बुधबार, वैशाख १२, २०८१

अझै पल्लाभारी छ केपी ओलीको

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ वैशाख २८ गते ०:३०

प्रधानमन्त्री बनेको ३ वर्ष ३ महिनामा खड्ग प्रसाद ओली अहंकारको अन्त्य भएको छ । विहिवार फागुन ३, २०७४ । प्रधानमन्त्रीको सपथ लिंदै गर्दा केपी ओलीसँग स्पष्ठ एजेण्डा थिए । भूकम्प र भारतीय नाकाबन्दिले तहसनहस पारेको नेपाली जनताको खुम्चिएको निधारमा खुशी छर्न सक्ने फराकिलो बाटो समेत थियो ओलीसँग । विस्तारै अहंकार यसरी पलायो कि ओलीको बाटो फेरियो । नक्सा जारी गरेरपनि सरकारी कार्यालयमा नयाँँ नक्सा राख्न नसक्नुको यथार्थ स्वरुप नेपाली जनताले देखे । ओलीले मध्यरातमा भारतीय खुफिया एजेन्सीका हाकिमलाई प्रधानमन्त्री निवासमा डाकेर भेटे । के कुरा भयो जनताले कहिल्यै थाहा पाएनन् । ओलीले जाँदाजाँदै नेपाली जनतालाई भन्नु पर्दछ- चुच्चे नक्सा किन रोकियो ।

ओली सँधैंभरी दोहोरो आवरणमा बाँचेका छन । उनले यो ३ वर्ष ३ महिनामा नेपाली जनतालाई समेत दोहोरो आवरण भिराउने भरमग्दुर प्रयास गरे । यो बिचमा ओलीले नेपाली जनतालाई देखाएका सपना गनिसाध्य छैनन् । एउटा राजनेताले सरकार बाहिर बस्दा सपनाहरु बुन्छ । त्यसको कार्यन्वयन पक्ष मिहिन रुपमा केलाउँछ । र सरकारमा पुगे पछी त्यसलाई कार्यन्वयनको तहमा लैजान्छ । केपी ओलीलेपनि सरकारमा पुगेपछी सपना देख्न सुरु गरे । सपना देखाए । तर ति कहिल्यै पुरा भएनन् ।

यदी उनी साँच्चिकै देश र जनता प्रती इमान्दार हुन्थे भने उनले देखाएका केही सपना यस्ता थिए जसको जग यो ३ वर्षमा मजाले बसाल्न सकिने थियो । तर उनले जनतालाई सपना बाँडेर आफूले राज्य संयन्त्रमा एक छत्र धावा बोले । हरेक क्षेत्रमा आफ्ना मान्छेलाई भर्ना गरेर खुल्लम खुल्ला कमिशन एजेण्टहरु राखिए । तथ्यांकहरुले भन्छन्- अनुपातका हिसावले ओली सरकार ईतिहासकै सबै भन्दा भ्रष्ट सरकार हो । समयले कुनै दिन हिसाबकिताब गर्ला । कतिसम्म भने महामारि नियन्त्रणका लागि आयात गरिने स्वास्थ्य सामाग्रीमा समेत करोडौंको चलखेल भयो । ओली नेतृत्वले अक्षम्य अपराध गरेको छ । त्यसकारण पनि ओलीको वहिर्गमन अत्यावश्यक थियो ।

तर यसो भन्दैमा ओलीको साम्राज्य पतन भयो भनेर भनिहाल्ने स्थिती भने छैन । सरकारलाई विश्वासको मत लिनका लागि संसदको विशेष अधिवेशन आव्हान गर्नु भन्दा अगाडि नै ओली आफ्नो सरकारले विश्वासको मत नपाउने कुरामा ढुक्क थिए । त्यतीबेला नै उनको बुझाई के थियो भने माधव नेपाल पक्षका सांसदहरुलाई सामुहिक रजिनामा गर्नबाट जोगाउन सकियो भने पासा फेरी आफ्नै पक्षमा पर्छ । आइतवार बेलुकासम्म सामुहिक रजिनामा दिन कस्सिएको नेपाल समुहका सांसदहरुले रजिनामाको कुरा थाँती राखे । रात रहे अग्राख पलाउँछ भने झै आइतवारको रातभरी धेरै खिचडी पाक्यो । नेपाल समुहले ओली सरकारले विश्वासको मत नपाएको समाचार टीभीबाट सुनेर बसे । सामान्य वहसका मुद्दाहरुमा समेत कारवाही ठोकिरहेका ओली पार्टीको व्हिप नमान्ने सांसदहरु प्रती अचानक नरम देखिएका छन् । उनले कारवाहिको कुनै संकेत नै गरेनन् । यो पर्दा पछाडीका कारण भने केपी पन्जा बाहिर छैनन् । केपी ओलीलाई अब तीन दिनका लागि माधव नेपाल समुहको राजिनामा रोक्नु छ ।

एक पटक अविश्वासको पक्षमा मत परिणाम आएपछिको दृष्‍य हेरौं। प्रधानमन्त्री केपी ओली बानेश्वरबाट सरासर राष्ट्रपती कार्यालय पुगे । प्रधानमन्त्री र राष्ट्रपतिका बिच केहीबेर छलफल भएको एकजना एमाले नेता बताउँछन । त्यसपछी राष्ट्रपती कार्यालयले बिज्ञप्ती जारी गरेर संविधानको धारा ७६ (२) अनुसार दुई वा दुई भन्दा बढी दलको सरकार गठन गर्न आव्हान गरिएको छ । सोमवार भएको मतदानलाई हेर्ने हो भने तीन दिनको छोटो समयमा दुई वा दुईभन्दा बढी दलको सरकार गठन हुन सक्ने सम्भावना न्युन छ । हाल प्रतिनिधि सभामा कायम सदस्य संख्या २७१ छ । बहुमतको सरकार गठनका लागि १३६ सिट संख्या आवश्यक पर्दछ । सोमवार खसेको मतलाई हेर्ने हो भने एमालेका १२१ मतमा ९३ सरकारको पक्षमा देखिए भने माधव नेपाल पक्षका २८ सांसद अनुपास्थित रहे । नेपाली कांग्रेस, माओवादी र जसपाको उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षले विपक्षमा मतदान गरे । तर जसपाकै महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष तटस्थ बसे । यदी एमालेका सबै सांसद उपस्थित भएर ठाकुर र महतोको मतको आवश्यकता ओलीलाइ पर्दथ्यो भने यिनिहरुको १६ मत सरकारको पक्षमा पर्ने निस्चित थियो । यो समुह बिगत ४ महिना देखी नै ओलीसँग संवादमा छ र ओली नेतृत्वलाई नै निरन्तरता दिने पक्षमा छ । त्यसैले अब बन्ने नयाँँ सरकारलाई यिनिहरुको समर्थन नरहने प्रष्ट देखिएको छ भने नयाँँ सरकार गठन प्रकृया ठाकुर-महतोको समर्थन बिना सम्भव देखिंदैन ।

प्रतिनिधि सभामा नेपाली कांग्रेसको ६१, माओवादीको ४९ र यो पक्षलाई समर्थन गरिरहेको यादव-भट्टराइ पक्षको १६ मत संख्या गर्दा जम्मा १२६ मत हुन्छ । सरकार गठनका लागि अझै १० मत आवश्यक पर्दछ । त्यो १० मतका लागि निर्णयक रहेको ठाकुर-महतो पक्षलाई सहमतिमा ल्याउन तीन दिनको समय निकै थोरै हो । अर्को कुरा, जसपाको आन्तरिक विबादका कारण ठाकुर पक्षले नयाँँ गठवन्धनलाई समर्थन गर्ने विषय अत्यन्त कठिन छ । कांग्रेस-माओबादी गठबन्धनलाई नयाँँ सरकार गठनका लागि अर्को उपाय भनेको एमालेका २८ जना सांसदहरुलाई सामुहिक राजिनामा गर्न लगाउनसक्नु हो जसले २७१ को सख्या घटेर प्रतिनिधिसभामा २४३ सदस्य संख्या रहने छ । यदी यसो भयो भने बहुमतको सरकार गठनका लागी १२२ मत संख्या भए पुग्ने छ । जुन कांग्रेस-माओबादी तथा यादव-भट्टराइ समुहको संख्याले मात्र प्रयाप्त हुने छ । तर यि सबै बाटाहरु कठिन छन् ।

आइतवार रातीसम्म राजिनामा दिन कस्सिएको माधव नेपाल समुह रहस्यमय तरिकाले चुपचाप छ । ओलीले यो दुई दिन उनिहरुको राजिनामा रोक्न जेसुकै गर्न तयार हुनेछन् । यदी नेपाल समुहले सामुहिक राजिनामा दिएर नयाँ सरकार बन्यो भने पनि सरकार र राजिनामा दिने दुबै समुह निकै आलोचित हुनेछन् । निहित स्वार्थका लागि संसदिय मुल्य मान्यताको धज्जी उडाएको आरोप जीवनभर लाग्ने छ ।

अर्को कुरा केपी ओलीले यो तीन दिन नेपाल समुहको राजिनामा रोक्न र ठाकुर-महतो पक्षलाई आफ्नो पक्षमा राखिराख्न सके भने बिहिवार राती प्रतिनिधि सभामा रहेको ठूलो दलको नेताको हैशियतमा पुन: प्रधानमन्त्रिमा नियुक्त हुनेछन् । किन भने नयाँँ सरकार गठनका लागि राष्ट्रपतिले जम्मा तीन दिनको समय दिनु आफैंमा रहस्यमय छ । यदी विपक्षीले ल्याएको अविश्वासको प्रस्ताव हुन्थ्यो भने तीन दिनको समय खासै थोरै हुन्नथ्यो । उनिहरुको अविश्वासको प्रस्ताव सँगै नयाँँ सरकार बनाउने तयारी पनि हुन्थ्यो । तर सरकारले ल्याएको विश्वासको प्रस्ताव पारित नहुँदा विपक्षीहरु तयार नहुन पनि सक्छन् । यो मौका केपी ओलीले कुनै पनि हालतमा पनि गुज्रिन दिने छैनन् । र अबका तीन दिन ठाकुर-महतो पक्षलाई उनले जसरी पनि रोक्ने छन् । बितेका तीन वर्षले के देखाएको छ भने ओलीले यो तीन दिन पक्कै पनि वालुवाटारका सामान मिलाएर बस्ने छैनन् ।

तपाइँको प्रतिक्रिया