शुक्रबार, वैशाख १४, २०८१

युरोपमा पर्यटक तान्ने जुक्ति : २०० युरो उपहार देखि ‘कोभिड-मुक्त टापू’ सम्म

नेपालप्लस संवाददाता२०७८ वैशाख ३० गते १३:०२

कोरोना भाईरस बिरूद्ध खोप जारी छ । युरोपेली देशहरूमा पर्यटक तानातान चलेको छ । गर्मीयाम सँगै युरोपमा पर्यटकहरुको भिडमभिड हुने गर्नाले यो गर्मीयामकालागि पनि युरोपेली देशहरु कसरि धेरै पर्यटक तान्ने भन्ने ध्याउन्नमा छन् । तिन महिनाको गर्मीयामको छुट्टीमा करोडौं, अरबौंको आर्थिक मुनाफा लिन देशहरुले पर्यटन आकर्षणकालागि आन्तरिक तयारिमा जुटेका छन् । पर्यटकहरूलाई आकर्षित गर्न पसल, बार, रेष्टुरेन्ट वा संग्रहालयहरू पुन: खोलेको गणना गरिरहेका छन् । नखुलेका देशका पर्यटन ब्यवशायीहरु कि त खुलेका देशलाई हेरेर चुक्चुकाईरहेका छन् । कि त कति घाटा पार्‍यो भनेर औंला गन्दै बसेका छन् । युरोपेली मुलुकका सरकारहरु पर्यटन क्षेत्र खुला गर्न नागरिक र ब्यवशायीका तर्फबाट चर्को दबाबमापनि परेका छन् ।

जहाँ होटेल, रेस्टुरेन्ट, बार, कफी सप खुल्न दिने घोषणा गरिएको छ त्यहाँ पर्यटन मौसमको आगमनको तयारी गरिरहेका छन् । काममा विभिन्न तरिकाको अवलोकन र रणनितिपनि युरोपेली युनियन (ईयु) ले बनाइरहेको छ । ईयुले यूरोपीयन स्वास्थ्य प्रमाणपत्रको कार्यान्वयनको लागि तयारीसमेत गर्दै छ ।

ईयुले ईयू देशहरू बीच यात्राको लागि स्वास्थ्य प्रमाणपत्र लागू गर्न तयारी गरिरहेको छ । जूनको अन्त्य हुनु अघिनै त्यो काम गर्न चाहेको छ । तर धेरै देशहरूले पर्यटन मौसम नगुमाउन पहल गरिरहेका छन् ।

फ्रान्समा पर्यटकहरुको लागी स्वास्थ्य पास

सन् २०१९ मा फ्रान्समा ९ करोड पर्यटक भित्रिएका थिए । यो याम फ्रान्सलेपनि गुमाउन चाहँदैन । मे १९ बीच बिभिन्न चरणमा पर्यटक आकर्षण गर्ने तालिका फ्रान्सले घोषणा गर्‍यो । हाल पसल, संग्रहालय, थिएटर, काफे र रेस्टुरेन्टमा टेरासहरु पुनः खोल्न दिने घोषणा गरिएको छ । जुन महिनाबाट ग्राहकलाई भित्रै खुवाउने रेस्टुरेन्टसमेत पुनः खोल्न दिने कार्यक्रम घोषणा गरिएको छ । पर्यटकहरुलाई एक स्वास्थ्य पासको ब्यवस्था गरेर स्वागत गरिने छ । र जुन महिनाको अन्तिम देखि जनजिवन सामान्य बनाइने योजना छ ।

यो तालिका ससर्तसहितको छ । संक्रमण दर प्रति एक लाखमा ४०० भन्दा कम रहेमा मात्रै यो लागू गरिने छ । अन्यथा स्वास्थ्य संकटकाललाई लम्ब्याउन सकिने उल्लेख छ ।

इटालीलेपनि स्वास्थ्य पासपोर्ट जारि गर्ने

विदेशी पर्यटकहरूलाई फिर्ता ल्याउन इटालीले यूरोपियन आयोगले घोषणा गरेको युरोपियन राहदानी कार्यान्वयन हुनुभन्दा एक महिना अघि मेको दोस्रो आधा देखि राष्ट्रिय खोप पासपोर्ट ल्याउने योजना बनाएको छ ।

यो राष्ट्रिय राहदानीले सबै क्षेत्रमा यात्राको अनुमति दिनेछ । युरोपेली युनियनले जारि गरेजस्तै शर्तहरुमा जारी गरिने छ । खोप लिएको वा कोविड १९ को परिक्षण नेगेटिभ आएको प्रमाण पेश गर्नुपर्ने प्रावधान ईटालीले बनाउन लागेको छ । र यो इटालियन पास सबैका लागि मान्य हुनेछ । ईटालीका पर्यटन मन्त्री मासिमो गाराभाजियाले यस्तो पासपोर्टले युरोपेली संघ र संघ बाहिरका पर्यटकहरूका लागि पनि मान्यता दिने छ ।

अमेरिका र बेलायतबाट आउने पर्यटकनै ईटालीमा ३० प्रतिशत भन्दा बढि हुने गरेका छन् । र ईटालीमा धेरै खर्च गर्ने पर्यटक यिनै दुई देशका हुन् ।

डुंगा र पानी जहाजमा समुद्री यात्रा पनि इटालीबाट पुनः सुरु भएको छ । बार र रेष्टुरेन्टहरूले अब आफ्ना ग्राहकहरूलाई बाहिर राखेर (आउटडोर) सेवा गर्न सक्छन् ।

विश्व पर्यटन संगठन (यूएनडब्ल्यूटीओ) का अनुसार सन् २०१९ मा इटालीमा ६ करोड ४४ लाख पर्यटक भित्रिएका थिए ।

ग्रीसमा “कोविड-मुक्त” टापुहरू

ग्रीसले होटेल, बार, रेस्टुरेन्टलाई मे ३ देखि टेरासहरुमा बसेर खान दिनेगरि खोलेको थियो । पर्यटन प्रवर्द्धन गर्न “कोविड-फ्री” टापुहरू घोषणा गर्दै छ । हरेक वर्ष आउने लाखौं पर्यटकहरूलाई आतिथ्यता दिन मध्य मेसम्ममा टापुहरूको खोप पूरा गर्न कडा मेहनत गर्‍यो ।

ग्रिसले निजी समुद्री तटहरु शनिबार ८ मे देखि नै खोलेको छ । संग्रहालयहरू मे १४ देखि खोलिने छन् । मे २१ देखि खुला एयर सिनेमाहरू कम क्षमता सहित खोलिँदै छ । अर्थात् कोटा तोकेर खोल्न दिने भएको छ । मे २८ मा थिएटरहरू पनि खुल्ने छन् ।

अप्रिलको मध्यदेखि यस देशले यूरोपियन युनियन, शेन्जेन क्षेत्र, बेलायत, अमेरिका, इजरायल, सर्बिया र संयुक्त अरब इमिरेट्सका सदस्य देशहरूको स्थायी बासिन्दा भएका यात्रुहरूको लागि सात दिनको क्वारन्टाइन हटाइसकेको छ ।

विश्व व्यापार र पर्यटन परिषद (डब्ल्यूटीटीसी) का अनुसार विश्व पर्यटनका प्रमुख अपरेटरहरुलाई एकसाथ ल्याउने देशको बन्दरगाहमा क्रूज यात्रुहरुको कूल गार्हस्त उत्पादनको २० प्रतिशत भन्दा बढी हिस्सा रहेको छ ।

स्पेन प्रवेश गर्न ७२ घण्टा भन्दा कमको नेगेटिभ पीसीआर परीक्षण

सन् २०१९ मा स्पेनले ५ करोड ८३ लाख पर्यटक भित्र्यायो । स्पेन विश्वको दोस्रो ठूलो पर्यटन गन्तव्य बनेको छ । सन् २०२० मा कोरोना भाईरसबाट कडा प्रभावित यो देशमा पर्यटकको आगमन ७७ प्रतिशतले घटेको छ । कम्तिअं यो गर्मी याममा स्पेनले सकेसम्म धेरै पर्यटक तान्न खोजिरहेको छ ।

सन् २०२० को जुन देखि म्याड्रिड क्षेत्रले ७२ घण्टा भन्दा कमको नेगेटिभ पीसीआर परीक्षण भएका पर्यटकलाई ढोका खुला राखेको छ । बार, संग्रहालय, रेस्टुरेन्ट र थिएटरहरू खुला छन् । मे ९ आइतवारदेखि नै स्पेनियालीहरूलाई पनि आफ्नो क्षेत्र छोड्ने अधिकार दिइएको छ । बेलारिक्समा राती ११ बजे, भ्यालेन्सिया र क्याटालोनियामा मध्यरातमा कर्फ्यु छ । त्यस क्षेत्र बाहेक अन्यत्र कर्फ्यू हटाइएको छ । डब्ल्यूटीटीसीका अनुसार कूल गार्हस्त उत्पादनको पर्यटन क्षेत्रबाट हिस्सा १४ दशमलव १ ओगटेको छ ।

माल्टाको होटलमा बस्नेलाई २०० युरोको चेक

युएनडब्ल्युटिओका अनुसार माल्टा टापूमा सन् २०१९ मा २८ लाख पर्यटक भित्रिएका थिए । यो टापूले प्रत्येक ब्यक्तिलाई तारे होटेलमा बस्न २०० युरोको भाउचर प्रदान गर्ने भएको छ । यो भाउचरको रकम होटेलमा, घुम्न गएरै तिन रातमा खर्च गर्नुपर्छ । गोजा भनिने टापूमा गएर छुट्टी मनाएमा त झन थप १० प्रतिशत पाइन्छ । तर यो सबैभन्दा पहिले बुक गर्ने ३८ हजारमा सिमित राखिएको छ ।

पर्यटको मूल देशमा महामारीको विकास र ईयुले प्रकाशित गरेको नक्सामा आधारित रहेर माल्टामा खोप लगाउनुपर्छ । वा ७२ घण्टा भन्दा कमको नकारात्मक पीसीआर परीक्षणको आवश्यकता पर्न सक्छ ।

त्यसैगरि बेल्जियम, स्विजरल्याण्ड, पोर्चुगल लगायतका देशले आआफ्नै तरिकाले पर्यटक तान्न खोजिरहेका छन् । बेल्जियमलेपनि रेस्टुरेन्ट, काफेलाई आउटडोर खुला गरेर पर्यटकलाई स्वागत गर्न हतारिएको संकेत दिएको छ ।

स्विजरल्याण्डलेपनि तिब्र गतिमा खोप लगाएर छिटोभन्दा छिटो जनजिवन सामान्य बनाउने कोसिस गरिरहेको छ । आफ्नो कुल बजेटको लगभग ७० प्रतिशत पर्यटनबाट उठाउने पोर्चुगलपनि जसरि हुन्छ पर्यटन ब्यवशाय खुला गर्ने ध्याउन्नमै छ । यसरि युरोपेली देशहरु भित्रभित्रै वा खुल्लमखुल्ला रुपले यो गर्मी याममा जसरिपनि पर्यटन क्षेत्र खुला गर्न युद्दस्तरमा जुटेका छन् ।

तपाइँको प्रतिक्रिया