बुधबार, असार २, २०७८

शनिवार- साहित्य / सृजना / नियात्रा

लीलबहादुर क्षत्री : निरन्तर साधना र तपस्याका प्रतीक

डा. गोबिन्द राज भट्टराई२०७८ जेठ १ गते ५:०१

(शिलाङ, तेजपुर, गुवाहाटी यात्रा : काठमाडौंदेखि एनजेपीको पहिलो भाग हेर्न यहाँ क्लिक गर्नुहोस्, दोस्रो भाग हेर्न यहाँ क्लिक गर्नुहोस,  तेस्रो भाग हेर्न यहाँ क्लिक गर्नुहोस,  चौथो भाग हेर्न यहाँ क्लिक गर्नुहोला, पाँचौं भागकालागि यहाँ क्लिक गर्नुहोला र छैठौं भागकालागि यहाँ क्लिक गर्नुहोला )

‘स्थायी वास’ कथा मेरो आफ्नै पुख्र्याैली व्यथा हो भने हुन्छ । मैले जीवनमा धेरै ठाउँ वास बनाउने कल्पना गरेँ । धेरै ठाउँ जमिन पनि लिएँ । तर एउटा स्थायी निवास भने अझसम्म बनाउन सकेको छैन । पिताजीले छोडेर गएको उही जीर्ण कुटीरमै छु र मेरा सन्तति पनि त्यहीं अटाएका छन् । यहाँ, यस गल्लीमा वर्षामा बाढी आउँदा पानीले घर डुब्छ । मैले सङ्कलन गरेका पूर्वाेत्तर भारतीय नेपाली साहित्य–संस्कृतिका दस्तावेजहरू जोगाउन मलाई हम्मे पर्छ र यसै पीरले मेरो आयु क्षीण पार्दछ ।

यो गल्लीभित्र मेरो कुटीरमा मलाई भेट्न सानातिनादेखि लिएर धेरै ठूला व्यक्तिहरू पनि आउँछन् । राजनीतिक नेतादेखि लिएर, ठूला साहित्यिक पत्रकार, सामाजिक कार्यकर्ता, चलचित्र निर्देशक, अभिनेता, अभिनेत्री आदि आउँछन् । कोही रहरले आउँछन् । कोही करले आउँछन् । कोही साहित्य–तीर्थ भनेर आउँछन् । कोही चौबाटोमै छ घर त्यही बाटो जाँदा पसेर जाउँ न भनेर आउँछन् । कोही केही पाउन आउँछन् । कोही दिएर पनि जान्छन् ।

लेखाइमा अलि ढिलै छु म । बिसाउँदै लेख्ने गर्छु । मुड पनि पर्खनुपर्छ मैले । बसाइँजस्तो सानो उपन्यास समाप्त पार्न पनि झन्डै दुई वर्ष लाग्यो मलाई । महीनौँ बिसायो, लेख्यो, फेरि बिसायो । त्यसबाहेक लेखाइको क्रम पनि कहिले टुङ्गिँदैन ।

यहाँ मूर्धन्य साहित्यकार तथा शिक्षाविद् डा. ईश्वर बराल आए । नेपाली भाषा साहित्यका संरक्षक शिखर पुरुष कमल दीक्षित आए । अप्राप्य चिन्तक व्यक्तित्व मदनमणि दीक्षित आए । आयामबाट फड्केर सम्पूर्ण लीला देखाइसकेका डा. इन्द्रबहादुर राई आए । महाकवि र पूर्व सिक्किम विधान सभाका अध्यक्ष तुलसीराम कश्यप, महाकवि मोहन दुखुन, डा. वासुदेव त्रिपाठी, प्रा. ठाकुरप्रसाद पराजुली, घनश्याम कँडेल, डा. गणेश भण्डारी, प्रा. रामलाल अधिकारीजस्ता शिक्षाविद् आए । मन्त्री आए । विधायक र सांसद आए । पूर्व मुख्यमन्त्री आए । विधानसभाका अध्यक्ष पनि आए । पूर्वाेत्तर भारतका नेपाली साहित्यिक हस्ती कहलाउन खोज्ने त प्रायः आएकै छन् ।

यस्ता विभूतिहरू यो गल्लीमा पस्ता म लाजले पानी हुन्छु । लाज पचाउन उही युधिष्ठिरको कथा सुनाउने गर्छु— युधिष्ठिरलाई सोझै विमानमा स्वर्ग लगेपछि उनले आफ्ना भाइ, भतिजा, पत्नीको खोजी गरे । धर्मराजले विचारे आखिर अश्वत्थामा हतोहतः काण्डमा युधिष्ठिरबाट पनि सानो पाप त भएकै छ र यिनले पनि नर्कमा पुग्नसम्म त पर्छ नै । मौका यही हो भनेर नर्कमा आफ्नो पाप भोग्दै गरेका भाइ, पत्नी भएका ठाउमाँ पुर्‍याए । नर्कको वीभत्स रूप देखेपछि असह्य भएर उनले फर्कने आग्रह गरे । वास्तवमा त्यतिमै उनको सानो पाप कटनी भइहालेको थियो । त्यस्तै तपाईंहरूको पनि जीवनमा सानोतिनो पाप केही भए, यो गल्लीमा पसिसकेपछि त्यो काटियो र तपाईंहरू निख्खर हुनुभो । उनीहरू हाँस्दछन् । कतिले मेरो मन राख्न भनिटोपल्छन्— ‘अरे लीलबहादुरजी ! तपाईं बसेको यो गल्लीको माटो पनि शिरोधार्य छ ।’

अब आजसम्म एउटा स्थायी घर निर्माण गर्न नसक्नुमा मै जिम्मेवार छु । धेरजसो मेरो लेखक व्यक्तित्व, साहित्यिक व्यक्तित्व, सामाजिक व्यक्तित्व जिम्मेवार छ । म घरभित्र रहँदा, जहिले पनि कागज र कलम लिएर झोक्रिएको हुन्छु । घन्टौँ, दिनहुँ र महीनौँ झोक्रिँदा पनि लेखाइ तुरिँदैन । लेखाइमा अलि ढिलै छु म । बिसाउँदै लेख्ने गर्छु । मुड पनि पर्खनुपर्छ मैले । बसाइँजस्तो सानो उपन्यास समाप्त पार्न पनि झन्डै दुई वर्ष लाग्यो मलाई । महीनौँ बिसायो, लेख्यो, फेरि बिसायो । त्यसबाहेक लेखाइको क्रम पनि कहिले टुङ्गिँदैन । आज कसैको भूमिका, भोलि संस्मरण, पर्सि शुभेच्छा, कुनै स्मृतिग्रन्थ वा पत्रिकालाई रचना… यो क्रम अनन्त बगिरहन्छ ।

घरबाट बाहिर निस्केपछि शुरू हुन्छ सामाजिक यात्रा, साहित्यिक यात्रा, कहिले गोष्ठी, कहिले जयन्ती, कहिले समारोह, कहिले बैठक । कहिले विशिष्ट अतिथि, कहिले सभाध्यक्ष, कहिले निर्दिष्ट वक्ता । ओहो मैले जीवनलाई कसरी अनेकौँ बकम्फुसे कुरामा अल्झाउँदै आएको रहेछु ! धेरैले समाजसेवा, साहित्य सेवाभित्र पनि आफ्नो वैभव सम्पन्नतालाई मियो बनाएका हुँदा रहेछन् । म भने त्यसै मख्ख परेको हुँदो रहेछु । मलाई अरूले बिचरा सम्झेर औँलामा नचाउँदा रहेछन् र मबाट सक्दो काम लिँदा रहेछन् ।

लेख्नमा पनि आफ्ना सबै चाहिँदा पूर्ति गरेर मात्र लेखन कार्यतिर लाग्दा रहेछन् अरूहरू । मचाहिँ लेख्नैका निम्ति लेख्दो रहेछु । अनि नलेखी बस्नै नसक्ने भइसकेछु । अनि केको वास, केको गाँस ? घर न घाट, वास न गाँस भइसकेछ म र मेरो परिवार ।

आफ्नो बारेमा लेख्न वा आत्मकथा लेख्न जीवनमा केही उतारचढाव पनि हुनुपर्दाे रहेछ । केही विशेष घटनाहरू पनि चाहिँदा रहेछन् । मेरो जीवन त अति सहज–सरल, फेददेखि टुप्पैसम्म एकनास सलल्ल बितेर गएको छ । के लेख्नु ? म कुनै राजनीतिक नेता भएको भए, राजनीतिका दाउपेच, कूटनीतिक लडाइँका कुरा लेख्न सक्ने थिएँ । तर राजनीतिदेखि टाढै रहेँ । यता कुनै ठूलो व्यवसायी वा उद्योगपति भएको भए पनि ऐश्वर्य, वैभव वा व्यापारिक छल–प्रपञ्चका कुरा लेख्दा हुन्थ्यो । भएन, सैनिकै भएर युद्धमा परेको भए पनि युद्धविभीषिकाका अनेकौँ घटनाहरू रोचक बन्ने थिए । त्यस्तो केही छैन । एउटा शिक्षकको सादा–सीधा जीवन ।

म एउटा प्रहरीको छोरो । पिताजी असम पुलिसमा भर्ना हुनुभएको थियो गुवाहाटीमा । सन् १९२६ तिर हो क्यार ? म पुलिस लाइनमा जन्मेँ । आमा भन्नुहुन्थ्यो ‘छोरो भएको खुसीमा अन्नप्राशनको दिन छरछिमेकीलाई राम्रै भोज दिने विचारले पिताजीले एउटा खसी पाल्नुभएको थियो रे ।’ पिताजीलाई ज्योतिष शास्त्रमाथि ठूलो विश्वास । कुनै एक ज्योतिषीले भनिदिएछन्— चार वर्षको उमेरमा जीवनलाई नै खतरा पुग्ने छोराको ठूलो खट्को छ । त्यो खट्को टर्‍यो भने जीवन राम्रै बित्नेछ । यो कुराले मातापितालाई ठूलो चिन्ता पर्‍यो । अनि केको पास्नी ? बेचिदिनुभएछ खसी पिताजीले ।

घरबाट बाहिर निस्केपछि शुरू हुन्छ सामाजिक यात्रा, साहित्यिक यात्रा, कहिले गोष्ठी, कहिले जयन्ती, कहिले समारोह, कहिले बैठक । कहिले विशिष्ट अतिथि, कहिले सभाध्यक्ष, कहिले निर्दिष्ट वक्ता । ओहो मैले जीवनलाई कसरी अनेकौँ बकम्फुसे कुरामा अल्झाउँदै आएको रहेछु !

ज्योतिषको सत्यता हो या संयोग ! नभन्दै चार वर्षको हुँदा म सिकिस्त बिरामी भएछु । पिठ्युँमा ठूलो खटिरा भएछ, जसको टाटो अझ छँदै छ । कुनै निजी चिकित्सकले सानो टिनको पाताजस्तो अस्त्रले त्यो घाउ काटेर कोठै रक्ताम्य भएको म अलिअलि सम्झन सक्छु । आजभन्दा सत्तरी–बहत्तर वर्षअघिको शल्यचिकित्सा । त्यो पनि एक जना अनभिज्ञ डाक्टरको हातबाट । म हुरुक्क भएँ, प्राण झन्डै फुत्केको ! जे होस् बाँच्नु रहेछ, बाँचेँ ।

पुलिस लाइनको फेमिली क्वार्टरमा भएको बाल्यकालमा धेरै नारीहरूको मायामा म हुर्कें । एक जना सिपाही गोपीचन्द मगरकी पत्नीले त मलाई हुरुक्कै गर्थिन् रे ! त्यसैले मलाई हुर्काउन आमालाई उति गाह्रो भएन ।

त्यस बेलाको नेपाली मानसिकता त्यस्तो हो वा वर्णमा म अलि साँवलै भएर हो, चिनामा न्वारन गर्ने पण्डितले मेरो नाउँ लीलबहादुर वा लेखबहादुर राखिदिए पनि मातापिताले मेरो बोलाउने नाउँ ‘काले’ राखिदिएका थिए । स्थान, काल, व्यक्ति र परिस्थिति अनुरूप यो नाउँले पनि पछि विकास पाउँदै गएको छ । केही समयका निम्ति मेरो पितृथलो पहाड पुग्दा मेरी हजुरआमाले मलाई मायाले ‘काला’ भनेर बोलाउनुहुन्थ्यो । मेरा छिमेकी हितैषी अनेपालीहरू ‘कालु’ भन्ने गर्थे । पछि अलि ठूलो हुँदै गएर हाइस्कुल पढ्ने भएपछि मेरा केही विहारी मित्रहरू मान गरेर पाठशालामा ‘कालु बाबु’ भन्ने गर्थे । कतिले ‘काली बाबु’ पनि भन्दथे । तर यो बोलाउने नाउँ ‘काले’ ले कहिल्यै प्रवेश पाएन । नाउँ लीलबहादुर क्षत्री लेखाइएको थियो र यही नाउँ प्रचलित भयो । मेरा सहपाठी बालसाथीहरू ‘लिले’ भनेर हपार्थे ।

लीलबहादुरको केही अर्थ नलाग्ने भएर हो वा कसो हो मेरो नाउँ लेख्दा धेरैले भूल गर्थे । अझ गर्छन् । कसैले नीलबहादुर लेख्छन् । कसैले लीलाबहादुर अनि धेरैजसोले लालबहादुर लेखिदिन्छन् । यसरी नाउँमा भूल गरिदिँदा मलाई निकै चित्त दुख्थ्यो ।

कटन महाविद्यालयमा पढ्दा इतिहासका एक जना प्राध्यापक थिए । उनी श्रेणीमा प्रवेश गरेपछि छात्रको उपस्थिति लिँदा खाता हेरेर क्रमसङ्ख्या पुकार्दै जान्थे । अनि मेरो नम्बरमा आइपुगेपछि एकछिन अड्दथे र ‘लालबहादुर चेत्री’ भन्ने गर्थे । एक दिन मैले श्रेणीमै आपत्ति दर्शाएँ— ‘मेरो नाउँ लालबहादुर होइन, ‘लीलबहादुर’ हो सर ।’

उत्तरमा उनले हाँसेर भने— ‘गुलाब, गुलाबै हुन्छ चाहे जुनसुकै नाउँले त्यसलाई पुकारियोस् ।’

‘अब त्यसको केही उत्तर थियो त मसित ?’ अवश्य, त्यसपछि भने उनले उपस्थिति लिँदा नाउँ बोलाउन छोडे ।

पाँच वर्षको उमेर हुँदा मैले पिताजीबाट घरैमा नागरी (नेपाली) पढेँ । कपुरी ‘क’, पेट फार्‍यो ‘ख’ को ढाँचामा । पुस्तक थियो ‘ठूलो वर्णमाला ।’ त्यो पुस्तकले मलाई धेरै कुरा सिकायो । त्यसैबाट ‘सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी’ भन्ने स्तोत्र सिकेँ । ‘काटी दैत्य अनेक सुरका शिर मुण्डमाला धरी’ भन्ने कालीको श्लोक पनि सिकेँ । अझ कण्ठस्थ भन्न आउँछ । पिताजीबाट एक महीना नागरी सिक्दा साउँ अक्षर चिन्ने भएँ । नाउँ लेख्न र पढ्न सक्ने भएँ । शब्द र वाक्य रचना गर्न सक्ने भएँ । अनि संयुक्त अक्षरको पनि केही ज्ञान भयो । पिताजीको स्थानान्तरण शिलाङमा भयो । म शिलाङ पुगेर जेलरोड बंगाली हाइस्कुलमा ‘क’ श्रेणीमा भर्ना भएँ र दोस्रो श्रेणीसम्म चार वर्ष त्यही स्कुलमा रहेँ ।

घरभित्र नेपाली भाषा, ठेट नेपाली संस्कृति, नेपाली परिवेश अनि पाठशालामा बंगाली भाषा, बंगाली संस्कृति, बंगाली परिवेश ! मेरो स्थिति न घोडाको थियो, न गधाको । माझको खच्चर रूप थियो मेरो । तर नेपाली आखिर मातृसंस्कृति नै भयो, त्यसको प्रबलता छँदै थियो । त्यसैले स्कूलमा शिक्षकहरूले केही गाउन लाउँदा नेपाली गीत नै गाइदिन्थेँ म । सारा स्कूलमा म नै एक जना नेपाली छात्र थिएँ । तर आफू छुट्टै नेपाली भएकामा लघुताभासले मलाई कहिल्यै सताएन । परन्तु सदैव गौरवबोध नै भयो ।

पहाडले मलाई धेरै कुरा दिएको छ । सबैभन्दा ठूलो कुरा दिएको छ त्यहाँको प्राकृतिक दृश्यको रिमरिम सम्झना । त्यो मेरो मानसपटमा अमिट रूपले बसेको छ जसले मलाई धेरै कुरा लेख्ने प्रेरणा दिइरहन्छ । जीवन–यात्राको कण्टकमय पथमा बढ्ने प्रेरणा दिइरहन्छ ।

बडो विकट परिस्थितिको समय थियो त्यो । एकातिर जर्मनी नात्सेहरूको मै ठूलो । मै बुद्धिमानको घमण्ड । अर्कातिर त्यस घमण्डलाई तोड्ने मैत्री गुटको तत्परता । दोस्रो विश्वयुद्धका बादलहरू मडारिन थालेका थिए । मेघको गर्जन सुनिन थालेको थियो । सन् १९४२ को माझामाझी त युद्धले भीषण रूप लियो । जापानीहरू कोहिमासम्मै आइपुगे ।

यता भारतमा स्वाधीनता सङ्ग्रामको बिगुल पनि चर्कै स्वरमा बज्न थाल्यो । देशबाहिर नेताजी सुभाषको भारतीय राष्ट्रिय सैनिकको बिगुल, अनि देशभित्र बापूजीको असहयोग आन्दोलनको बिगुल । अहिंसाभित्रै धेरै हिंसात्मक घटना, दुर्घटना, मारकाट । स्कूल कलेजहरू बन्दप्रायः भए । ठाउँ–ठाउँ बम्बारीबाट बाँच्न बाटोमुनि खाल्डो खनिन थाल्यो । सुरक्षाको खोजीमा पिताजीले हामीलाई आफ्नै पितृथलो पहाड पुर्‍याउनुभयो ।

पहाड ! स्वच्छ, शान्त, स्थिर ! झन्डै एउटा गहिरो गुफाभित्र पसेर बसेको अनुभूति । न युद्धको हलचल थाहा पाइन्छ न आन्दोलनको स्वरूप बुझिन्छ । बेलाबेला उटपट्याङ हावा–हल्लाहरू सुनिन्छन्, लौ यसो भो रे, उसो भो रे । त्यस बेला न रेडियो न टेलिफोनको योगायोग । न यातायातको व्यवस्था, न सञ्चारको कुनै माध्यम । सातआठ वर्षको उमेरमा झन्डै सातआठ महीना पहाडको बसाइले मेरो ठूलो खति के भयो भने झन्डै दुई श्रेणी स्कूलको शिक्षामा पछि धकेलिनु पर्‍यो ।

पहाडले मलाई धेरै कुरा दिएको छ । सबैभन्दा ठूलो कुरा दिएको छ त्यहाँको प्राकृतिक दृश्यको रिमरिम सम्झना । त्यो मेरो मानसपटमा अमिट रूपले बसेको छ जसले मलाई धेरै कुरा लेख्ने प्रेरणा दिइरहन्छ । जीवन–यात्राको कण्टकमय पथमा बढ्ने प्रेरणा दिइरहन्छ ।

क्रमश :

तपाइँको प्रतिक्रिया

फेसबुक