शनिबार, वैशाख ८, २०८१

काठमाडौंबाट भारतीय उड्न पाउने, नेपाली प्रतिबन्धित : ‘नेपाल सरकारको होइन, भारतीय दूतावासको निर्णय’

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ जेठ ५ गते १८:१६

सरकारले कोरोना संक्रमण रोक्ने नाममा दुई साताअघि (वैशाख ३०) अन्तर्राष्ट्रिय उडानमा रोक लगाएपछि सुरु भएको ‘कुटनीतिक खेलकुद’ले अचम्मको परिणाम देखाएको छ ।

खाडीको साउदी अरेबियामा रोजगारीमा जाने क्रममा रहेर अन्तिम तयारी गरिरहेकै बेला साउदीसहित खाडीका सबै राष्ट्रले भारतबाट आवतजावतमा रोक लगाएपछि २ हजारभन्दा बढी भारतीय श्रमिक काठमाडौं ट्रान्जिटबाट उडिरहेका थिए । नेपाल सरकारले पनि कोरोना रोकथामका लागि भारतबाहेकको सबै अन्तर्राष्ट्रिय उडान रोकेपछि यी भारतीय काठमाडौंमैं अलपत्र परेका थिए ।

‘तर, भारतीय दूतावासले आफ्ना नागरिकका निम्ति भएपनि चार्टर उडान उपलब्ध गराउन परराष्ट्र र पर्यटन मन्त्रालयमा पत्राचार गरेपछि नेपाल वायुसेवा र हिमालय एयरलाइन्स फेरि साउदी उड्न थालेका हुन्, ’हवाइ उड्यन प्राधिकरणका एक अधिकृतले भने—‘जबकि भिसा, श्रम स्वीकृति र हवाइ टिकट लिएरै साउदी मुलुकसहितका खाडी मुलुकमा रोजगारीका लागि जान भनेर अड्किएका नेपाली श्रमिकको संख्या अहिले १० हजारभन्दा बढी देखिएको छ ।’

साउदी अरेबियाको रियादस्थित नेपाली दूतावासका अनुसार झन्डै ४५ सय कम्पनीलाई ३० हजार नेपाली कामदार ल्याउन अहिले अनुमति दिइसकिएको छ ।

भारतीय श्रमिकलाई साउदी अरेबिया लैजान तत्काल नेपाल वायुसेवाको ७ र हिमालयको ३ वटा उडान अनुमतीपछि संचालनमा आइसकेको छ । हिमालयको १५८ सिट क्षमताको ‘ए ३२०–२१४’ र नेपाल वायुसेवाको २७४ सिटको ‘ए ३३०–२००’ एयरबसबाट भारतीय श्रमिक ओसारिरहेको छ ।

यतिखेर बहसको विषय के पनि उब्जिएको छ भने आफ्ना नागरिकका निम्ति सुरक्षायुक्त उडानको सेवा दिन डराउने सरकारले भारतीय दूतावासको एउटा अनुरोधकै भरमा चार्टर उडान किन थालेको हो ? नेपाली आकाश र सिमाक्षेत्रमा नेपाल सरकारको नितीनियम चल्छ कि भारतीय दूतावासको ? पर्यटन मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणलाई वैशाख ३० मा चलानी नम्बर ८४० र ८४१ को पत्रमार्फत साउदी उड्न विमानस्थलमा भारतीयलाई नरोक्न निर्देशन दिएको हो । यसरी उडान खुला गराउनका लागि अनुरोध गर्दै भारतीय दूतावासले परराष्ट्रलाई बैशाख २९ मा मात्रै ‘नोट’ पठाएको थियो ।

खाडी मुलुक मध्येमा कुवेत र संयुक्त अरब इमिरेट्स (यूएई) ले मात्रै नेपालबाट कामदार ल्याउन रोक लगाएका छन् । साउदी, कतार, बहराइन र ओमनले प्रतिबन्ध लगाएका छैनन् । अहिले दिल्ली–काठमाडौंका हकमा भने साताको २ वटा उडान ‘एयर बबल’ सुविधामा आवतजावत भैरहेको छ ।

नेपाली उडान सेवा र हवाइ मार्गमा भारतीय दादागिरीबारेको समाचार आएपछि बुधवार एक बिज्ञप्ती जारी गर्दै यी समाचारहरु गलत भएको दावी गरेको छ । ‘पर्वतारोहण, पर्यटन र कुटनीतिक प्रयोजनका लागि नेपालमा आएर रोकिएका यात्रुलाई गन्तव्य स्थानसम्म पुर्याउन भारतसहित युरोपियन युनियन, अमेरिका, रुस लगायतका मुलुकका काठमाडौंस्थित दुतावासले अनुरोध गरेअनुसार उडान अनुमती दिइएको हो,’खण्डन बिज्ञप्तीमा उल्लेख छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक