शुक्रबार, वैशाख ७, २०८१

पाल्पामा प्रमुख जिल्ला अधिकारी आफै निस्किए सिलिण्डर खोज्न

भगवान भण्डारी / पाल्पा२०७८ जेठ २ गते १२:२७

पाल्पाका अस्पतालहरुले अक्सिजनको कमी देखाएर भर्ना लिनै बन्द गर्न थालेपछि प्रमुख जिल्ला अधिकारी योगेन्द्र पाण्डेको नेतृत्वमा प्रहरीहरुको टोलीले सम्भावित ठाउँहरुमा पुगेरै ११२ वटा अक्सिजनका सिलिण्डर जम्मा गरेको छ ।

प्रमुख जिल्ला अधिकारी सहित जिल्लाका एसपी सन्तोष भट्टराईको नेतृत्वको समूहले जिल्लाका ग्याँस प्रयोग हुने साना ठूला उद्योग, ग्यारेजहरुमा खोजविन गरेको थियो ।

यसरी जम्मा गरिएका सिलिण्डरहरु पाल्पा अस्पताललाई ३७, लुम्बिनी मेडिकल कलेजलाई ३० र मिशन अस्पताललाई २० वटा दिइएको थियो । बाँकी जिल्लाको विशेष कोभिड अस्पतालको लागि छुट्याइएको छ ।

जिल्लामा संक्रमणको दर निकै बढिरहँदा छिमेकी तराईका जिल्लाहरु रुपन्देही, नवलपरासी, कपिलवस्तुबाट ठूलो संख्यामा कोभिडका बिरामीहरु पाल्पा आएका छन् ।

त्यस्तै, स्याङ्जा, गुल्मी र अर्घाखाँचीबाट पनि बिरामीहरु आउने ठाउँ तानसेनकै अस्पताल हुन् । यसरी आउँदा अस्पतालहरुलाई थेग्न निकै गाह्रो परिरहेको छ ।

प्रजिअ योगेन्द्र पाण्डेले जिल्लामा अक्सिजनको अभाव भएको र त्यसको पूर्तिको लागि बारा, रुपन्देही लगायत सम्भाव्य जिल्लाहरुका प्रमुख जिल्ला अधिकारीहरुसँग समन्वय गरेर ल्याउने काम भइरहेको बताए । तर सबैतिरको चापका कारण आफूहरुलाई जिल्लाका अस्पतालहरुमा अक्सिजन पुर्याउन निकै गाह्रो भइरहेको भनाई उनको छ ।

उनले भने “जिल्लामा अक्सिजन प्लान्ट छैन । छिमेकी जिल्लामा पालो कुरेर ल्याउँदा ढिलो भइरहेको छ । अक्सिजनको चरम अभावले हामीहरु तनावमा छौं । जिल्लाका सम्भाव्य सबै ठाउँहरु खोजेर यौटा मात्रै सिलिण्डर भए पनि जम्मा गरिरहेका छौं ।”

तपाइँको प्रतिक्रिया

फेसबुक