बुधबार, असोज ६, २०७८

कोरोना जितेपछि पत्रकार भट्टराईले भने “मनोबल कमजोर पार्नै हुँदैन”

लिला भारद्वाज / काठमाडौं२०७८ वैशाख ३० गते १७:५५

”लिलाजी म बाँचें ।”
दश दिनदेखि गुमनाम पत्रकार टेकनारायण भट्टराईले मलाई फुत्रुक्क खबर छोडे फेसबूकको मेसेन्जरमा ।

काठमाडौंको गन्जागोलमा रिपोर्टिंगको सिलसिलामा हामी धेरैपटक सँगै थियौं कोरोनाको कहर बढ्दै जाँदा पनि ।

उनी न्यूज २४ मा पावरन्यूज कार्यक्रम चलाउँछन् । सामाजिक संजाल बन्द गरेका थिए । फोनको स्वीच अफ गरेर बेपत्ता टेकनारायणको बारेमा चिन्ता त छँदै थियो । कोरोनाको शंका गरे पनि के हो के हो ? प्रमाणित भएको थिएन ।

आज फोनमा लामै कुरा भयो । छोटकरीमा उनले कोरोना लागिसकेपछि आफूले गरेका कुरा यसरी सुनाए ।

“काठमाडौंको डेराको जीवन जसोतसो चल्दै थियो । कार्यक्रम पनि राम्रै बजिरहेका थिए । एकदिन मलाई ज्यान दुखेको, टाउको दुखेको जस्तो असजिलो महसुस भयो । बिस्तारै ज्वरो आउन थाल्यो । बिस्तारै कोरोनाका लक्षणहरु देखिन थालेपछि परीक्षण गर्दा पोजेटिभ आयो । मेरी श्रीमती अपरेशन गरेकी र शारिरीक रुपमा अलि कमजोर भएपनि मानसिक रुपमा तगडा छिन् । उनलाई पनि पोजेटिभ देखियो । हामी दुई फरक कोठामा बस्यौं । छोरालाई अर्को ठाउँमा राख्ने प्रबन्ध गरियो । उसलाई नेगेटिभ आएको थियो ।

कोरोनाले च्याप्दै गएपछि सास फेर्न बडा गाह्रो हुनेरहेछ । यसबीचमा मैले योगका सामान्य अभ्यासहरु सिकेको थिएँ । मूलत ध्यानको अभ्यास मैले पहिल्यैदेखि गर्दै आएको थिएँ । एक वर्षदेखि आध्यात्म चिन्तनतिर मेरो विशेष मन गइरहेको थियो । हामी दुवैजना ओशोको विचारधाराबाट प्रभावित हौं । दुवैले सकेसम्म आध्यात्मिक चिन्तनमा दिमागलाई केन्द्रित गर्ने, प्राणायाम गर्ने, स्वासप्रस्वासलाई सकेसम्म सन्तुलन राख्न अभ्यास गर्ने प्रयास गर्यौं ।

ती कति विधिसम्मत भए भएनन्, त्यो अर्कै पाटो हो । दुवैले आफूले ध्यान र योगमा पर्याप्त अभ्यास गर्यौं । तातो पानीको बाफ लिने र सकेसम्म तातोपानी खायौं ।

एकदुई दिन त सास फेर्न गाह्रो हुँदा यही श्वास नै अन्तिम हो कि भन्ने विचार पनि आयो । मनैले फेरि भन्यो ‘धत् अझ बाँच्नुछ । अझै यो धरतीमा केही गर्नुछ । मैले जित्नसक्छु यो नाथे भाइरसलाई’ भनेर आफैले आफैलाई ढाडस दिएँ । मनभित्रै दोहोरो विचारहरुको उत्कर्ष झगडा हुन्थ्यो । एकमनले हारियो झैं लाग्ने । अर्को मनले जित्छु झैं लाग्ने । सकारात्मक सोंचिरहें । सबैजना हिंसा विरोधी भएको । रुख विरुवा जोगाएको । एकले अर्कोलाई सहयोग गरेको । सफा खोलाहरु बगिरहेको । कसैको मनमा पनि घृणा, पाप नभएको । यौटा सत्य संसारको कल्पना गरेर मनलाई सकारात्मक बाटामा डोर्यायौं हामी दुवैले ।

दश दिनसम्म मैले औषधी खाइन । श्रीमतीको अपरेशन भएकोले उनले खानुपर्यो । यस बीचमा धेरै मेरा श्रोताहरुले कार्यक्रमको बारेमा, मेरो स्वास्थ्यको बारेमा चिन्ता व्यक्त गरेर चिठीपत्रहरु लेख्नुभएको रहेछ । उहाँहरु सबैलाई धन्यवाद दिन चाहन्छु ।

समयक्रममा अरु त बिर्सिएला तर यौटा पीडादायी क्षण भने कहिल्यै बिर्सन्न । हामी बूढाबूढी दुइटा कोठामा अलग्गै छौं । श्रीमतीलाई सास फेर्न गाह्रो भएको बेला न मैले काखमा राखेर माया दिन सकें, न उनले नै मसँग बस्न सकिन् । बिहान उठेर मनभरी भय बोकेर श्रीमती हेर्छु, आँखा रसाउँछन् । अनि फेरि सम्हालिन्छु र मनमनै भन्छु, ‘धत् कमजोर हुनुहुन्न । हामी दुवैले जित्छौं यो नाथे कोरोना ।’ मैले श्रीमतीलाई यो भाव कहिल्यै देखाइन । उनले पनि मलाई हौसला नै दिइन् ।

ख्याल ख्याल नगरौं यो कोरोनालाई । लागिसकेपछि असाध्यै कष्ट हुनेरहेछ । आफैले भोग्यौं । अहिले घरभित्रै बसौं । मास्क लगाउने, राम्ररी साबुनपानीले हात धूने, स्यानिटाइजर लगाउने गरौं । रोगको सबैभन्दा ठूलो दबाइ भनेकै आत्मविश्वास रहेछ । जो संक्रमित हुनुहुन्छ र यो पढिरहनुभएकोछ, पटक्कै मनलाई दुःखी बनाउने, कमजोर पार्ने नगर्नुहोला । मनोबल कमजोर पार्नै हुँदैन । मनोबल बलियो भयो भने श्वास प्रश्वास नियन्त्रणमा आउँछ । रोगलाई जितिन्छ पनि ।

तपाइँको प्रतिक्रिया

फेसबुक