शनिबार, असोज ९, २०७८

समस्या अक्सिजन र सिलिण्डरको होइन व्यवस्थापनको

डा. सभाना प्रधान२०७८ जेठ २ गते ११:३३

पहिल्यै प्रष्ट पारुँ, म सरुवा रोगको चिकित्सक होइन । म महिला रोग तथा प्रसुति सम्बन्धी चिकित्सक हुँ । मेरो आफ्नै घरभित्र घटना भएपछि, मेरो टोल छिमेकमा नांगा आँखाले महामारीको प्रत्यक्षदर्शी भएको नाताले बोल्नैपर्ने भयो । एक सचेत नागरिक भएको नाताले बोल्नु मेरो दायित्व र कर्तव्य पनि हो ।

म काठमाडौंमा कार्यरत छु । मेरा नातागोता सबै यहीं हुनुहुन्छ । साठी आसपासको मेरो फुपूको छोरा जो नियमित व्यायाम गर्ने, खेलकूदमा रुचि राख्ने र अभ्यास गर्ने,शारिरीक रुपमा दुरुस्त हुनुहुन्थ्यो उहाँले मलाई फोन गर्नुभयो । ज्यान रनक्क तात्यो भन्नुभयो । घर नजिकै भएकोले गएँ । ज्वरो आएको रहेछ । उहाँलाई अरु कोभिडको संकेत खासै थिएन । प्यारासिटामोल खाएर घरमै बस्नुभयो । म नियमित काममा हिडें ।

बेलुकीपख उहाँको स्थिति बिग्रन थाल्यो । ‘घाँटी दुख्यो । सास फेर्न गाह्रो भयो’ भन्नुभयो । बेलुकीसम्म त उहाँको श्रीमती पनि सिकिस्त, छोरी पनि सिकिस्त । आर्थिक रुपमा नपुग्दो केही थिएन । मैले सबै अस्पतालहरुमा सम्पर्क गरें । कतै पनि बेड खाली नभएको जानकारी पाएँ । दाइलाई अक्सिजन दिनुपर्ने थियो, अक्सिजन त झनै नपाइने स्थिति भयो ।

गाडीमा राखेर हस्पिटल चाहार्दा चाहार्दै २४ घण्टाभित्रै दाइ बित्नुभयो । भाउजू अहिले आइसियूमा हुनुहुन्छ । छोरीलाई अक्सिजन दिएर राखिएको छ । स्वास्थ्य क्षेत्रमा कार्यरत, काठमाडौंमै पढे बढेको मेरो अवस्था यस्तो छ भने सामान्य कहीं कतै पहुँच नभएका जनताहरुको अवस्था कस्तो होला ? आफै कल्पना गर्नुस् ।

सरकारी अस्पतालहरुले सकेको गरिरहेकै छन् । निजी अस्पताल भित्र के कसो भैरहेको छ ? कसैले सोधखोज पनि गरेको छैन र वास्तविकता के हो ? कसैलाई थाहा पनि छैन ।

दाइ बितेपछि म आफैले गरेको सामान्य रिसर्चमा नेपालमा अक्सिजन र सिलिण्डर दुवैको सर्टेज छैन । यी दुवै पहुँच भित्रकै कुराहरु हुन् । तर सरकारले यसको व्यवस्थापन नै गर्न सकिरहेको छैन । गर्न सकिरहेको छैन मात्र हैन गरेकै छैन । म आजको मितिसम्मको कुरा गरिरहेकी छु । हो अस्पतालहरुले पर्याप्त अक्सिजन नभएपछि वास्तविकता भनेका हुन् । सिलिण्डर नभएपछि सिलिण्डर चाहियो भनेका हुन् । तर, सिलिण्डरहरु कहाँ गएका छन् ? के राज्यसँग आफूसँग कति सिलिण्डर कहाँ कहाँ छन् ? थाहा हुनुपर्दैन ?

लौ त्यो त परको कुरा भयो । अक्सिजन भरेर दिने प्लान्टहरुमा अक्सिजन भर्न आएकाहरु कसका लागि, किन, कतिखेप भर्न आएका हुन् ? त्यसको तथ्यांक राख्न पर्दैन ? प्रहरीहरु त भीडभाड नहोस् भनेर भीड नियन्त्रणका लागि बसेका हुन् । काठमाडौंमा चर्चा छ, सम्भ्रान्त, पहुँचवाला र नेताहरुको घरमा सिलिण्डरहरु लुकाइएको छ । लुकाइएको छ भने, प्रहरीहरु परिचालन  गरेर निकाल्नुपर्दैन ? कि होइन भने व्यवहारमै त्यसको पुष्टि गर्नुपर्दैन ?

मानिसहरु आत्तिएका छन् । कोलाहल छ । म सरकारको कटू आलोचना यसकारण गरिरहेकी छु कि सरकारले विपद व्यवस्थापनको यत्रो समय आफ्नो सत्ताको खेलमा बितायो । लौ त्यो समय त गयो गयो । अहिले पनि तत्कालको लागि चुस्त दुरुस्त टिम बनाएर काम गरेकै छैन । वीर अस्पताल छेउकै भवन हेनोस् त, अस्पताल भरिइसके । तर सरकारले त्यत्रा बेडहरु त्यत्तिकै राखिरहेको थियो । सरकारलाई नीतिगत नियम, कानून, दफा उपदफामा खेल्ने छुट छ यो महामारीमा ? महँगै परोस् तर अस्पताललाई चाहिने अत्यावश्यक सामाग्री ल्याउन पहल गर्नु त सरकारको दायित्व होइन र ? अनि त्यसको उचित बन्दोबस्त गर्नु सरकारको कर्तव्य होइन र ? लकडाउन गरेर मात्र हुन्छ र ?

सरकार यो महामारीको व्यवस्थापनमा असफल भएको छ । म अझै पनि भन्छु, सरकारले चाह्यो भने अक्सिजन वितरणको उचित बन्दोबस्त र सिलिण्डरको पहुँच सबैतिर पुर्याउन सक्छ । माथिबाट आदेश दिएर मात्र काम हुन्न, जिम्मेवार मानिसहरु आफै मैदानमा उत्रिनुपर्छ । इच्छाशक्ति समाप्त भएका नेता र तिनैलाई यो मुलुकको परिवर्तनकारी शक्ति मानेर ताली बजाउने जनता हुँदासम्म मर्ने भनेको सिधासाधा जनता नै रहेछन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक