शुक्रबार, वैशाख १४, २०८१

विजय परिवारद्वारा मजदुरलाई घरघरै खाना, अस्पताल जान यातायात र स्वास्थ्य परामर्श

नेपालप्लस संवाददाता / गैंडाकोट२०७८ वैशाख ३१ गते १५:०५

नवलपरासी जिल्लाको गैंडाकोटस्थित विजय परिवारले कोरोना संक्रमणमा मजदुर लगायत संक्रमित भएका परिवारहरुलाई घर घरमै खाना उपलब्ध गराउनुका साथै विरामीका लागि यातायात सेवा, रेडियोबाट कोभिड क्याप्सुल कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । कोभिड संक्रमण र लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने मजदुरहरु सबैभन्दा बढी मर्कामा परेको हुँदा परिवारले यस्तो कार्यक्रम ल्याएको हो ।

यी कार्यक्रमहरु पहिलो चरणमा यहि जेठ १ गतेबाट १५ गतेसम्म सञ्चालन गर्ने तयारी भएको विजय विकास स्रोत केन्द्रका कार्यकारी निर्देशक केशवप्रसाद सापकोटाले नेपालप्लसलाई बताए ।

कोभिड १९ न्यूनिकरण र कोभिड विरामीको स्वास्थ्य परामर्शका लागि विजय परिवारले नयाँ कार्यक्रम सञ्चालन गर्ने भएको छ । कोभिड १९ का संक्रमित तिब्र गतिमा बढ्दै जाँदा साविक गैँडाकोटमा करिब ८० प्रतिशत संक्रमित रहेको आँकलन गरिएको छ ।

साविक गैँडाकोट अर्थात वाड नं १ देखि ९ नं वडासम्मका कोभिड १९ बाट संक्रमित विरामीले स्वास्थ्य परामर्श कार्यक्रम अन्तर्गत चिकित्सक नर्स सहितको टोलीसँग आफ्नो स्वास्थ्य परामर्शका लागि समन्वय गराउने छ । यो कार्यक्रम सशुल्क तथा निशुल्क दुबै प्रकृतिको हुनेछ । सक्नेले शुल्क दिएर सहयोग गर्न सकिनेछ भने नसक्नेले निशुल्क स्वास्थ्य परामर्श लिन सकिनेछ । यस सेवामा स्वास्थ्यकर्मीको टोलीसँग आफ्ना समस्याका बारेमा परामर्श गर्न सकिनेछ ।

यसैगरी दोस्रो कार्यक्रम अन्तर्गत साविक गैंडाकोटमा जुनसुकै प्रकृतिका विरामीका लागि समेत यातायातको व्यवस्था मिलाइने भएको छ । विजय सामुदायिक शिक्षा सदनले यातायात सुविधाका लागि आफ्नो भ्यान उपलब्ध गराउने भएको छ । पिसिआर परिक्षणका लागि जानुपर्ने भएमा, कोभिडको समस्याले अस्पतालसम्म जानुपर्ने भएमा या अन्य कुनै दीर्घ रोगका कारण अस्पतालसम्म जानुपर्ने भएमा यातायातको सुविधा उपलब्ध हुने छ ।

यसैगरि विजय परिवारको पहलमा तेस्रो कार्यक्रम अन्तर्गत कोभिडका सन्दर्भमा जनचेतनामूलक रेडियो कार्यक्रम कोभिड क्याप्सुल उत्पादन तथा प्रसारण गरिने भएको छ । सामुदायिक रेडियो विजय एफएम १०१।६ मा हरेक साँझ ६ बजे, विहान ७ बजे र दिउँसो १ बजे प्रसारण हुनेछ । यस कार्यक्रम मार्फत कोभिड १९ सँग सम्बन्धित विभिन्न स्वास्थ्य सम्बन्धि विषयवस्तु प्रसारण हुनेछ ।

विजय परिवारमा विजय बिकास श्रोत केन्द्र, विजय एफएम, विजय शिक्षा सदन, विकु सहकारि र विजय फाउण्डेशन सहितका संस्था छन् । महामारिका यो बेला बिजय बिकास श्रोत केन्द्रले आफ्नै भान्सामा खाना उत्पादन गरेर बितरण गर्ने विजय फाउण्डेशनका अध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिए ।

कोभिड १९ का विरामीका लागि सहयोग पु-याउने उद्देश्यले विहिबार बसेको विजय परिवारको बैठकले कोभिड न्यूनिकरण सहयोग कार्यदल गठन गरेको छ । कार्यदलमा विजय सामुदायिक शिक्षा सदनका अध्यक्ष खेमराज सापकोटा, विजय कन्सल्टीङका अध्यक्ष केशवप्रसाद सापकोटा र विजय फाउण्डेसनका अध्यक्ष त्रिलोचन सापकोटा छन् । कार्यदलले स्वास्थ्य सेवा सञ्चालनका लागि विजय परिवार भित्रैबाट स्रोत संकलन कार्य सुरु गरेको छ । यस कार्यक्रममा सहयोगी मनहरुलाई सहयोगको लागि अपिल गरेको छ ।

बिहिवारको बैठकमा विजय सामुदायिक शिक्षा सदनका अध्यक्ष खेमराज सापकोटा, विजयश्री उपभोक्ता सहकारी संस्था लिमिटेडका अध्यक्ष हरिलाल सापकोटा, विजय कन्सल्टीङका अध्यक्ष केशवप्रसाद सापकोटा, विजय लघुवित्त वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृत वसन्तराज लम्साल, विजय फाउण्डेसनका अध्यक्ष त्रिलोचन सापकोटा, विकू बचत तथा ऋण सहकारी संस्थाका प्रमुख अधिकृत माधव प्रसाद पौडेल, विजय एफएमका स्टेशन म्यानेजर श्रीधर उपाध्याय, विजय विकास स्रोत केन्द्रका कालिदाश गौडेल र प्रेमप्रसाद सापकोटा (राजु) को उपस्थिति छ । उनिहरुले विरामीको जिवन रक्षा र कोभिड न्यूनिकरणका गर्न आ-आफ्नो ठाउँबाट सहयोगमा जुट्न सम्पूर्णमा अपिल समेत गरेका छन् ।

तपाइँको प्रतिक्रिया