शुक्रबार, वैशाख ७, २०८१

‘पहिले आमा प्रतिभाले काठमाडौंबाटै टोकियो हेर्थिन्, अहिले छोरी आरजू टोकियोबाट काठमाडौं हेर्दै

कहिले सासुको पालो, कहिले बुहारीको

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ जेठ ३ गते २०:१५

हरेक समस्या र संकटमा एउटा ‘अवसर’ पनि लुकेको हुन्छ, यो सबैले जानेबुझेकै कुरा हो । जस्तो— अहिलेको कोरोना संक्रमणमा ब्यापारीले भ्याक्सिनमा दलालीको अवसर उठाइरहेका छन्, हेलिकोप्टर मालिकले चर्को भाडादरको अवसर लिइरहेका छन् । अस्पताल, एम्बुलेन्सदेखि आर्यघाटसम्म ‘अवसर’ कुरिरहेकै छन् ।

कोरोना संक्रमण र संकटकै माझ ठीक एक वर्षअघि देखापरेको एउटा ‘अवसर र बहानाबाजी’को घटना अहिले कोरोनाको दोस्रो कहरमा दोहोरिएको छ, त्यो पनि आफ्नै घरपरिवारमा । यो संयोग हो— कुटनीतिमा ‘सासु राजदूत’ भनेर चिनिएकी जापानस्थित राजदूत प्रतिभा राणा र उनैकी छोरी एवं चार पटकसम्म ‘फस्ट लेडी’ भैसकेकी डा. आरजू राणा देउवाको । पोहोर कोरोना संक्रमणका बेला झण्डै ३ महिनासम्म काठमाडौंमा आफ्नै स्वास्थ्य सुरक्षा र सावधानी अपनाएर बसेका बेला टोकियोस्थित दूतावासको जिम्मेवारीसमेत काठमाडौंमा आफ्नै साथमा लिएर आएकी थिइन् । ‘म भर्चुवल सम्पर्कमा छु, जापानमा रहेका नेपालीको समस्याबारे काठमाडौंबाटै डिल गर्दैछु’ भनेर सासु राजदूतले केही मिडियामा अन्तर्वार्ता दिएपछि यी ‘थपना’ राजदूतको उछित्तो काढ्न सुरु भयो ।

नेपालले अन्तर्राष्ट्रिय हवाइ उडान बन्द गरेको र आवाथजावत बन्द गरेकाले आफू काठमाडौंमैं अड्किएको बहानाको जवाफ दिएपनि बिभिन्न ‘चार्टर’ उडानहरु चलिरहेकै बारे सासु राजदूतले सरासर ढाँट्न चाहेकी थिइन् । ‘के म चरा हुँ र उडेर जाउँ ?’ भन्ने खालको जवाफ दिइरहेका बेला आफ्ना ज्वाई एवं कांग्रेस सभापति शेरबहादुर देउवामार्फत प्रधानमन्त्री, परराष्ट्र मन्त्री सबैतिर भनसुन गराउँदै सासु राजदूतले अनौठो कुटनीतिक कार्यभार सम्हालिरहेकी थिइन् । आश्चर्य यो छ, राष्ट्रिय प्रजातन्त्र पार्टीको कोटामा परेर सेवासुविधाका हिसाबमा एक नम्बरको कुटनीतिक नियोगमा पोष्टिङ पाएकी सासुआमा प्रतिभाको दौडधुपले काम नचलेपछि उनी बैशाखको दोस्रो सातामा चार्टर फ्लाइट लिएर टोकियो फर्किएकी थिइन् ।

अब अहिले आएर छोरी डा. आरजूको पालो आएको पाइयो । ‘हिपबोन’ सम्बन्धी समस्या लिएर उपचारका लागि ५ महिनाअघि टोकियो पुगेकी आरजू राणाले आइतबार मात्रै एउटा फेसबुक भीडीओ सार्वजनिक गर्दै भनेकी छिन्— म हवाइ उडानहरु रोकिएका कारण टोकियोमा अड्किएकी छु । कोरोना बिरुद्धको लडाइमा मेरो सक्ने सहयोग रहनेछ ।

के सहयोग, कस्तो सहयोग भन्ने खुलाउन नसकेपनि र नचाहेपनि देउवा परिवारका एक सदस्यका अनुसार धनगढी उपनगरपालिकाले स्थापना गर्ने भनिएको अक्सिजन प्लान्टका लागि केही सहयोग गर्ने मनसाय डा.आरजूले देखाएकी रहिछन् । यो राम्रो र सकारात्मक कुरा हो । तर, आफू नेपाली राजनीति र समग्र पद्धतीकै केन्द्रमा रहेको नाइकेझैं गरेर ‘देश र देशबासीका लागि मैंले केही गर्नेछु’ भनेर अनौठो सन्देश प्रवाह गर्नुको कारण के ? यस्तो भ्रम किन फैलाउनुपरेको होला ? जबकि बिगतका ठूला संकट, भुकम्पदेखि गत वर्षकै कोरोना कहरसम्म पनि सामाजिक रुपान्तरण हुनेगरीकै केही सहयोग आरजूले गरेको सूचना कहींकतै आएको पाइन्न ।

अर्कातिर, आफ्नो ४ वर्षे कार्यकाल पुरा भएर पनि थमौतीमा परेकी सासु राजदूत प्रतिभाको पदावधी ‘अनिश्चितकालिन’ लम्बिएको हल्ला फैलाएपनि उनको अबको अवधी असोज १४ सम्म मात्रै रहेको सूचना परराष्ट्र मन्त्रालयले दिएको छ । सम्भावत सत्ता हेरफेर वा चुनावी सरकारको पालो आएपछि मात्रै घर फर्काउने सर्तमा सासु राजदूतको अवधी थपिएको हुन सक्ने अनुमान छ । कुनै उल्लेख्य कार्यसम्पादन वा कुटनीतिक उपलब्धीभन्दा पनि ७७ वर्षिया राजदूत प्रतिभा राणा र उनकी ५९ वर्षिया छोरी डा. आरजूको हेरचाहमैं टोकियोस्थित नेपाली दूतावास खटिएको स्थिती देखिएको छ ।

आरजूले बोलेको भिडियो हेर्नुस्

तपाइँको प्रतिक्रिया

फेसबुक