शनिबार, वैशाख ८, २०८१

गुल्मीमा अक्सिजन प्लान्ट र आईसीयू निर्माण हुने

गगनशिला खड्का / गुल्मी २०७८ जेठ ३ गते २२:२१

सरकारले गुल्मीमा अक्सिजन प्लान्ट स्थापनाका लागि एक करोड विनियोजन गरेको छ । जिल्ला अस्पताल तम्घासमा अक्सिजन प्लान्ट निर्माणका लागि अर्थ मन्त्रालयबाट एक करोड विनीयोजन भएको परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले जानकारी दिए ।

‘गुल्मी जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने प्रयोजनका लागि अर्थ मन्त्रालयबाट रू एक करोड़ विनियोजन गरिएको छ’, गुल्मी क्षेत्र नं। १ का सांसद समेत रहेका ज्ञवालीले भने ।

कोरोना भाइरसको संक्रमणका बिरामीलाई अक्सिजन अभाव भएको समाचार पछि मन्त्री ज्ञवालीले जिल्ला अस्पतालमै अक्सिजन प्लान्ट स्थापना गर्न पहल गरेका थिए ।

पाँच बेडको आइसीयु स्थापना

मन्त्री ज्ञवालीका अनुसार अस्पतालमा ५ बेडको आइसीयु स्थापनाका लागि थप रकमको प्रबन्ध गरिँदै छ ।

कोभिडका बिरामीलाई उपचारका लागि समस्या हुन नदिन र ठूलो खर्चमा अन्यत्र लैजानु पर्ने अवस्था आउन नदिनका लागि आईसीयू स्थापना गर्न पहल गरिएको उनको भनाई छ ।

त्यसका साथै जिल्लाको रुरु, श्रृंगा, जोहांग (खैरेनी) र धुर्काेट प्राथमिक स्वास्थ्य केन्द्रका लागि आवश्यक स्वास्थ्य सामग्री पठाउने प्रबन्ध हुने पनि मन्त्री ज्ञवालीले बताए ।

यस प्रक्रियामा महत्वपूर्ण सहयोग पुर्‍याउने अर्थमन्त्री र स्वास्थ्यमन्त्री लगायत सबै सहयोगीहरूलाई उनले धन्यवाद दिएका छन् ।

कोरोना भाइरसको महामारी शुरु भएपछि गत वर्ष मन्त्री ज्ञवालीको पहलमा गुल्मीमा निःशुल्क पीसीआर मेसिन उपलब्ध गराइएको थियो ।

तपाइँको प्रतिक्रिया

फेसबुक