शुक्रबार, वैशाख १४, २०८१

संकटमा गैरआवाशिय नेपालीहरुलाई गाउँघर र देशको सम्झना

टीकापुर अस्पतालमा अक्सिजन आपूर्तिका लागि विश्वभरका टीकापुरवासी अभियानमा

नेपालप्लस संवाददाता२०७८ वैशाख २८ गते २२:३७

कैलाली जिल्लाको टीकापुर अस्पतालमा अक्सिजनको अभावले कोरोना संक्रमित बिरामीहरुको मृत्य हुन थालेपछि अक्सिजन सिलिन्डरको ब्यवस्थापन, अक्सिजन आपूर्ति र अक्सिजन प्लान्ट स्थापना गर्न विश्वभरि छरिएका टीकापुरवासी युवाहरुले अभियान चलाइरहेका छन् ।

टीकापुर सरोकार समुहले टीकापुर अस्पताल र टीकापुर उस्योग बाणिज्य संघसँग मिलेर यो अभियान चलाएको हो । आइतबार मे ९ देखि थालिएको यो अभियानमा मङ्गलबारसम्म करिब २२ लाखको सहयोग गर्ने प्रतिबद्दता जनाईसकिएको छ ।

टीकापुर सरोकार समुहका अमेरिका स्थित सदस्य बिष्णु शाहलाई यो अभियानका लागि संयोजक तोकेको छ । नेपाल भित्रबाट स्वस्फूर्त रुपमा सहयोग जुटीरहेको अभियानले जनाएको छ । समुहका सदस्य एबं सुदुर पश्चिम नेपाली समाज टेक्सासका अध्यक्ष प्रेम शाहीको अग्रसरतामा ‘गो फन्ड’ बाट रकम जुटीरहेको जनाएका छन् । अमेरिका लगायत अन्य देशका एनआरएनहरुसँगसमेत सहयोगका लागि सम्पर्क भइरहेको उनले उल्लेख गरे ।

उनले भने “यस्तै अप्ठ्यारो परेका बेला प्रवासमा रहेका हामीहरुले घर गाउँ सम्झने हो ।” यो अभियानकालागि शाहले आफ्ना तर्फबाट एक लाख रुपियाँ सहयोग गरेका छन् । त्यसैगरि अभियानकर्ता प्रेम शाहीले अमेरिका बसेका सुदुरपश्चिम क्षेत्रका एनआरएनहरुलाई यो अभियानमा सहयोग गर्न आह्वान गरेका छन् । उनले पनि अभियानका लागि ५० हजार रुपियाँ सहयोग गरेका छन् ।

त्यसैगरि, एनआरएनए अफ्रिकाबाट रु दुई लाखको सहयोग पठाउन लागेको जानकारी गैरआवासीय नेपाली संघको अफ्रिका महिला संयोजक मन थापाले जनाएकी छिन् । अभियानमा अस्ट्रेलिया, कोरिया, मलेशिया, मध्यपूर्व, जापान, बेलायत, युरोप, क्यानडा र अमेरिकाका टीकापुरलाई माया गर्ने नेपालीहरुले सहयोग पठाउन शुरु गरेका छन् ।

टीकापुर सरोकार समुहका संयोजक पत्रकार प्रशान्त अर्यालले अप्ठ्यारोमा माटो प्रति सधैं झैं माया देखाएकोमा स्वदेश र बिदेशमा रहेका टीकापुरे प्रती आभार ब्यक्त गर्दै भनेका छन् “हाम्रो उद्देश्य अक्सिजन नपाएर टीकापुर क्षेत्रमा कसैले श्वास बन्द गर्नु नपरोस ।”

कोरोनाको यो दोश्रो लहरमा टीकापुरमा हालसम्म १९ जनाले ज्यान गुमाईसकेका छन् ।

टीकापुर सरोकार समुहको आह्वानमा गत जनवरीमा सम्पन्न यस्तै एक अभियानले टीकापुर अस्पताललाई शव बाहन हस्तान्तरण गरेको थियो ।

टीकापुर सरोकार समुहका संस्थापक एबं गैरआवासिय नेपाली संघका निबर्तमान कोषाध्यक्ष हिक्मत थापाले संकटमा सबै गैरआवाशिय नेपालीहरुले आफ्नो गाउँ घर र देश सम्झने गरेको बताए । उनले यो अभियानमा समेत गच्छे अनुसार सहयोग गर्न सबैलाई अनुरोध गरेका छन् ।

तपाइँको प्रतिक्रिया