ने र्‍याल काढेका छन् देउवा । त्यो र्‍यालले जनता र आफ्नै पार्टीप्रतिको मूल जिम्मेवारीबाट उनलाई निकै पर धकेलेको छ । माओवादी केन्द्र र माधव नेपाल पक्षको एमाले गुटलाई कसरि ओलीलाई भित्तैमा पुर्‍याउने भन्ने १०५ डिग्रीको ज्वरोले हनहनी पारेको छ । त्यहि ज्वरोभित्र जनताको स्वास्थ्य संकटप्रतिको जिम्मेवारी पातालमा धसिएको छ ।

राष्ट्रिय बिपत्ती र संकटका बेला जननेता, राष्ट्रिय पार्टीहरुले आफ्ना आन्तरिक बिवाद र झमेलाहरुलाई थाँती राख्छन् । आफ्ना राजनितिक बिचारहरुलाई किनारा लगाएर तत्कालको बिपत्ती र संकटमा एकजुट हुन्छन् । जनता र समग्र देश रोइरहेका बेला राजनितिक खिचातानी, पद र सरकार हेरफेरको विषयमा ध्यान केन्द्रित गर्ने नेता जननेता हुनै सक्दैनन् । जनता औषधी र उपचार नपाएर छट्पटिएका बेला संसद अधिवेशनको नाटक मन्चन गर्नु देशप्रतिको मनपरि हो । उपचार नपाएर आम नागरिकको बिचल्ली परेका बेला हाम्रा पार्टी र नेताहरुको ध्यान कता छ भन्ने यथार्थताले सरकार बाहिरका पार्टीपनि जनताप्रति गम्भिर छैनन् भन्ने देखाउँछ । राष्ट्रिय भनिएका पार्टीहरु मध्ये सबैको ध्यान राजनितिक खिचातानीमै लिप्त हुनु अर्को बिडम्बना हो ।

सरकारले घोषणा नगरेपनि यो आम नागरिकको स्वास्थ्य र जिवनसित गाँसिएको राष्ट्रिय संकटको बेला हो । यस्तो बेला साँच्चै जिम्मेवार, जनताको सेवा गर्ने सरकार हो भने राष्ट्रिय संकटमै सम्पूर्ण ध्यान केन्द्रित गरेर जनताको सेवामा जुट्छ । जनतालाई सरकार भएको अनुभुति दिलाउँछ । जनताको स्वास्थ्यको जिम्मेवारी लिन्छ । प्रतिपक्षी, अन्य राष्ट्रिय पार्टीलेपनि यो बेला सरकारलाई सहयोग गर्छन् । आफ्नै तर्फबाटपनि संकट टार्न मैदानमा उत्रिन्छन् । तर यहाँ त जनताको स्वास्थ्य र सुरक्षालाई लत्याएर संसद अधिबेशन र राजनितिक खिचातानीमै छ ध्यान्, सरकार र राष्ट्रिय पार्टीहरुको ।

त्यसो त, नेताहरुको भेटघाट र मन्थन २४ घण्टै चलेको छ । राष्ट्रिय संकट कसरि टार्ने भन्नेमा तिनको दौडधुप चल्नुपर्नेमा सरकार गिराउने र टिकाउने ब्यस्तता छ । यो देश र जनताप्रतिको गद्दारी हो । आम नागरिकप्रतिको धोका हो । यस्ता पार्टी, नेता, यो सरकार जनताको हुनै सक्दैन । खास गरेर यो सरकारलाई अपराधीहरुको जमात भनिदिएपनि हुन्छ । भोलीको विशेष अधिबेशन त्यहि जमातको हो । जनताकोलागि होइन । हुँदै होइन !

तपाइँको प्रतिक्रिया