बिहीबार, वैशाख १३, २०८१

सहयोग नाटक गर्दै राजदूतहरु : ‘चीन, भारत, बेलायत, जापानका राजदूत भने बेखबर’

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ वैशाख ३० गते १७:०५

ओमानस्थित राजदूत शर्मिला पराजुली ढकाल । फोटो-अनलाईन खबर

खोप तथा अत्यावश्यक मेडिकल सामग्रीको सहयोग उपलब्ध गराउन परराष्ट्र मन्त्रालयले अमेरिका, बेलायत, भारत, चीन, जर्मनी, रुससहितका मुलुकलाई पत्राचार गरेकै दिन बिहिवार ओमानस्थित राजदूत शर्मिला पराजुली ढकालको वाहवाही जोडिएको खबर नेपाली समाचार संजालमा छायो ।

ओमानस्थित गैर आवासीय नेपाली संघको पहलमा शनिबार आउन लागेको ६ सय अक्सिजन सिलिन्डरसँगै जोडिएर मस्कटस्थित राजदूत ढकाल छाएकी थिइन् । तर, आश्चर्य यो सहयोग योजनामा राजदूतको कुनै प्रकारको साइनो र सम्बन्धै थिएन । समाचारमा भने मानौं राजदूत स्वयमले खरिदारी गरेर र ढुवानी प्रबन्धसमेत आफैंले तय गरेर अक्सिजन पठाउन लागेकी छिन् जस्तो गरिएको छ । आफ्नो ४ वर्षे कार्यकाल पुरा गरेपनि शक्तिकेन्द्रको आडमा हालै आफ्नो पदावधीमा ‘अनिश्चित अवधी’ थप गर्न सफल ओमानस्थित राजदूत ढकाल स्वयं म्यानपावर ब्यवसायीसमेत भएकाले उनको ‘लिंक’ हरतरहमा छाएको छ ।

तर, नचाहिंदो बिज्ञापनसहितको समाचार छाएपछि ओमानमा रहेका नेपाली श्रमिक र आफ्नो भूमीमा आइपरेको बिपतमा सहयोग गर्न चाहने नेपाली साधारणजन रिसाउने नै भए । ओमानबाट सामाजिक कार्यकता बिद्या सापकोटाले ट्वीटरमा जवाफ दिएकी छिन्—‘पैसा हामीले उठाएका हौं, ढुवानीको लागि जहाजको व्यवस्थापन राजदूतले सरकारसँग समन्वय गर्नुभएको हो ।’

यसरी समाचारमा छाएको केही घण्टामैं राजदूत शर्मिलाको नाटकको नौटंगी छ्यालब्याल भएको थियो ।

बेलायतका राजदूत लोकदर्शन रेग्मी कहाँ छन् ? देश–दुनियाँलाई सहयोग गरिरहेको चीनमा रहेका राजदूत महेन्द्र पाण्डेको पहलकदमी केकता देखियो ? चाकडी र जिहजुरीका भरमा आफ्नो ४ वर्षे कार्यकालमा फेरि पदावधी थमौती गर्ने राजदूत प्रतिभा राणा (पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाकी सासु) कुन ‘आइसोलेसन’मा छिन् ? अमेरिकाका लागि राजदूत रहेका डा. युवराज खतिवडाकै अग्रसरता पनि के छ ? यसबीचमा परराष्ट्र मन्त्रालयको समन्वय कता छ ? परराष्ट्रमा प्रवक्ताको भूमिका र अस्तित्व किन कहींकतै देखिन्न ? कतिसम्म भने अमेरिकी सिनेटमा नेपालमा देखिएको स्वास्थ्य संकट र आवश्यक सहयोगबारे बहस सुरु भएकै आधारमा वासिङटनमा रहेको नेपाली दूतावासले ‘हामीले बहस गराएको’ टाइपको क्रेडिट लिने काम सुरु भैसकेको छ ।

बिहिवारै पूर्व परराष्ट्र सचिव मधुरमण आचार्यले कोरोना संक्रमणको अत्यासमाझ ‘मानवीय संकट’ घोषणा गर्दै मित्र राष्ट्रहरुबाट चाहिएको सहयोगको सूची उतारेर आफ्ना राजदूतहरु परिचालन गर्न सुझाव दिएलगत्तै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले ‘सुझावमा भनेअनुसार काम थालिएको’ प्रतिक्रिया दिए । ‘खोप, उपकरण तथा स्वास्थ्य सामग्रीको सूची तयार गरी मित्रराष्ट्र र विकास साझेदारहरुलाई दिइनुका साथै उच्च कुटनीतिक तहमा पत्राचार भएको छ । सो प्राप्तीका लागि यहाँस्थित कुटनीतिक नियोगहरुसँग निरन्तर समन्य गर्दै विदेशस्थित नियोगहरु परिचालन गरिएको छ’,मन्त्री ज्ञवालीले भनेका छन् । तर, यो पनि मुखैको मीठो मात्रै हो ।

विदेशका बिभिन्न नियोगले यस्ता सहयोग सामग्री नेपाल पठाउँदा भन्सार छुट गराइपाउन अनुरोध गर्दै आएपनि परराष्ट्र र अर्थ मन्त्रालयले कुनै निर्णय लिन सकेको छैन । किनभने राजनीतिक भागबन्डा र एमाले सत्तारुढभित्रको भागदौडका माझ परराष्ट्र मन्त्री ज्ञवाली तथा अर्थ मन्त्री बिष्णु पौडेल दुबै मन्त्रालयका काममा नदेखिएको एक महिनाभन्दा बढी भैसकेको छ ।

परराष्ट्रले मन्त्रीसरहको हैसियतमा रहेका चीन, भारत, बेलायत र अमेरिकामा रहेका नेपाली राजदूतलाई सामान्य सोधपुछ वा स्पष्टीकरण लिनसम्म पनि आँट गरेको देखिन्न । त्यसमाथि अहिले चीन, भारत र अमेरिकामा बिगतमा शक्तिशाली मन्त्री भैसकेका पात्र राजदूतका रुपमा नियुक्त छन् भने बेलायतमा मुख्य सचिव भैसकेका रेग्मी पदीय ‘बार्गेनिङ’ का भरमा राजदूत बनेर गएका हुन् । तर, लण्डनमा आवासीय राजदूत बनेको ६ महिना नाघिसक्दा पनि यी राजदूत रेग्मीसँग स्थानीय नेपालीले चिनापर्ची वा दोहोरो संवादसम्म गर्न पाएका छैनन् ।

अर्को उदाहरण छ— भारतस्थित राजदूत निलाम्बर आचार्यको । कोरोना महामारीको अघिल्लो चरण जारी रहेकै बेला गत वर्ष डिसेम्बरमा भारत सरकारको विदेश मन्त्रालयले दिल्लीमा रहेका ८० भन्दा बढी देशका राजदूतहरुलाई हैदराबाद भ्रमणमा लगेको थियो । कोरोना प्रतिरोधमा बनिरहेको भ्याक्सिन र यसबारेको बिस्तृत जानकारी दिलाउन राजदूतहरुलाई लगिएकोमा नेपालका राजदूत आचार्य मात्रै त्यहाँ उपस्थित भएनन् । आफू त्यहाँ नगएको बारेमा न उनले परराष्ट्र मन्त्रालयमा जानकारी गराए, न उनी किन नगएका हुन् भनेर परराष्ट्रले नै सोधेको थियो ।

‘त्यसबेला भ्रमणमा गएका र कोरोना भ्याक्सिनको आवश्यकतामा चासो राख्ने केही एशियाली मुलुक तथा अफ्रिकी मुलुकलाई समेत यसपटक भारतले प्राथमिकताका साथ भ्याक्सिन उपलब्ध गराएको छ । जबकि नेपालका हकमा खरिद गर्ने भनेर प्रकृया अघि बढाएपनि अनेक कारणले ढिलाइ भएको स्थिती छ’दिल्ली पोष्टिङमा रहेका परराष्ट्रका एक अधिकृतले भने । तर, यसबारेमा पनि राजदूत आचार्यसग परराष्ट्र मन्त्री वा सचिवले ‘के–कति कारणले ढिलाइ भैरहेको हो’ भनेर सोधपुछ गर्न सकेको छैन ।

तपाइँको प्रतिक्रिया