शुक्रबार, वैशाख १४, २०८१

एक हप्ता घरबाहिर ननिस्कन नगरपालिकाको उर्दी, मजदूरी गर्नेले खाने के ?

नेपालप्लस संवाददाता / गैंडाकोट२०७८ जेठ ४ गते १५:०७

गैंडाकोट नगरपालिकाले आज देखि लागु हुने गरी नगरका सबै वडामा लकडाउन घोषणा गरेको छ । नगरपालिकाले लकडाउन आगामी एक हप्ताका लागि हुने जनाएको छ । नगरमा बितेका एक हप्ता यता संक्रमितहरुको चाप अविश्वासनिय रुपमा बढेपछि नगरपालिकाले यस्तो निर्णय गरेको हो ।

नगरमा सकृय गैर सरकारी संस्थाहरुको अनुमान अनुसार करिव सत्तरी प्रतिशत नगरवासीहरुमा कोरोनाका लक्षणहरु देखिएका छन । नगरपालिकाले अत्यावश्यक वस्तु औंषधी, दुध र पानी वाहेक अन्य सामाग्रीहरु बेचबिखनमा समेत बन्देज लगाएको छ ।

लकडाउन अवधिमा फोहर ब्यवस्थापन बाहेक नगरपालिकाका सम्पूर्ण कामहरु बन्द रहने छन । पालिकाको सुचनामा बैंकहरु सिमित कर्मचारी राखेर दैनिक दुई घण्टाको लागि खुल्ला राखिने छ । यो एक हप्ता भरी कुनैपनि नागरिकहरुलाई बाहिर ननिस्किन आग्रह गरिएको छ । तिब्र रुपमा शहरोन्मुख हुँदै गरेको यो पालिकामा मजदुर र कामदारहरुको निकै ठुलो संख्या रहेको छ । ति दिनभरिको मजदुरी पछी मात्रै बेलुकाको छाकको जोहो गर्न सक्छन । त्यस्ता जमातको खानपिन सुरक्षाका लागि भने पालिकाले कुनै कार्यक्रमहरुका बारेमा जनतालाई सुचित गरेको छैन । स्थानिय सामाजिक संस्थाहरुले नगरपालिकाले राहतका कुनै कार्यक्रम नल्याउनु दु:खद रहेको बताएका छन ।

उनिहरुले नगरपालिकाले सामाजिक सँस्थाहरु सँग सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा हुकुमी शैलीको सुचना जारी गर्नु हाँस्यास्पद रहेको बताए । स्थानिय संस्था विजय बिकास श्रोत केन्द्रले चौंविसै घण्टा एम्बुलेन्स सेवा चलाएको छ भने आइसोलेशनमा रहेका परिवार र मजदुरहरुलाई आफ्नै भान्सामा उत्पादन गरेको खाना प्याकिङ गरेर घर घरमा पुर्याउने ब्यवस्था मिलाएको छ । यो संस्थाले डाक्टरहरुसँग समेत परामर्श गराइरहेको छ ।

तर नगरपालिकाले ल्याएका कार्यक्रमहरुका बारेमा आफुहरुलाई केही जानकारी नभएको केन्द्रका कार्यक्रम निर्देशक केशव सापकोटाले जनाए । उनले भने “हामीले नगरपालिकासँग सहकार्य गरेर राहत प्याकेज ल्याउनका लागि निकै पहल गर्यौं । तर कुनै प्रगती हुन सकेन । यस्तो महामारिका बेला नगरपालिकाले सामाजिक संस्थासँग सहकार्य गर्नुको साटो झन उल्टो भएको छ । देखिने गरी राहत कार्यक्रम नआउनु दु:खद छ ।”

नगर प्रमुख छत्र पौडेलले नेपालप्लससित सम्पर्क गर्न चाहेनन । तर उपप्रमुख बिष्णु कँडेलले नगरपालिकाले राहतका कार्यक्रम पनि सँग सँगै ल्याएको बताइन् । उनले भनिन- नगरपालिका कै पहलमा आइसोलेशन सेन्टर, स्वास्थ्य परामर्श र निशुल्क पीसीआर परिक्षण भइरहेको छ ।” कँडेलले कसैले पनि खाना खान नपाउने अवस्था आएमा वडा कार्यालयमा संपर्क गर्न आग्रह गरिन् ।

तपाइँको प्रतिक्रिया