शुक्रबार, वैशाख १४, २०८१

ओली सरकार वहिर्गमनको अन्तिम रोइलो :  ‘नेपाल समुहले सोमबार बिहान ९ बजेसम्म पर्खने’

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ वैशाख २६ गते २०:३१

Photo-Prakash Mathema/AFP Via arabnews.com

सिंगो देश–दुनियाँ कोरोना कहर र यसैको भयावह दुष्चक्रमा परिरहेका बेला नेपालमा भने देश–दुनियाँलाई नै लाजलाग्ने गरी राजनीतिको खेलकुद जारी छ । त्योपनि ‘नंगा नाच’ शैलीको घृणित राजनीति ।

कोरोना संक्रमणका कारण आइतबार मात्रै झण्डै १० हजार नागरिक संक्रमित भएको तथ्यांक आयो भने झण्डै एक सयको निधन एकै दिनमा भएको छ । यसरी मर्नेमा अधिकांस वालवच्चा र बृद्धबृद्धा छन् । त्यो पनि अक्सिजन र भ्यान्टिेलटर सुविधा नपाएरै । कोही अस्पताल खोज्दा–खोज्दै बीच सडकमा मरेका छन् भने कोही सरकारले तोकेको कथित आइसोलेसन सेन्टरमैं । देशका प्रधानमन्त्री केपी शर्मा ओलीले ‘कोरोना सरकारको नियन्त्रणमा छ’ भनेर अमेरिकी समाचार संस्था सीएनएनलाई अन्तर्वाता दिएकै दिन शनिबारदेखि बेलायतले कोरोना संक्रमणकै कारण नेपाललाई संसारकै ‘तीन खतराजन्य मुलुक’का रुपमा आउजाउमा पूर्ण प्रतिबन्ध लगाइसकेको छ ।

यी सबै विवरणका माझ नेपालभित्रको खबर भने अर्कै छ । सत्तारुढ घटक नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्रकै घटक र समुहका कारण ओली सरकारको आयु अब मुश्किलले २४ घण्टाको छ । कुनै नाटकीय स्थिती आएन भने मात्रै सरकार बाँच्न सक्ने स्थिती देखिन्छ । आइतवार बेलुकी सिंहदरबारमा बसेको झलनाथ खनाल-माधव नेपाल समूहका सांसदहरुको बैठकले २०७५ जेठ २ अनुसार पार्टी फर्काउने र आगामी दिनमा पार्टी सहमतिमा चलाउने प्रतिबद्धताका लागि अध्यक्ष ओलीलाई सोमबार बिहान ९ बजेसम्मको समय दिने निर्णय गरेको छ । नेपाल समूहले सोमबार बिहान साढे ९ बजे आफ्ना सांसदहरुलाई संसद् सचिवालयमा बोलाएको छ । प्रधानमन्त्री ओलीले सोमवार प्रतिनिधिसभामा विश्वास मत लिँदै छन् । त्यसका लागि संसद् अधिवेशन दिउँसो १ बजेका लागि आह्वान भएको छ ।

सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाविरुद्ध ओलीले पार्टीमा एकलौटी गरेको र सच्याउन नमानेको भन्दै नेपाल पक्षका सांसदहरु राजीनामा दिने मुडमा आइतवार दिँउँसो संसद् सचिवालय सिंहदरबारमा भेला भएका थिए ।

यदी ओलीले खनाल-नेपाल समुहका मागहरु सोमबार बिहानसम्म पुरा गर्ने प्रतिवद्धता आएन भने सरकारले लिन लागेको विश्वासको मतका बिपक्षमा सत्तारुढ एमालेभित्रकै २० भन्दा बढी सांसदले (माधव नेपाल पक्षधर) रजिनामा दिएमा अथवा ‘फ्लोर–क्रस’को स्थिती आएमा सोमवार साँझसम्म ओली सरकारको अन्त्य हुने देखा परिसकेको छ जुन सबैभन्दा बढी संभावित समेत हो ।

यत्रो कोरोना कहरमा नेपाली जनता पिल्सिरहेका बेला राजनीतिक जोडघटाउको लफडामाझ आइतवार अपरान्ह मात्रै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङले राजिनामा दिइसकेका छन् भने यसले पनि केन्द्रमा रहेको ओली सरकारलाई ठूलो ‘सेटब्याक’ दिइसकेको छ । किनभने मुख्यमन्त्री गुरुङ स्वयम ओलीका सबैभन्दा विश्वासपात्रमध्येका एक हुन् ।

यो अन्तर्बिरोध र राजनीतिक उतारचढावका माझ कांग्रेससहितको विपक्षी गठबन्धनले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याइसकेको छ भने प्रदेश १ मा सरकार रहने वा ढल्ने निश्चित छैन ।

यता केन्द्र सरकारमा देखिएको कन्तबिजोग र राजनीतिक दल तथा नेताको भाँडभैलो स्थितीमाझ सामाजिक संजालमा खरो बिचार राख्ने पूर्व अर्थ सचिव रामेश्वर खनालले भनेका छन्— “सकस पनि कस्तो कस्तो हुने, यतिखेर प्रधानमन्त्रीज्यूलाई आफू समेतले बनाए हुर्काएको र प्रधानमन्त्री बनाएको दललाई फुट्नबाट जोगाउने कि आफूलाई अप्ठेरो परेका बखत साथ सहयोग गर्ने मित्रहरूलाई प्राथमिकता दिने र समय समयको वात भनेको शायद यस्तै अबस्थालाई त होला ।”

सोमवार प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेको संसदीय प्रकृयाको सन्दर्भमा आइतबार अपरान्ह नेकपा अध्यक्ष एवं प्रम ओलीले फेरि पनि उसैगरी चिढ्याउने शैलीमा बिज्ञप्ती जारी गरेका छन् । उनले आग्रह गरेका हुन् अथवा धम्की दिएका ? बिज्ञप्ती पढेरै थाहा पाउन मुश्किल छ । ‘पार्टीलाई चोट पुर्याउने, आन्दोलनलाई क्षति पुर्याउने काममा लाग्ने कसैलाई पनि ईतिहाँसले माफ़ गर्ने छैन’ भनेर धम्कीको शैलीमा बोलेपनि आजका मितिसम्म ओली स्वयमले माधव नेपालसहितको समुहलाई बहिष्कृत र सिमान्तकृत गराउन के–कस्तो खेल खेल्दै आएका थिए भन्ने सम्झन पनि जरुरी छ । ओलीले सामूहिक राजीनामा दिने कार्यमा नलाग्न माधव नेपालसहितका पार्टीका सांसदहरुलाई आग्रह गरेका छन् ।

ओलीले विश्वासको मत लिनु अघिल्लो दिन प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्,“के यस्ता क्रियाकलापमा सरिक हुनेलाई इतिहासले माफी गर्ला ? सोचौं, भोलि हामी जनतालाई के जावाफ दिन्छौं ? तसर्थ, यस्तो अपराध कर्ममा जानी नजानी कुनैपनि हिसावले संलग्न नहुन म पार्टी अध्यक्षको हैसियतले सबैलाई हार्दिक आव्हान र आग्रह गर्दछु ।”

उनले पार्टीका इमान्दार नेता कार्यकर्ता पार्टीलाई हानी पुग्ने र आन्दोलनलाई क्षति पुराउने कुनैपनि क्रियाकलापमा संलग्न नहुनेमा आफूले विश्वास व्यक्त गरेको बताएका छन् । उनले कसैलाई पनि काखापाखा वा पक्षपात नगर्ने बताएका छन् । ओलीको विज्ञप्तिमा भनिएको छ,“म यो कुरामा सबैलाई आश्वस्त पार्न चाहन्छु । तसर्थ पार्टीलाई मजबुत पार्दै अघि बढ्ने महान कार्यमा सरिक हुन म सबैलाई आग्रह गर्दछु” । तैपनि ओली शासनको इतिहास र पार्टी संचालनको एकमना कार्यशैलीका माझ ओलीको अन्तिम घडीको हारगुहारलाई कसैले टेरपुच्छर लगाउला भन्ने स्थिती देखिन्न ।

त्यसो त ओलीको वहिर्गमन भइहाल्यो भने पनि देशको कायापलट हुने अवस्था छैन । किनभने प्रधानमन्त्री बन्नका लागि नेपाली कांग्रेसका सभापती तम्तयार छन् । ओलीले सिंहदरवार छोडेकै दिन अर्को लस्कर सहित देउवा प्रधानमन्त्री कार्यालय पस्ने छन् । यिनीसँग पनि समस्याको समाधान कसरी गर्ने र सयौं मान्छेहरुको ज्यान लिइरहेको महामारीसँग कसरी जुध्ने भन्ने विषयमा कुनै कार्य योजना छैन । तथापी ओलीको तुलनामा विपक्षी गठवन्धनसँग जनताले आफ्ना आशालाई केही बढाउन सक्ने छन् । केपी ओलीले देशलाई यसरी खोक्रो पारेका छन् कि भरिन समय लाग्ने छ ।

तपाइँको प्रतिक्रिया