बुधबार, असोज ६, २०७८

बन्दाबन्दीमा बस किन नचलाउने ? स्विजरल्याण्डबाट सिकौं

लक्ष्मण देवकोटा२०७८ जेठ ५ गते १७:५४

तीन दिनदेखि ज्वरो आएर थलिएकी पूर्वी पाल्पाको जल्पाकी खसीसरा हितंगालाई सास फेर्न गाह्रो भएपछि अस्पताल लैजान गाडीको सोधखोज भयो । गाउँकै जीप बोलाइयो । जीप विरामी लिएर सदरमुकाम तानसेन गएको रहेछ । ताहूँमा रहेको अर्को गाडी बोलाउँदा बोलाउँदै खगीसराले प्राण त्यागिन् । खगीसरालाई कोरोना लागेको थियो कि थिएन ? परीक्षण त भएन । तर मधुमेहकी रोगी खगीसराका सबै लक्षण कोरोनासँग मिल्ने नै थिए । स्वाद हराएको, घाँटी दुखेको भनेपनि समाजले के भन्ला भन्ने डरले उनले यत्तिकै निको होला भन्दै घरेलु जडिबुटी खाँदै रोग लुकाएकी थिइन् । खगीसराका परिवार अहिले कोरोना संक्रमित छन् ।

सरकारको तथ्यांकमै नआएका दूर दराजका बिरामीहरुले एम्बुलेन्स कुर्दाकुर्दै, जीपको बाटो हेर्दाहेर्दै प्राण त्यागेका उदाहरण पहाडी जिल्लाहरुमा प्रशस्तै छन् । अस्पतालमा गएर बेड नपाइने, बेड पाइहाले पनि अक्सिजन नपाइने हल्लाले धेरैको मनोबल गिरेको छ । यस्तो अवस्थामा आवतजावतको लागि कसरी सहज बनाउन सकिन्छ भन्ने बारे भने कसैले छलफल गरेको देखिंदैन ।

अहिले सबैतिर बन्दाबन्दी छ । बन्दाबन्दीमा गाडीहरु चल्ने कुरै भएन । सबै थन्किएर बसेका छन् । ननिस्की नहुने काम बाहेक कोरोनाबाट बँच्न भरसक बाहिर ननिस्किएकै राम्रो । पोहोर साल त जिल्ला प्रशासन कार्यालयले पासको बन्दोबस्त गरेको थियो । तर यसपटक भने पासको बन्दोबस्त पहिला झैं छैन । सबैतिर एम्बुलेन्स, शववाहन, प्रेस जस्ता गाडीहरु बाहेक निजी गाडीहरुको आवतजावतमा रोक लगाइएकोछ । के उसो भए हातमा नगद नभएर एम्बुलेन्स बोलाउन नसक्ने गरिबहरुलाई सस्तो दाममा अस्पतालसम्म पुग्ने विकल्प के गरिएको छ त ?

मैले पाल्पाका प्रमुख जिल्ला अधिकारीलाई यो प्रश्न सोधेको थिएँ । प्रमुख जिल्ला अधिकारी योगेन्द्र पाण्डेयले भने, “हामीहरुले निषेधाज्ञा लगाएर अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कन भनेका हौं । अस्पताल पुग्न आवश्यक परेको खण्डमा जुनसुकै सवारी साधनलाई पनि रोकतोक गरिएको छैन । यस्तो मानविय काममा हामीहरुले सहयोग नै गरेका छौं । कतिपय अवस्थामा स्वयम्सेवी साथीहरुले गाडीको बन्दोबस्त गरिरहनुभएको छ, उहाँहरुसँग समेत समन्वय गरेर काम गरिरहेका छौं ।”

अस्पतालले बिरामीका आफन्तलाई अक्सिजनको सिलिण्डर किन्न समेत पठाएको छ । पहिलो त कतिजना बिरामीका आफन्तहरु सिलिण्डर किन्न सक्षम होलान् ? अब त्यो सिलिण्डर ल्याउने कसरी ? बन्दको बेला अनुमति पत्रको व्यवस्थापन, गाडीको जोहो गर्न समेत हम्मे हम्मे भएर कतिपयले त बेलैमा अक्सिजन नपाएर ज्यानै गुमाएका उदाहरणहरु छन् । कोरोनाको अति प्रभावित क्षेत्र मानिएको भैरहवामा उच्च माध्यमिक तहमा अंग्रेजी विषय पढाउने शिक्षकको बेलैमा अक्सिजन खोज्न गाडीको व्यवस्थापन हुन नसक्दा ज्यान गएको थियो । विद्यार्थी शेखर अधिकारीले त्यो हृदयविदारक क्षण सम्झिंदै लेखेका थिए, ‘गाडीको हारगुहार गर्दागर्दै बेलामा पाइएको अक्सिजन समेत लिन जान सकिएन, सर बित्नुभयो ।’

पत्रकार तथा राजनीतिक विश्लेषक सिद्धिचरण भट्टराईको अनुभव छ, “यातायातको सुगम मानिएको बजारमा त यो हालत छ, गाउँका दूरदराजमा के होला ? मानिसहरु अस्पताल आउन नपाएर हैन अस्पताल आएर पनि बाँच्न नपाउने स्थिति छ । सरकारले मसिनो गरी समस्यालाई हेरेकै छैन ।”

यातायात व्यवसायीका पनि पीडा उस्तै छन् । पश्चिम नेपालको ठूलो व्यवसायी संस्था पश्चिम नेपाल वस व्यवसायी महासंघका संचालक नारायण घिमिरेको भनाइ छ, “हामीहरुसँग भएका सवारी साधनहरु कसरी चलाउने ? यातायात व्यवसायी पनि त बाँच्नु पर्यो । हामीसँग न पीपीई सेट छ, न सुरक्षाको अन्य प्रवन्ध नै । हामीहरुले सरकारको आदेशको पालना गरेका छौं ।”

उसो भए लाखौं रुपियाँ ऋणधन गरेर यातायात व्यवसायमा हात हालेकाहरुले कसरी बैंकको ब्याज तिर्लान् त ? भन्दा उनले भने, “यो त समस्या नै हो । सरकारले ब्याज मिनाहा गर्न पहल गर्नुपर्यो । पहिलो प्राथमिकता यो महामारीमा हाम्रो ज्यान नै बाँच्नुपर्यो हैन र ? ज्यान रहे जसोतसो रिनधन होला व्यवसायीहरुको ।” महासंघले सरकारलाई व्यवसायीहरुको सहयोगको निम्ति माग पनि गरेको जनाएको छ । देश विदेश घुमेका घिमिरेको अनुभव छ, ‘विदेशका झैं सुरक्षित खालको संरचना भएका यातायात साधन पनि हामीकहाँ भएनन् । बाटोघाटोको यो हालत छ । बस चल्नुपर्छ, आत्तिएका मानिसहरुको भीड थामिनसक्नु हुन्छ । तथापि, आपतविपतमा परेकाले फोन गर्यो भने स्थानीय प्रशासनसँग पास लिएर पनि हामीले गाडी गुडाउँछौं । विषम परिस्थितिमा चलाएका पनि छौं ।’

उसो भए प्रहरी अथवा सेना राखेर, निश्चित दूरीमा विशेष काम भएर महँगो भाडा तिर्न नसक्नेहरुलाई वस व्यवसायी समितिहरुसँगको समन्वयमा किन नचलाउने ? मैले यो प्रश्न यातायात व्यवसायी ध्रुवराज अर्यालसँग सोधेको थिएँ । घरमै लकडाउनमा बसिरहेका अर्यालले भने, “नेता कता गए गए । जनता अलपत्र भए । हामी व्यवसायी त हरदम तयार छौं । व्यवसायीहरु ब्याज सम्झेर पुर्पुरो समाएर बसेकाछन् । तर सुरक्षा त चाहियो नि हामीलाई पनि । अस्पतालमा डाक्टरलाई त पुग्याछैन । हाम्रो सुरक्षा कसले गर्ला र ?”

कोभिडको समयमा स्विजरल्याण्डमा कसरी यातायातको बन्दोबस्त गरिएको थियो त ? भनी जेनेभामा सार्वजानिक यातायातको जिम्मा पाएको सरकारी र निजीहरुको संयुक्त लगानीमा चलेको यातायात कम्पनीमा गएर बुझ्दा उनीहरुले निकै योजनावद्ध तरीकाले काम गरेको पाइयो । कोरोना संक्रमणको बेला कतिको कडिकडाउ गर्ने भनी स्वास्थ्य मन्त्रालयले दिएको निर्देशन अनुसार प्रदेश सरकारले योजना बनाएको रहेछ ।

सोही अनुसार यातायात व्यवसायीसँग यौटा सम्झौता भएको रहेछ, सार्वजानिक यातायात बन्द नगर्ने । पन्ध्र मिनेटको अन्तरालमा चल्ने बसहरु आधा घण्टा, एक घण्टाको फरकमा चलाउने तर बन्द नगर्ने । बसभित्र स्यानिटाइजरको बन्दोबस्त गरी अहिले पनि मास्क अनिवार्य छ । चालक सेवास्तियाँ मुनियरले भने, “हामी चालकहरुसम्म यात्रुहरु आउन नमिल्ने बनायौं । हरेक दिन ग्यारेजमा लगेर राम्रोसँग गाडी धोइरहेकाछौं । हामी पनि सुरक्षित भयौं र यात्रुहरुको आवतजावतमा सहयोग गर्यौं ।”

तुम्बा गाम्बेस्के

यातायात कम्पनी टिपीजीकी व्यवस्थापकको रुपमा काम गरिरहेकी तुम्बा गाम्बेस्केले भनिन्, “सबैसँग यातायातका साधन कहाँ हुन्छन् ? आपतको बेलामा त झन् सहयोग पो गर्नुपर्दछ । सरकारलाई महामारी नियन्त्रण गर्नको निम्ति आवश्यक परेको खण्डमा बसलाई नै एम्बुलेन्स बनाउने, रेललाई नै एम्बुलेन्सको रुपमा प्रयोग गर्नेगरी हाम्रो योजना बनेको थियो । धन्न त्यो अवस्था आएन ।”

उनको भनाइ थियो, “संक्रमणको उच्चदर भएर लकडाउन भइरहेको बेला चलिरहेका बसमा सुरक्षा सतर्कता बलियो बनाउन ठाउँठाउँमा प्रहरी परिचालन गर्यौं । स्वतस्फूर्त रुपमा चालकहरु बस चलाउन तयार भए ।

देशलाई खाँचो पर्दा जसरी सेनाहरु स्वास्थ्य सेवामा जुटिरहेका थिए, उसैगरी चालकहरु पनि खटिए । केवल जागिर रहेन, यो मान्छे बँचाउने महान् कामको रुपमा लिइयो ।

पाल्पाका पत्रकार भगवान भण्डारी जो राससका संचालक समिति सदस्य हुन्, उनको विचारमा लकडाउनको बेला निहुँ बनाएर पास लिने अनि दुरुपयोग गर्ने खराब आचरणले गर्दा दुख परेकाले गुहार नपाउने स्थिति रहेको बताउँछन् । उनी भन्छन्, “हामीकहाँ त पहुँच पुर्याएर पास लिएर ठूलो बन्न गाडी दगुराउने चलन छ । न तिनलाई बिरामीको चिन्ता छ, न क्यै । केही बदमासहरुले गर्दा जनतालाई सधै सास्ती हुन्छ ।”

यो सबै कुराको बन्दोबस्त मिलाउने सरकारले नै हो । कोभिड नियन्त्रणको निम्ति सरकारको चुस्त र दुरुस्त टिम भयो भने निजी बसहरुलाई आपतको बेला स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार सर्वसाधारणलाई सहयोग पुर्याउन यातायातको बन्दोबस्त गर्न सकिन्छ । महिना दिन अघिसम्म बसका बस मान्छे उतारेर नारा जुलुस गर्नेहरु कसैले पनि जनताको बारेमा सोचेन । पहुँच हुनेहरुको लागि त यातायातका साधनहरु
मिल्लान् । तर गरिब जनताको आवाज सुनिदिने भने कोही छैन ।

तपाइँको प्रतिक्रिया

फेसबुक