शुक्रबार, वैशाख १४, २०८१

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकारकी सासुलाई बक्सिसमा राजदूत पद : कुटनीतिमा फेरि सासु–राजदूत शुरु

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ जेठ १ गते ८:१९

शुक्रबार अपरान्ह बिभिन्न ११ देशमा नियुक्तीका लागि सिफारिश राजदूतहरुको नाम आउँदा डेनमार्कका लागि प्रस्तावित सुमित्रा सुवेदीको नाममा परराष्ट्र मन्त्रालयकै कर्मचारीसमेत अलमलमा थिए । पूर्व राजदूतहरु, महिला संघ–संगठनका पदाधिकारीहरु पनि यो नाममा झुक्किएका देखिन्थे ।

यो नामका बारे प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार डा।राजन भट्टराईलाई सोधपुछ गर्न खोजिएपनि सम्भव भएन । परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, सचिव भरत पौड्याल, परराष्ट्रका प्रवक्ता सेवा लम्साल पनि प्रस्तावित महामहिम सुमित्राको नाममा बेखबर झैं रहे । को हुन् त सुमित्रा ? शनिबार बिहान मात्रै थाहा भयो—यी हुनेवाला महामहिम सुमित्रा सुवेदी भण्डारी त प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार डा।भट्टराईकी सासु आमा पो रहिछन् । प्रधानमन्त्री ओलीका अर्का स्वकिय सचिव इन्द्र भण्डारीकी काकी र सरकारकै मुखपत्र गोर्खापत्रका सल्लाहकार सम्पादक गोपाल खनालकी पनि आफ्नै सासु ।

यही कारणले पो सासु राजदूतका बारे जानकारी नखुलाइएको रहेछ । अहिले नै पनि जापानमा रहेकी राप्रपा कोटाकी राजदूत प्रतिभा राणालाई परराष्ट्र मन्त्रालयमा ‘सासु राजदूत’ भन्ने गरिन्छ । उनी कांग्रेस सभापति शेरबहादुर देउवाकी सासु भएकै कारण आफ्नो ४ वर्षे कार्यकाल पुरा भएर पनि ‘अर्को निर्णय नभएसम्म राजदूतै’ ररिहनेछिन् ।

प्रधानमन्त्री केपी ओलीले पछिल्ला वर्षमा मात्रै ‘धर्मपूत्री’ बनाएका कारण ओमानमा रहने फोरम लोकतान्त्रिक कोटाकी राजदूत शर्मिला ढकाल पराजुलीलाई ‘छोरी राजदूत’ भन्ने गरिएको छ जसको पनि ४ वर्षे कार्यकाल पुरा भएर पनि अनिश्चितकालसम्मै राजदूत रहने भएकी छिन् । यस्तै, प्रधानमन्त्री ओलीकै अर्की छोरी—राजदूतका रुपमा चिनिएकी इजराइलस्थित डा. अन्जान शाक्य पनि परराष्ट्र मन्त्रालयमा नाताबाद–कृपाबादकै कारण बढी प्रभावमा छिन् ।

अहिले आएर थपिएकी अर्की सासु राजदूत सुमित्रा सुवेदी झापाको दमकमा प्रधानमन्त्री केपी शर्मा ओलीकी छिमेकी हुन् । उनी दमकमा एक औषधी पसले, पुस्तक पसले र स्थानीय इट्टाभट्टा स्कुलकी गुरुआमा भनेर चिनिन्छिन् । तर, २ जना ज्वाइ र एक भतिजको प्रतापले उनी एकाएक डेनमार्कको राजदूतमा प्रस्तावित छन् । झापा–मोरङतिर काम चल्ने अंग्रेजी भाषाको दख्खल लिएर र सासु राजदूतको उपमा लिएर पहिलोपटक युरोपेली मुलुकको यात्रामा जाने भएकी छिन् ।

‘भाग्यमा छ भने डोकामैं दुध दोएपनि अड्छ भनेको यही हो,’सासु राजदूतका बारे परराष्ट्रका कर्मचारीबीच कुराकानी सुरु भएको छ—‘अब यसरी नै चल्नेछ, प्रधानमन्त्री ओली र परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको कुटनीति जसका बारेमा यो परराष्ट्र मन्त्रालयलाई भने थाहा हुने छैन ।’

यो चरणमा प्रस्ताव गरिएका अरु राजदूतहरुमा आइएनजीओका अगुवा गौरी प्रधानकी श्रीमती सुम्निमा तुलाधर (अष्ट्रेलिया), अंग्रेजीका प्राध्यापक कृष्णचन्द्र शर्मा (दक्षिण कोरिया), जंगवहादुर –जंगब चौहान (रूस), मेराज मुसलमान (साउदी अरेबिया), युवराज कार्की (बहराइन), रमेशचन्द्र पौडेल (श्रीलंका), निर्मलराज काफ्ले (अष्ट्रिया), कुलप्रसाद नेपाल (ब्राजिल), जीवनप्रकाश श्रेष्ठ (इजिप्ट) र नारायणप्रसाद संग्रौला (बर्मा) छन् । यीमध्ये अष्ट्रिया र इजिप्टका लागि सिफारिशमा परेका राजदूत मात्रै परराष्ट्र मन्त्रालयका सहसचिव हुन् ।

सत्य तथ्य समाचारकालागि नेपालप्लस डटकको फेसबूक पेज यहाँ क्लिक गरेर लाईक गर्न नभुल्नुहोला ।

तपाइँको प्रतिक्रिया