बिहीबार, चैत १५, २०८०

ईतिहाँस बोकेर अस्ताए, गणेशमान सिंहका साथी ‘चराबाजे’

ददि सापकोटा२०७८ जेठ ५ गते १८:०५

हरी शरण नेपाली ‘काजी दाई’ । फोटो- राजेन्द्र सुवालको फेसबुक

जिवजन्तु, प्रक्रिति संरक्षणका मेरा गुरु, सबैभन्दा बढि हौसलाकर्ता राजेन्द्र सुवाललाई एक दिन उनैको घरमा गएर भनें ‘दाई, मलाई एक पटक भएपनि हरिशरण नेपाली ‘काजी दाई’ सित चरा हेर्न जान मन छ ।’ राजेन्द्र दाई मुसुक्क हाँस्नु भो ‘हुन्छ नी, कुनै दिन मिलाउँला ।’

राजेन्द्र दाईसित हप्तै पिच्छे भेट हुन्थ्यो । प्रत्यक्ष नभए फोनमा कुराकानी त हुन्थ्यो हुन्थ्यो । कहिले दिनमै तिन चार पटकसम्म हुन्थ्यो । जिवजन्तुका कुनैपनि कुरामा रिपोर्टिङ गर्दा, जाँच्नुपर्दा, अड्किएका बेला, कुनै विशेष घटना हुँदा राजेन्द्र दाईलाई तत्कालै भेट्ने वा फोनमा कुराकानि गरेर म जाँच्ने, लेख्ने गर्थें । उहाँ मेरो निकट हुनुहुन्थ्यो । त्यो निकटताकाकारण केहि महिनापछि फेरि संझाएँ ‘खै त दाई, हरिशरण दाईसित जान पाइएन त ।’ दाईले भन्नु भो ‘काजीदाई एकदम ब्यस्त के । अलि सन्चोपनि छैन । चिसोमा निस्किन हुन्न ।’

केहि समयपछि राजेन्द्र दाईले फोन गर्नु भो ‘ददि, ल काजी दाईसित चरा हेर्न जाने भए यो शनिवार मिलाउनु । टाढा त हुन्न नजिक नजिक कतै ।’

विहानै हामी केहि साथीहरु हरिशरण नेपाली ‘काजी दाई’ को क्षेत्रपाटी चोकैको घर पुग्यौं । ‘ए उहाँहरु ?’ काजी दाई फिस्स हाँस्नु भो । ‘ल चिया खाएर जाउँ’ हरित चिया (ग्रीन टि) बनाएर उनकी सायद जेठी छोरी अम्बिकाले ल्याईउनु भयो । काजी दाईले परिचय गराउनु भो ।

उहाँकी छोरी अम्बिकापनि नेपालको प्रथम महिला चरा अवलोकनकर्ता भनेर चिनिएकि त्यसबेला । केहिबेर उनीसितपनि कुराकानी भयो । चिया सकिनासाथ काजी दाईले भित्तामा झुण्ड्याएको दूर्बिन झिक्दै भन्नु भो ‘दुर्बिन सुर्बिन छ त ?’

‘छ दाइ’ ।

‘ल हिँडौं, ढिलो गरेपछि घाम चर्किन्छ, चराहरु भाग्छन् । टाढा त जाने होइन, त्यहि स्वयम्भुको वरिपरि जाउँ ।’

क्षेत्रपाटीबाट डल्लु हुँदै लखरलखर हामी स्वयम्भुतिर लाग्यौं । शनीवार भएपनि मान्छेको भिड उति थिएन । माघको जाडोमा कुहिरो डम्म लागेको थियो । केहिबेरमा कुहिरो फाट्यो । चराहरुको कारकुर, चिरबिर, गुर्र गुर्र सुनिन थाल्यो ।

अनावस्यक कुरा बोल्दैन नबोल्ने । बोल्यो कि प्रक्रिति, चराको आनीबानी, अन्य जंगली जिवका अनेक प्रसंग खासै ठूलो होइन झैं गरेर सुनाउने बानीका काजी दाईले केहि चरा देखाउनु भो । उहाँले साना गित गाउने चराको आवाज फरक समय, याम, उमेर, परिस्थितिमा फरक हुन्छ भन्ने कुरो राम्रोसित ब्याख्या गर्नुभयो । त्यो विहान करिब डेढ घण्टा हामी हरिशरण दाईसित स्वयम्भुको जंगल वरिपरि फन्को मार्‍यौं ।

चरा यस्सो देखिन्छ, हेर्न नभ्याउँदै भागिहाल्छ । राम्रोसित हेर्न पाएको भए पो चिन्ने ! हामीले दूर्बिन सोझ्याएको सोझ्याइ गर्दापनि हेर्न नभ्याउने । काजी दाईले भने यस्सो चरो उडेको, चराले फार्र फुर्र गरेकै भरमा ‘यो चरा हो’ भनेर ट्याक्क ट्याक्क भन्नुभो । हामी चकित पर्‍यौं । लागिरह्यो ‘यस्तरि चरा कसरि चिन्ने होला ? कसरि जानिन्छ होला राम्रोसित चरा नदेखिकनै चिन्ने हुन ?’

घरबाट निस्किएपछि स्वयम्भुको जंगल पुगिवरि चरा हेरेर काजी दाईको घर फर्किँदा लगभग चार घण्टा बितेको हुँदो हो । त्यो पहिलो दिनमै यति धेरै रोचक प्रसंग सुनाउनु भयो कि हामी अचम्मित पर्‍यौं ।

डेढ दुई घण्टा स्वयम्भुको वनमा चरा अवलोकन गरेपछि त्यहि बाटो हामी फेरि क्षेत्रपाटीनै फर्कियौं, काजी दाईकै घर अगाडि । ‘चिया खाएर जाने कि ?’ काजी दाईको प्रस्तावलाई हामीले स्विकार नगरि घरतिर लाग्यौं ।

त्यस दिनदेखि काजी दाईसितको संपर्कमा निरन्तरताको बिउ रोपियो । आफू त्यतिखेर जिवजन्तु, प्रक्रितिको विषयमा पत्रकारिता गरिरहेकाले काजी दाई गज्जबको स्रोत थपिनुभयो । मैले बेला बेला काजी दाईलाई फोन संपर्क गरेर त्यो नाता झ्याँगिने बनाउन खोजें । कहिल्यै झिझो नमानी सोधेका कुराको जवाफ दिनुहुन्थ्यो ।

काजी दाई बेला बेला भन्नुहुन्थ्यो ‘होइन भेटेरै कुरा गरौं न । फोनमा कुरा गर्दा यताउतिपनि पर्नसक्छ । हामीले भनेको र तपाईले लेखेको कुरा तलमाथि पर्नुहुन्न ।’ त्यसपछि म समय मिलाएर काजी दाईको घरै जान थालें ।

दोस्रो पटक उहाँको घर पुग्दा म अचम्मित परेको थिएँ । उहाँको एउटा कोठामा मानसम्मान, पुरस्कार, बधाईका थुप्रै तस्विर, सामाग्रि थिए । एकातिर बिभिन्न चराका ट्याक्सीडोर्मी (म्रित चराको शरिरको भित्री अंग फालेर छाला राखि बाहिरबाट हेर्दा त्यसलाई जस्ताको त्यस्तै देखिने बनाउने कला) थिए । डाँफे, कालिज, पानी चरा यस्तै चरा भर्खरै दगुर्लान जस्तै । ति चराका बारेमापनि उहाँले सुनाउनु भयो ।

त्यहि भित्ताको एक ठाउँमा गणेशमान सिंहसँगै उहाँको फोटो एउटा फ्रेममा झुण्डिरहेको थियो । ‘ओहो गणेशमानजी सितपनि हुनुहुँदो रैछ त दाई हजुर त’ मैले भनिहालें । काजी दाईले खासै ठूलो प्रतिक्रिया दिनुभएन ‘हो, कोशी नदीमा डुंगा चढेको बेलाको सँगै ।’ त्यसबारे उहाँले खासै थप बताउनुभएन ।

तर मेरो मनमा एउटा खुल्दुलीले बाटो छोड्न मानेन ‘गणेशमान सिंहसित कसरि, के प्रसंगमा काजी दाइ ? के प्रशंगमा कोशी नदीमा डुंगा चढेका ?’

राजेन्द्र दाईसितको भेटमा मैले सुनाएँ ‘दाई, काजी दाई र गणेशमानजीको फोटो रैछ नी ! कोशी नदीमा ठूलो डुंगामाथि उभिएका ।’

‘हो त, गणेशमानसित दोस्ती थियो नी दाईको ।’ म अचम्म परें । सर्वमान्य भनिएका गणेशमानसित घुम्न गएकोपनि काजीदाईले खासै केहि बताउनुभएन ।

‘केहि सुनाउनुभएन त हामीलाई’ मैले फेरि राजेन्द्र सुवाल दाईलाई भनें । ‘काजी दाईको बानी जति सोध्यो त्यत्ति भन्ने छ । गफ लगाउने बानी छैन । त्यस्तो गफ लगाउने भए त दाईको अवस्था अर्कै हुन्थ्यो नी’ राजेन्द्र दाईले सुनाउनु भयो ।

त्यहि दिन मैले राजेन्द्र दाईसित गणेशमान सिंहसितको प्रसंग अल्कति कोट्याएर मनको थैलाभित्र राखें । त्यसको केहिदिनपछि फेरि काजी दाईसित उहाँकै घरमा भेट भयो । त्यसदिन मैले प्रशंग निकालें गणेशमानसिंह सितको ।

चरा अवलोकन गर्दै काजी दाई

काजी दाई नेपालका विभिन्न ठाउँ चाहारिरहनुहुन्थ्यो । खागी रङको कमेज । खागीकै प्यान्ट । टाउकोमा खागीकै छत्री जस्तो ह्याट । हातमा दूर्पिन र अर्को एउटा दूरदर्शक यन्त्रपनि । पानीको तुम्लेट छुट्थेन । चाक्सीबारी निवाशी गणेशमानलाई त्यसबारे थाह नहुने कुरै भएन । गणेशमान सिंहले चासो राखिरहने रहेछन् ‘कहिले लाने हो त हाम्लाई घुमाउन ?’

उहाँले त्यहि भेषमा गणेशमान सिंहसित पूर्वको यात्रा गर्नुभएछ । गणेशमानलाई जंगल घुमाउन, जिवजन्तु र चराका बारेमा सुनाउन, देखाउन लैजानुभएको । चितवन, हेटौंडा हुँदै झापातिरको जंगलबाट पसेर सुनसरीसम्म घुमेको प्रसंग सुनाउनुभयो । गणेशमानलाई प्रक्रिति संरक्षणका कुरा सुनाएको, चरा देखाएको पनि उहाँको मनमस्तिस्कमा छचल्किएकै थियो ।

काजी दाईसितको अर्को भेटमा उहाँले त्रिसुलीको बट्टारमा चराको शिकार गर्न जाँदाको रमाईलो प्रसंगपनि सुनाउनुभयो ।

विहानै उठेर उहाँ चराको शिकार गर्न जानुभएछ । चरा हान्नु भयो । ड्याम्मै लागेपछि चरो भुइमा फुत्रुक्क झर्‍यो । चरो टिप्न रुखको फेदमा काजी दाई । त्यहि रुखको फेदमा डुक्रिएर बसेको चितुवासित जम्काभेट भयो । चरो चितुवाको छेउमै खसेको रहेछ । चरो टिप्न खोज्दा चितुवा ह्वाङ्ग कराएर झम्टियो । संयोगबस अत्तालिएको चितुवा टाप कस्यो ।

हो, हरिशरण दाई शुरुमा सोखका रुपमा चराको शिकार खेल्नुहुन्थ्यो । त्यहि शिकार खेल्दाखेल्दै उहाँ चराविद हुनुभयो । विश्वका पुराना धेरै चराविद शुरुमा शिकारी हुनेगर्थे । उहाँ नेपालको प्रथम चराविद हुनुहुन्छ । नेपालका चराबारे पहिलो गम्भिर अध्ययन र किताबनै लेख्ने एल आर फ्लेमिङ सिनियर र एल आर फ्लेमिङ जुनियर (फ्लेमिङका बाउ छोरा) दुबैसित उहाँले नेपाली चराबारे काम गर्नुभयो । आर एल फ्लेमिङद्वारा लिखित बर्ड्स अफ नेपाल (नेपालका चरा) त्यस्तो पुस्तक हो जसले विश्वमा नेपाली चराको बैभव, सम्पन्नता, क्षेत्रिय वितरणका बारेमा विश्वलाई पहिलो खबर, सूचना दिएको थियो । यहि पुस्तकले नेपालीहरुलाई चराका बारेमा चासो जगाइदिएको थियो । नेपाली चरा अवलोकनकर्ता जन्माईदिएको थियो । त्यसैको जगमा नेपालमा चरा पर्यटनपनि मौलाउँदै गएको हो । त्यो पुस्तकमा चराको पेन्टिङ गर्ने हिरालाल डंगोल र धेरै चराका जानकारि दिने काजी दाई हुन् ।

क्षेत्रपाटी, ठमेल, आफन्त र उनको नाम सुनेका धेरैले उनलाई ‘चराबाजे’ भनेरपनि चिन्थे । नेपालमा चराका अध्ययन अनुसन्धान गर्ने धेरै बिदेशीले उहाँलाई ‘द बर्डमेन, पायोनियर अफ नेपाली बर्ड्स’ भनेरपनि काजी दाईको नाम उल्लेख गरेका छन् ।

उहाँका बारेमा धेरै भनाई, रोचक प्रसंग सुनिन्थे ।

एकथरी भन्थे ‘चरा त देख्यो कि चिन्छन् रे नी ।’

अर्काथरी सुनाउँथे ‘देख्नै पर्दैन चरा कराएपछि ट्याक्कै यहि भन्दिहाल्ने ।’

कोहि भन्थे ‘छायाँ हेरेरै चिन्छन् रे ।’

‘उनलाई त नेपालका सबै चरा के हुन् कहाँ बस्छन् सप्पै थाह छ रे ।’

काजी दाईको स्वभाव अनौठोपनि थियो । उहाँ दरबार हाईस्कूल रानी पोखरीमा भर्ना हुनुभएको थियो । तर स्कूल गएको ठिटो स्कूलबाट भागि भागि चरा हेर्न पुग्ने । उहाँले मसित सुनाउनुभएको थियो ‘स्कूलमा मास्टरहरुले पढाउन खोज्थ्यो होइ, मलाई चहैँ कहिले यहाँबाट निस्केर जाउँ जस्तो हुने । स्कूलबाट भागेर म चाहिँ वनतिर चरा खोज्दै हिँड्थें । मलाई मास्टरहरुले रोक्नै सकेनन् । मेरो त्यसैमा मन गयो ।’

चराको खोज र अनुसन्धानमा लाग्नुभएका उहाँले यति धेरै चराका नमूना जम्मा पार्नुभयो कि स्वयम्भूस्थित प्राक्रितिक विज्ञान संग्राहलयमा चराको कक्षनै बन्यो । झण्डै छ सय प्रजातिका चराको नमूना संकलन गर्नुभ्यो । पछि उहाँले नेपालका त्यो बेलाको अनकन्टार वन जंगल एक्लै छिचोल्नुभयो । कोहि नपुगेको, कसैले वास्ता नगरेको र डरलाग्दा अनकन्टार भनिएका क्षेत्र एक्लै घुमेर काजी दाईले एक दर्जन भन्दा बढि त नेपालकालागि नयाँ चरा पत्ता लगाउनुभएको थियो ।

काजी दाईलाई चरा बाहेक अन्य जिवजन्तुकोबारेमापनि निकै ज्ञान थियो । धेरै बिदेशीलाई उहाँले वनजंगलको अध्ययनमा सहयोग दिनुभएकोपनि थियो । रोडने ज्याक्सनले फेसबुकमा उल्लेख गरेका छन् ‘यस्तो आश्चर्यजनकरुपमा न्यानो र कोमल आत्मा थियो काजीमा जसले म र डारलालाई नेपालमा चराका बारेमा परिचित गराउनुभयो । हिम चितुवाको ट्र्याकिङ गर्ने (खोजि गर्ने बैज्ञानिक बिधी) नभएका बेला नेपालमा धेरै पटक साँझको भ्रमण गराउनुभयो । उहाँको परिवारमा म गहिरो समबेदना ब्यक्त गर्छु ।’

प्राक्रितिक विज्ञान संग्राहलयमा संरक्षणवादी र विद्यार्थीकाबिचमा काजी दाई । फोटो-सुनिल शाक्य

औपचारिक शिक्षा नभएपनि उहाँलाई त्रिभुवन विश्वबिध्यालयमा समेत जिवशास्त्रकालागि प्रवचन दिन आमन्त्रण गरिन्थ्यो । वातावरणिय क्षेत्रको अध्ययन अनुसन्धानकालागि उहाँले आर्थिक लोभको आशा र शर्त राख्नुभएन । उहाँले अध्ययन गर्नुभएका बिभिन्न क्षेत्रका अध्ययन अनुसन्धान र सूची प्रयोग गरेरपनि केहिले नाम कमाए । केहिले ‘म हेर्छु’ भन्दै लगेर आफ्नै नाममापनि प्रकाशित गरे । त्यो जानकारि हुँदाहुँदैपनि काजीदाईले कतै बिरोध र उजुरी गर्नुभएन ।

कुनै पदको लोभ गरेको भए गणेशमान सिंहसितको उहाँको हिमचिमले सरकारीस्तरमा कुनै न कुनै पद, प्रतिस्ठा, मान र अन्य लाभ लिनसक्ने प्रशस्त संभावना थियो । प्राक्रितिक बिज्ञान संग्राहलयमा झण्डै ६ सय प्रजातिका चरा दिँदा त झन त्यस्तो लाभ लिनसक्ने प्रचुर अवशर थियो । तर काजी दाईले त्योपनि गर्नुभएन ।

केहि वर्ष अघि हिमाल प्रकाशनले सय वर्षका १०१ नेपालीको खोजमूलक सूची र तिनको योगदानबारे प्रकाशित गरेको थियो । काजी दाईपनि सय वर्षका १०१ नेपालीको सूचीमा पर्नुभएको थियो । अर्थात् अनुसन्धानले सय वर्षमा नेपालमा योगदान गर्ने १०१ नेपाली मध्ये काजी दाईको योगदानलाईपनि समेटेको थियो । त्यसैले उहाँको योगदान नेपालको वातावरण, प्रक्रिति संरक्षण र ईतिहासमा अतुलनिय छ ।

आफ्नो जिवजन्तु र खासमा चरामाथिको सोख, चाख र रुचीमा बाहेक धेरै नबोल्ने उहाँले आफ्ना कुराहरु धेरैसित खोल्नुपनि भएन । प्रचारको पछिपनि लाग्नुभएन । उहाँको सबैभन्दा निकट ब्यक्तिनै वन्यजन्तुबिद राजेन्द्र सुवाल हुनुहुन्थ्यो । काजी दाईको कर्म, निस्वार्थ र सादगीपन देखेरै होला, राजेन्द्र सुवालले काजीदाईलाई सधैं माया दिनुभएको थियो । केहि पर्दा राजेन्द्र सुवाललाई संझनी काजीदाईको बानी थियो । राजेन्द्र सुवालसित काजी दाईले नेपालका वनजंगल चहारेका अनेक प्रसंग छन् ।

राजेन्द्र सुवालले आफू मर्माहत भएको भन्दै आफ्नो फेसबूकमा लेलेख्नुभएको छ ‘सन् १९७२ देखिको मेरो हिरो, मेरो संरक्षक हरि शरण नेपाली काजी अलबिदा ! स्वशिक्षाबाट बनेका चराविद, त्रिभुवन विश्वविद्यालय अन्तर्गतको प्राकृतिक विज्ञान संग्रहालयमा उनका चराका नमूना संग्रहहरु प्रदर्शित छन् । नेपाल पन्छी संरक्षण संघ (नेपाल बर्ड वाचिङ क्लब) का संस्थापक । यि विशाल संरक्षणकर्ताको दुखद क्षतिमा उनको परिवारप्रति गहिरो शोककासाथ समबेदना ब्यक्त गर्दछु । उनको आत्माले शान्ति पाओस ।’

तपाइँको प्रतिक्रिया

फेसबुक