शुक्रबार, वैशाख १४, २०८१

अक्सिजन नपाएपछि विरामी निकालिने, कतै भर्ना नलिने अस्पतालद्वारा सार्वजनिक

नेपालप्लस संवाददाता२०७८ वैशाख २८ गते १४:५२

अक्सिजनको अभावका कारण झण्डै एक दर्जन अस्पतालहरु कोरोना भाईरसका विरामीको उपचार गर्न नसक्ने अवस्थामा पुगेका छन् । केहि अस्पतालले अस्पतालमा भर्ना भएका विरामीहरुको उपचार नहुँदै डिस्चार्ज गर्ने निर्णय गरेका छन् । मेडिसिटी अस्पतालले नयाँ भर्ना नलिने जनाएको छ ।

अक्सिजनको अभावले उपचार गर्न नसक्ने अवस्थामा राजधानीका लगभग एक दर्जन अस्पताल पुगेका छन् । नेपालकै सबैभन्दा अत्याधुनिक मानिएको मेडिसिटी अस्पतालले अक्सिजन अभावकै कारण कोरोना भाइरस संक्रमित नयाँ बिरामीहरु नलिने प्रेस बिज्ञप्ती मार्फतनै सार्वजनिक गरेको हो।

मेडिसिटी अस्पतालको प्रेस बिज्ञप्ती

मेडिसिटी अस्पतालले आज जारि गरेको प्रेस बिज्ञप्ती अनुसार अस्पताललाई दैनिक चारसय ५० देखि पाँच सय अक्सिजन सिलिण्डर चाहिन्छ । तर सरकारले जम्मा एक सय सिलिण्डर उपलब्ध गराएकाले अक्सिजन अभावका कारण थप बिरामीको उपचार गर्न नसक्ने जनाएको हो ।

नेपाल मेडिकल कलेज टिचिङ अस्पतालले त भर्ना भएका विरामीहरुलाई समेत अक्सिजन अभावका कारण डिस्चार्ज गर्ने सूचना जारि गरेको छ । अस्पतालले जारि गरेको सूचनामा उल्लेख छ ” कोरोना संक्रमित विरामीहरुको लागि अति आवस्यक अक्सिजन आपूर्ति गर्ने कम्पनी सोपान फर्मा स्युटिकल लिमिटेडको मेशिन बिग्रिएकोले अक्सिजन आपूर्ति गर्न सक्ने संभावना अत्यन्त न्युन भएको जानकारि प्राप्त भएको र अन्यत्रबाट समेत अक्सिजन प्राप्त हुन नसकेको हुँदा अस्पतालमा भएको अक्सिजनले नपुग्ने हुँदा आज ४ बजे अघिनै विरामीहरुले आफ्नो ब्यवस्था गर्नुपर्ने छ ।” टिचिङ अस्पतालको सूचना अनुसार अस्पतालमा भर्ना भएका विरामीहरुलेपनि अस्पताल छोड्नुपर्ने छ ।

टिचिङ अस्पतालले अक्सिजन उपलब्ध हुन नसक्ने ब्यहोरासहित विरामीलाई डिस्चार्ज गर्न लागिएको जानकारि स्वास्थ्य मन्त्रालय लगायत संवन्धित निकायलाई दिएको समेत सूचनामा उल्लेख गरेको छ ।

टिचिङ अस्पतालको विरामी डिस्चार्ज गर्ने सूचना

नेपाल मेडिसिटी र नेपाल मेडिकल कलेज मंगलवार बिज्ञप्ती जारी गरेर आफूहरुसँग अक्सिजनको स्टक सकिएको सरकारका संवन्धित निकायलाई जनाएका छन् । मेडिकेयर, नेपाल इण्डिया फ्रेण्डशिप, दिर्घायु, हेल्पिङ हेन्ड, ॐ अस्पातल, भक्तपुर इन्टनेशनल, हिमाल हस्पिटल, करुणा हस्पिटल र युनिभर्सल कलेज अफ मेडिकल साइन्सले अक्सिजन नभएका कारण कोभिड बिरामीहरुको उपचार गर्न नसकिने जनाएका छन् ।

नेपालमा कोरोना भाईरसको संक्रमण दर उचालिए सँगै संक्रमणबाट मृत्‍यु हुनेको दर भारतको मृत्‍युदर भन्दा माथि पुगेको छ । सरकारी आँकडाका अनुसार नेपालमा सोमवार मात्र १ सय ३९ जना ब्यक्तिले कोरोनाका कारण ज्यान गुमाए । यो अस्पातलमा उपचार गराइरहेका र कोरोना परिक्षण गरिंदा पोजेटिभ देखिएका ब्यक्तिहरुको आँकडा हो । नेपालका दुर्गम गाउँहरुमा धेरै मृत्‍यु यस्ता भएका छन जसले अस्पतालमा सुलभ उपचार पाएनन् । कोरोना परिक्षणको प्राविधिक पक्षसम्म पहुँच पुग्न सकेन ।  त्यस्ता मृत्‍युहरु सरकारी आंकडामा जोडीएको छैन ।

सरकारले सोमवार जारी गरेको १ सय ३९ मृत्‍यु संख्या सुगम र तराइका जिल्लाहरुको मात्र हो । सोमवार नै भारतमा ३ हजार ८ सय ७६ जनाको मृत्‍यु भएको छ ।

भारतको जनसंख्या १ सय ४० करोडको हाराहारिमा छ भने नेपालको जनसंख्या पुगनपुग ३ करोड । जनसंख्याको हिसाबमा हेर्ने हो भने नेपालको मृत्‍युदर भारतको तुलनामा लगभग ३२ प्रतिशतले बढी हो । दुर्लभ औंषधीहरुको राष्ट्रसंघिय मापदण्ड अनुसार हरेक ठूला र विकशित देशहरुले औंषधी प्रयोगका लागि कम्तिमा २० प्रतिशत गरिव र विकासोन्मुख मुलुकहरुलाई छुट्याउनु पर्दछ ।

दुनियाँका धेरै गरिव मुलुकहरुले यो सुविधा उपयोग गरिसकेका छन् । दक्षिण एशियामा हेर्ने हो भने बंगलादेश, भुटान र श्रीलंका जस्ता मुलुकहरुले यो अन्तराष्ट्रिय मापदण्डको फाईदा उपभोग गरीसकेका छन् । तर नेपालले भने यो सुविधामा पूर्ण रुपमा पहुँच पाउन सकेको छैन ।

स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारी भन्छन्- यस्ता खालका सुविधासम्म आफ्नो पहुँच बढाउनका लागि सरकारी संयन्र चुस्त हुनुपर्ने हो । सरकारले जनताको यो तहसम्म पुगेर सोच्नै पाएको छैन ।

त्यसो त, सरकारले रसियामा उत्पादित स्पुतनिक भी र भारतको सेरुम इन्टिट्युटमा उत्पादित कोभ्याक्स खोप खरिद गर्ने घोषणा गरेको थियो । तर सेरुमको खोप खरिदको अनुमती पाएको सुरज वैद्यको समुहले बजार मुल्यभन्दा बढी बढीमा खरिद गर्न लागेको र ब्यापक अनियमितताका समाचार बाहिरिए पछी यो प्रकृया रोकिएको छ ।

सेरुम कमिशन प्रकारणमा प्रधानमन्त्री केपी ओली स्वयं मुछिएका छन् । उनले यसको सम्पूर्ण जिम्मेवारी सुरज वैद्य र उनकी श्रीमती ऋतु सिह वैद्यलाई दिएका थिए । यो समुहमा विजय दुगड र अभिषेक दुगड पनि सामेल छन् । सुरज बैद्य नेपाल भ्रमण वर्ष-२०२० को संयोजक हुन् । उनलाई प्रधानमन्त्री केपी ओलीले नियुक्त गरेका थिए ।

खोप खरिदको यो प्रकरणमा प्रधानमन्त्रिका आर्थिक मामिला सल्लाहकार मोती दुगडको संलग्नता रहेको तथ्य बाहिरिएलगत्तै १० करोड बराबरको आर्थिक चलखेलमा प्रधानमन्त्री कार्यालयकै संलग्नता देखिए पछी यो खरिद प्रकृया अन्योलमा छ । स्वास्थ्यमन्त्री हृदयश त्रिपाठी आँफैले विचौलियाहरुद्वारा कमिशनको खेल भएका कारणले खरिद प्रकृया रोकिएको जनाइसकेका छन् । अब यि खोपसम्म नेपालीको पहुँ पुग्न अझै समय लाग्ने छ ।

मंगलबार दिउँसो देशका देशका ११ वटा अस्पतालले आफूहरु सँग अक्सिजन नभएका कारण कोभिडका बिरामीहरुलाई उपचार गर्न नसकिने भनेर माफि मागिरहँदा प्रधानमन्त्री केपी ओली आफ्ना पक्षका सांसदहरुसँग बैठकमा ब्यस्त थिए भने प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, प्रचन्ड, माधव नेपाल र मधेशी दलका नेताहरुसँग भेटघाटमा ब्यस्त छन् । दुबै पक्षलाई सरकार कसरी टिकाउने वा नयाँँ सरकार कसरी बनाउने भन्ने मै दिनभरी चटारो छ ।

स्वास्थ्य मन्त्रालयका ति अधिकारी भन्छन्- यो महामारिका लागि जनताको पक्षमा सोच्न सक्ने अलि दुरदर्शी नेताको खाँचो महसुस भएको छ । न त प्रतिपक्षले सरकारलाई दवाव दिन सकेको छ न सरकारले जनताको पक्षमा निर्णय गर्ने जाँगर चलाएको छ । यस्तो बेला जनताको स्वास्थ्यमा राजनीतिक पार्टीहरुले गम्भीर खेलवाड गरेका छन्- ति अधिकारी भन्छन ।

अहिलेको अवस्थामा खोपको त कुरै छोडौं अक्सिजनको समेत जोहो गर्न सरकारले तदारुकता नदेखाउनु आँफैमा लज्जास्पद छ ।

तपाइँको प्रतिक्रिया